५ मार्च आइतबार।
हङकङका सरकारी विद्यालयहरुमा नेपाली भाषामाथि भइरहेका लगानी र त्यसको अभ्यास अनि प्रभावकारितामाथि बेथल हाइस्कुल युङलङकी नेपाली भाषा शिक्षक शारदा गुरुङसँग कुराकानी भइरहेको थियो। शारदाले विद्यालयमा मात्र नभई इच्छुक विद्यार्थीहरुका निम्ति जोर्डनको एउटा ट्युसन सेन्टरमा ५ वर्षदेखि छुट्टै नेपालीभाषाको कक्षा समेत सञ्चालन गरिरहेकी छन्। हामी त्यही सेन्टरमा बसेर विद्यार्थीहरुले गरेका कामको अध्ययन पनि गरिरहेका थियौँ।
पढ्दै थिएँ, एउटा निबन्धमाथि टक्क नजर अडियो। हङकङमा जन्मिएर हङकङेली समाजमै हुर्कंदै गरेका बेथल हाइस्कुलमा फर्म–६ (नेपालको प्लस टु सरह) मा अध्ययनरत पेम्बा दोर्जे तामाङले ४ वर्षअघि नेपाली भाषामा लेखेको अढाई पृष्ठ लामो निबन्ध थियो त्यो। निबन्धको पुछारमा आफ्नो इच्छा प्रकट गर्दै पेम्बाले लेखेको वाक्यांशले मेरो ध्यान खिचेको थियो।
उनले लेखेका थिए, ‘कुनै दिन मेरो आखे माम (बाजेबोजु) लाई नेपालीमा लेटर लेखेर पठाउने विचार छ। किनभने नेपालीमा मेरो चिठी देखेर उहाँहरु खुसी हुनुहुनेछ।’
हामी नेपाली भाषामाथिको उनको पकडमाथि चर्चा गर्दै थियौँ। पेम्बा पनि त्यहीँ आइपुगे। विश्वविद्यालय प्रवेश गर्न फलामे ढोका मानिने माध्यमिक शिक्षा परीक्षा तयारी गरिरहेका पेम्बा गणित विषय पढ्न ट्युसन सेन्टर आइपुगेका थिए। माथि उल्लिखित निबन्ध कक्षामा बुझाएको एक साल नबित्दै सन् २०२० मा पेम्बा आफ्नो पुस्तैनी थलो धरानमा रहेका आखे मामलाई निबन्धमा भनिएझैँ चिठी मार्फत नभई स–शरीर भेटेर फर्किएका थिए।
नअक्मकाइकन नेपाली भाषामा संवाद गर्नसक्ने र नेपाली पुस्तक पढ्न सक्ने पेम्बालाई ‘नेपाली भाषा पढेर के फाइदा पायौ त’ भनेर सोध्दा उनले दिएको जवाफ रमाइलो थियो। उनको जवाफ थियो– ‘नेपाल जाँदा साइनबोर्डहरु मज्जाले पढ्न सकेँ।’
पेम्बालाई काठमाडौं उत्रनासाथ भित्तामा टाँगिएका र सडकमा राखिएका नेपाली भाषामा लेखिएका साइनबोर्ड र डिजिटलबोर्डहरुले निकै आकर्षित गरेका रहेछन्। ती पढ्दै, घोक्दै उनी धरान पुगे। कतिपय त उनलाई अझै पनि कण्ठाग्र थियो।
उनले स्मरण गरेको लिखत थियो– ‘भेडेटार १२ किमि’।
हङकङमा जन्मिएर यतैको सामाजिक/सांस्कृतिक परिवेशमा हुर्किरहेका बच्चाहरुलाई राम्ररी नेपाली बोल्न समेत नआउने हुँदा तिनको घरमा अभिभावकसँग खुलेर अन्तर्क्रिया हुन नसक्नुलाई हङकङेली नेपाली समाजले भोगिरहेको दुखद सामाजिक यथार्थ मानिन्छ। एकातर्फ चिनियाँ भाषाका कारण विद्यालय हाताभित्र सहपाठीहरुसँग राम्ररी संवाद हुन नसक्नु र अर्काेतर्फ मातृभाषामा कमजोरीका कारण पहिलो शिक्षालय अर्थात् घरको हाताभित्र अभिभावकसँग खुल्न नसकेपछि नेपाली विद्यार्थीको पढाइ छाड्ने दर उच्च रहेको विश्लेषण गरिन्छ।
त्यसैले पछिल्लो समय सजग अभिभावकहरुले आफ्ना बच्चासँग संवाद बढाउन सघाउ पुग्नेहुँदा तिनलाई नेपाली विषय पढाइने विद्यालय र भाषाकक्षा सिकाइने ट्युसन सेन्टरमा पठाइरहेका छन्। पेम्बाका नेपाली शिक्षक शारदा गुरुङका अनुसार, बेथलबाट मात्र नेपाली भाषामा पोख्त पेम्बाजस्ता दर्जनौँ विद्यार्थी उत्पादन भइसकेका छन। अहिले पनि बेथलमा करिब ८० जना जति विद्यार्थीले नेपाली विषय पढिरहेका छन्। गजब के छ भने बेथलमा नेपाली विद्यार्थीलाई नेपाली विषय अनिवार्य गरिएको छ। बेथलबाट अहिलेसम्म नेपाली विषय पढेका ९ वटा ब्याचले माध्यमिक तह उत्तीर्ण गरिसकेको छ।
शारदाले पढाउने विद्यालय बेथलबाट मात्र होइन उनले लिइरहेको ट्युसन सेन्टरबाट पनि नेपाली भाषामा राम्रा विद्यार्थीहरु उत्पादन भइरहेको देखिन्छ। उदाहरण हुन्, क्विन्स कलेज कजवेमा फर्म–३ (कक्षा ९ सरह) मा अध्ययनरत नाम्लाहाङ राई।
हङकङको पहिलो सरकारी विद्यालय मात्र नभई यहाँको विद्यालयहरुको सूचीमा ब्यान्ड वन (पर्फर्मेन्सका आधारमा वर्गीकरण गरी सूचीकृत गरिएको उत्कृष्ट विद्यालय) भित्र पर्ने हुनाले क्विन्स कलेजमा आफ्ना बच्चालाई प्रवेश दिलाउन सक्नुलाई स्थानीयले समेत ठूलो युद्ध जिते सरह ठान्दछन्।
सयौँ विद्यार्थीहरुसँगको प्रतिस्पर्धामा भिडेर अब्बल मानिने विद्यालयमा अध्ययन गरिरहेका नाम्लाहाङलाई नेपाली भाषा कक्षा किन सिकाइरहेको?
नाम्लाहाङका बुवा धर्म राईले सुनाएको कथा रोचक छ। बहुसांस्कृतिक समाजको धर्म, भाषा, संस्कृति र पहिचानलाई सम्बोधन गर्ने नीति (सोसल हार्माेनी पोलिसी) बनाई काम गरिरहेको राज्य सिङ्गापुरमा एक दशक बिताएका धर्मले सन् २००९ मा हङकङ छिरेपछि यहुदीहरुसँग काम गर्ने मौका पाए। जति नै धनाढ्य भए पनि ‘यहुदी समाजले आफ्ना बच्चालाई प्राथमिक तहसम्म अनिवार्य रुपले मातृभाषामा शिक्षादीक्षा दिनुपर्ने र यो नियम उल्लंघन गर्नेलाई समाजदेखि बहिष्कार गर्ने’ कडा सामाजिक नियम देखेपछि धर्म तीनछक्क परे।
आफ्नो छोरालाई हङकङको अब्बल विद्यालयमा पढाए पनि मातृभाषाको महत्वले उनलाई असाध्यै पोल्न थाल्यो। त्यसमाथि एउटा अप्रिय अनुभवले धर्मको सोचमै परिवर्तन ल्यायो।
आफ्नो सोच परिवर्तन गर्ने त्यो घटना सुनाउँदै उनी भन्छन्, ‘एक जना सामाजिक नेताको छोरा नेपाल गएछ। घरबाहिर बिहानै निस्किएको केटो दिनभर फर्किएन। राति भौँतारिएको अवस्थामा फेला पारेर ल्याएछन्। नेपाली भाषा नजान्दा बाबुले पाउनु दुख पाएछ।’
त्यसपछि धर्मले बेथलमा नेपाली पढाइरहेकी शिक्षक शारदा गुरुङलाई अनुरोध गरी केही बच्चा जम्मा गरेर नेपाली भाषाको ट्युसन पढाउन राजी गराए। यो थियो सन् २०१८ को कुरा।
छोराले नेपालीभाषा सिकेपछि धर्मले कयौँ परिवर्तन प्रत्यक्ष देख्न पाए। ४ वर्षअघि श्रीमती र छोरासँग नेपाल जाँदा लकडाउनका कारण काठमाडौं, धरान र संखुवासभामा ८ महिना बिताउनु पर्यो।
‘बाबुले भाषा सिकेको हुनाले ऊ त्यहाँको समाजसँग मज्जाले घुलमिल भयो। प्रशस्तै साथी बनायो। हङकङमा हुर्किएका बच्चाका निम्ति यो काम लगभग असम्भव नै मानिन्छ,’ त्यतिबेला पुख्र्यौली घर संखुवासभामै ४ महिना बिताएका धर्म भन्छन्, ‘अहिले छोरोले आमासँग नारिएर हरेक दिन नेपाली सिरियल हेर्छ। कथा, कविताका किताबहरु पढ्छ। हाम्रो संस्कार र संस्कृतिमाथि चासो देखाउँछ।’
पछिल्लो समय हङकङमा आफ्ना बच्चालाई नेपाली भाषा सिकाउन ट्युसन सेन्टर पठाउन चासो देखाउनेहरुको संख्या बढिरहेको शिक्षक शारदा सुनाउँछिन्। स्विमिङ प्रशिक्षक डा. चन्द्रकला राई र हालसालै बेलायत स्थानान्तरण भएकी पेसाले नर्स तथा साहित्यकार इन्द्र थेगिमले पनि आफ्ना छोराछोरीलाई यही सेन्टरमै नेपाली भाषा सिकाएका हुन्।
नेपाली भाषा सिक्न विद्यार्थी आफैँ खोज्दै सेन्टर धाइरहेका पनि छन्। चिनियाँ माध्यमको विद्यालयबाट पढाइ सकाइवरी हङकङ विश्वविद्यालयबाट पत्रकारितामा ग्रेजुएट गरेकी सञ्चारकर्मी निङ्साङ लावती आफैँ सेन्टर धाएर भाषा सिकिरहेकी छन्। चिनियाँ भाषामा प्रकाशित हुने लाइफस्टाइल म्यागेजिनमा काम गरिरहेकी निङ्साङले नेपाली भाषामा पनि राम्रो परफर्मेन्स गरिरहेकी छन्।
क्याम्ब्रिजसँग छुटेको नेपाली सम्बन्ध
पृथ्वी क्याम्ब्रिज बोर्डिङ स्कुल धरानमा ३ वर्षजति नेपाली विषय पढाएपछि धरान निवासी शारदा गुरुङले स्टार एफएम र विजयपुर एफएममा २ वर्ष जति रेडियो जकीको भूमिका निर्वाह गरिन्। डिसेम्बर २००९ मा हङकङ प्रवेश गरेकी शारदाले औसत नेपालीले झैँ करिब एक वर्ष रेष्टुरेन्ट क्षेत्रमा काम गरिन्।
उनी त्यतिबेलाको स्मरण गर्दै भन्छिन्, ‘उकुसमुकुस भयो। काममा मन नै लागेन। अनि लागेँ विद्यालयहरुका दैलो चहार्न।’
काम खोज्दै उनी पुगिन् नेपालीद्वारा सञ्चालित स्कुल सगरमाथा किन्डरगार्टेनमा। उनी त्यहाँ असफल भइन् तर सगरमाथा प्रशासनले उनलाई जानकारी दियो– बेथल हाइस्कुलमा नेपाली शिक्षकको खोजी हुँदैछ, ट्राइ मार्नाेस्।
बेथलमा पुगेपछि उनलाई थाहा भयो, त्यहाँ सन् २००८ देखि हङकङ सरकारको सहयोगमा नेपाली विषयको कक्षा सञ्चालन भइरहेको रहेछ। तनहुँका दीपक गुरुङले १५ वर्षदेखि निरन्तर नेपाली विषय पढाउँदै आइरहेका रहेछन्।
विद्यार्थी बढ्दै गएपछि नेपाली विषय पढाइरहेका दीपकलाई मात्र भार भयो, त्यसपछि अर्काे शिक्षक खोजिएको थियो। शारदा योग्य थिइन्, छनौट भइन्। १२ वर्ष भयो, पेसागत रुपमा शारदाले बेथलमा नेपाली भाषाको श्रीवृद्धिमा योगदान दिन थालेको।
८ मार्च बुधबार।
शारदाको नेपाली विषयको पढाइबारे लामो अनुभव सुनिसकेपछि उनीसमक्ष विद्यालय चहार्ने इच्छा जाहेर गरेँ। त्यसपछि युङलोनको फेयरभ्यू पार्कको हाताभित्र रहेको बेथलको स्टाफरुममा दीपक र शारदाले हङकङमा भइरहेको नेपाली विषयको पढाइ र त्यसमा हङकङ सरकारको सहयोगका साथै नेपाली समाजले दिइरहेको चासो सुनाए। जुन मेरा निम्ति नौला थिए।
दीपकको अनुभवमा नेपाली कक्षा सञ्चालन गर्न अन्य विषय पढाएजस्तो सजिलो छैन। अन्य विषयका पाठ्यक्रम बनिबनाऊ हुने हुँदा त्यसमा अतिरिक्त मगजमारी गर्नु पर्दैन। तर नेपाली विषयको पाठ्यक्रम आफैँ बनाउनेदेखि लिएर विद्यार्थीको क्षमता बमोजिम पाठ तयार पार्ने काम निकै झन्झटिलो छ। त्यसमाथि नेपाली विषयमा के के पढाइ भइरहेको छ भन्ने जानकारी अंग्रेजीमा अनुवाद गरी विद्यालय प्रशासन समक्ष अद्यावधिक गर्नुपर्ने हुन्छ।
सन् २०१९ सम्म नेपाली भाषालाई क्याम्ब्रिज एजुकेसन बोर्ड अन्तर्गत ‘ओ लेबल’ सम्मको मान्यता प्राप्त थियो। त्यही बमोजिम पाठ तयार पारेर परिक्षाको तयारी गराइन्थ्यो। नेपालीमा ए स्टार ल्याउने विद्यार्थीहरु प्रशस्त हुन्थे। त्यसलाई सरकारको ‘हङकङ एक्जाम्स एन्ड एसेसमेन्ट अथोरिटी’ बाट मान्यता प्राप्त थियो।त्यसैले ‘ओ लेबल’ मा राम्रो परिणाम ल्याउने विद्यार्थीले पाउने प्रमाण पत्र विश्वविद्यालय प्रवेश गर्ने राम्रो आधार भइरहेको थियो।
तर २०१९ पछि क्याम्ब्रिज बोर्डले नेपाली भाषालाई आफ्नो पाठ्यक्रमबाट हटाइदिएपछि ‘स्कुल बेस्ड करिकुलम’ अन्तर्गत विद्यार्थीको क्षमता हेरेर र हङकङको सन्दर्भ जोडेर नेपाली पाठ तयार पारिन्छ। पाठ तयार पार्ने काम दीपक र शारदाले गर्दै आइरहेका छन्।
दीपक चिन्ता व्यक्त गर्दै भन्छन्, ‘क्याम्ब्रिज करिकुलम अन्तर्गत हिन्दी र उर्दुमा ए लेबलसम्म पढ्न पाइन्छ। हाम्रो चाहिँ भएको ओ लेबल हटाइँदा पनि सम्बन्धित निकाय (नेपाल सरकार, शिक्षा मन्त्रालय) ले फर्काउन पहलकदमी गरेको सुनिँदैन।’
समाजले नबुझेको भाषाको महत्व
१९९७ मा हङकङ बेलायती उपनिवेशबाट मुक्त हुनलाग्दा बेलायती सेनामा काम गरेका १९९७ साल अघि जन्मिएका गोर्खा सेनाका सन्तानलाई हङकङ बसोबासको प्रावधान प्रारम्भ भएपछि यहाँ नेपालीको आप्रवासन ह्वात्तै बढ्न गयो। बेलायतीराज रहँदासम्म गोर्खा सेनाका सन्तानका निम्ति माध्यमिक तहसम्मको पढाइ हुने गोर्खा स्कुल खोलिएको थियो, जहाँ नेपाल सरकारको पाठ्यक्रम पढाइ हुन्थ्यो। गोर्खा स्कुललाई एसएलसी बोर्डको मान्यता प्राप्त थियो। बेलायतीराज गइसकेपछि यो विद्यालय पनि बन्द हुन गयो।
हङकङ स्वतन्त्र भएपछि यहाँ आएका पढेलेखेका नेपालीहरुले करिबकरिब गोर्खा स्कुलकै शैलीमा सन् २००० मा नेपाली भाषा पढाइने हङकङ पनसेटिया प्राइमरी स्कुल खोले। नेपाली पहिचानको संरक्षण र सम्बद्र्धन गर्ने हेतु हङकङ गोर्खा फोरम नामक संस्था खोलिएको थियो, जसको मातहतमा रही विद्यालय सञ्चालन गर्ने, मिडिया लगायत विभिन्न बौद्धिक र प्राज्ञिक कर्म गर्ने भनिएको थियो। फोरमकै छातामा रहेर पनसेटिया स्कुल पनि खोलिएको थियो। निश्चित विद्यार्थी संख्या पुर्याए हङकङ सरकारले विद्यालय सञ्चालन खर्च दिने नीतिगत व्यवस्था बुझेका शिक्षित नेपालीहरुले यो विद्यालय खोलेका थिए।
यसको बौद्धिक नेतृत्व युङलुङमा सगरमाथा किन्डर गार्टेन स्कुल सञ्चालन गरिरहेका एकराज राईले गरेका थिए। तत्कादप्न फोरमका सचिव तथा विद्यालय व्यवस्थापन समितिका सदस्य हेम लावतीका अनुसार सुरुमा ७–८ जना विद्यार्थीबाट विद्यालय प्रारम्भ गरिएको थियो र नेपाली विषयलाई ऐच्छिक राखिएको थियो।
लावती भन्छन्, ‘हङकङ शिक्षा विभागबाट ऐच्छिक विषय राखेर विद्यालय खोल्न पाउने प्रावधान बमोजिम हामीले पनसेटिया खोलेका थियौँ।’
तर जे सोचिएको थियो, त्यो भएन। नेपालीले आफ्ना बच्चालाई नेपाली भाषा पढाइ हुने विद्यालयमा पठाएनन्। विदेशमा अङ्ग्रेजी र चिनियाँ भाषा पढाए भइहाल्यो नि, किन चाहियो नेपाली भन्ने सोच हाबी हुन गयो। पनसेटियाले प्रत्येक कक्षामा कम्तीमा २० जना विद्यार्थी चाहिने आधारभूत नियम पूरा गर्न सकेन। सरकारी अनुदान प्राप्त हुन सकेन। व्यवस्थापन समितिले आफ्नो खर्चबाट सन २०१० सम्म जसोतसो विद्यालय सञ्चालन गर्यो। र, केही सीप नलागेर बन्द गरिदियो।
त्यतिञ्जेल (सन २००७ मा) हङकङ सरकारले सिङ्गापुरको सिको गर्दै अल्पसंख्यक समुदायका भाषालाई पनि विद्यालयमा पढाउन सक्नेगरी नियम पारित गरिसकेको थियो। सरकारी विद्यालयले विद्यार्थीको चाप अनुसार इन्डोनेसियन, फिलिपिनो, नेपाली, हिन्दी, उर्दुजस्ता भाषा पढाउन सुरु गरिसकेका थिए।
यो थपिएको अर्काे चुनौती थियो। त्यसैले विद्यालय बन्द गरी व्यवस्थापनको नेतृत्व लिएका गणेश इजम बेलायत हानिए भने गोर्खा फोरमका अध्यक्ष भक्त दुरा पनि उनकै पछिपछि बेलायत लागे। व्यवस्थापन समितिका अन्य सदस्यहरु पनि कोही बेलायततर्फ लागे भने बाँकी छिन्नभिन्न भए। त्यतिबेलाका चल्तापुर्जा एकराज राई अहिले समाजदेखि विच्छेद जस्तै छन्।
हाल नेपाल फर्किएर उद्यम गरिरहेका व्यवस्थापन समितिका सदस्य समेत रहेका फोरमका सचिव हेम लावती भन्छन्, ‘हाम्रो समाजले विदेशमा नेपाली भाषा किन पढाउनुपर्छ भन्ने नै बुझ्न सकेन। त्यसको मूल्य अहिले हङकङेली नेपाली समाजले चुकाइरहेको छ।’
हङकङ आउनुअघि नेपालमा कानुन व्यवसायी र हङकङमा छँदा गीतसंगीत र साहित्य लेखनमा लागेका लावतीको भनाइ सत्यको नजिक पनि देखिन्छ। हेमहरु नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न लागिपरेका थिए। जतिबेला उनी नेपाली भाषा संवृद्धिका निम्ति खटिरहेका थिए, त्यतिबेला उनका एक छोरा र छोरी भर्खर जन्मिएका थिए। अर्थात् हङकङमा नयाँ पुस्ता तयार हुँदै थियो, जसलाई नेपाली पहिचानसँग जोड्नु जरुरी थियो। हेमहरुले सुदूर भविष्यलाई केन्द्रमा राखेर सोचेको नेपालीभाषाको संवृद्धिको परियोजनाभित्र छिपेको महत्व नेपाली समाजले बुझ्न सकेन।
त्यसको महत्व दुई दशकपछि देखिन थालेको छ। माथि उल्लेख गरिएको आफैँ ट्युसन सेन्टर खोज्दै आउने सञ्चारकर्मी नङसाङ लावती हेमकै सुपुत्री हुन्। नङसाङले आफूले नेपाली भाषा सिकिरहेको जानकारी नेपाल बस्ने बुबा हेमलाई यो आलेख तयार पार्दासम्म दिएकी छैनन्।
हङकङमै हुर्किएकी नङसाङ जसले चिनियाँ भाषाबाट माध्यमिक शिक्षामा राम्रो अंक ल्याई विश्वविद्यालयबाट डिग्री पनि हासिल गरेर चिनियाँ भाषाकै म्यागेजिनमा काम गरिरहेकी छन्, उनलाई नेपाली भाषा किन सिक्नुपर्यो? यसको जवाफभित्र हङकङेली नेपाली समाज र यहाँ तयार भइरहेका नयाँ पुस्ताको मनोभाव छिपेको प्रष्ट देखिन्छ।
भाषाले सिर्जना गरेको अवसर
सुरुमा हङकङका धेरै नेपालीले मातृभाषाले अवसर पनि सिर्जना गर्न सक्दछ भन्ने बुझ्न सकेनन्। त्यसैले यस्तो बुझ्नेहरुले प्रारम्भ गरेको मिसनमा तिनले सहयोग गरेनन। चिनियाँ र अङ्ग्रेजी भाषामा लेखपढ गर्न सके अवसर प्राप्त हुन्छ भन्दै त्यही बमोजिम बच्चालाई नेपाली भाषाबाट टाढा राख्ने काम गरियो। त्यसले पुर्याएको खती माथि नै चर्चा गरिसकेको छु। दुई दशकपछि बल्ल त्यो महसुस गर्दैछ, हङकङेली नेपाली समाजले।
प्रहरी जवानमा नोकरी पाउनुलाई नेपाली समाजले उत्सवको रुपमा सेलिब्रेट गर्नुपर्ने अवस्था थियो केही वर्ष अघिसम्म। अहिले त्यसमा बिस्तारै परिवर्तन देखिन थालेको छ। विश्वविद्यालयबाट ग्रेजुएट गरेका नयाँ पुस्ताका थुप्रै जनशक्ति श्रमबजारका निम्ति तयार भइरहेका छन। यसरी उपाधि लिएकाहरुलाई तिनले पढेको विषयगत क्षेत्रमा कसरी प्रवेश गराउने? बिस्तारै त्यो चुनौतीको रुपमा आइरहेको देखिन्छ। त्यसैले यस्ता चुनौतीको सामना गर्न पनि नयाँ पुस्ताले मातृभाषालाई अवसरको रुपमा उपयोग गर्न खोजेको देखिन्छ।
बेथलमा नेपाली विषयमा राम्रो गरिरहेकी र सामाजिक कार्यमा सक्रिय फर्म–४ मा अध्ययन गरिरहेकी श्रृजा थापालाई उनको यही विशेषताकै कारण विश्वभरबाट बहुसांस्कृतिक पृष्ठभूमिका विद्यार्थी छनौट गरि शिक्षादीक्षा दिने नामी शिक्षालय लि पो चुन वर्ल्ड कलेजले छनौट गरी छात्रवृत्तिमा पढाइरहेको छ। हाल उनी अमेरिकामा अध्ययन गरिरहेकी छन्।
