हङकङ सरकारले अहिले व्यापक मात्रामा फैलिइरहेको कोरोना संक्रमण नियन्त्रणको लागि सहरका सबै मानिसको परीक्षण गराउने तयारी गरेको छ।
बिहीबार हङकङ प्रमुख क्यारी लामले कोरोना संक्रमण नियन्त्रणको लागि यस किसिमको परीक्षणबारे छलफल भइरहेको बताएकी हुन्।
हङकङले यसअघि कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै कडा किसिमको भौतिक दुरी तथा अन्य केही नियम लगाएको थियो। तर, त्यसले कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै उसले आफ्नो रणनीति परिवर्तन गर्न लागेको हो।
संक्रमण नियन्त्रणको लागि एकैपटक समग्र सहरलाई लकडाउन गर्दा प्रभावकारीरुपमा कोरोना नियन्त्रणमा ल्याउन सक्ने विश्वासका साथ हङकङले नयाँ रणनीति अघि सारेको हो।
हङकङ प्रमुखले आफूहरुसँग सहरका सबै मानिसको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उल्लेख गरेकी छिन्।
बिहीबार हङकङमा कोरोनाका ६ हजार ११६ नयाँ संक्रमित थपिएका थिए।
Shares

प्रतिक्रिया