हङकङमा एक शिक्षक कक्षाभित्रै अश्लील भिडिओ हेरिरहेको अवस्थामा फेला परेका छन्।
हङकङको क्वुन टोङस्थित लेउङ शेक ची कलेजका शिक्षक कक्षाभित्रै अश्लील भिडिओ हेरिरहेको अवस्थामा समातिएका हुन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार कक्षाभित्र अश्लील भिडिओ हेरिरहेका उनको मोबाइलको दृश्य छात्राहरु रहेका कक्षामा लगाइएको ठूलो स्क्रिनमा पनि देखिइरहेको थियो।
यो घटनापछि शिक्षकलाई विद्यालयले निलम्बन गरेको छ। साथै सामुदायिक प्रहरी र शिक्षा ब्युरोमा पनि उनको बारेमा उजुरी गरिएको छ।
उक्त सरकारी विद्यालयले पनि गत साता शिक्षक अश्लील भिडिओ हेरिरहेको अवस्थामा शिक्षक समातिएको पुष्टि गरेको हो।
विद्यालयका अनुसार कक्षाको स्क्रिनमा पनि उनको मोबाइलको भिडिओ देखिएको थियो। जुन, विद्यार्थीहरुले पनि देखिरहेका थिए।
विद्यालयले रंगेहात समातिएका शिक्षकको नाम भने उल्लेख गरेको छैन। यद्यपि उनको थर भने चिउ रहेको बताएको छ। विद्यालयले यो घटनापछि विद्यार्थीहरुलाई मनोपरामर्श तथा अन्य सहयोग उपलब्ध गराएको छ भने उनीहरुको अभिभावकलाई पनि यस विषयमा जानकारी गराएको छ।
हङकङको शिक्षा ब्युरोले पनि यस विषयमा उजुरी आएको र त्यसको निरन्तर फलोअपको काम भइरहेको बताएको छ।
ब्युरोले विद्यालयलाई यस विषयमा अनुसन्धान गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको बताएको छ।
यो घटना सबैभन्दा पहिला सामाजिक सञ्जालमा अज्ञात व्यक्तिले गरेको पोस्टबाट बाहिरिएको थियो। घटनापछि विद्यार्थीहरुलाई शिक्षकले कतै पनि यो कुरा नचुहाउन भनेका थिए।
यद्यपि यो घटनाले विद्यालयमा ठूलो रुप लिएको थियो। विद्यार्थीहरुले शिक्षकको आलोचना गर्दै प्रदर्शन गरेका थिए।
साथै उनीहरुले सहीरुपमा यो मुद्दालाई समाधानको लागि आग्रह गरेका थिए।
Shares

प्रतिक्रिया