कोभिड–१९ को संक्रमण फैलिएसँगै हङकङमा कोरोना परीक्षण गराउनेको संख्या पनि बढेको छ।
यद्यपि मानिसहरुले कोरोना परीक्षण गराउँदा भने सास्ती खेप्नुपरेको छ।
मानिसहरुले कोरोना परीक्षण गराउन घण्टौंसम्म लाइनमा बस्नुपरेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्। नयाँ संक्रमितको संख्या बढेसँगै हङकङमा कोरोना परीक्षण पनि बढाइएको हो।
बिहीबार हङकङमा कोरोनाका ९८६ नयाँ संक्रमित थपिएका छन्।
यसैबीच हङकङ प्रमुख क्यारी लामले सामाजिक सञ्जाल फेसबुकमार्फत हङकङ सरकार ठूलो संख्यामा मानिसहरुलाई कोरोना परीक्षण गराउन सक्ने गरी क्षमता अभिवृद्धि गर्ने प्रयास भइरहेको बताएकी छिन्।
उनले मानिसहरुले कोरोना परीक्षणको लागि लामो समयसम्म प्रतीक्षा गर्नुपरेको भन्दै आफू त्यसका लागि क्षमाप्रार्थी रहेको र चिन्तित पनि रहेको उल्लेख गरेकी छिन्।
आइसोलेसन केन्द्रमा जान पनि कोरोना संक्रमण पुष्टि भएका मानिसले लामो लाइनमा बस्नुपरेको गुनासो आएको उनले बताएकी छिन्।
हङकङले अहिले ‘गतिशील शून्य संक्रमण’को नीति लिएको छ। जसअनुसार सकेसम्म छिटो कोरोना सक्रंमण शून्यमा झार्ने हङकङको योजना छ।
जसको लागि सरकारले भौतिक दुरीको नियममा कडाइ गर्ने, खोप अभियान तीव्र पार्नेलगायतका योजना अघि सारिएको छ।
Shares
प्रतिक्रिया