एसियाका उत्कृष्ट १० शैक्षिक संस्थामा हङकङका तीनवटा विश्वविद्यालय परेका छन्।
बुधबार सार्वजनिक भएको टाइम्स हाइयर एजुकेसनको एसिया युनिभर्सिटी र्‍याकिङअन्तर्गत चौथो स्थानमा हङकङ युनिभर्सिटी छ भने चाइनिज युनिभर्सिटी अफ हङकङ सातौं स्थानमा छ। त्यस्तै हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी नवौं स्थानमा खस्किएको छ।
एसियाका उत्कृष्ट युनिभर्सिटीमा चिनियाँ युनिभर्सिटीहरु सिंघुवा र पेकिङ युनिभर्सिटीले पहिलो र दोस्रो स्थान ओगटेका छन्। तेस्रो स्थामा सिंगापुरको नेशनल युनिभर्सिटी अफ सिंगापुर छ।
उत्कृष्ट १० भित्र अटाएका अन्य युनिभर्सिटीहरुमा पाँचौंमा नान्याङ टेक्नोलोजिकल युनिभर्सिटी, छैटौंमा युनिभर्सिटी अफ टोकियो, आठौंमा सोल नेशनल युनिभर्सिटी र दशौंमा फुडान युनिभर्सिटी रहेका छन्।
एसियाका उत्कृष्ट एक सय युनिभर्सिटीमध्ये मेनल्याण्ड चीनका ३० शैक्षिक संस्था परेका छन्। एसियाका विभिन्न ३१ मुलुकका ६१६ युनिभर्सिटीहरु वरीयतामा परेका छन्।
जसमा युनिभर्सिटीहरुको सिकाइ वातावरण, अनुसन्धानको दायरा, प्रभाव, अन्तर्राष्ट्रिय परिदृश्य र सिकाइ उपलब्धिजस्ता विषयलाई आधार मानिएको थियो।
यो सूचीमा जापानका सबैभन्दा धेरै ११८ युनिभर्सिटी परेका छन्।
गत वर्ष जापानका ११६ युनिभर्सिटी परेका थिए। मेनल्याण्ड चीनका ९७ युनिभर्सिटी परेका छन्, गत वर्ष मेनल्याण्डका ९१ युनिभर्सिटी सामेल भएका थिए।
Shares
प्रतिक्रिया