बेलायतको झण्डा झारेको २५ वर्षमा जब सी रेल चढेर हङकङ आए

बेलायतको झण्डा झारेको २५ वर्षमा जब सी रेल चढेर हङकङ आए

बेलायतबाट साँचो बुझेको २५ वर्षमा सी चिनफिङ पुनः एउटा विशेष समारोहलार्ई सम्बोधन गर्न हङकङ आएका छन् (एससीएमपी)


कमल पौड्याल
असार १६, २०७९ बिहिबार १९:१५, हङकङ

हङकङ र विश्व नै कोभिडको कहरसँग लुकामारी खेल्न थालेको तीन वर्ष नाघिसक्यो। सकिने छाँट अझै छैन। आजकल त विदेशी, नेपाली जसलाई जहाँ भेटे पनि एउटै कुरा सुनिन्छः ‘नो बिजनेस, धन्दा नहीँ है, व्यापार छैन, बर्बाद भो, कहिलेसम्म यस्तो होला’ आदि इत्यादि।

धनोपार्जनभन्दा आफ्नो परिवार, नातागोता, आफन्त नगुमाई बाँच्न पाउनु नै ठूलो कुरा हो भन्ने त्यो चोट पाएकाहरुले मात्र अनुभूति गर्न सक्छन्।

हालसालै रेस्टुरेन्ट व्यवसायी भारतीय मित्रले खुसी हुँदै भने, ‘कमलजी, फिर यह साल भी और एक लाख पचास हजार डलर मिल गया। पिछले साल की तरह साइज के हिसाबसे हाफ मिलियन डलर तक और आनेका बात हो रही है। मानना पडेगा हङकङ सरकार को, कुछ महिने के लिए बहुत तसल्ली हो गई।’

मैले भनेँ, ‘आप लोग सुबहे साम डर के मारे उस लक्ष्मीकी प्रार्थना करते हो, जिस को आपने कभी देखा ही नहीँ। ना तो वह आपको चेक या नगद भेजती है। अब यिनका पूजा सुरु करो, जो साक्षात् लक्ष्मी है।’

उनलै हाँस्दै जवाफ दिए, ‘प्रार्थना तो उन्हीका किया, तब इन्होने चेक भेजा कमलजी।’

हङकङमा नेपाली रेस्टुरेन्ट, बारदेखि, अन्य सबै व्यवसायीलाई सरकारी राहतले यो वर्ष पनि धेरै भरथेग हुने भएको छ। केही नेपाली व्यवसायी साथीहरुलाई म भन्ने गर्छु, ‘अबदेखि लक्ष्मीपूजामा लक्ष्मीसँगै हङकङकी बिदा हुँदै गरेकी कार्यकारी प्रमुख क्यारी लामको फोटो राखे पनि हुन्छ।’

हुन पनि नाङ्लो पसलेदेखि ठूला व्यावसायिक घराना समेत राहतले बाँचेका छन्, अहिलेसम्म। त्यसबाहेक अठार वर्ष पुगेका सबै नागरिकलाई जनही पाँच हजार डलरका दरले पोहोर दिएको राहत बढाएर यस वर्ष दस हजार डलर गरिएको छ। बिजुली, पानी, ग्यास, आम्दानी कर, सार्वजनिक यातायातमा भारी छुट र अन्य धेरै सरकारी कर दस्तुर मिनाहा वा निकै कम गरिएको छ।

संसारमै चुस्त मानिने हङकङको स्वास्थ्य सेवा पनि अकस्मात आएको ओमिक्रन भेरियन्टका कारण अस्तव्यस्त बनेको थियो। गएको दुई वर्षमा कोभिडबाट भएको मृतक संख्या २१३ बाट उकालो लागेको थियो, तेस्रो लहरपछि। तैपनि शरणार्थी, घरेलु कामदार, आप्रवासी वा धनीगरिब जोसुकै हुन्, अस्पताल पुगेपछि उनीहरुको ज्यान कसरी बचाउने, त्यही नै पहिलो प्राथमिकता हुन्छ।

जर्मन वा चिनियाँ, दुवै खोप निशुल्क छ। सुरुमा उल्लेख्य सहभागिता नभएपछि कोभिडको दोस्रो डोजको खोप लगाउने सबै १८ वर्षमाथिका स्थायी परिचयपत्र बाहकलाई चिट्ठा प्रथाद्वारा एक करोड डलरको घर उपहार राखिएपछि खोपमा सहभागिता बढेको थियो पोहोर साल। त्यसमाथि राजनीतिकर्मी र व्यावसायिक घरानाहरूले टेस्ला, मर्सिडिज कार, रोलेक्स घडी, काँचो सुनका टेल, नगद रकम, महङ्गा किनमेल केन्द्र, वायुसेवा, विलासी पानी जहाज, तारे होटलका नगद भौचर, आदि उपहार थपिदिँदा ८० लाख जनसंख्यामध्ये अधिकांशले खोप लगाइसकेका छन्।

समयमै सबै नागरिकले जिम्मेवार बनेर खोप लगाइदिएको भए तेस्रो लहरबाट करिब ९ हजार हङकङबासीले ज्यान गुमाउन पर्ने थिएन। मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक छन्।

कोभिडको कहरकै बीच हङकङ बेलायती उपनिवेशबाट मातृभूमि चीनमा फर्किएको २५ औँ वर्षगाँठ विशेष रुपमा मनाउँदैछ यसपालि। हङकङको सार्वभौमसत्ताको साँचो बेलायती युवराज चाल्र्सको हातबाट २५ वर्षअगाडि लिएर पहिलो वार्षिकोत्सवमा समेत हङकङ आएका हाल ९५ वर्ष पुगेका पूर्वराष्ट्रपति च्याङ जेमिनले यो विशेष समारोह सायद टेलिभिजनमा हेर्नेछन्। 

संयोग नै भनौँ, पहिलो वार्षिकोत्सवमा (१ जुलाई १९९८) मा हङकङे नेपालीको पहिलो संस्था सुदूरपूर्वी प्रवासी नेपाली संघ (फियोना) को प्रतिनिधित्व गर्दै आएको मैले राष्ट्रपति च्याङ जेमिनलाई परैबाट भए पनि हेर्न पाएको थिएँ। 

अहिले संसारकै प्रभावशाली र शक्तिशाली नेतामध्ये एक सी चिनफिङ पाँच वर्षपछि पुनः यो विशेष समारोहलाई सम्बोधन गर्न हङकङ आएका छन्। उनको यो विशेष उपस्थितिले चीनले हङकङलाई निकै महत्व दिएको देखिन्छ, खासगरी पछिल्लो समय हङकङ र विश्वकै परिवर्तित राजनीतिक घटनाक्रमले।

हङकङको तीन दशक लामो मेरो बसाइमा यहाँका महत्त्वपूर्ण राजनीतिक, आर्थिक, प्राविधिक परिवर्तनको साक्षी हुन पाएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु।

२६ जनवरी १८४३ देखि ३० जुन १९९७ सम्म हङकङमा बेलायतले शासन गर्यो। जसमध्ये बीचमा दोस्रो विश्वयुद्धताका (१९४१–१९४५) चार वर्ष भने हङकङमा जापानी आधिपत्य रह्यो।

हङकङका अन्तिम बेलायती गभर्नर क्रिस प्याटन ९ जुलाई १९९२ मा हङकङ आइपुग्दा म कामविषेशले वानचाइको अध्यागमन विभागबाट पानीजहाजमा काउलुन फर्किंदै थिएँ। पानीजहाजमा चालकले स्थानीय भाषामा केही उद्घोष गरेसँगै समुद्रको बीचमा जहाज ढलपल ढलपल गर्दै रोकियो केहीबेर। उतिबेला मोबाइल फोनको त कुरै छाडौँ, क्यामरा पनि सबैसँग हुन्नथ्यो। केही पर्यटकहरू एउटा विशेष पानीजहाजलाई चारतिरबाट अग्निनियन्त्रक पानीजहाजहरूले फोहोरा सिञ्चित गरिरहेको तस्बिर खिच्दै थिए। कुरो बुझ्दा हरेक बेलायती गभर्नर हङकङ आउँदा यही शैलीमा स्वागत गर्ने चलन रहेछ।

अस्ताउँदै गरेको बेलायती साम्राज्य र उदीयमान चीनबीच हङकङ हस्तान्तरणको जारी प्रक्रिया मुख्य खबर र बहसका विषय बन्थे। त्यसैले कडा मिजासका कुटिल राजनीतिज्ञ क्रिस्टोफर फ्रान्सिस प्याटनलाई अन्तिम गभर्नरको रूपमा हङकङ पठाइएको हो भन्थे उतिबेलाका राजनीतिक विश्लेषकहरु।

जतिसुकै कुटिल भए पनि समय सकिएपछि हङकङ छाड्नुको विकल्प थिएन बेलायतीहरुसँग। यद्यपि छाड्ने बेला अन्य देशमा झैँ समस्याको बिजारोपण र अप्ठ्यारो पार्न चाहिँ उनीहरुले भरमग्दुर प्रयास गरेका थिए भन्छन् राजनीतिक पर्यवेक्षकहरु।

करिब पाँच वर्षपछि १९९७ जुन ३० को दिउँसो मध्यान्ह सिमसिमे पानी परिरहेको बेला आफ्नै निवासमा हङकङ प्रहरीको टुकडीले प्याटनलाई सलामी दिएर बेलायती झण्डा झारियो। त्यो दृश्य हेर्दा प्याटन निकै भावुक देखिएका थिए। लावालस्कर सहित निवासबाट बाहिरिँदा उनका श्रीमती र छोरीहरूले भने आँसु नै झारेका थिए।

सोही दिन राति वानचाइको सम्मेलन तथा प्रदर्शनी भवनभित्रको विशेष कक्षमा तत्कालीन चिनियाँ राष्ट्रपति च्याङ जेमिनले हङकङको साँचो बुझे बेलायती युवराज चाल्र्सबाट। बेलायतको झण्डा झारेर, पट्याइयो र बुझाइयो भने जनवादी गणतन्त्र चीन र हङकङ विशेष प्रशासकीय क्षेत्रका झण्डा फहराइए। 

ठीक त्यही बेला सार्वजनिक बाटो र विशेष क्षेत्रमा गस्ती गर्दै गरेका हङकङ प्रहरीले आफ्नो शीरपोषअगाडि रहेको बेलायती महारानीको चिन्हअंकित ब्याच निकालेर गोजीमा रहेको हङकङको झण्डा र चिन्हसहितको ब्याज लगाएको दृश्य हटकेक बने छापामा। मध्यरातमा सेन्जेनबाट सैनिक वाहनमा चारतारे झण्डा फहराउँदै चिनियाँ जनमुक्ति सेनाको लावा लस्कर हङकङ प्रवेश गर्यो। त्यसपछि युवराज चाल्र्स, गभर्नर क्रिस प्याटन, अन्य प्रशासक र गोर्खासहितका बेलायती सैनिकको सम्पूर्ण टोलीले पालैपालो पानीजहाजबाट हङकङ छाडे।

यसरी हङकङमा आफ्नै आँखाअगाडि एउटा युगको अन्त्य र अर्को युगको आरम्भ भएको साक्षी हुन पाइयो।

अमेरिकीलगायत पश्चिमी शक्तिहरूले हङकङ मातृभूमि चीनमा गाभिएसँगै प्रजातन्त्रको अन्त्य भएको निकै ठूलो हल्लाखल्ला गरे।

यसैबीच पश्चिमी शक्तिहरूभन्दा निकै कम बोल्ने र धेरै गर्ने चीनले ‘हङकङमा प्रजातन्त्रको अन्त्य होइन, सुरु भएको छ किनभने हङकङको इतिहासमा पहिलो पटक हङकङे जनताले नै यहाँ शासन गर्दैछन्’ भन्दै गर्दा पहिलो कार्यकारी प्रमुखमा हङकङबासी तुङ ची ह्वाले आफ्नो टोलीसहित सपथ लिए। हुनपनि १५४ वर्षपछि हङकङमा एक देश दुई प्रणालीअन्तर्गत स्वशासन सुरु भयो। 

निकै शालीन र भद्र व्यक्तित्व भएका तुङ व्यावसायिक घरानाका थिए। फोर्ब्स म्यागेजिनका अनुसार २.८ अर्ब अमेरिकी डलर सम्पत्ति भएका तुङ अहिले पनि हङकङमा प्रभावशाली थिंकट्यांक मानिन्छन्। एकातिर प्रशासन र राजनीतिमा बेलायती उपनिवेशकालीन धङधङी र अर्कोतिर मुख्यभूमि चीन र हङकङका जनतासँग समन्वय गरेर शासन चलाउनु उनका लागि निकै चुनौतीपूर्ण थियो। उनले दोस्रो कार्यकालको मध्यतिर १२ मार्च २००५ मा राजीनामा दिए।

हाल ८४ वर्ष पुगिसकेका उनी चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स (सीपीपीसीसी) मा उपप्रमुख तथा अन्य धेरै संस्थामा आबद्ध छन्।

तुङको राजीनामापछि हङकङको दोस्रो प्रमुख कार्यकारीको रूपमा डोनाल्ड चाङले २१ जुन २००५ मा पदभार सम्हाले। सन् १९६७ बाट हङकङको सरकारी सेवा प्रवेश गरेका चाङ १९९५ मा बेलायती शासनकालमै अर्थ सचिव बन्ने पहिलो चिनियाँ जातिका व्यक्ति थिए। हङकङ प्रशासनको धेरै महत्त्वपूर्ण पद सम्हालेका हँसिलारसिला चाङ सधैँ बो टाइमा देखिने भएकाले ‘बो टाइ चाङ’ उपनाम बाट पनि चिनिन्छन्। सन् २००१ मै चिफ सेक्रेटरीमा पदोन्नति भएका उनी प्रमुख कार्यकारीको कार्यकाल सन् २०१२ मा पुरा गरी सेवानिवृत्त भए।

सन् २०१७ मा उनलाई पदमा बहाल रहँदा निजी फाइदाका लागि सार्वजनिक पदको दुरुपयोग गरेको अभियोग लाग्यो। भ्रष्टाचारविरूद्ध काम गर्ने सरकारी संस्था इन्डिपेन्डेन्ट कमिसन अगेन्स्ट करप्सन (आईसीएसी( द्वारा छानबिन गरिएपछि उनलाई अदालतले दोषी ठहर गर्दै २० महिनाको कारागार सजाय सुनायो। कारागारमुक्त भएपछि हरेक आइतबार रोमन क्याथोलिक चर्च जानेबाहेक ७७ वर्षीय चाङ सार्वजनिक सभा समारोहमा देखिँदैनन्।

हङकङ मुख्यभूमिमा फर्किएपछि २०१२ को कार्यकारी प्रमुखको चुनावी माहौल निकै तात्यो। सी वाई ल्योङ र हेनरी ताङ दुवै बेइजिङप्रति बफादार थिए। हङकङका व्यावसायिक घराना, ब्युरोक्र्याट, बेइजिङको रोजाइ र जनतामा पनि लोकप्रिय हेनरी ताङ थिए। तर, चुनावी सरगर्मी बढ्दै जाँदा हङकङको धनाढ्य बस्ती काउलुन तोङमा रहेको उनको निजी बंगलामा भूमिगत तलाभित्र नक्सा पासबिना केही अवैधा संरचना रहेको र त्यहाँ वाइन भण्डार भएको सार्वजनिक भयो। यसबाट उनका समर्थकहरु अप्ठेरोमा परे। हङकङको राजनीतिमा निकै प्रभावशाली र बेइजिङसँग विशिष्ठ सम्बन्ध भएका धनाढ्य ली का सिङ उनको समर्थनमा खुलेरै लागेका थिए।

सरकारी निकायले उनको घर निरीक्षण गर्दैगर्दा ठुल्ठूला क्रेन चढेर उनको घर वरिपरि पत्रकारहरुको घेरा लाग्यो। हुनेवाला कार्यकारी प्रमुख यतिधेरै विवादमा आएपछि अन्तिम अवस्थामा बेइजिङ उनको पक्षबाट हात झिक्न बाध्य भयो। चुनावी परिणामअनुसार ताङको २८५ विरूद्ध ६८९ मत ल्याउँदै सी वाई ल्योङ २०१२ मा हङकङको तेस्रो कार्यकारी प्रमुख बने। बेइजिङको वैकल्पिक रोजाइका ल्योङको शपथग्रहण र १५ औँ वार्षिक समारोहमा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओ उपस्थित थिए।

ल्योङ आफ्नो कार्यकालभर र अझैसम्म पनि बेइजिङको पहिलो रोजाइ बन्ने प्रयासमा छन्। हङकङको लगातार आकाशिँदै गरेको घरजग्गाको मूल्य नियन्त्रण गर्न दोस्रो घरजग्गामा लगानी गर्नेलाई दोब्बर सरकारी दस्तुरदेखि बैंकले दिने घरजग्गा कर्जामा निकै कसिकसाउ गर्ने नीति ल्याएका ल्योङसँग हङकङका ठूलो घरजग्गा कारोबारीको सम्बन्ध भने चिसियो। २०१७ जुनमा उनले आफ्नो पाँच वर्षे कार्यकाल पुरा गरे। २०१९–२० को हङकङको विध्वंसात्मक आन्दोलनमा चीनको झण्डा समुद्रमा फाल्ने व्यक्ति पत्ता लगाउनेलाई आफ्नो तर्फबाट १० लाख डलर पुरस्कार दिने घोषणा राखेर चर्चामा आएका उनी पनि हाल (सीपीपीसीसी)​ उपप्रमुख लगायत अन्य धेरै पदमा क्रियाशील छन्। 

सन् १९८० बाट सरकारी सेवामा प्रवेश गरेर अर्थ, विकास, योजना आयोग हुँदै सन् २००७ मा सेक्रेटरी फर डेभलपमेन्ट, २०१२ मा कार्यकारी उपप्रमुख हुँदै २०१७ मा हङकङको कार्यकारी प्रमुख बनेकी क्यारी लाम सो पदमा पुग्ने पहिलो महिला हुन्। २००८ मा सेन्ट्रलको क्विन्स पियर भत्काउँदा दह्रो अडान लिएर चर्चामा आएकी उनी ‘मजबुत लडाकु’ उपनामले पनि चिनिन्छन्।

परिस्थितिले उनलाई आफ्नो कार्यकालमा झनै कडा लडाकु बन्न बाध्य गरायो। उनले बेइजिङसँग सुपुर्दगी सन्धि प्रस्ताव गरेसँगै भड्किएको आन्दोलन सन्धि प्रस्ताव फिर्ता लिँदा मत्थर हुनुको सट्टा झन् चर्कियो। आन्दोलनकारीहरू माग थप्दै झन् स्वतन्त्र हङकङसम्मका उग्र माग राख्न थाले।

आफ्नो देशको झण्डा जलाउने, समुद्रमा फाल्ने, थु थु गर्दै कुल्चिने अनि बेलायती, अमेरिकी झण्डा बोकेर ‘ट्रम्प आऊ हङकङ बचाऊ’ भन्दै सडकमा परेड खेल्नु उनीहरुको विनासकाले विपरीत बुद्धि थियो। आन्दोलनकारीले विरोध गर्नेहरुमाथि गरेका आक्रमणका भिडिओ अझै युट्युबमा पाइन्छ।

हङकङ मातृभूमिमा फर्किएयताकै सबैभन्दा कठिन समय थियो त्यो। त्यो अराजक आन्दोलनले अपार जनधनको क्षति त गर्यो नै, हङकङको साख पनि निकै गिरायो।

अन्ततः राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामा निकै संवेदनशील अवस्थामा पुगेकाले चीनले अब जनमुक्ति सेनालाई हङकङको सडकमा उतार्छ भन्ने अड्कल भइरहँदा सेना नभई बेइजिङले सुरक्षा कानुन लागू गरिदियो। आन्दोलनकारीका कयौँ अगुवाहरू रातारात विदेश भागे, कयौँ जेलमा छन्, कयौँ मुद्दा खेप्दै छन् भने कयौँ हङकङमै गुमनाम जीवन बिताइरहेछन्।

यसरी हङकङको इतिहासमा आफ्नो कार्यकालको निकै जटिल परिस्थिति पार गरिन् क्यारी लामले।

त्यसलगत्तै आएको कोभिडको तेस्रो लहरले झन् थला पार्यो हङकङलाई। संसारकै अब्बलमध्ये एक मानिने स्वास्थसेवा भएको हङकङमा प्रतिदिन दसौँ हजारमाथि बिरामी भएर अस्तव्यस्त भयो। मूलभूमिको सहयोगमा रातारात अस्थायी अस्पताल निर्माण, विज्ञ चिकित्सक टोली, टनका टन स्वास्थ्य सामग्री र हङकङकै विशेष क्वारेन्टाइन, लकडाउन प्रणाली र मेहनतले अहिले सरदर दैनिक दुई हजार संक्रमितमा झरेको छ। 

कतिपय पश्चिमी र अमेरिकी सञ्चारमाध्यमले खलनायिकाका रुपमा चित्रित गरे पनि लाम हङकङको कठिन परिस्थिति पार लगाउन सक्षम, मृदुभाषी, शालीन र ‘टफ फाइटर’ बाट ‘आइरन लेडी’मा रूपान्तरण भन्नेहरु पनि अनगिन्ती छन्।

करिब पाँच वर्षअगाडि अल्पसंख्यक समुदायको गैरसरकारी संस्था जुभिन फाउन्डेसनको दिवाभोजमा उनीसँग संक्षिप्त भेटको अवसर प्राप्त भएको थियो। हङकङका अल्पसंख्यक समुदायसँग सद्भाव राख्ने लामले अब परिवारलाई समय दिने भन्दै बिहीबारबाट अवकाश लिएकी छन्। 

१५ अगष्ट १९७७ मा अस्थायी प्रहरी इन्स्पेक्टरबाट आफ्नो करिअर सुरु गरेर सिनियर इन्स्पेक्टर, असिस्टेन्ट कमिस्नर, डेपुटी कमिस्नर र सुरक्षा सचिव हुँदै कार्यकारी उप प्रमुख भएका ६४ वर्षीय जोन ली २०२२ मा कार्यकारी प्रमुखमा निर्विरोध निर्वाचित भए।

हङकङ बिशेष प्रशासकीय क्षेत्रको २५ औँ वर्षगाँठको विशेष समारोहबीच र हङकङका पाँचौँ कार्यकारी प्रमुखका रुपमा राष्ट्रपति सी चिनफिङको उपस्थितिमा जुलाई १ मा उनले शपथ लिँदैछन्।

सुरक्षा क्षेत्रबाट पहिलो कार्यकारी प्रमुख बनेका ली २०१९–२० संकटका दौरान क्यारी लामको मेरुदण्ड बनेर चर्चामा थिए। त्यतिबेला हङकङका आन्दोलनकारीहरूले यहाँको भूमिगत रेलसेवा तोडफोड र आगजनी गरेर ठप्प पार्दा हङकङ प्रहरीपछिको बलियो विकल्पमा हङकङका गोर्खाहरू हुन् भन्दै उनीहरूलाई अस्थायी रूपमा पदस्थापन गर्ने निर्णय यिनकै थियो।

आफू कार्यकारी प्रमुखमा निर्वाचित हुँदै गर्दा हङकङका नेपालीलगायत अल्पसंख्यक समुदायका अगुवाहरू बोलाएर लीले सुझाव मागेका थिए। सुरक्षा कानुन लागू गराएका र पूर्व प्रहरी प्रमुख भएकाले उनको बारेमा छापामा आउने खबरले केही मान्छे द्विविधामा पनि छन्। करिब २५ हजार जनसंख्या भएको हङकङका नेपालीले यसबारे बुझ्नु जरुरी छ।

पहिलो कुरा त सुरक्षा कानुन आम जनतालाई दुःख दिन ल्याइएको होइन। विदेशी शक्तिहरूसँग मिलेर हङकङ र चीनको सुरक्षा, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता वा एक चीन नीतिविरुद्ध जानेहरूका लागि मात्रै हो यो कानुन।

माओ चेतुङ, चाउ एन लाइ र राजा महेन्द्रको पालादेखि अहिलेसम्म नेपाल र चीनको सम्बन्ध सुमधुर रहिआएको छ। हङकङमा हामी नेपाली आर्थिक अवसरको खोजीमा आएका हौँ। यहाँ मेहनत गरेर धन कमाउने, सम्पत्ति जोड्ने र गुणस्तरीय जीवनयापन गर्ने हक सबैलाई बराबर छ।

हङकङ कानुनको परिधिभित्र बसेर व्यापार, व्यवसाय गरेर ली का सिङ, स्टेन्ली हो, कोक ब्रदर्स, विजय हरिलिला वा विवेक झुनझुनवाला जत्तिकै धनी बन्न चाहेनलाई बराबर अधिकार र अवसर छ। तसर्थ हङकङमा बसेर थोरै बुझेर सुरक्षा कानुनमा आँच आउनेगरी समाजिक सञ्जालमा सतही टिकटिप्पणी वा वादविवाद नगर्न सुझाव दिन्छु सबैलाई। 

अन्त्यमा, हङकङ मातृभूमिमा फर्किएको २५ औँ वर्षगाँठको अवसरमा चीन, विशेष प्रशासकीय इकाइ हङकङ सरकार, सबै हङकङबासीलाई बधाई दिन चाहन्छु।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .