हङकङको प्रहरीले एक्लै पदयात्रामा गएका एक व्यक्ति मृत फेला परेको बताएको छ। प्रहरीका अनुसार टुएन मुनको पर्वतीय क्षेत्रमा बिहीबार दिउँसो ५७ वर्षीय लक हुङ फाइ मृत फेला परेका हुन्।
चारदिनअघि परिवारले उनी हराएको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए। फाइ शनिबार बिहान पदयात्राका लागि हिँडेको उनकी छोरीले बताएकी छिन्।
सीसीक्यामेराको फुटेजमा पनि शनिबार फाइ पदयात्रामा जाँदा लगाउने जुत्ता झोला बोकेर निस्किएको देखिएको छ। छोरीले दिएको जानकारीअनुसार फाइ टुएन मुनको कास्टल पिक हस्पिटलमा काम गर्थे।
उनी घर पनि नफर्किएको र फोनमा पनि सम्पर्क नभएपछि परिवारले प्रहरीमा निवेदन दिएको थियो।
परिवारले उनका साथीहरुबाट कास्टल पिक वा त्यसकै आसपासको क्षेत्रमा उनी पदयात्राको लागि गएको थाहा पाएका थिए।
त्यसैको आधारमा खोजी गर्दा उनी कास्टल पिकको सडकनजिकै मृत फेला परेका हुन्।
प्रहरीका अनुसार फाइ पछिल्लो पाँच वर्षदेखि मिर्गौलाको समस्याबाट पीडित थिए र उनले निरन्तर टुएन मुन अस्पतालमा उपचार गराउँदै आएका थिए। पछिल्लो केही समययता हङकङमा एक्लै पदयात्रामा गएका केही घटनाहरु भएका छन्।
१० दिनअघिमात्र ३० वर्षीय एक व्यक्ति हराएका थिए। उनी अहिलेसम्म फेला परेका छैनन्।
त्यस्तै एक महिनाअघि ५१ वर्षीय र अर्का ५९ वर्षीय दुई जना मानिसहरु पनि एक्लै पदयात्रामा जाने क्रममा हराएका थिए र उनीहरुको पनि चार दिन पछि शव फेला परेको थियो।
प्रतिक्रिया