हङकङका जनताले असल नागरिक बन्न जानेनन्ः एनी वु

हङकङका जनताले असल नागरिक बन्न जानेनन्ः एनी वु

मगेन्द्र राई
मंसिर १९, २०७६ बिहिबार ८:४५,

हङकङकी व्यापारी एनी वुले यहाँका मानिसहरु ‘चेतनाशून्य’ भएको आरोप लगाएकी छन्। हङकङबासीलाई ‘नागरिकका रुपमा प्रशिक्षण’ नदिइएको उनको गुनासो छ।

गत सेप्टेम्बरमा जेनेभामा सम्पन्न राष्ट्रसंघीय मानवअधिकार सम्मेलनमा उग्रवादी समूहले ७५ लाख जनताको प्रतिनिधित्व नगर्ने वक्तव्य दिएपछि उनी आन्दोलनकारीको निसानामा परेकी थिइन्।

‘अभिभावकहरु आफ्ना सन्तानमा राष्ट्रिय पहिचानको भावना जगाउन असफल भएका छन्,’ वुले बुधबार चाइना ग्लोबल टेलिभिजन नेटवर्कलाई अन्तर्वार्ता दिँदै भनेकी छन्, ‘यदि हङकङका जनता असल समाज चाहन्छन् भने उनीहरुले आफ्ना बच्चाहरूलाई असल संस्कार दिन आवश्यक छ।’

‘हुल्लडबाजहरुलाई तिनका अभिभावकले अझ उक्साउँदै छन् तर दोष चाहिँ सरकार र प्रहरीलाई दिने गरिएको छ,’ उनले थपिन्।

हङकङको उत्तरी जिल्ला चाई वानमा चिनियाँ फाउन्डेसन माध्यमिक विद्यालय स्थापना गरेकी वुका अनुसार अभिभावकहरूले आफ्ना बच्चाहरूको जीवनस्तर उकास्न मात्र ध्यान दिएको तर उनीहरुलाई बेइजिङप्रति सकारात्मक धारणा बनाउन नसिकाएको उनको आरोप छ।

‘खासगरी ३०–४० वर्षका अभिभावक समस्याका जड हुन्,’ उनले भनिन्, ‘तिनले आफ्ना बच्चाहरुलाई पुल्पुल्याएर बिगारेका छन्।’

वुले हङकङबासीको आगामी दुई पुस्तासम्म आफूलाई कुनै आशा नरहेको बताइन्।

६ मिनेटको छोटो अन्तर्वार्ताका क्रममा उनले हङकङ चीनलाई हस्तान्तरण भएपछि शिक्षा ब्युरोले किन्डरगार्टन र विद्यालयहरूमा राष्ट्रिय शिक्षाको प्रबर्धन गर्न असफल भएको आरोप समेत लगाइन्। साथै केही शिक्षकहरू चीनविरोधी भएको तथा हङकङका मिडियाहरुले आन्दोलनलाई सघाएको समेत आरोप लगाइन्।

वु खाद्य तथा पेय पदार्थको व्यवासय गर्ने माक्सिम क्याटरिङ ग्रुपका संस्थापक अर्बपति जेम्स वुकीजेठी छोरी हुन्। उनले सरकारको प्रतिरक्षा र बेइजिङको समर्थन गर्दै आन्दोलनकारीहरुलाई उग्रवादीहरुको सानो समूह भनेपछि माक्सिम रेस्टुरेन्ट तथा पसलहरुमाथि आन्दोलनकारीले तोडफोड र आगजनी गर्दै आइरहेका छन्।

गत ६ महिनादेखि हङकङमा आन्दोलन चलिरहेको छ। नोभेम्बर २४ मा भएको जिल्ला परिषदको निर्वाचनमा लोकतन्त्र पक्षधरहरुको जित भएको थियो। १८ जिल्लाका चार सय ५२ सिटका लागि भएको चुनावमा सरकारविरोधीहरुले तीन सय ८८ सिट हासिल गरेका थिए।

आन्दोलनलाई सरकारले किनारा लगाउन नसक्दा जनमत भड्किएर हङकङमाथि बेइजिङको पकड गुम्दै गएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .