बेइजिङसँगको सीमामै ट्रक रोकिएपछि हङकङमा आकाशियो तरकारीको भाउ

बेइजिङसँगको सीमामै ट्रक रोकिएपछि हङकङमा आकाशियो तरकारीको भाउ

नेपालखबर
माघ २४, २०७८ सोमबार १०:३२, काठमाडौँ

हङकङमा तरकारीको भाउ आकाशिएको छ।

कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण बेइजिङसँगको सीमामा हङकङ आउने तरकारी बोकेका ट्रक अड्किएको कारण हङकङमा तरकारीको अभाव देखिएको हो।

हङकङका केही प्रमुख सुपरमार्केटमा गत साताको अन्तिममा तरकारीको अभाव देखिएको थियो।

दर्जनभन्दा धेरै तरकारी बोकेको ट्रकका चालक सेन्जेन सहरमा अड्किएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनीहरुमध्ये २ जनामा कोरोना संक्रमण देखिएसँगै उनीहरु सेन्जेनमा नै रोकिएका हुन्। 

समाचारमा उल्लेख गरिएअनुसार हङकङका धेरैजसो सुपरमार्केटमा तरकारी छैन भने भएको स्थानमा पनि तरकारीको भाउ दोब्बरभन्दा धेरै देखिएको छ।

हङकङको कजवे बेमा तरकारी व्यापार गर्दै आएका लेई थर भएका एक व्यापारीले तरकारी अभावको कारण आफ्नो आम्दानी घटेको बताए। यद्यपि आफूले तरकारीको भाउ पनि बढाएको उल्लेख गरे। 

लेईका अनुसार उनले बोक चोय नामक चिनियाँ बन्दागोबी अघिपछि करिब ६०० ग्रामको १४ हङकङ डलरमा बेच्दै आएकोमा अहिले त्यसको भाउ २४ डलर पुर्‍याएका छन्। 

अहिले धेरै मानिसहरुले तरकारीको भाउ आकाशिएको भन्दै थौरै मात्र खरिद गर्ने गरेको उनले सुनाए।

अर्को एक सुपरमार्केटको तरकारी स्टलमा काम गर्ने टाइ कोक त्सुईले पछिल्लो केही दिनयता मागको तुलनामा आपूर्ति निकै कम मात्र भएको बताए। 

सेन्जेनमा अड्एिका २० ओटा ट्रकलाई अन्य चालकको व्यवस्था गरी आइतबार बिहान हङकङतर्फ पठाइएको छ।

यसले अबको केही दिनमा तरकारीको भाउ पुनः पहिलाकै अवस्थामा आउन सक्ने अपेक्षा छ।

यद्यपि हङकङ आउने सुँगुर, कुखुराको मासु तथा अण्डाको आपूर्तिमा भने कुनै समस्या देखिएको छैन।

हङकङमा आउने ९२ प्रतिशत तरकारी मेनल्याण्ड चीनबाट आउने गरेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .