हङकङमा एक ८४ वर्षीय चालकले चलाएको ट्याक्सी दुर्घटनामा परेपछि अब वृद्ध चालकहरुको स्वास्थ्य जाँचमा कडाइ गरिने अधिकारीहरुले बताएका छन्। व्यावसायिक वाहन चलाउन दिइएको लाइसेन्स नवीकरणमा यस्तो कडाइ गरिन लागिएको हो।
आइतबार ती वृद्ध चालकले हाँकेको ट्याक्सीले नर्थ पोइन्टस्थित फोर्टेस हिल रोडमा फुटपाथमा हिँडिरहेका दुई महिलालाई ठक्कर दिएको थियो।
सोमबार बिहानसम्म उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
त्यसपछि यातायात कमिस्नर रोजाना लले आइन्दा लाइन्सेन्स नवीकरणअघि स्वास्थ्य जाँच कडा पारिनसक्ने बताइन्।
‘पछिल्लो समय हङकङमा चालकहरु वृद्ध उमेरका हुँदै गएका छन्, यो तथ्य हामीले स्विकार्नै पर्छ। वृद्ध चालकहरुमा दुर्घटनाको जोखिम उच्च छ,’ उनले भनिन्।
‘वृद्ध चालकहरुको जाँच बारम्बार र राम्ररी हुन्छ हुँदैन, हामीले परीक्षण गर्न आवश्यक छ,’ उनले थपिन्।
तर, कुनै उमेर तोकेर त्यसभन्दा बढीकालाई प्रतिबन्ध लगाउने विषयमा नसोचिएको उनले बताइन्।
हाल ७० वर्षमाथिका चालकहरुले आफ्नो शारीरिक तन्दुरुस्तीको प्रमाणपत्र पेस गर्नुपर्छ। उनीहरुको हातको पकड, गोडा, आँखा र कानको परीक्षण गरिन्छ।
आइतबारको घटनामा ओरालो झर्दै गर्दा ८४ वर्षीय चालकले ट्याक्सीको नियन्त्रण गुमाएका थिए। रातो बत्तीमा पनि नरोकिइ उनको ट्याक्सीले रेलिङ भाँचेको थियो। एससीएमपी
प्रतिक्रिया