हङकङ आन्दोलन हिंसात्मक बन्दै जाँदा नेपाली मारमा, काम गर्न नपाएको गुनासो

हङकङ आन्दोलन हिंसात्मक बन्दै जाँदा नेपाली मारमा, काम गर्न नपाएको गुनासो

मगेन्द्र राई
कात्तिक २८, २०७६ बिहिबार ११:३२,

सोमबार प्रहरीले गोली चलाउँदा आन्दोलनकारीले सरकार समर्थक ज्युँदै जलाएपछि अन्दोलन हिंसातर्फ उन्मुख भएको छ।

रक्तपातपूर्ण आन्दोलनले लगातार चौथो दिन बिहीबार पनि रोकिने संकेत देखाएको छैन।

लगातार चौथो दिनसम्म हिंसात्मक अन्दोलन भइरहँदा हङकङमा रहेका ३० देखि ४० हजार नेपालीहरु प्रभावित भएका छन्।

सेक्युरिटी, निर्माण क्षेत्र, होटल रेस्टुरेन्टका क्षेत्रमा कार्यारत नेपालीहरु आन्दोलनको मारमा परेको छन्।

काम गर्न नपाउँदा आर्थिक रुपमा नोक्सानी व्यहोरिरहेको उनीहरुको भनाइ छ।

आन्दोलनकारीहरुले सडक अबरुद्ध गर्ने, पसल यातायातका साधन, रेल स्टेसन, रेल भित्र आगजनी गर्ने, ढुङ्गामुढा गर्ने, पेट्रोल बम प्रहार गर्ने, बिरोधीहरुलाई कुटपिट गर्ने, अदालत परिसरमा ढुङ्गामुढा गर्दै आगो लगाउने, धनुवाणद्वारा प्रहरीमाथि आक्रामण गर्नेजस्ता कार्य गरिरहेका छन्।

हालै आन्दोलनकारीको इटा प्रहारबाट एक ७० बर्षीय बृद्ध गम्भीर घाइते भएका छन्। प्रहरीले आन्दोलन रोक्नका लागि अश्रुग्यास, रबर बुलेट, बिन ब्याग प्रहार गर्दै आएका छन्।

आन्दोलनकारीहरुले भने सरकारलाई दवाब दिन नयाँ रणनीतिसहित अगाडि बढ्ने बताएका छन्।

सुरक्षालाई मध्यनजर गरेर किंडरगार्टन, प्राथमिक तथा माध्यमिक विद्यालयहरू आगामी सोमबारसम्म बन्द गरिएको छ भने विश्व विद्यालयहरूको पठनपाठन समेत बन्द गरिएको छ।

आन्दोलनकारीहरुले पोलिटेक्निक युनिभर्सिटी र हङकङ युनिभर्सिटीहरुमा मोर्चा कसेका छन् भने सडकहरु अबरुद्ध गरेका छन्। उनीहरुले सेन्ट्रल हार्बर टनेल बन्द गरिदिएका छन् त्यहाँका बुथहरु जलाइदिएका छन्।

सेन्ट्रल, ताई कू, शातिन, युन लोङ लगायतका स्थानहरुमा आन्दोलनकारीहरुले प्रदर्शन गरिरहेका छन्। जसकारण हङकङका विभिन्न स्थानका रेल सेवाहरु बन्द रहेको छ। डबल डेकर यात्रीबाहक बसहरु चलेका छैनन्।

आफ्नो विपक्षमा फैसला गरेको भन्दै आन्दोलनकारीहरुले शातिन को अदालत परिसरमा ढुङ्गामुढा गरेका छ। द स्टान्डर्डका अनुसार प्रदर्शनकारी र सरकार समर्थकबीच पनि झडप भएको छ।

युन लोङ मा प्रहरीको समर्थनमा एक समुहले प्रदर्शन गरेको तथा शेङ शुई मा आन्दोलनकारीलाई सरकार समर्थकले आक्रमण गरेको बताइएको छ।

बेजिङ समर्थक सबैभन्दा ठूलो राजनीतिक पार्टी डीएबीले आन्दोलनकारीहरुको हिंसा बिरुद्ध एक हुन आह्वान गरेको छ। हिंसा नरोकिए सरकारले आगामी शनिबार कर्फ्यू जारी गर्ने अपुस्ट हल्लासमेत चलेको छ।

नेपालीहरु मारमा

बिगत ८ बर्षदेखि निर्माण कम्पनी ड्रागेजमा फोरमेनको रुपमा कार्यरत टेकेन्द्र सुब्बा आन्दोलनको कारण सास्ती भोग्नु परेको बताउँदै यसले काम र दाम दुबै धरापमा परेको बताउँछन्।

चुन मुन एयरपोर्ट टनेलमा कार्यरत टेकेन्द्रका अनुसार कम्पनीले सटल बस उपलब्ध गराए पनि सडक अबरुद्ध हुँदा कामदारहरु काममा जान सकेको छैनन्। युन लोङ र तीन सुई वाई बस्नेहरुको लागि भने सटल बस उपलब्ध नभएकोले त्यहाँ बस्नेहरुलाई काम आउन झनै अप्ठ्यारो रहेको टेकेन्द्रको भनाई छ।

एक दर्जन नेपाली कामदारहरुलाई ल्याउने र लैजाने जिम्मा पाएका उनले भने,‘सडक, रेल बन्द भएकोले कामदारहरु काममा आउन सकेका छैनन्, फेरि काममा नआएपछि ज्याला पाउने कुरा पनि भएन।’

आन्दोलनले जागिर जाला भन्ने डर

बिगत ६ बर्षदेखि चिम सा चुईस्थित पाँच तारे ईन्टरकन्टिनेन्टल होटलमा हाउस किपिङको काम गर्दै आएकी एक नेपाली महिला आन्दोलनको कारण होटल रुमहरु खाली खाली हुन थालेपछि सबै हाउस किपरहरु पालै पालो “नो पे लिभ“ मा बस्नु परेको बताउँछिन्।

नाम उल्लेख नगर्ने सर्तमा तिनले नेपालखबरलाई भनिन्,‘होटल घाटामा जान थालेपछि अहिले एक सानो गल्ती पाउन बित्तिकै बिना चेतावनी कामबाट निकाली दिन्छन।’

होटलमा अहिले ५०५ भन्दा बढी कोठाहरु खाली हुन थालेको उनले बताईन्। सेन्ट्रल स्थिर ल्यान्डमार्क ओरियन्टल होटलमा बिगत १४ बर्षबाट हाउस किपिङ मै काम गर्दै आएकी धरानकी शशी लिम्बुका अनुसार आन्दोलनको कारण होटलको व्यापार ८०५ ले घटेको छ।

आन्दोलनले यातायात बन्द हुँदा लेट नाइट काम पर्दा कतिपय समय आफू होटलमै बास बस्न बाध्य भएको उनले नेपालखबरलाई बताईन। सँधै ३.५ महिनाको बोनस पाउँदै आएकी शशीले होटलको ब्यापार धरायसी बनेपछि बोनस नपाउने व्यापक हल्ला भएको जनाईन्।

शशी भन्छिन्,‘सोही हल्लाबाट अत्तालिएर कतिपयले काम छाडेर अर्कै काम गर्न थालेका छन्।’

निराश बनेकी शशिले भनिन्,‘बोनस नपाए त ८ देखि १० लाखसम्म घाटा हुन्छ।’

हङकङमा धेरै वर्षदेखि काम गरेकी शशीले आन्दोलन जारी रहे नेपाल फर्किने नभए बेलायत जाने बताइन्।

काममा जाँदा प्रहरी हिरासतमा

झन्डै १८ हजार कामदारलाई स्काफफोल्डिङको तालिम गराएका सर्टिफाईड प्रशिक्षक तथा चुन मुन सीएलपी पावर प्लान्टका साईट सुपरभाईजर मिन लिम्बु र उनका टिमलाई पनि आन्दोलनले असर पुर्याएको छ।

कम्पनीले सटल बस उपलब्ध त गराएको छ तर सडक नै बन्द भएपछि समयमा काममा पुग्न समस्या भएको मिन बताउँछन्।

आन्दोलनप्रति चासो नराख्ने मिन गत सोमबारदेखि चलेको हिंसात्मक घटनाले चनाखो बनेका छन्।

आफ्नै साईटमा काम गर्ने एक नेपाली कामदार प्रहरी हिरासतमा पुगेको घटना सुनाउँदै उनी नेपालखबरसँग भन्छन्,‘साथीले काममा आउँदा कालो टिसर्ट लगाएका रहेछन्, त्यसैको आधारमा प्रहरीले सोधपुछको लागि हिरासत लगेछ, उ काममा आउन सकेन, भोलिपल्ट उसको स्थानमा अर्कोले काम पायो। उसले कामै गुमाउनु पर्यो।’

त्रासै त्रासले बित्छ दिन

२० बर्षदेखि साईनो ल्यान्डका अर्बपती अध्यक्षको पारिवारिक अंगरक्षक तथा निजी सवारी चालकको रुपमा काम गर्दै आएका मन बहादुर गुरुङ आन्दोलनका कारणस्थिती खतरापूर्ण भएको बताउँछन्।

कामको प्रकृतिअनुसार कुनै पनि बेला सवारी चलाईरहनु पर्ने भएकाले उनी आन्दोलनदेखि त्रसित भएको बताउँछन्।

आन्दोलनकारीहरुको ढुङ्गामुढा कुनै पनि बेला आफू र आफ्नो रोजगारदातामाथि बज्रनसक्ने चिन्ता उनमा रहेको छ। आन्दोलन सुरु भएपछि हङकङमा धेरै जसो धनाढ्यहरुले ‘बुलेट प्रुफ’ कार प्रयोग गर्न थालेको गुरुङको भनाई छ।

हङकङको भविष्यप्रति आशावादी

हालै पोलिटेक्निक युनिभर्सिटीबाट स्नातकोत्तर गरेकी टीका रानाले आन्दोलनले आफूलाई धेरै प्रभाव पारेको बताउँछिन्।

युनलोङ बस्दै आएकी टिकाले नेपालखबरलाई भनिन,‘म बसेको ठाउँ आन्दोलन प्रभावित क्षेत्र हो, मैले काम गर्ने चाईनिज युनिभर्सिटी बिगत चार दिनबाट रणभूमिमा परिणत भएको छ। मैले पढेको पोलिटेक्टिक युनिभर्सिटी पनि मंगलबारदेखि तनावग्रस्त छ। चार दिनदेखि काममा जान पाईएको छैन्।’

‘परिस्थिती दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ, कतिपय नेपालीहरु नेपाल तिरै फिर्ने, बेलायत बस्न पाउनेहरु बेलायत तिरै पलायन हुने हल्ला पनि चलिरहेको छ।’ उनी भन्छिन्,‘तर त्यति धेरै बिचलित हुन आवश्यक छैन, कुनै न कुनै दिन समस्या समाधान हन्छ र हङकङ फेरि उही उन्नतीको मार्गमा हिड्नेछ।’

राणा आफू हङकङको भविष्यप्रति आशावादी भएको बताउँछिन्। आन्दोलन छैठौं महिना प्रवेश गरेको छ। हङकङको अवस्था तनावग्रस्त बनेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .