हङकङमा कोरोना परीक्षणको सकसः १२ दिनसम्म पनि आउँदैन नतिजा

हङकङमा कोरोना परीक्षणको सकसः १२ दिनसम्म पनि आउँदैन नतिजा

नेपालखबर
फागुन ६, २०७८ शुक्रबार ९:२९, काठमाडौँ

हङकङमा अहिले कोभिड–१९ को महामारी फैलिरहेको छ। यससँगै त्यसको असर त्यहाँको स्वास्थ्य क्षेत्रमा पनि परेको छ।

अस्पतालमा बेड नपाउने अवस्था सामान्य भइसक्यो। दिनानुदिन कोरोना संक्रमित र बिरामी मात्र बढेका छैनन्। कोरोना परीक्षण गराउनेको संख्या पनि उत्तिकै छ। तर, मानिसहरुले समयमा नै कोरोना परीक्षणको नतिजा पाउन नसकेको भन्दै आक्रोश व्यक्त गर्न थालेका छन्। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार मानिहरुले कोरोना परीक्षण गरेको १२ दिनसम्म पनि नतिजा नआउने गरेको पाइएको छ। एक महिलाले आफ्नो स्क्रिनिङ भएको दिनदेखि कोरोना परीक्षणको नतिजा आउन १२ दिनसम्म प्रतीक्षा गर्नुपरेको बताइन्। 

पछिल्ला केही सातामा हङकङको कोरोना परीक्षण केन्द्रअघि पनि लामो लाइन देखिएको छ। यसरी लाइनमा बसेका मध्ये केही मानिसहरु अनिवार्यरुपमा कोरोना परीक्षण गर्नुपर्ने मापदण्डमा परेकाहरु छन्। कोरोना संक्रमण नियन्त्रणको उनीहरुको परीक्षणको नतिजा पनि जतिसक्दो छिटो आउनु जरुरी हुन्छ। 

४७ वर्षीया माभिस लि ले फेब्रुअरी ५ मा कोरोना परीक्षण गराएकी थिइन्। दुई बच्चाकी आमासमेत रहेकी उनको परीक्षणको नतिजा भने बिहीबारसम्म आएको छैन। 

उनीसहित उनका दुई बच्चाको पनि कोरोना परीक्षण गराइएको थियो। ‘मैले १२ दिन कुरिसकेँ। मलाई संक्रमण थियो भने पनि अब निको भइसक्यो’, उनले भनिन्। 

माभिसलाई कोरोना परीक्षण गर्न सरकारी स्वास्थ्य एपमा आएको म्यासेजपछि उनले कारोना परीक्षण गराएकी थिइन्। कोरोना परीक्षण गराएपछि उनी बाहिर पनि निस्किन पाएकी छैनन्। यस्तोमा अब परीक्षण नतिवा पोजेटिभ आए अझै कति समयसम्म आइसोलेसनमा बस्नुपर्ने हो भन्ने चिन्ता उनलाई छ। 

‘पहिला मलाई संक्रमण सरेको छ कि भन्ने चिन्ता थियो। त्यसैले मैले आफ्नो बच्चाहरुलाई पनि मबाट टाढा राखेँ’, उनले भनिन्, ‘तर, समय बित्दै गएपछि पनि हामीलाई कुनै लक्षण देखिएन त्यसपछि मलाई अब समुदायस्तरको संक्रमणको चिन्ता लाग्न थालेको छ।’ 

उनले आफूले सहयोग माग्न लागि विभिन्न माध्यमबाट प्रयास गरे पनि सफल हुन नसकेको बताइन्। उनलाई अनिवार्य कोरोना परीक्षणको मापदण्डमा परेका मानिसले के गर्न हुन्छ र के गर्न हुँदैन भन्नेसम्म पनि थाहा थिएन। एक साताभन्दा लामो समयसम्म घरमा नै थुनिनुपर्दा आफूमा भन्दा पनि बच्चाहरुमा दिक्दारी र आक्रोश देखिएको उनको भनाइ छ। 

अशक्त मानिसहरुको सहायता गर्ने एक एनजीओमा काम गरिरहेकी एलिस ली पनि अहिले कोरोना परीक्षणको नतिजा कुरिरहेकी छिन्। उनले फेब्रुअरी ९ मा कोरोना परीक्षण गराएकी थिइन्। नतिजा नेगेटिभ आएको प्रमाण नहुँदासम्म उनी कार्यालय फर्किन पाउने छैनन्। 

‘यसले मेरो तलबमा कुनै असर नगरेपछि मेरा साथीहरुले धेरै दबाबको सामना गर्नुपरेकोमा मलाई नराम्रो लागेको छ’, उनले भनिन्। त्यसो त अ​नलाइनबाट पनि उनले आफ्नो कामलाई निरन्तरता दिएकी छन् तर उनले अशक्त मानिसहरुलाई दिने प्रशिक्षण अनलाइनबाट भन्दा पनि भौतिकरुपमा नै दिँदा प्रभावकारी हुन्छ।

एक साताअघि कोरोना परीक्षण गराएर पनि अहिलेसम्म नतिजा नआएका मानिसको संख्या ठूलो छ। विशेषगरी निःशुल्क परीक्षण गराउनेको नतिजा आउनमा ढिलाइ भइरहेको छ। आफैंले पैसा तिरेर कोरोना परीक्षण गराउन पनि महँगो पर्ने भएकाले बरु केही दिन प्रतीक्षा गरेरै भए पनि अनिवार्यरुपमा कोरोना परीक्षण गराउनुपर्ने मानिसले परीक्षण गराइरहेका छन्। 

हङकङ सरकारको वेबसाइटमा उल्लेख गरिएअनुसार मानिसहरुले आफैंले पैसा तिरेर कोरोना परीक्षण गराउँदा भने २४ घण्टाभित्र नतिजा पाइसक्नुपर्ने हुन्छ।

अहिले हङकङ सरकारले समुदायस्तरमा कोरोना परीक्षणको योजना अघि सारेको छ। यद्यपि त्यसको लागि तोकिएको कोटा पनि लगभग सकिइसकेको छ। नयाँ योजनाअनुसार प्रतिदिन ३ लाख मानिसको परीक्षण हुनेछ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .