लण्डनमा ‘अट्याक्ड’ म्यासेज, लगत्तै हङकङमा धनराजको ‘आत्महत्या’?

लण्डनमा ‘अट्याक्ड’ म्यासेज, लगत्तै हङकङमा धनराजको ‘आत्महत्या’?

जेवी पुन मगर
साउन ७, २०७९ शनिबार ७:८, हङकङ

१९ जुन २०२२, हङकङ 
कहिल्यै अँध्यारो नहुने हङकङको जोर्डन बजार रातको दस बज्दा पनि झलमल्ल थियो। पाइलैपिच्छे नेपाली ठोक्किन आइपुग्ने व्यस्त सांघाइ स्ट्रिटको पश्चिमपट्टि ठडिएको पुरानो भवनको आठौँ तलास्थित फ्ल्याट नम्बर १११, सेक्सन–एमा विशेष माहोल थियो। 

बीबीक्यूलगायत परिकार खाइरहेका धनराज गुरुङ नाताले सोल्टी पर्ने रुम पार्टनर पार्वत गुरुङ, जोडिएकै फ्ल्याटमा डेरा गरी बस्ने अर्का सोल्टी निकेस गुरुङ र उनकी २२ महिने छोरीसँग निकै हँसिमजाकसहित कुरा गरिरहेका थिए। दिउँसो नेपालबाट आएका आफन्तहरुसँग ‘गोल्डक्वेस्ट बिच’ गएका निकेस र पार्वतले धनराजका निम्ति बीबीक्यू ल्याइदिएका थिए।

मादक पेयले अलिअलि रौसिएका धनराज व्यावसायिक साझेदार समेत रहेका सोल्टीहरुलाई बेलाबखत नाच्ने प्रस्ताव समेत गरिरहेका थिए। दिउँसो चिमसाचोइस्थित अफिसमा नगइ नहुने भन्दै गोल्डक्वेस्ट जान छुटेका धनराज गफिँदै थिए, ‘सोल्टी हो, यो पालि जान पाइनँ। अर्काेपालि मज्जाले मासु लगेर रमाइलो गर्नुपर्छ है।’

भोलिपल्ट निकेसको छुट्टी भए पनि छोरी निद्राले झुल्न थालेको र बिहान ड्युटी जानुपर्ने पार्वत सुत्न खोजिरहेकोले करिब पौने एघार बजे निकेस ‘भोलि बिहान भेटुम्ला सोल्टी’ भन्दै आफ्नो शयनकक्षतर्फ लागे। धनराज चाहिँ ‘म एकछिन इभनिङ वाकमा निस्किन्छु’ भन्दै कोठाबाट बाहिरिए। 

१८ जुन २०२२, बेलायत 
बेलायतको लण्डनमा बेलुकी ९:१२ (हङकङ समय २० जुन, बिहान ३:४९ बजे) मा मेनुका गुरुङको मोबाइलमा हङकङमा रहेका श्रीमान धनराज गुरुङको भाइबरबाट म्यासेज आयो। त्यसको केही मिनेट (बेलायती समय ९:२६) मा सोही नम्बरबाट फेरि अर्काे म्यासेज आयो। 

तर, भाइको बच्चाको जन्मदिन मनाइरहेकी मेनुकाको ब्यागमा रहेको मोबाइलमा बजेको नोटिफिकेसनको आवाज मान्छे र संगीतको कोलाहलका कारण उनको कानसम्म पुग्न सकेन। मानसिक समस्या झेलिरहेका १० वर्षीय छोरालाई उनको स्वास्थ्यमा आधारित सिनेमा देखाइवरी मेनुका जन्मदिन मनाउन भाइको घर पुगेकी थिइन्। 

हरेक दिन बिहान, दिउँसो र साँझ श्रीमानसँग भाइबर र म्यासेन्जरमा कुरा गर्थिन् मेनुका। तर, दौडधुपका कारण आज उनको धनराजसँग सम्पर्क हुन सकेको थिएन। ९:३० मा पार्टीबाट निस्किएकी मेनुकाले १०:१५ मा घर पुगी छोरालाई ‘रिफ्रेस’ बनाइवरि झटपट मोबाइलको स्क्रिन अन गरिन्। त्यतिबेला रातको ११ बज्न लागेको थियो। धनराजले पठाएका पहिलो म्यासेजमा ‘सोविया’ (सोलिसिटर) लेखिएको हङकङको नम्बर सहितको स्क्रिनसट थियो भने दोस्रोमा अंग्रेजीमा ‘अट्याक्ड’ टाइप गरिएको म्यासेज थियो।​

मेनुकाले म्यासेजको भेउ पाइनन्। भाइबर कल गरिन्। तर, तीन चारचोटि फोन गर्दा पनि नउठेपछि ‘बाबासँग भोलि बोलुम्ला’ भनी छोरा लिएर बिस्तरामा छिरिन्।​

२० जुन २०२२, हङकङ
एकाबिहानै चिमसाचोइमा बार सञ्चालन गरिरहेका सरुन शेरचनलाई आफूलाई हङकङ प्रहरी बताउने व्यक्तिले ‘तेरो साथी धनराज गुरुङले झुण्डिएर आत्महत्या गरेको छ, तुरुन्त आइज’ भन्दै बोलाए। सरुनले अनुष लिम्बुलाई पनि फोन गरे र दुवै घटनास्थलतिर दौडिए। दुवै जना धनराजका मिल्ने साथी थिए। धनराजको डेरादेखि उत्तर–पूर्वमा पर्ने करिब ३ किलोमिटर दुरीमा रहेको याउमातेइस्थित किङ्सपार्कमा शेरचनलाई बोलाइएको थियो।  

६ बजे मर्निङ वाक गर्दै पार्क पुगेका स्थानीय चिनियाँले दिएको सूचनाको आधारमा घटनास्थल पुगेको हङकङ प्रहरीले पार्कभित्रको घना जंगलमा रहेको रुखको हाँगामा एकजना युवा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा भेट्टाएको थियो। पासोमा झुण्डिएका मृतक उनै धनराज थिए, जो गएराति ११ बजे ‘इभनिङ वाक’ का निम्ति घरबाहिर निस्केका थिए।

सनाखतका लागि त्रिपालभित्र राखिएको धनराजको शव

सरुन र अनुष घटनास्थल पुग्दा धनराजको शवलाई भुइँमा झारेर निलो त्रिपालले ढाकेर राखिएको थियो भने प्रहरीले डोरी लगायतका सामान अनुसन्धानका लागि लगिसकेको थियो। शव सनाखतका लागि सरुनलाई धनराजको मृत शरीर देखाइएको थियो। सरुन साथीको शव देखेपछि एकछिन दिमाग सुन्न भएको सम्झिन्छन्। 

उनी भन्छन्, ‘उसले त्यसदिन पनि सधैँ लगाउने खाकी रंगको हाइकिङ ट्राउजर र चेक टिसर्ट लगाएको रहेछ। उसको घाँटीमा निलो डाम थियो। मैले त उसको लास धेरैबेर हेर्नै सकिनँ।’

केहीबेरपछि धनराजका मामा ससुरा निर्माण व्यवसायी अर्चन गुरुङ र उनका साढुभाइ ग्रोसरी व्यवसायी प्रविन गुरुङ पनि घटनास्थल आइपुगे। सरुनले कल गरेर ड्युटीमा गएका पार्वतलाई पनि बोलाएका थिए, उनी पनि आइपुगे। तर उनी आउँदा शव लगिसकेकोले पार्वतले भने मृतकको मुख हेर्न पाएनन्।स्तब्ध भएका अर्चनले बेलायतमा बसोबास गरिरहेका मेनुकाकी काका काकीलाई दुर्घटनाको जानकारी गराइदिए। 

लण्डनबाट नेपालखबरसँग मेनुकाले म्यासेन्जरमा दुखद् खबर बोकेर आएको त्यो बिहानीबारे सुनाउँदै भनिन्, ‘६ बज्दानबज्दै काकाकाकी किन आउनुभएको होला भन्दै सोचिरहेकी थिएँ। काकाले कल्पनै नगरेको खबर सुनाएपछि म त एकछिन चेतनाशून्य भएछु।’

हङकङेली नेपाली समाजमा कसैलाई नबिझाउने, अत्यन्त मिलनसार, शिक्षित र भद्र युवाको रुपमा चिनिएका ४५ वर्षीय धनराज गुरुङले आत्महत्या गरेको खबर एक कान दुई कान हुँदै हङकङभरि फैलिँदै गयो। राति ‘भोलि भेट्ने’ योजनासहित हाँसिखुसी छुट्टिएका सोल्टि झुण्डिएको खबर निकेसका निम्ति पत्यारिलो नै थिएन। घटना उनले किन पनि पत्याएनन् भने एक दिन अघि मात्र (१८ जुन शनिबार) नेपालबाट आएका एकजना खोटाङबासी पाहुनालाई बिदा गर्न जोर्डनको कोरियन रेस्टुरेन्टमा राखिएको डिनर कार्यक्रममा समेत धनराज पुरै मुडमा देखिन्थे।

 धनराज झुण्डिएको भनिएको रुख

यो एउटा यथार्थ थियो भने धनराजको मृत्यु अर्काे यथार्थ थियो। केही पारिवारिक सदस्य सहित करिब ८ बजे घटनास्थल पुग्दा धनराज झुण्डिएको भनिएको बडेमानको रुख देखेपछि निकेस झन् चकित परे।

खोटाङ समाज हङकङका अध्यक्ष समेत रहेका निकेस भन्छन्, ‘पार्कभित्र रहेको घना जंगलको त्यत्रो ठूलो रुख चढेर त्यसको हाँगामा पुगेर झुण्डिनु ढाडको बिरामीका निम्ति अकल्पनीय र स्वीकार्न नसकिने यथार्थ थियो।’

निकेसको मात्र होइन, त्यहाँ पुगेर फर्किएका सबैको धारणा एउटै सुनिन्छ– त्यति माथि पुगेर झुण्डिन कसरी सम्भव भयो?

धनराज गुरुङ

धनराजले छाडेर गएका प्रश्नैप्रश्न
हङकङेली नेपाली समाज मात्र होइन आफ्नै श्रीमती र मित्रमण्डलीमाझ समेत प्रश्नैप्रश्न छाडेर गएका धनराज स्वयंले आफ्नो जीवनशैलीलाई रहस्यमय आवरणले ढाक्ने प्रयत्न गरेका थिए। घटनालगत्तै नेपालखबरले रहस्यमय देखिने धनराजको मृत्युमाथि थालेको सोधखोजबाट प्राप्त तथ्य–तथ्यांकले मृतक बाहिर जति खुला किताब लाग्दथे, भित्र उनी त्यति नै बढी रहस्यमयी देखिन्थे। 

कुनै समय धरानमा युवाहरुलाई बेलायती सेनामा भर्ती लगाउने ‘माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टर’बाट राम्रो आयआर्जन गरेका पुस्तैनी घर खोटाङ भएका हङकङका स्थायी परिचय पत्रधारी धनराज (आईडीको जन्ममिति १०–१२–१९७७) हङकङ आईडीधारी मेनुका गुरुङसँग लगनगाँठो कसेपछि हङकङ पुगेका थिए। हङकङका व्यवसायी तथा धनराजका परिचित धर्मराज राईको भनाइमा नेपालमा छँदा धनराज पूर्वान्चल क्षेत्रकै सफल युवा व्यवसायी गनिन्थे। त्यस्ता पृष्ठभूमिका धनराज हङकङ पुगेर बहुसंख्यक नेपालीको रोजाइमा पर्ने स्थानीय अध्येताहरुले भन्ने गरेको थ्रीडी (डर्टी, डिफिकल्ट, डेन्जरस) काम अर्थात् निर्माण क्षेत्रमा लागे। पछिल्लो समय उनले ‘पार्टटाइम‘ सुरक्षा गार्डको काम पनि गरेको देखिन्छ। 

धनराजलाई नजिकदेखि जान्ने बुझ्नेहरुका भनाइमा स्नातकोत्तर अध्ययन गरेका व्यावसायिक पृष्ठभूमिका धनराज कन्स्ट्रक्सन क्षेत्रमा गर्नुपर्ने अधिक शारीरिक श्रम र हङकङको मेट्रो रेलको गतिमा दौडनुपर्ने जीवनशैलीबाट सन्तुष्ट थिएनन्। व्यापारिक केन्द्र हङकङको चरित्र बुझ्दै गएका उनी बिस्तारै व्यापार–व्यवसायमा संलग्न हुन खोजिरहेका थिए। हङकङजस्तो सहरमा नोकरी होइन, व्यापार गर्नुपर्छ भन्दै साथीभाइलाई समेत प्रोत्साहित गर्ने धनराज सुरुमा नेटवर्किङ व्यवसाय ‘केसी केसी र वेटर लिभिङ’ भित्र छिरेका थिए। ती कम्पनी डुबेपछि उनी आयात–निर्यात व्यवसाय गर्ने भन्दै मुख्यभूमि चीनका विभिन्न सहर पनि डुल्न थालेका थिए।

धनराजले आफ्ना सोल्टीद्वय निकेस र पार्वतसँग मिलेर हङकङको कम्पनी रजिस्ट्रार कार्यालयमा २० जुन २०१४ मा ‘सगरमाथा इन्टरनेसनल हर्ब्स ट्रेडिङ लिमिटेड’ र २०१७ मा ‘जीआर इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन’ नामक कम्पनी दर्ता गराएको देखिन्छ।

धनराज र उनका दुई सोल्टीहरुको नाममा दर्ता कम्पनी

हामीले कम्पनी साझेदारमध्येका एक निकेसलाई कम्पनीको कारोबारबारे केही प्रश्न सोधेका थियौँ।

‘सगरमाथा कम्पनी नेपालबाट रुद्राक्ष मालाको कारोबार गर्न भनि खोलेका थियौँ, काम नै गर्न सकिएन। बैँक खाता नै बन्द भो,’ निकेसको जवाफ थियो, ‘त्यसबाट काम गर्न नसकेपछि अर्काे सिस्टर कम्पनी दर्ता गराएका थियौँ। काम गरौँ भन्दाभन्दै यस्तो दुर्घटना भयो।’

धनराजले पछिल्लो समय चीनबाट नेपालमा सामान पठाउने भन्दै धेरै व्यवसायी र आफन्तहरुसँग लाखौँ डलर उठाई अनौपचारिक च्यानलबाट ठूलो आर्थिक कारोबार गरिरहेका थिए। छोराको उपचारका निम्ति सन् २०१८ मा बेलायत गई बसिरहेकी श्रीमती मेनुकालाई समेत आफूले गर्दै आइरहेको यो कारोबारबारे धनराजले कहिल्यै जानकारी दिएनन्।

धनराजलाई समेत बेलायत लैजान कागजी प्रक्रिया बढाइरहेकी मेनुकालाई उनी भनिरहन्थे, ‘म तिम्रो र छोराको भविष्यको लागि काम गरिरहेको छु।’

त्यो काम के थियो, उनले कहिल्यै खुलाएनन्।

धनराजसँग आर्थिक कारोबार गरिरहेका साझेदारहरुको भनाइमा धनराज ‘चीनबाट नेपाल सामान पठाउन’ भन्दै पैसा उठाउँथे र आफूले कबोलेको मितिमै सयकडा १० को हिसाबले ब्याज थपेर फिर्ता गरिदिन्थे। ३ पटक (२०२०, २०२१ र २०२२ फेब्रुअरी) गरी १५ लाख डलर लगानी गरेका एक व्यवसायी भन्छन्, ‘धनराजले हरेक दोस्रो महिनाको फरकमा बैंक खातामा ब्याज जम्मा गरिदिन्थ्यो। कसरी ल्याउँथ्यो थाहा छैन। तर कारोबारमा ऊ असाध्यै इमान्दार थियो। यसपालिको किस्ता पनि सोमबार ४ बजेसम्म लगाइदिन्छु भन्थ्यो, त्यसैदिन यस्तो भयो।’

एक जना व्यवसायीको भनाइमा कयौँचोटि कतिसम्म हुन्थ्यो भने उनीबाट धनराजले २ दिनको लागि पैसा चाहियो भन्दै एक लाख लैजान्थे र तेस्रो दिनमा १० हजार ब्याज थपेर फर्काइदिन्थे। ती व्यापारी भन्छन्, ‘उनको खल्तीमा एकडेढ लाख हङकङ डलर कहिल्यै छुट्थेन।’ 

आफ्ना मिल्ने साथी र कारोबार गर्ने व्यवसायीहरुलाई हङकङमा चिनियाँ र नेपालमा मारवाडी व्यापारीसँग मिलेर कारोबार गरिरहेको बताए पनि ती कस्ता व्यापारी हुन् र तिनका नाम के हो, कम्पनी कुन हो, धनराजले कहिल्यै खुलाएनन्। उनले कहिले नेपालमा टीभीको पार्टपुर्जाको कारोबार गर्छु भन्थे, कहिले कोरोनाको सामान पठाउँदैछु भन्दै पैसा माग्ने गर्थे। 

तर, आफ्ना हङकङका कारोबारी चिनियाँ साझेदारबारे न उनले श्रीमती मेनुकालाई कहिल्यै बताए न अभिन्न मित्रहरुसँग त्यसबारे खुलेर कुरा गर्न चाहे। सधैँ चिमसाचोइ अफिस जान्छु भन्ने धनराजले मनपेट खोल्ने साथीहरुलाई समेत कहिल्यै आफ्नो कर्मथलो देखाउन चाहेनन्।

धनराजका नजिकका मित्र सरुन शेरचन भन्छन्, ‘धनराज अरु सबै बताउँथे तर व्यवसाय र पार्टनरबारे उनी कहिल्यै बोल्न चाहेनन्। जोड गरेर सोध्दा आफ्नो व्यापार–व्यवसायबारे कसैलाई भन्न हुँदैन भन्दै तर्किन्थे।’​​​

दुर्घटनास्थलमा बौद्ध परम्परा अनुसार लामाद्वारा मृतकको ‘आत्मा शान्ति’ को पूजापाठ गरिँदै

रहस्यमय म्यासेज
धनराज सन् २०१७ मा कन्स्ट्रक्सन कम्पनी ‘ड्रागेज’ मा काम गर्दैगर्दा हङकङमा दुर्घटनामा परेका थिए। उनी त्यसैको क्षतिपूर्तिका निम्ति सेन्टरको क्विन्स रोडस्थित भि हेउन भवनको २१ औँ तलामा रहेको ‘पुन एन्ड चेउङ सोलिसिटर्स’ फर्म मार्फत मुद्दा लडिरहेका थिए। धनराज ‘सिक लिभ’सम्बन्धी यो मुद्दाबारे पनि ‘लाज लाग्छ’ भन्दै कसैसँग खुल्न खोज्दैनथे। यो मुद्दा उनका सोलिसिटर जर्मन एमसी चेउङको सहयोगमा सन् २०१९ मा ‘लिगल एड डिपार्टमेन्ट’ मा स्थानान्तरण गरिएको र सोलिसिटर ‘क्याथी सो’ ले मुद्दा लडेको देखिन्छ।

असाध्यै महंगो कानुनी शुल्क लाग्ने हङकङमा आर्थिक अवस्था कमजोर भएकाले सरकारी वकिलले निशुल्क लडिदिने ‘लिगल एड’ का लागि आवेदन दिई मुद्दा लड्ने गरिन्छ। लिगल एड डिपार्टमेन्टमा रहेको धनराजको मुद्दा (नम्बर– एलए/एमपी १/१७९४२/२०१९ (एएल ०२))  हेर्दा उनले पनि त्यही बाटो अपनाएको देखिन्छ। धनराजले आफ्नो मोबाइलमा सेभ गरी राखेको र २० जुनको बिहान ३ः४९ बजे श्रीमती मेनुकालाई स्क्रिनसट गरी पठाएको म्यासेजमा उल्लेख सोविया (सोलिसिटर) जर्मनकी सहयोगी हुन्।

धनराजको मुद्दामा सहजीकरण गरिरहेकी सोविया राईसँग नेपालखबरले यसबारेमा थप कुराकानी गर्न खोजेको थियो। तर उनी बोल्न चाहिनन्। 

धनराजको मुद्दामा संलग्न कानुन व्यवसायीहरुबाट नेपालखबरले संकलन गरेको जानकारी अनुसार धनराजको मुद्दाको छिनोफानो लागिसकेको र क्षतिपूर्तिबापत उनले पाउने ‘राम्रो रकम’ निकासा भई सम्बन्धित निकायको खातामा गइसकेको छ। धनराजले श्रीमती मेनुकालाई यसबारे बताएका थिएनन्। उनले जुलाईको मध्यतिर मुद्दाको छिनोफानो हुने जानकारी मात्र दिएका थिए। मुद्दा छिनोफानो भएर राम्रो क्षतिपूर्ति पाएका कारण हुनसक्दछ, धनराज केही दिनयता निकै प्रफुल्ल देखिन्थे। साथै, धनराजले आफूमाथि १० लाख हङकङ डलर लगानी गरेका एकजना व्यवसायीलाई जुलाई २ र ४ तारेखको भिन्न मितिका निम्ति ५–५ लाख डलरको चेक समेत बनाइदिएका थिए। त्यसअघि सामान्यतः उनले मुद्दा भएकोले आफ्नो नाममा चेक काट्न नमिल्ने भन्दै नगद कारोबार गर्ने गरेका थिए।  

२० जुन बिहान ४:२६ सम्म वाट्सएपमा अनलाइन देखिने धनराजले यदि आफैँ टाइप गरी श्रीमती मेनुकालाई म्यासेज पठाएका थिए भने सोवियाको नम्बर पठाई के संकेत गर्न खोजेका हुन्? सिक लिभ मुद्दाको छिनोफानो लाग्यो भन्न खोजेका हुन्? पहिलो म्यासेज पठाएलगत्तै ‘अट्याक्ड’ अर्थात् ‘आक्रमण’ लेखेर त्यसको अगाडि डटडट राखि उनले किन फेरि अर्काे म्यासेज लेखिपठाए? उनलाई कसले गर्दैथ्यो आक्रमण? श्रीमतीसँग दैनिक तीन पटक म्यासेन्जर र भाइबर मार्फत कुराकानी गर्ने धनराजले त्यो बिहान किन म्यासेज मात्र लेख्न ठिक ठाने? यदि उनी इभनिङ वाकमा एक्लै हिँडिरहेका थिए भने किन सदाझैँ कल गरेनन्? यी र यस्ता प्रश्नका यथार्थपरक जवाफ हङकङ प्रहरीको अनुसन्धान टोलीले गर्ने गहिरो अध्ययनले मात्र दिन सम्भव थियो। 

तर, आफूलाई मिस्टर चान भनी चिनाउने हङकङ प्रहरीका एक अधिकारीले मेनुकालाई अनुसन्धान सकिएको भन्दै शव बुझ्न सम्बन्धित निकायमा सम्पर्क गर्न भनेपछि उनी थप आश्चर्यमा परेकी छन्।

खोटाङ समाज हङकङले १८ जुनमा आयोजना गरेको डिनर कार्यक्रम नै धनराज (चेकसर्ट लगाएका) को अन्तिम भोज बन्यो

थप अनुत्तरित प्रश्नहरु
राति ११ बजे ‘इभनिङ वाक’ का लागि निस्किएर पाँच घण्टा हराएका धनराज त्यो समय कहाँकहाँ पुगे र क–कसलाई भेटे भन्ने सूचनाले उनको रहस्यमय मृत्युको गाँठो खोतल्न मद्दत गर्ने थियो। मेनुकाले प्रहरी अधिकारी समक्ष धनराजले पठाएका दुइटा म्यासेजले केही गम्भीर संकेत गर्न खोजेकाले उनको मोबाइल ‘अनलक’ गरी कल र म्यासेजको जाँच गर्न विशेष अनुरोध गरेकी थिइन्। अघिल्लो दिनसम्म हाँसिखुसी बोलेर आमाछोरासँग छुट्टिएका धनराजले आत्महत्या गर्ने कुनै कारण नदेखेकी मेनुका ‘अट्याक्ड’ म्यासेजभित्र गहिरो रहस्य लुकेको हुनसक्ने अड्कल काट्छिन्। 

तर, प्रहरी अधिकारीले मेनुकालाई धनराजको मोबाइल ‘रिकभर’ गर्नै नसकिनेगरी फुटेकोले त्यसबाट थप अनुसन्धान गर्न नसकिने जवाफ फर्काएको छ। चार बजेसम्म राम्ररी चलेको मोबाइल कसरी रिकभर गर्नै नसक्नेगरी फुट्यो, जवाफ खोज्ने प्रयत्न गरिएको छैन।

‘हामीले सीसीटीभी फुटेज र पोस्टमार्टम रिपोर्ट हेर्यौँ,’ प्रहरी अधिकारीले अनुसन्धान सकिएको बताउँदै फोनमा भनेको कुरा मेनुकाले स्मरण गरिन्, ‘हामीले तिम्रो बुढाको आत्महत्या स्वाभाविक नै देख्यौं।’

धनराजको मृत्यु प्रमाण पत्र

कन्स्ट्रक्सन दुर्घटनामा परी ढाडमा चोट लागेका व्यक्ति त्यत्रो बडेमानको रुखको हाँगामा चढेर कसरी झुण्डिन सम्भव भयो भन्ने प्रश्नले धेरैलाई सोचमग्न बनाएको छ। पार्क भए पनि घना जंगल जस्तो देखिने सुनसान त्यो स्थानमा धनराज त्यति राति ‘इभनिङ वाक’ का लागि पुगेको कुरा उनका पारिवारिक सदस्य कसैले पत्याइरहेका छैनन्। शव सनाखत गर्न गएकाहरुले मृतकको घाँटीको बीच भागमा डोरीको डाम देखेका कारण प्रश्न उठाइरहेका छन्– झुण्डिएको भनिएको मृतकको दाग कसरी गर्दन मुनि बस्न गयो? 

धनराज जुन स्तरमा अनौपचारिक आर्थिक कारोबारमा संलग्न थिए, त्यसले एकैचोटि धेरै प्रश्नहरुको जन्म गराइदिएको छ। उनले बारम्बार नाम लिने तर कसैलाई नचिनाउने हङकङका चिनियाँ साझेदार को थिए? उनीसँग धनराजले गर्ने कारोबारको प्रकृति के थियो? १० प्रतिशत महंगो ऋण लिएर तत्काल तिरिहाल्ने हैसियत बनाएका धनराजले कुन उद्यममा कति लगानी गरिरहेका थिए? हङकङ प्रहरीको अनुसन्धान (केस नम्बर २२०१६३६७) ले यस्ता कुनैपनि प्रश्नका उत्तर खोज्न सकेको देखिँदैन। 

श्रीमतीको हैसियतले मेनुका हङकङ आएर धनराजको एमपीएफ (सञ्चय कोषको रकम), दुर्घटना मुद्दाबाट प्राप्त रकम, बैंक खाता, प्रहरीले कोठाबाट लगेको सामग्री, लकरभित्र रहेको दस्तावेज र मोबाइल फोन नियन्त्रणमा लिई राम्ररी अध्ययन नगर्दासम्म धनराजले समाज र श्रीमतीबाट समेत लुकाउन खोजेको विवरण खुलस्त हुने छैन। 

२५ जुलाईमा काठमाडौँमा गरिने श्रीमानको अन्तिम संस्कार सम्पन्न गर्न छोटो समयका निम्ति बेलायतबाट नेपाल आउन लागेकी मेनुका छोराको स्वास्थ्य स्थितिका कारण तत्काल हङकङ पुग्ने अवस्था देखिँदैन। त्यसैले अझै केही समय धनराजको रहस्यमय मृत्युबाट पर्दा उठाउन सहयोग पुग्ने कडीहरु तत्काल जोडिन सक्ने सम्भावना देखिँदैन।

(नेपालखबरको रिपोर्ट कसैले साभार, अनुवाद गरेको वा भिडिओ बनाएको पाइएमा कानुनी कारबाही अगाडि बढाइने छ।) 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .