ad ad

म्यागेजिन


पुस्तक किन पढ्ने?

पुस्तक किन पढ्ने?

केदारभक्त माथेमा
साउन ३२, २०७६ शनिबार ११:२२,

सन् १८७० मा ब्रिटिस रेसिडेन्सीमा एक सर्जक थिए ड्यानियल राइट नाम गरेका। उनी झन्डै १० वर्ष नेपालमा बसे। उनले १८७७ मा क्यामरिज विश्वविद्यालयबाट ‘हिस्ट्रि अफ नेपाल’ नामक एउटा पुस्तक निकाले। उनले नै इतिहास लेखेको त होइन तर पुस्तकमा नेपालबारे टिप्पणी समावेश गरिएको थियो।

उनले पुस्तकमा ठूलाबडा नेपालीको जीवनशैलीबारे उल्लेख गरेका छन्। जहाँ लेखिएको छ, ‘मलाई अचम्म लाग्छ यी नेपालीहरु देखेर जसको घरमा एउटा पनि किताब देखिदैन। उनीहरु कसरी समय बिताउँछन्!’

हामी नेपाली पढ्नेमा धेरै कहलाएका जाति होइनौँ। ड्यानियलले किताब लेख्दा मोतिराम भट्ट नै १०–१२ वर्षका थिए होलान्। हाम्रो नेपाली साहित्यको उमेर नै डेढ सय वर्ष भयो होला। नेपाली किताब त्यतिबेला खासै थिएनन् होला। यस्तो अवस्थामा नेपालीले कसरी किताब पढ्ने?

अर्को अचम्म लाग्ने कुरा पनि छ। जोन उड चीनमा माइक्रोसफ्टका हाकिम थिए। उनी असाध्यै धनी पनि थिए। एक पटक उनी नेपाल भ्रमणका क्रममा लमजुङ आएका थिए। लमजुङको बाहुन डाँडामा रहेका दुई वटा स्कुलमा उनी पसे। स्कुलमा उनी त छक्क परे। किनभने त्यहाँ त किताब नै थिएन। अर्थात, पाठ्यक्रमबाहेकका अन्य किताब नै थिएनन्। उनी त अचम्म परे। यस कुराले उनलाई यसरी असर पर्यो कि उनले त्यति राम्रो जागिर छाडे। जागिरमात्र होइन आफ्नी प्रेमिका पनि छाडे। त्यसपछि ‘रुम टु रिड’ भन्ने संस्था खोलेर नेपाल, म्यानमार, भीयतनामजस्ता देशका स्कुलमा किताब पुर्याउन थाले।

हाम्रो देशमा सबैभन्दा ठूलो पुस्तकालय भनेको त्रिभुवन विश्वविद्यालयमा छ। तर, त्यसको अवस्था सबैलाई थाहै छ। विदेशीलाई भन्न लाज हुन्छ, यहाँ एउटा पनि सार्वजनिक पुस्तकालय छैन। विदेशमा स्थानीयस्तरदेखि केन्द्रसम्म सार्वजनिक पुस्तकालय हुन्छन्।

म विदेश जाँदा केही समय फुर्सद हुनासाथ त्यो सहरमा रहेको सार्वजनिक पुस्तकालयमा गएर समय बिताउँथे। हाम्रो देशमा विदेशी आएर पुस्तक पढ्न कहाँ जाने? बिडम्बना के भने एउटा पनि पुस्तकालय नभएको देशमा पुस्तक आर्यातमा १५ प्रतिशत कर लगाउने निर्णय सरकारले गरेको छ। यो निकै लाजमर्दो कुरा हो।

स्वस्थ जीवनका लागि आवश्यक कुराहरुमध्ये पठन संस्कृति पनि एउटा महत्वपूर्ण पक्ष हो। यसमा हामी निकै पछाडि छौँ।

मलाई विदेशबाट साथीहरुले चिठ्ठी लेख्छन्। चिठ्ठीमा अहिले तिमी कुन किताब पढिरहेका छौँ? म यो किताब पढिरहेको छु भनेर लेखेका हुन्छन्। आफूले पढेका किताबको बारेमा लेखेका हुन्छन्। म पनि यो–यो किताब पढ्दै छु भनेर लेख्छु। पुस्तक पढ्ने बानीले मानिसहरुको ज्ञानमा भरपुर बृद्धि गर्छ।

यतिमात्र होइन यसले अरुको अनुभव, चिन्तन र मननहरुलाई पनि लिन पाउनुहुन्छ। तपाईंले कहिल्यै अनुभव गर्न नसक्ने कुराहरु अनुभव गर्न पाउनुहुन्छ। मैले केही समयअघि एउटा आइरिस लेखकको आत्मकथा पढेको थिएँ। जुन उसको गरिबीका बारेमा थियो। उसले आयरल्यान्डमा कसरी काँटी ठोकिएको काठको जुत्ता लगाएर संघर्ष गर्छ भन्ने कुरा त्यसमा छ। बुबा रक्सी खान्थे, कता भागे कता, आमाको पनि बिचल्ली भयो। उनी पछि अमेरिकामा गएर संघर्ष गरे अहिले कसरी सफल भए भन्ने कुरा पुस्तकमा छ। यस्ता कुरा पढ्दा हामीलाई आनन्द आउँछ। धेरै कुरा सिक्न पनि सक्छौँ।

मेडिकल साइन्स पढ्ने विद्यार्थीले बायोलोजी वा अन्य पाठ्यक्रमसम्बन्धी पुस्तकमात्र पढ्ने होइन। मानिसका हरेक पक्षबारे जानकारी लिनु पनि हो। जसको माध्यम पुस्तक हुन सक्छ। अमेरिकामा डाक्टरहरु उपन्यास, कविताहरु मज्जाले पढ्छन्। यस्ता गतिविधिले गर्दा मानवीयताको विकास हुन्छ भन्ने विश्वास गरिन्छ। पुस्तकले मानिसलाई दुःखबाट भगाउने काम पनि गर्छ।

गत महिना ‘न्युयोर्क टाइम्स’मा एउटा आलेख आएको थियो। जसमा सिरियन शरणार्थी बच्चालाई पुस्तक पढ्न दिएर ‘साइको इमोसनल’ उपचार गरिएको कुरा उल्लेख छ। यसैले पनि पठन संस्कृतिको महत्व छ। त्यसैले विद्यार्थीका लागि पनि पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पढ्ने कुरा महत्वपूर्ण छ।

मानौँ तपाईंसँग कुनै विषयमा डिग्री गरिएको प्रमाणपत्र छ। त्यो प्रमाणपत्र जागिरमा प्रवेश गर्दा काम लाग्ला तर व्यवहारिक पक्षमा तपाईं खासमा के हुनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। व्यवहारिक पक्षसँग पठन संस्कृति पनि जोडिएर आउँछ। तपाईं जति धेरै कुरा पढ्नुहुन्छ त्यति धेरै कुरा थाहा पाउनुहुन्छ। अरुसँग कुरा गर्न पनि सक्नुहुन्छ।

एक पटक जापानको प्रोफेसरसँग भेट हुँदा उहाँले फूलहरुको बारेमा कुरा गर्नुभयो। नेपालमा पाउने ‘ब्लु पप्पी’ नामक फूल र केही चराहरुको बारेमा उहाँले मज्जासँग मलाई सुनाउनुभयो। म त्यतिबेला जापानको राजदूत थिएँ। राजदूतजस्तो मान्छेले फूलको बारेमा के थाहा पाओस्। सबैभन्दा महत्वपूर्ण कुरा भनेको त पठन नै रहेछ नि। नेपालको बारेमा जापानीले थाहा पाउने मैले थाहा नपाउँदा कस्तो नमज्जा भयो होला।

पठनले मानिसमा एउटा संस्कृतिको विकास गर्छ। त्यसैले पनि बच्चादेखि नै हामीले आफ्ना बालबालिकालाई पुस्तक पढ्न सिकाउनु पर्छ। कसरी पढ्नेभन्दा ‘रिडिङ लाउड’ भन्छ। बच्चादेखि नै पुस्तक बढ्ने बानीको विकास भयो भने पछि उसमा त्यो संस्कृति विकास हुँदै जान्छ।

(आन्विका गिरीद्वारा लिखित पुस्तक ‘सानीका ज्ञानी कुरा’ र ‘आमाले सक्नुहुन्छ’ विमोचन कार्यक्रममा माथेमाले राखेको विचारको सम्पादित अंश)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .