स्वतन्त्र प्रकाशकलाई हङकङ पुस्तक मेलामा बहिष्कार

स्वतन्त्र प्रकाशकलाई हङकङ पुस्तक मेलामा बहिष्कार

नेपालखबर
साउन ५, २०७९ बिहिबार १२:१२, हङकङ

राजनीतिक कार्यकर्ता तथा स्वतन्त्र प्रकाशक रेमन्ड येउङ ज–चुनले हङकङ पुस्तक मेलामा स्टल लगाउन आफूले दिएको आवेदन आयोजकले अस्वीकार गरेको थाहा पाएपछि अहिले जीवनको नयाँ अध्यायको सुरु गर्ने निर्णय गरे। उक्त पुस्तक मेला बुधबार सुरु भएको हो।

उनले हङकङ पुस्तक मेलाका लागि १२ स्थानीय प्रकाशकलाई एकसाथ राखेका थिए। जसमा पाठकलाई स्थानीय झल्को दिने र निकै संवेदनशील विषय समेटिएका पुस्तक थिए। यो एसियाकै ठूलो पुस्तक प्रदर्शनी हो। यद्यपि यो मेला सुरु हुनुभन्दा एक साताअघि येउङको आवेदन अस्वीकृत भयो। 

विशेषगरी अधिकारीहरूले संवेदनशील ठहर्याएका शीर्षक तथा विषयका पुस्तकहरु बेच्ने स्वतन्त्र पुस्तक पसल र प्रकाशकमाथि दुई वर्षअघि बेइजिङले लागू गरेको राष्ट्रिय सुरक्षा कानून लागू भएयता नै कडाइमा पर्दै आएका छन्। 

कार्यक्रमस्थलका मालिकले येउङमाथि अन्य मानिसलाई पनि स्टल भाडामा दिएको कारण देखाउँदै आवेदन रद्द गरिएको बताएका छन्।  तर २०१९ मा भएको सरकारविरोधी प्रदर्शनका एक कार्यकर्ताका रुपमा चिनिएका येउङ भने राजनीतिक कारणले आफ्नो आवेदन अस्वीकृत भएको दाबी गर्छन्। 

पुस्तक मेलाका लागि उनको निवेदनलाई वैधानिक निकाय व्यापार विकास परिषद् (टीडीसी) ले पनि खारेज गरेको थियो। येउङले टीडीसीको निर्णयप्रति पनि आशंका व्यक्त गरेका छन्। 

टीडीसीकी उप कार्यकारी निर्देशक सोफिया चोङ सुक–फ्यान भने यसपटकको पुस्तक मेलाको लागि शीर्षकमा सेन्सर नलगाइएको बताउँछिन्। यो पुस्तक मेलाको विषयमा कुनै गुनासो आएको छ भने त्यसलाई कानुन अनुसार अनुसन्धान गरेर समाधान गरिने उनको भनाइ छ। कानुन उल्लंघन भएको छ वा छैन भनेर हेर्ने अधिकारी टीडीसीलाई नभएको उनको जिकिर छ। 

स्वतन्त्र प्रकाशक र पुस्तक पसल मालिकहरु भने यसअघि नै ठूलो क्षति भइसकेको भन्दै आगामी दिनमा थप नोक्सानीको सामना गर्नुपर्ने त्रासमा छन्। 

“के मानिसहरू अझै पनि भविष्यमा यो क्षेत्रमा लगानीको लागि इच्छुक होलान्?”, येउङले भने। 

येउङले हार भने खाएका छैनन्। पुस्तक मेलामा अस्वीकृत भए पनि त्यसको भरपाईका लागि उनले अनलाइन पुस्तक मेलाको योजना अघि सारेका छन्। यद्यपि यो अनलाइन मेलाले पनि सोचेको जस्तो प्रचार हुन सकेन भने ५ लाख हङकङ डलरबराबरको नोक्सानी हुने उनले बताए। 

जुन २०२० मा हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू भएसँगै बिस्तारै प्रकाश र पुस्तक बिक्रेताहरुसँग पनि नयाँ कानुनमा भिज्ने प्रयासमा छन्। 
हङकङ पुस्तक मेलाका लागि आफ्नो स्थान सुरक्षित गरेका द हाउस अफ हङकङ लिटरेचरकी संयोजक लेखक ताङ सिउ–वाले आफ्नो व्यवसायलाई निरन्तरता दिन प्रकाशक आफ्नो राजनीतिक सामग्री घटाउन थालेको बताइन् ।  

पछिल्लो समय बेइजिङका विपक्षका शीर्षकका धेरै प्रकाशनहरु बन्द भएका छन्। तर पनि हिलवे कल्चरका संस्थापक येउङजस्ता केही स्वतन्त्र प्रकाशकले भने आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्।

उनका प्रकाशनहरु विरोधी समर्थकमाझ लोकप्रिय छन्। येउङ आफ्नो प्रकाशनका शीर्षकहरू वैधानिक भएको र गत वर्षको पुस्तक मेलामा कुनै कानुनी कारबाही नगरी बिक्री गर्न दिइएको तथ्यले पनि यो प्रमाणित गरेको बताउँछन्।

येउङ आफ्नो आवेदन रद्द गर्न दिइएको कारण पनि उचित नभएको बताउँछन्। आफूले साना प्रकाशकको पनि पुस्तक प्रदर्शनीमा बसोस् भन्ने उदेश्यका साथ मात्र अन्य मानिसहरुलाई पनि एकसाथ राखेको भन्दै आफ्नो बचाउ गरेका छन्। 

तर, आलोचकहरु भने उनलाई हिंसा फैलाउन सहयोग गरेको आरोप लगाउँछन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .