एसियाकै वित्तीय केन्द्रको रुपमा रहेको हङकङमा बेलाबेलामा आगलागी नियन्त्रणको पर्याप्त व्यवस्था नभएको भन्दै चर्चा हुने गरेको छ। आगलागी भएको अवस्थामा समयमा नै आगो निभाउन पर्याप्त संरचनाको अभाव तथा घर मालिकले आगो निभाउने उपकरण राख्ने मामिलामा गर्ने गरेको आरोप पनि लाग्दै आएको छ।
त्यसो त आवासीय क्षेत्रमा खुला स्थानको अभाव र गगनचुम्बी भवनको कारण पनि हङकङको लागि आगलागी नियन्त्रण एउटा चुनौतीको रुपमा रहँदै आएको छ।
हङकङको अर्को समस्या भनेको पुराना भवनमा कि त आगलागी नियन्त्रणको पर्याप्त व्यवस्था नै नहुने वा भएकाले पनि राम्रोसँग कााम नगर्नु पनि हो। यस्तोमा पुराना भवनहरु पनि पुनर्निर्माण गर्दा त्यसमा आवश्यक आगलागी नियन्त्रणको व्यवस्था गरिएको हुँदैन।
हङकङका आगलागी नियन्त्रण सेवाका पूर्व प्रमुख एन्थोनी लाम चुन–मान कानुनमा नै घरमालिकको जिम्मेवारी के के हो भन्ने स्पष्टरुपमा लेखिनुपर्ने बताउँछन्। अहिले हङकङ इन्स्टिच्युसन अफ इन्जिनियर्सका प्रवक्तासमेत रहेका उनले बिहीबार हङकङका घरधनीले आफ्नो घरको मर्मत गराउँदा आगलागी नियन्त्रणको लागि आवश्यक व्यवस्था गर्नुपर्ने बताएका छन्।
गत बुधबार हङकङको ४० तलाको वर्ल्ड ट्रेड सेन्टरमा आगलागी भयो। यो आगलागी नियन्त्रणका लागि झण्डै चार घण्टा लाग्यो। आगालागी भएपछि त्यहाँ रहेका १३ सय मानिसको उद्धार गरियो। जसमध्ये ३०० मानिसहरु आगलागीको कारण २ घण्टासम्म थुनिएका थिए।
यो घटनामा तीनजना मानिसहरु घाइते भएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार बुधबार आगलागी भएको भवनको पहिलोदेखि पाँचौं तलासम्म आगलागी नियन्त्रक उपकरण, आगलागीको चेतावनी दिने अलार्म, फायर डिटेक्टर केही पनि थिएनन्। आगलागी भएको लामो समयसम्म पनि मानिसहरुले भवनमा आगलागी भएको थाहा पाएका थिएनन्।
लामका अनुसार बेलायतमा मानिसहरुले आफ्नो घर मर्मत गर्दा उनीहरु आफैंले आगलागी नियन्त्रणको लागि आवश्यक व्यवस्था छ। त्यस्तै व्यवस्था हङकङमा पनि लागू गर्नु आवश्यक रहेको उनले बताए।
आगलागी सुरक्षाका परामर्शदाता लेउङ काम–टक भवनको सुरक्षाको उपकरण जोड्ने ठेकेदारले नै आफ्नो कुनै प्रणालीमा समस्या छ भने आगलागी नियन्त्रण विभागलाई जानकारी दिनुपर्ने बताउँछन्।
यसो गर्दा स्थानीय आगलागी नियन्त्रण स्टेसन पनि सतर्क अवस्थामा रहने भएकाले आगलागीको क्षति कम गर्न सकिन्छ। यस्तो नियम लगाउनु कुनै ठूलो कुरा नभए पनि यसले नतिजाको हिसाबमा भने राम्रो काम गर्न सक्ने उनले बताए।
बुधबारको आगलागीमा पनि माथिल्लो तलामा रहेका मानिसहरुले कुनै पनि अलार्म सुनेका थिएनन्।
Shares

प्रतिक्रिया