बुधबारदेखि हङकङको मास्क सम्बन्धी कडा नीति खुकुलो बनाइएको सरकारी निर्णय सुन्नासाथ साँझ नेपालीको बाक्लो बसोबास रहेको जोर्डनको सडकमा उभिएर नेपाली युवा उद्यमीहरुले मास्क नलगाई एउटा फोटोसेसन गरे र फोटो सामाजिक सञ्जालमा पोस्ट गरे।
त्यो तस्बिरमा कैद भएमध्येका एक ज्याप स्टुडियोका विक्रम गुरुङले पनि फेसबुकमा उक्त तस्बिर पोस्ट्याउँदै लेखे– ‘सार्वजनिक स्थानमा मास्क बेगरको पैलो फोटो।’
महामारी नियन्त्रणका निम्ति शून्य कोभिड नीति बमोजिम सहरलाई ‘आइसोलेसन’ मा राख्ने कडा निर्णयले एसियाको व्यापारिक केन्द्र हङकङको अर्थव्यवस्था खस्कँदै गएपछि हङकङ सरकारले ल्याएको सहर खोल्ने नीति बमोजिम बुधबारदेखि अनिवार्य मास्क लगाउनुपर्ने नियम पनि खुकुलो बनाएको छ।
महामारी नियन्त्रण गर्न चार वर्षअघि मास्क लगाउनुपर्ने नियम बनाए पनि त्यसलाई अनिवार्य गरिएको थिएन। तर सरकारको यस्तो खुकुलो नीति प्रभावकारी नभएपछि उसले त्यसको एक वर्षपछि मास्क लगाई नहिंड्ने व्यक्तिलाई कडा सोधपुछ सहित जरिवाना समेत गराउन थालेपछि यो नियम कडाइका साथ कार्यान्वयनमा आएको थियो।
३ वर्षअघि मास्क अनिवार्य गरिएको थियो। मास्क लगाई सामाजिक दुरी कायम गरेर मात्र घरबाहिर निस्कन दिइएको हङकङमा बिना मास्क हिंड्नेलाई सुरुमा १५ सय हङकङ डलर र पछि त्यसलाई बढाएर ५ हजार हङकङ डलरसम्म पुर्याइएको थियो। कोभिड महामारीपछि हङकङका मुख्य मुख्य बजारमा रंगीविरंगी र विभिन्न डिजाइनका मास्कका पसलहरु खोलिएका थिए।
मास्क अनिवार्य बनाएसँगै हङकङ सरकारले मास्क उद्योगमा व्यापक लगानी समेत गरेको थियो। यो उद्योगमा लगानी गर्न चाहनेहरुलाई आर्थिक सहयोग नै गरेको थियो। तर मास्क अनिवार्य नीतिलाई गएको वर्षदेखि खुकुलो बनाउँदै लगिएकोथियो। रेष्टुरेन्ट छिर्दा र शारिरीक व्यायाम गर्दा मास्क लगाउन नपर्ने नियम ल्याइएको थियो।
मास्क अनिवार्य नरहेको समाचार सुनेर रेल (एमटीआर) डिब्बाभित्र छिरेका सञ्चारकर्मी अनोज रोक्का त्यतिबेला छक्क परे, जब उनले आफूबाहेक अरु सबैले मास्क लगाएको देखे। आश्चर्यमा परेका रोक्काले त्यो पललाई मोबाइल क्यामेराले कैद गरे र पोस्ट्याए– ‘करिब ३ वर्षपछि हङकङको सार्वजनिक स्थानमा मास्कबिना हिँडियो। तर पनि आफ्नो सुरक्षाको लागि होला, रेलमा मास्क नलगाउने म मात्र भएँ।’
अनोजले देखेझैँ हङकङमा ४ वर्षदेखि निरन्तर मास्क लगाएर हिंडेको बानीले होला, बुधबार बिहान ड्युटीमा हिंड्ने करिब सबै मान्छे मास्क सहित दौडिरहेका भेटिन्थे । रेल, बस र पैदलयात्रीहरुका मुखबाट मास्कका पर्दा अझै हटेका थिएनन।
चिनियाँ मात्र नभई अधिकांश नेपालीहरु पनि बिनामास्क हिंडेका थिएनन। घान्द्रुक समाजका पूर्वअध्यक्ष मिलन गुरुङ पनि सुरक्षाका निम्ति केही समय मास्क बिना नहिंड्ने बताउँछन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘आफ्नै सुरक्षाका लागि केही समय मास्क नहटाउने।’
हङकङ सरकारलाई प्रारम्भमा कोभिड महामारी नियन्त्रण गर्न अपनाउनुपर्ने विधि लागू गर्न सजिलो थिएन। मास्कमा बानी पार्न जरिवाना लगाउनुपरे झैँ कोभिडविरुद्धको खोप लगाउन सुरुमा निकै प्रलोभन देखाउनु परेको थियो।
खोप लगाउनेलाई लाखौँ डलर बराबरको घर सहितको विभिन्न पुरस्कारको व्यवस्था समेत गरिएको थियो। त्यसो गर्दा पनि धेरै ठूलो संख्यामा खोप लगाउन नआएपछि केही समयपछि सरकारले खोपलाई बाध्यकारी बनाएको थियो।
आजको मितिसम्म ६,९१३,९९२ (९४.६ प्रतिशत) जनसंख्याले पहिलो डोज, ६,७९६,४७४ (९३.१ प्रतिशत) जनसंख्याले दोश्रो डोज र ५,८४२,८८५ (८३.८ प्रतिशत) जनसंख्याले तेश्रो डोज खोप लगाइसकेका छन। लकडाउनले हङकङको अर्थतन्त्र ठप्प भई त्यसले अर्थतन्त्रमा नराम्रो असर पार्नथालेको र बहुराष्ट्रिय कम्पनीका कर्पाेरेट कार्यालयहरु सिंगापुर सर्न थालेपछि बिस्तारै लकडाउन खुकुलो बनाउँदै लगिएको थियो।
केही महिना अघिसम्म हङकङ छिर्न अनिवार्य रहेको होटल क्वारेन्टिन र पीसीआर परीक्षण पनि हटाइएको थियो । त्यति मात्र नभई हङकङमा पर्यटक तान्न लाखौंको संख्यामा निशुल्क हवाई टिकट वितरण गरिनेसम्मको कार्यक्रम ल्याइएको छ।
हङकङमा लकडाउनका बाबजुद कोभिडका कारण मृत्यु हुनेहरुको संख्या नघटेपछि हङकङ सरकारले यो महामारी नियन्त्रण गर्न कडाइका साथ केही नियमहरु लागू गर्यो र सहरलाई विश्वबाट बिच्छेद पार्यो। यति गर्दा पनि जनवरी २०२० देखि अहिलेसम्म कोभिडका कारण १३,३३३ जनाको मृत्यु भइसकेको छ। ३० जनवरी २०२३ देखि अहिलेसम्म १२६ जनाको मृत्यु र ७२४० जनामा कोभिड पोजिटिभ देखिएको छ।
महामारीलाई नजिकदेखि नियालेका निकै संवेदनशील मानिने हङकङबासीहरु अझै त्यो त्रासदीबाट मुक्त हुन सकिरहेका छैनन्। त्यसैले सरकारले मास्क अनिवार्य नगर्ने घोषणा गर्दा समेत तिनको नाकमुखबाट मास्कको आवरण अझै हट्न मानिरहेको छैन।
प्रतिक्रिया