हङकङका अर्थमन्त्री पल चान मो–पोले यस वर्ष हङकङमा कम्तीमा चार हजार नयाँ रोजगारी सिर्जना हुने बताएका छन्।
आइतबार आफ्नो साप्ताहिक ब्लगमा लेख्दै उनले २५ भन्दा बढी ठूला व्यवसायीले हङकङ डलर १७ बिलियनभन्दा बढीको लगानी गर्न लागेको र यसले रोजगारी सिर्जना गर्ने बताएका हुन्।
मन्त्री चानका अनुसार लगानी गर्न इच्छुक अधिकांश नयाँ र प्रविधिको क्षेत्रसँग सम्बन्धित हुन्। रोजगारीका लागि सृजित पदमा पनि धेरै अनुसन्धान र विकासका साथै व्यवस्थापनमा हुनेछन्।
कोभिड–१९ तथा सन् २०१९ मा भएको सरकारविरोधी प्रदर्शनका कारण धक्का लागेको हङकङको अर्थतन्त्रलाई उकास्नका लागि सरकारले यसअघि विभिन्न ‘स्ट्रिङ पोलिसी’ ल्याएको थियो। जसअन्तर्गत विश्वव्यापी प्रतिभा एवं व्यवसायीलाई प्रोत्साहन गर्ने नीति पनि थियो।
यस नीतिअन्तर्गत ‘टप ट्वालेन्ट पास स्किम’ एक हो। जसमा पछिल्लो १२ महिनामा कम्तीमा हङकङ डलर २.५ मिलियन कमाएको वा विश्वका शीर्ष १०० युनिभर्सिटीमध्येबाट स्नातक गरेर पछिल्लो पाँच वर्षमा कम्तीमा तीन वर्षको कामको अनुभव भएका व्यक्तिले आवेदन दिन पाउँछन्।
विगत पाँच वर्षमा तीन वर्षभन्दा कम कामको अनुभवका भएका शीर्ष १०० का स्नातकले पनि आवेदन दिन त पाउँछन् तर यसको लागि वार्षिक १० हजार मात्र कोटा तोकिएको छ।
गत डिसेम्बरमा सुरु भएको यस स्किममा जुन महिनासम्म २५,९६९ आवेदक सफल भएको अध्यागमन विभागले जनाएको छ।
Shares
प्रतिक्रिया