यस्ता दृष्टान्त देखिरहेका नयाँ पुस्ताले आफ्ना अभिभावक र समाजले बाटो नदेखाए पनि आफ्नो जरा जोडिएको पहिचानको महत्व बिस्तारै बुझ्दै गइरहेको देखिन्छ। त्यसैले ती आफ्नो मातृभाषाप्रति आकृष्ट हुँदै गइरहेका छन। साथै, डिग्री हासिल गरेका नेपाली विद्यार्थीहरुका निम्ति नेपाली भाषा एउटा गतिलो अवसर बन्दै गइरहेकोले पनि ती भाषा अध्ययनतिर लागेको बुझ्न सकिन्छ।
बहुसांस्कृतिक समाजका निम्ति सरकारले केही वर्षयता सिङ्गापुरको जस्तो ‘सोसल हार्माेनी पोलिसी’ लागू गर्न थालेपछि रोजगार प्राप्त गर्न चाहिने आवश्यक योग्यतामा मातृभाषा पनि एउटा महत्वपूर्ण कडीको रुपमा जोडिन आइपुगेको छ। हङकङ सरकारले नेपाली भाषा कक्षा सञ्चालन गर्न हङकङ नेपाली महासंघलाई आर्थिक सहयोग नै उपलब्ध गराउनुले त्यो देखिन्छ पनि। यी सबै नीतिको फाइदा नेपाली विद्यार्थीले लिन पाएका हुन्।
हुन पनि भाषाको सवालमा नेपाली विद्यार्थीहरु अन्य देशका विद्यार्थीभन्दा अगाडि देखिन्छन्। नेपाली विद्यार्थीहरु अङ्ग्रेजी र चिनियाँ भाषामा मात्र राम्रा छैनन्, तिनको हिन्दी, उर्दु र नेपालीमा पनि संवाद गर्नसक्ने क्षमता छ। यस्ता दक्ष विद्यार्थी विश्वविद्यालयबाट निस्किएपछि सरकार र गैरसरकारी संस्थाहरुले ‘सोसल वर्कर‘ र अनुवादकको रुपमा हाताहात लिन तयार देखिन्छन। यस्तालाई हङकङमा प्रतिष्ठासँग जोडेर हेरिने र राम्रो आय मानिने शिक्षण पेशामा त्यत्तिकै अवसर उपलब्ध छ। मातृभाषा सिकेकाहरु कयौंले सरकारको सहयोगमा रेडियो कार्यक्रम उत्पादन गरिरहेका छन्।
दीपक भन्छन्, ‘पछिल्लो समय सरकारी नोकरीहरुमा पनि मातृभाषा जानेकोलाई महत्व दिन थालिएको छ।’
हङकङमा बेथलबाहेक सरकारको अनुदानमा माध्यमिक तहमा इस्लामिक कासिम ट्युट मेमोरियल कलेज चाइवान र प्राथमिक तहमा पाट ह्युङ सेन्ट्रल प्राइमरी स्कुल कामतिनमा पनि नेपाली विषयमा पढाइ भइरहेको छ। जसलाई हङकङमा हुर्किरहेका नेपाली विद्यार्थीहरुले यहाँको कडा प्रतिस्पर्धी बजारमा अवसर पाउने औजारको रुपमा उपयोग गर्न खोजिरहेका छन्।
त्यति मात्र नभई नेपाली विषयको पठनपाठनले दीपक र शारदाजस्ता नेपाली भाषाका शिक्षकहरुले रोजगारको अवसर पनि प्राप्त गरिरहेका छन्। त्यसभन्दा पनि महत्वपूर्ण कुरो– आफ्ना बच्चासँग संवादविहीन हुँदै गएका अभिभावकले भाषामार्फत तिनका दुःखसुखमा संलग्न हुन पाएका छन्। भिन्न सामाजिक परिवेशमा हुर्किएका बालबच्चा आफ्नो देश र त्यहाँको सांस्कृतिक विरासतसँग जोडिन पाएका छन्, तिनले हङकङको नेपाली समाजको विशेषता बुझ्न पाएका छन्।
हिजोसम्म चिनियाँ सहपाठीका अगाडि नेपाली पहिचानका कारण आत्मविश्वास गुमाइरहेका नेपाली विद्यार्थीले मातृभाषाको सिकाइबाट प्राप्त प्रतापले शिर उठाएर हिँड्न थालेका छन्। यो हङकङेली नेपाली समाजमा पछिल्लो समय देखिएको ठूलो परिवर्तन हो।
Shares
प्रतिक्रिया