हङकङले कहिलेसम्म गर्न सक्छ महँगी नियन्त्रण?

हङकङले कहिलेसम्म गर्न सक्छ महँगी नियन्त्रण?

नेपालखबर
साउन ४, २०७९ बुधबार १०:४८, हङकङ

हङकङ अहिलेसम्म आफ्नो सीमा जोडिएको मेनल्याण्ड चीनमा देखिएको महँगीको रापबाट बच्दै आएको छ। जुन महिनामा हङकङमा उपभोक्ता मूल्य १.५ देखि १.८ प्रतिशतको बीचमा वृद्धि हुने अर्थशास्त्रीको अनुमान छ। 

तर विज्ञहरूले स्थानीय बैंकहरूले यस वर्षको अन्त्यसम्ममा व्याजदर ०.१२५ प्रतिशतबाट बढाएर ०.५ प्रतिशत पुर्‍याउने तयारी गरेकाले घर खरिदकर्ता र ऋण लिएकालाई भुक्तानीको भार बढ्न सक्ने उनीहरुको चिन्ता छ।  

जुन महिनामा अमेरिकाको मुद्रास्फीतिदर ९.१ प्रतिशतमा पुगेसँगै अमेरिकाको केन्द्रीय बैंकले पनि निरन्तर व्याजदर बढाइरहेको छ। 
बेलायतलगायत उच्च मुद्रास्फीतिबाट प्रभावित अन्य अर्थतन्त्रको तुलनामा हङकङ एउटा अपवाद हो। बेलायतमा गत मे महिनामा मुद्रस्फीतिलर अहिलेसम्मकै उच्च ९.१ प्रतिशतमा पुगेको थियो। त्यस्तै सिंगापुरमा ५.६ प्रतिशत थियो भने जुनमा दक्षिण कोरियामा यो दर ६ प्रतिशत थियो।

२०२२ को सुरुवाती पाँच महिनामा, हङकङको घरपरिवारहरूले खरिद गरेका सामान र सेवाको मूल्यमा परिवर्तनको मापन गर्ने उपभोक्ता मूल्य सूचकांक (सीपीआई) एक वर्ष अघिको तुलनामा १.४ प्रतिशतले बढेको थियो। 

चाइनिज युनिभर्सिटीका अर्थशास्त्री साइमन ली सिउ–पो हङकङ मुद्रास्फीति नियन्त्रणमा सफल भएको बताउँछन्। 

“तर कोभिड–१९ महामारीका कारण पर्यटकको संख्यामा देखिएको कमी र अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्धको कारण सम्पत्ति बजार कमजोर भएको छ। जसले गर्दा भाडा घट्दै गएको छ, जसले गत वर्षको तुलनामा सुस्त मुद्रास्फीतिमा योगदान पुर्‍याएको छ”, उनले भने। 

हङकङको समग्र सीपीआई गत मे महिनामा १.२ प्रतिशतले बढेको थियो। तर, सरकारी राहतलाई समावेश नगर्ने हो भने यो दर १.७ प्रतिशत थियो। सरकारले जुन महिनाको तथ्यांक भने बिहीबार सार्वजनिक गर्नेछ।

सन् २०२१ को तुलनामा लत्ताकपडा र जुत्ताको मूल्य ५.६ प्रतिशत बढेको छ भने खाद्यान्नको मूल्य ४.९ प्रतिशत बढेको छ। त्यस्तै बाहिर खाने र टेकअवे खानाको मूल्य ३.५ प्रतिशत बढेको छ। यद्यपि मे महिनामा बिजुली, ग्यास र पानीको मूल्य भने ४.९ प्रतिशत घटेको छ। घरको मूल्य पनि शून्य दशमलव ५ प्रतिशतले घटेको छ।

हङकङ प्रमुख जोन लीले निकट भविष्यमा नै हङकङमा महँगी उच्च रहने सम्भावना नरहेको बताउँछन्। बेइजिङको कमजोर अर्थतन्त्रबाट हङकङ प्रभावित भने हुन सक्ने उनको भनाइ छ। अर्को वर्षसम्म महँगी ३ प्रतिशतसम पुग्ने उनको भनाइ छ। 

अर्थशास्त्रीहरु भने खाद्यान्न, उपभोग्य सामग्री र यातायातको खर्चको दबाबलाई घरभाडामा देखिएको गिरावटले सन्तुलनमा ल्याएकाले महँगी कम देखिएको बताउँछन्। वरिष्ठ अर्थशास्त्री ग्यारी एनजी यस वर्षको अन्तिमसम्ममा भने हङकङको मुद्रास्फीतिदर २ प्रतिशतसम्म पुग्न सक्ने बताउँछन्। वर्षको अन्त्यसम्ममा भाडादर पनि पुनः बढ्न सुरु गर्ने र त्यसको भार मुद्रास्फीतिमा पर्ने उनको भनाइ छ।

वित्तीय सेवा फर्म आईएनजीका ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री आइरिस पाङ अहिलेको मुदास्फीतिबाट चिन्ता गर्नुपर्ने विषय नरहेको बताउँछिन्। अझै पनि हङकङमा त्यति ठूलो संख्यामा पर्यटक नआएकाले पनि माग बढेर महँगी बढ्ने अवस्था नरहने उनको भनाइ छ। 

बेइजिङसँगको सीमानाका नखुल्दासम्म हङकङमा मुद्रास्फीतिदरको भार नपर्ने केही अर्थशास्त्रीको भनाइ छ। बेइजिङसँगको सीमा खुलेको अवस्थामा भने सम्पत्ति बजार पुनः बढ्न थाल्ने र त्यसले मुद्रास्फीतिदर पनि बढाउने उनीहरुको राय छ।

मुद्रास्फीतिदर कमजोर देखिए पनि बढ्दो खाद्यान्नको भाउको कारण आम नागरिकको जनजीवनमा भने महँगीको असर देखिन थालेको छ। पछिल्लो समय बढ्दो खाद्यान्नको भाउको कारण आफूहरुको दैनिकीमा असर पारिरहेको स्थानीयहरुको भनाइ छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .