लकडाउन, लायन डान्स र रातो कार्पेट : सीलाई यसरी स्वागत गर्‍यो हङकङले

लकडाउन, लायन डान्स र रातो कार्पेट : सीलाई यसरी स्वागत गर्‍यो हङकङले

क्रिस लाउ
असार १६, २०७९ बिहिबार २१:१७, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न हङकङले बिहीबार बिजनेस डिस्ट्रिक्टको केही हिस्सालाई कडा लकडाउनमा राखेको छ। हङकङ चीनले फिर्ता पाएको २५ औँ वर्षगाँठ मनाउन सी दुई दिने भ्रमणका लागि हङकङ आइपुगेका हुन्। 

सी ३ बजे सहरमा आइपुगेका थिए। त्यसअघि वान चाइस्थित हङकङ कन्भेन्सन एन्ड एग्जिबिसन सेन्टरवरिपरि ब्यारिकेड राखेर प्रहरीको गस्ती बढाइएको थियो। 

सो स्थानमा आइपुग्नेबित्तिकै राष्ट्रपति सीले एक सयभन्दा बढी सरकारी अधिकारीहरु र व्यवसायीहरुसँग फोटो खिचाए। सो स्थानको ट्रेन स्टेसन पनि शुक्रबार दिउँसोसम्मका लागि बन्द गरिएको छ। 

वेस्ट काउलुनमा हाइस्पिड रेल टर्मिनस छेउछाउ जान पैदलयात्रीलाई समेत प्रतिबन्ध लगाइएको थियो। जहाँ ट्रेनबाट आएका सी र उनकी पत्नी पेङ ल्युआनको स्वागतमा रातो कार्पेट ओछ्याइएको थियो।

उनीहरुलाई मास्क लगाएका मानिसहरु र प्राथमिक विद्यालयका छात्राछात्राले राष्ट्रिय झण्डा हल्लाउनुका साथै ‘न्यानो स्वागत!’ भन्दै कराएर स्वागत गरेका थिए। 

टर्मिनलको लबीमा प्रस्तोताहरुले परम्परागत चिनियाँ ‘लायन डान्स’ गरेका थिए। सीलाई वर्तमान र पूर्व अधिकारीहरुले अभिवादन गरेका थिए। उनीहरुलाई कार्यकाल अन्त्य गरेकी नेतृ क्यारी लामले सीसँग परिचय गराएकी थिइन्।

सो समूहमा अबका कार्यकारी प्रमुख जोन ली, पूर्वनेता ल्युङ चुन यिङ, प्रधानन्यायाधीश एन्ड्रयु चेउङ, बिदा हुँदे गरेकी न्यायमन्त्री टरिसा चेङ, वित्तीय सचिव पाउ चान पनि थिए।

सीलाई भेट्ने अन्य अधिकारीहरुमा बेइजिङको राष्ट्रिय सुरक्षा कार्यालय, हङकङका प्रमुख चेङ याङसिओङ, विदेश मामिला आयुक्त लिउ क्वाङयुआन, जनमुक्ति सेनाको हङकङ ग्यारिजन कमान्ड मेजर जनरल पेङ चिङताङ पनि थिए।

कोरोना महामारी सुरु भएयता मुख्यभूमि भन्दाबाहिर पहिलो पटक कदम राखेका सीले टर्मिनलमा छोटो मन्तव्य दिनुअघि मास्क खोलेका थिए। 

सा तिनस्थित साइन्स एन्ड टेक्नोलोजी पार्कका थुप्रै रेस्टुरेन्टहरु कडा सुरक्षाका कारण बन्द रहे।

राष्ट्रपति सीको पहिलो दिनका कार्यक्रमहरु छोटा रहे। पुगेका हरेक ठाउँमा उनले एक घण्टाभन्दा कम समय गुजारे।

पेङले भने सिक सेन्टरमा गएर क्यान्टोनिज भाषामा ओपेरा हेरिन्।

वेस्ट काउलुन टर्मिनसमा सीले करिब चार मिनेट मात्र भाषण गरे। भेटघाटका क्रममा पनि उनले कुनै टिप्पणी गरेनन्।

सी आउनेबेलामा १३ जना रिपोर्टरहरुको आवेदन सरकारले अस्वीकार गरिदिँदा सीको आगमनको रिपोर्टिङमा पत्रकारहरुले बाधा झेल्नुपर्यो। वेस्ट काउलुनमा प्रवेश गर्न चाहने पत्रकारले आफ्नो परिचय पत्र प्रहरीकोमा दर्ता गराउनुपर्ने थियो।

उनीहरुलाई आफ्नो छाता पनि सो स्थानभन्दा बाहिरै छाड्न भनियो। जबकि हावा र झरी परिरहेको थियो। यसअघि छातालाई हङकङका प्रदर्शनहरुमा विरोधको प्रतीकका रुपमा प्रयोग गरिएको थियो। 

सीको २०१७ को भ्रमणको तुलनामा बिहीबार प्रदर्शनहरु भएनन्। विपक्षी समूहरुले पहिले नै यस पटक प्रदर्शन नगर्ने बताएका थिए। 

लिग अफ सोसल डेमोक्र्याट्सका ६ सदस्यको घरमा बुधबार तलासी लिइएको र उनीहरुलाई प्रहरी कार्यालयमा लगेर प्रदर्शनमा भाग नलिन सम्झाइएको सो समूहकी अध्यक्ष चान पो यिङले बताइन्।

२०१७ मा २६ प्रदर्शनकारीको एउटा समूहले सी झण्डोत्तोलन समारोहमा आइपुग्नुअघि गोल्डेन बौहिनिया चोकको सालिक नियन्त्रणमा लिएका थिए। सो वर्ष जुलाई १ को वार्षिक जुलुसमा ६० हजार मानिस सहभागी थिए। त्यो जुलुस सीले सहर छाड्नुभन्दा दुई घण्टाअगाडि सुरु भएको थियो। 

तर, यसपालि जुलुस गर्ने अनुमतिका लागि कसैले पनि आवेदन दिएको छैन। थुप्रै विपक्षी नेताहरु हाल जेलमा छन्।

पाक थरकी ६० वर्षीया महिलाले सीको भ्रमणबाट आफू खुसी भएको बताइन्।

‘निश्चय नै म खुसी छु। मलाई आशा छ, हङकङ समृद्ध र स्थिर रहनेछ,’ उनले भनिन्, ‘कोभिडका कारण बेरोजगारी दर उच्च छ। सरकारले थप रोजगारीको अवसर सिर्जना गरोस्।’

तर, मार्केटिङको काम गर्ने २६ वर्षीया माविस ङले ट्राफिक अनिश्चितताका कारण आफ्नो कार्यालयका करिब २० प्रतिशत कर्मचारी मात्र वान चाइस्थित कार्यालय फर्केको बताइन्।

‘हिँडेर एग्जिबिसन सेन्टरको नजिक पुग्न पाइने भए त्यहाँको स्टेसन किन बन्द गर्नु? कि सबै बन्द गर्नु, कि खोल्नुपर्थ्यो,’ उनले भनिन्।

सीले भने बिदा हुँदै गरेकी प्रमुख लाम र नयाँ नेता लीसँगै खाना खाएर भ्रमणको पहिलो दिन समाप्त गरे। त्यसपछि उनी राति बस्नका लागि सेन्जेन फर्किए।

राष्ट्रपति सी शुक्रबार ली प्रशासनको शपथ समारोहका लागि सहरमा फर्किनेछन्। उनले भाषणमा हङकङका लागि बेइजिङको निर्देशन पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। एससीएमपी

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .