हङकङको हङहङ जिल्लामा पार्किङ गरिएको गाडी अकस्मात् गुडेर ठक्कर दिँदा ७५ वर्षीय चालकको मृत्यु भएको छ।
शनिबार राति करिब पौने ११ बजे चालकले सेउङ वो स्ट्रिटमा गाडी पार्क गरेर निस्किएका थिए तर गाडी अचानक गुड्यो र उनलाई ठक्कर दियो।
अचानक चिप्लिएको गाडीले ट्याक्सीलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीले स्थानीय अखबारलाई दिएको जानकारी अनुसार पार्किङ गरिएको बस सडकमा गुड्यो र चालकलाई ठक्कर दियो, उनी गाडीमुनि पुगे।
दुर्घटनालगत्तै घटनास्थल पुगेका अग्निनियन्त्रकले घाइते चालकलाई बेहोस अवस्थामा उद्धार गरी अस्पताल पुर्याएका थिए।
याउमा तेइस्थित वोङ वाह अस्पताल पुर्याइएको उनलाई साढे ११ बजे मृत घोषित गरिएको थियो।
गाडी के कारणले चिप्लियो भन्ने खुल्न सकेको छैन। यस सम्बन्धमा काउलुन वेस्ट ट्राफिक इकाइको विशेष अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले घटनासँग जानकार कोही भएमा सम्पर्कमा आउन सार्वजनिक आह्वान गरेको छ।
प्रतिक्रिया