हङकङ प्रहरीले १.५ मिलियन हङकङ डलर बराबरको क्रेडिट तथा डेबिट कार्ड चोरी गरेको अभियोगमा १४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा १२ पुरुष र दुई महिला छन्। उनीहरूलाई ठगी तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) अभियोगमा पक्राउ गरिएको हो।
अभियुक्तहरूले चोरीका कार्ड स्मार्टफोन लगायत इलेक्ट्रोनिक सामान खरिद गर्न प्रयोग गर्ने गरेको भेटिएको छ।
चोरीका कार्डमार्फत किनिएका उक्त सामान बेचेर उनीहरूले नगदमा परिणत गर्ने गरेको पाइएको हो।
प्रहरीले शनिबार बताएअनुसार अभियुक्तहरूलाई ३० जुनदेखि ४ अगस्टको बीचमा पक्राउ गरिएको हो। उनीहरूका साथ प्रहरीले ५० वटा स्मार्टफोन तथा धेरै संख्यामा क्रेडिट तथा डेबिट कार्डसमेत बरामद गरेको जनाएको छ।
वानचाइ जिल्ला प्रहरी स्रोतका अनुसार गत दुई महिनामा मात्र कजवे बेस्थित एक मोबाइल पसलमा मात्र त्यस्ता संदिग्ध केसहरू २१ वटा भेटिएको छ।
जिल्लाका वरिष्ठ प्रहरी निरीक्षक वु मिङ–हङले खुद्रा बिक्रेताहरूलाई शंकास्पद लागेका लेनदेनहरू प्रहरीलाई रिपोर्ट गर्न अनुरोध गरेका छन्।
वुले छोटो अवधिमा क्रेडिट तथा डेबिट कार्डमार्फत ठूलो संख्यामा समान प्रकारका सामान खरिद गर्ने ग्राहकको पहिचान गरिदिन खुद्रा बिक्रेताहरूलाई आह्वान गरे।
साथै उनले, चोरीका कार्डबाट सामान खरिद गर्न सहयोग गरेको प्रमाणित भएमा ठगी तथा मनी लाउन्डरिङ अभियोगमा ५ मिलियन हङकङ डलरसम्म जरिवाना र १४ वर्ष जेल सजाय हुनसक्ने कानुनी प्रावधान रहेको बारे पनि सचेत गराए।
Shares
प्रतिक्रिया