खोटाङमा भीरबाट खसेर मृत्यु भएका हङकङका पत्रकार किसन राईको शनिबार उनकै गृह नगर धरानमा अन्त्येष्टि गरिएको छ।
शनिबार राई परम्परा अनुसार पूजापाठ गरेर उनको अन्तिम संस्कार गरिएको हो। अन्तिम संस्कारमा राईका दुई छोरा, श्रीमति र परिवारका अन्य सदस्य सहभागी भएका थिए।
अन्तिम संस्कारअघि धरानमा राईका आफन्त, साथीभाई, संचारकर्मी र उनी आवद्ध जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।
धरानमा रहँदा नेकपा मालेबाट राजनीतिमा सक्रिय भएका राई एमाले हुँदै पछिल्लो समय जसपामा आवद्ध भएका थिए। जसपाका नेताहरूले राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सश्रद्धाञ्जली व्यक्त गरेका थिए।
२० बर्षदेखि हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार राईको गत आइतबार (कात्तिक ७) खोटाङमा भीरबाट खसेर मृत्यु भएको थियो।
काठमाडौंबाट भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा कात्तिक ७ गते साँझ भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो।
प्रहरीले त्यही राती २ बजे राईको शव खोटाङ जिल्ला अस्पताल दिक्तेल पुर्याएका थिए। हङकङबाट परिवारका सदस्य आएपछि उनको शव धरान ल्याइएको थियो।
नेपाल पत्रकार संघ हङकङको अध्यक्ष राईले दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन गर्दै आएका थिए।
एनआरएनए हङकङको महासचिव र उपाध्यक्ष रहिसकेका राई आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष थिए।
यो पनिः
हङकङले गुमाएको ‘वन म्यान आर्मी’, जोसँग गुन्डा पनि थुरथुर हुन्थे
प्रतिक्रिया