हङकङका आगामी नेता जोन ली का–चिउले यसै महिना चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने भएका छन्। जहाँ उनले प्रधानमन्त्री ली खछ्याङबाट प्रमुख कार्यकारीका रुपमा आफ्नो नियुक्तिको आधिकारिक पत्र पनि लिनेछन् र आफ्नो टिमका सदस्यहरुको नामावली अनुमोदनका लागि केन्द्र सरकारलाई बुझाउनेछन्।
लीको सरकारमा सहभागी हुनेहरुको खोजी प्रक्रियालाई हङकङ तथा मकाउ मामिला कार्यालयका कार्यकारी उपनिर्देशक चाङ स्यायोमिङले रेखदेख गरिरहेको जानकार स्रोतले बतायो।
वित्त सचिव पौल चान र न्याय सचिव टरिसा चेङ आफ्नो पदमा कायम रहने सम्भावना ज्यादा रहेको स्रोतको भनाइ छ।
यही महिना बेइजिङ यात्राको तयारी गर्न लीलाई भनिएको स्रोतले जानकारी दियो। मे ८ को निर्वाचनमा ली बिनाप्रतिस्पर्धा ९९.२ प्रतिशत मतसहित हङकङको प्रमुख कार्यकारी पदमा निर्वाचित भएका थिए।
गत शुक्रबार चीनको स्टेट काउन्सिलले लीको नियुक्तिको अनुमोदन गरेको थियो। प्रमुख कार्यकारीले सम्मुख भेटेरै प्रधानमन्त्रीबाट नियुक्ति लिने अभ्यास छ। त्यसपछि राष्ट्रपति र अन्य वरिष्ठ अधिकारीले बेग्लै भेट्ने चलन छ।
२०१७ मा क्यारी लाम र २०१२ मा लियुङ चुनयिङ दुवैले निर्वाचित भएको दुई साताभित्रै बेइजिङ पुगेर नियुक्ति लिएका थिए। तर, कोभिड नियमका कारण ली अझै पनि त्यसको प्रतीक्षामा छन्।
‘लीले राष्ट्रपति सीलाई भेट्न सक्छन्। त्यसैले उनी छोटो क्वारेन्टिन बस्नुपर्ने पनि हुनसक्छ,’ स्रोतले भन्यो।
लीले शपथ लिन ४० दिन बाँकी छ। उनले जुलाई १ मा शपथ लिनेछन्। एससीएमपीबाट
Shares

प्रतिक्रिया