कोभिड–१९ को महामारी नियन्त्रणका लागि हङकङलाई बेइजिङले सहयोग प्रदान गर्ने भएको छ।
त्यसका लागि बेइजिङका अधिकारीहरुले आफ्नो अनुभवको प्रयोग हङकङमा प्रयोग गर्ने भएका छन्।
उनीहरुले अहिले अघि सारेको योजनाअनुसार साना जिल्लाहरुलाई लक्षित गरी लकडाउन गरिनेछ भने व्यापक मात्रामा कोरोना परीक्षण गरिनेछ।
साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार दैनिक ७ लाख मानिसको कोरोना परीक्षण गरिनेछ। स्रोतले उल्लेख गरेअनुसार योजनाअनुसार हङकङमा कोरोना परीक्षण सकिन १० दिन लाग्नेछ। जसले अहिले हङकङमा फैलिएको कोरोनाको लहर साम्य पार्न सहयोग पुग्ने अधिकारीहरुको विश्वास छ।
शनिबार हङकङ सरकार चिनियाँ अधिकारीबीच कोरोना नियन्त्रणको लागि आवश्यक विषयहरुमा छलफल भएको थियो। आइतबार हङकङ प्रमुख क्यारी लामले पाँचवटा टास्क फोर्स स्थापना गरेकी थिइन्। उक्त टास्क फोर्सले गुआङडोङका अधिकारीसँग समन्वय गरेर कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्ने घोषणा गरेकी थिइन्।
बेइजिङले हङकङलाई गर्न लागेको अभूतपूर्व सहयोग कसरी सफलतापूर्वक लागू हुनेछ भन्ने अहिले धेरैको चासोको विषय बनेको छ। विश्लेषकहरुले भने अहिले अवस्थामा कोरोना संक्रमण नियन्त्रण गर्नु हङकङ प्रमुखको परीक्षा हुने बताएका छन्।
त्यस्तै यो चीनको ‘एक मुलुक दुई प्रणाली’ नीतिको पनि असली परीक्षा हुने उनीहरुको भनाइ छ। सोमबार हङकङमा २ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यसले पनि हङकङमा कोरोना संक्रमण नियन्त्रणको लागि नयाँ तरिका आवश्यक रहेको देखिएको हो।
अहिले अघि सारिएको योजनाअनुसार अघि बढेको अवस्थामा हङकङलाई १० क्षेत्रमा विभाजन गरिनेछ। यी सबै क्षेत्रमा बसोबास गर्ने मानिसको कोरोना परीक्षण अनिवार्य गरिनेछ। यद्यपि यसको लागि सोही अनुसारको आइसोलेसन केन्द्र र अन्य लकडाउनको नियम लगाउनुपर्ने हुन्छ। यसको लागि करिब १० दिन लाग्न सक्छ। यसको लागि थप गृहकार्य आवश्यक रहेको स्रोतले उल्लेख गरेको छ।
बेइजिङले यसअघि नै यस किसिमको योजना अन्य सहरमा लागू गरेर कोरोना संक्रमण नियन्त्रणमा सफलता हात पारिसकेको छ। त्यसैले हङकङमा पनि सोही सफलता हात पर्न सक्ने विश्वास अधिकारीहरुले व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया