कोभिड–१९ को पाँचौं लहरको संक्रमणको सामना गरिरहेको हङकङका अस्पतालमा बिरामीको चाप बढेको छ।
बिरामीको चाप बढेसँगै हङकङका केही अस्पतालमा बाहिरै राखेर बिरामीको उपचार गराउनुपर्ने अवस्था सिर्जना भएको छ। हङकङ सरकारले कोरोनाको पाँचौं लहर रोक्न प्रयासरत रहेको बताउँदै आएको छ। यद्यपि संक्रमण भने दिनानुदिन बढ्दो क्रममा छ।
बुधबार हङकङमा कोरोनाका ४ हजार २८५ नयाँ संक्रमित थपिएका छन्। त्यस्तै उक्त अवधिमा संक्रमणको कारण १० जनाको मृत्यु पनि भएको छ।
यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले हङकङमा कोरोना संक्रमण बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए। उनले हङकङ सरकारलाई आफ्नो पूरा जिम्मेवारी लिन पनि आग्रह गरेका थिए।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङमा अहिले १० हजारभन्दा धेरै मानिसहरु अस्पतालमा भर्ना हुन पालो कुरिरहेका छन्। अहिलेको गतिमा कोरोना संक्रमण बढे यो संख्या २८ हजारसम्म पुग्न सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन्।
अहिलेसम्म हङकङमा कोरोनाका २६ हजारभन्दा धेरै संक्रमित फेला परेका छन्। अन्य सहरको तुलनामा यो संख्या कम भए पनि पाँचौं लहरमा भने हङकङमा ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्।
यसैबीच हङकङ प्रमुख क्यारी लामले कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक सबै कदम चालिने बताएकी छिन्।
उनले कोरोना संक्रमण नियन्त्रणको लागि कडा किसिमको प्रतिबन्ध पालना गराउन आवश्यक जनशक्ति परिचालन गरिने उल्लेख गरेकी छिन्।
Shares

प्रतिक्रिया