नेपाल चेम्बर अफ कमर्स हङकङको पाँचौं अधिवेशनले लवकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।
हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः धरम गुरुङ, धिरज राई, शशी मदन राई र इन्द्रा गुरुङलाई चयन गरेको छ।
सदस्यहरूमा ढुण्डीराज ज्ञवाली, प्रकाश गुरुङ, विष्णुकुमार गुरुङ, बर्दन गुरुङ र तीर्थराज गुरुङ छानिएका छन्। बाँकी ५ पदाधिकारी एक महिनाभित्र चयन गरिने जानकारी अध्यक्ष गुरुङले नेपालखबरलाई दिए।
अघिल्लो दुई कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका नव निर्वाचित अध्यक्ष लवकुमार गुरुङले आफ्नो नेतृत्वमा चेम्बरलाई थप उचाइमा पुर्याउने लक्ष्य राखेको बताए।
नेपालखबरसँग अध्यक्ष गुरुङले भने, ‘विगत ३ वर्ष कोभिडको कारण चेम्बरका गतिविधि ठप्प थियो, अब ठोस योजना सहित संस्थाले गति लिनेछ।’
सन् २००८ मा तेजकुमार राईको नेतृत्वमा नेपाल चेम्बर अफ कमर्स हङकङ स्थापना भएको थियो, जुन हङकङ सरकारले मान्यता दिएको एक मात्र नेपाली संस्था हो।
प्रतिक्रिया