ad ad

म्यागेजिन


एलिजाबेथ-फिलिप : राजा महेन्द्रसँगै ‘चितवन शिकार’ मा गए, गोली चलाएनन्

एलिजाबेथ-फिलिप : राजा महेन्द्रसँगै ‘चितवन शिकार’ मा गए, गोली चलाएनन्

सीताराम बराल
बैशाख ४, २०७८ शनिबार ११:२१,

बेलायती महारानी एलिजाबेथ द्वितीयाले तेस्रो सन्तानको रुपमा राजकुमार एन्ड्रयुलाई जन्म दिँदै थिइन्। बकिङ्घम राजदरवारका ‘कान्छा राजकुमार’ एन्ड्रयुको जन्म (१९ फेब्रुअरी १९६०) हुनुभन्दा केही महिनाअघि महारानी एलिजाबेथ गर्भवती भएको गाइँगुइँ दरवारभित्र–दरवारबाहिर चल्न थालिसकेको थियो।

कुनै पुरुष नयाँ बाबु बन्दैछ भने उमाथि ‘बिल्ला हान्ने’ चलन नेपालमा मात्र छैन, बेलायतमा पनि रहेछ। आफन्तजन र साथीभाइले गर्ने ठट्टाबाट महारानी एलिजाबेथका पति प्रिन्स फिलिप (जसलाई ड्युक अफ एडिनबराको उपाधि दिइएको हुन्छ) पनि जोगिन सकेनन्।

प्रिन्स फिलिप ‘सेन्स अफ ह्युमर’ का लागि प्रख्यात थिए। ठट्टा र जोक गरेर अरुको ध्यान आफूतिर आकर्षित गर्न सक्थे। व्यंग्य गर्नेले उनीबाट ठट्ट्याउलो जवाफ पाउँथ्यो।

तेस्रो बच्चाको बाबु बन्नै लाग्दा साथीभाईले ठट्टा गर्न थालेपछि उनले फर्काएको जवाफ रसिलो थियो। उनले भनेका थिए, ‘हेर्नुस्, पहिलो बच्चा जन्मँदा मानिसहरु अत्याधिक खुसी हुँदा रहेछन्। दोस्रो बच्चा जन्मँदापनि पहिलो बच्चा जन्मँदाजस्तै खुसी होइँदो रहेछ। तर, ‘नचाहँदा–नचाहँदै’ जब तेस्रो बच्चा जन्मिन्छ नि, मानिसहरुले त्यसलाई पनि स्वभाविक रुपमा नै लिँदा रहेछन्।’

अर्थात्, विना योजना महारानी एलिजाबेथ तेस्रो पटक गर्भवती भएकी रहिछन्।

बेलायती सेनामा क्याप्टेन दर्जामा रहेका बेला सायद यस्तै ठट्ट्यौली स्वभावका कारण डेनमार्कको राजखलकका यी राजकुमारको मोहपासमा बेलायती राजकुमारी एलिजाबेथ सहजै परेकी होलिन्।

अब प्रिन्स फिलिपको नेपाल सम्बन्धतिर लागौँ।

२७ चैत (२०७७) मा ९९ वर्षको उमेरमा फिलिपको निधन भयो। उनको निधनपछि सामाजिक सञ्जालमा पूर्व राजा ज्ञानेन्द्र र स्व प्रिन्स फिलिपसँगै रहेको एउटा तस्वीर छ्यापछ्याप्ती भयो, जुन महारानी एलिजाबेथले २०४२ फागुन पहिलो हप्ता गरेको नेपाल भ्रमणको अवसरमा खिचिएको हो। चितवनस्थित टाइगर टप्स होटलभित्र तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रले आयोजना गरेको भोजमा उपस्थित हुँदा खिचिएको सो तस्वीरमा प्रिन्स फिलिपले घाँटीमा दुरविन झुण्ड्याएको देखिन्छ। पेय पदार्थले भरिएको गिलास दाहिने हातमा समाएका अधिराजकुमार ज्ञानेन्द्र हाँसिरहेका छन्। ठट्ट्यौला स्वभावका प्रिन्स फिलिपले त्यहाँपनि कुनै रसिलो जोक भनेर ज्ञानेन्द्रलाई हँसाएका हुन् कि?

British Queen Prince 1
त्रिभुवन विमानस्थलमा महारानी एलिजाबेथ र प्रिन्स फिलिप 

‘ठट्टा र जोकका राजकुमार’ प्रिन्स पहिलो पटक बिसं २०१६ मा महारानी एलिजाबेथसँगै नेपाल भ्रमण (१५–१८ फागुन) मा आएका थिए। ब्रिटिस शाही दम्पत्तिको सम्मानमा राजा महेन्द्रले चितवनको मेघौलीमा भव्य शिकारको आयोजना गरे।

तर, चितवन गएर पनि शाही दम्पत्ति आफैं प्रत्यक्ष शिकारमा संलग्न नभएको विषय निकै चर्चित बन्न पुग्यो।

बेलायती राजपरिवार जस्तै राजा महेन्द्र पनि शिकारका गजवका शौखिन थिए। विदेश भ्रमणमा जाँदा होस् वा स्वदेशभित्रको भ्रमणमा– सकभर उनले नछुटाउने विषय शिकार नै हुन्थ्यो। २०१७ कात्तिकमा बेलायत भ्रमणमा रहेका बेला ८ कात्तिकमा स्कटल्याण्डको फर्रार नामको जंगलमा शिकार खेल्न पुगे। त्यसक्रममा उनले दाह्रीवाल जरायोको शिकार गरेका थिए।

‘साहसिक शिकार’ का लागि बाघ र गैँडाको शिकार उत्तम मानिन्थ्यो। तर, जंगल फँडानी, चोरी शिकारी आदिका कारण यी दुबै जनावर संकटमा पर्दै गएपछि नेपालको राजपरिवार वन्य जन्तुहरुको संरक्षणमा लाग्यो। बेलायती राजपरिवारले पनि संकटमा परेका वन्यजन्तुहरुको संरक्षणमा दिलचस्पी दिन थाल्यो।

त्यसैक्रममा नेपालमा राष्ट्रिय निकुञ्जहरु निर्माण गरिए।

नेपाल–बेलायतबीच कुटनीतिक सम्बन्धको चर्चा हुँदा राणाकालीन ‘शिकार कुटनीति’ को प्रसङ्ग छुटाउनै मिल्दैन। महारानी एलिजाबेथका हजुरबुबा राजा जर्ज पञ्चम श्री ३ चन्द्र शमशेरको निम्तो स्वीकार गर्दै सन् १९११ मा शिकारकै लागि ठोरीको जंगलमा आइपुगेका थिए। त्यो भन्दा पाँच बर्षअघि उनी युवराज छँदा, सन् १९०६ मा शिकारका लागि नेपाल आउने तयारीमा थिए। तर, तराईमा हैजाको महामारी फैलियो, आउन पाएनन्।

जब आए, दर्जनौँ बन्य जन्तुको शिकार गरेर फर्के। ईतिहासकार पुरुषोत्तम शमशेर राणाले श्री ३ हरुको तथ्य बृत्तान्त (भाग २) मा उल्लेख गरे अनुसार त्यसक्रममा जर्ज पञ्चमले २१ बाघ, ८ गैँडा, चितुवा, जरायो, बँदेल, चित्त लगायतका जनावरहरुको शिकार गरेका थिए।

२०१६ कात्तिकमा गरेको बेलायत भ्रमणका क्रममा यही ईतिहासको स्मरण गराउँदै राजा महेन्द्रले महारानी एलिजाबेथ र उनका पति फिलिपलाई शिकार खेल्ने गरी नेपाल भ्रमणमा आउन निम्तो दिए। महारानी एलिजाबेथले पनि काठमाडौँ आइपुगेपछि भएको नागरिक अभिनन्दन कार्यक्रममा आफ्ना हजुरबुबाले गरेको नेपाल भ्रमणको चर्चा गरेकी थिइन्।

राजा महेन्द्रबाट निम्तो पाएपछि एलिजाबेथले नेपालको भ्रमण गर्ने निधो गरिन्। त्यसै साल माघ–फागुनमा भारत र पाकिस्तानको भ्रमण सकेर काठमाडौँ आउने योजना बनाइन्।

एलिजाबेथ र फिलिप चितवनमा शिकारमा सहभागी हुने गरी नेपाल आउने भएपछि राजा महेन्द्र तयारीमा लागे।

शिकारस्थल भरतपुर विमानस्थलदेखि १५ माइल दक्षिण–पश्चिममा राप्ती र नारायणी नदीको दोभान नजिकै मेघौलीस्थित दुई जंगल छनोट भए। गोलाघाट जंगलमा बाघको शिकार हुने भयो भने द्योसारघाटको जंगलमा गैँडाको शिकार। मेघौली पिछडिएको गाउँ थियो। विजुली बत्ती पुगेकै थिएन। शिकारको तयारीबारे गोरखापत्रको समाचार अनुसार, विजुलीको प्रबन्धका लागि १०–१० किलोवाट क्षमताका दुईवटा जेनेरेटरपनि जंगलमा बनाइएको क्याम्पमा लगिए। सञ्चार सुविधाका लागि क्याम्पसम्म टेलिफोनको तार पुर्याइयो। पाइपबाट पानी लगियो। बेलायती अथितिहरुको बासका लागि ६ वटा विशिष्ठ खालका पाल सहितको क्याम्प निर्माण भयो।

मेघौलीस्थित शिकार क्याम्पलाई कसरी सिँगारिएको थियो भन्ने कुरा लेखक माइकल पिसेलले ‘टाइगर फर ब्रेकफाष्ट’ मा उल्लेख गरेका छन्। उनका अनुसार जंगलभित्रको क्याम्प वरिपरि साँच्चिकै सगरमाथा लगायतका हिमालजस्तो देखिने गरी पर्खाल निर्माण गरिएको थियो। पुरानो जंगल फडानी गरी नयाँ र आकर्षक खालका रुखहरु समेत क्याम्प वरिपरि रोपिएका थिए।

आवतजावतका लागि बाटो खन्ने कुरा त सामान्य भइहाल्यो। बेलायती शाही शिकार दललाई काठमाडौँबाट सिधै मेघौलीस्थित शिकार क्याम्पमा ओराल्ने गरी विमानस्थल समेत निर्माण भयो। हाल चल्तीमा नरहेको चितवनको मेघौली विमानस्थलको निर्माण त्यतिबेलै भएको हो।

ब्रिटिस महारानीको नेपाल भ्रमणको विशेष रिपोर्टिङका लागि विश्वका प्रसिद्ध सञ्चारमाध्यमहरुले आफ्ना प्रतिनिधि काठमाडौँ पठाए। प्रसिद्ध बेलायती समाचार पत्र ‘दि गार्जियन’ को तर्फबाट बरिष्ठ सम्वाददाता माइकल वाल काठमाडौँ आए। उनी पनि मेघौली पुगे।

माइकलले प्रेसित गरेको रिपोर्टमा मेघौलीस्थित शिकार क्याम्प ‘युद्धकालीन हेडक्वार्टर’ जस्तो देखिएको उल्लेख छ। तर, ‘युद्धका बेला आपतकालीन रुपमा स्थापना गरिने अस्थायी हेडक्वार्टर भन्दा यो क्याम्प फराकिलो क्षेत्रफलमा रहेको उनले उल्लेख गरेका छन्।

‘महारानी र ड्युक (फिलिप) दुई शयनकक्ष, दुईटा श्रृङ्गार कक्ष र दुईटा स्नानागारहरु विभक्त भएको एउटा विशाल पालमा बस्नु हुनेछ’, सरकारी सञ्चारमाध्यम गोरखापत्रले समेत अनुवाद गरी प्रकासित गरेको त्यो रिपोर्टमा वालले लेखेका छन्, ‘कोठामा सादा सजावट गरिएको छ। झुलहरुले युक्त काठका पलङ्गहरु, लुगा झुण्ड्याउने र्‍याकहरु र स्नानको निम्ति स्नानागारहरुको सुव्यवस्थता छ।’

त्यो भव्य ‘शिकार क्याम्प’ मा एक रात बिताउने गरी नेपाल भ्रमणमा आएको दोस्रो दिन अर्थात १६ फागुन (२०१७) विहान महारानी एलिजाबेथ विशेष विमानबाट मेघौली ओर्लिन्। एलिजाबेथ र फिलिपको स्वागतका निम्ति राजा महेन्द्र १० वर्षे माहिला छोरा अधिराजकुमार ज्ञानेन्द्र र परराष्ट्र एवं राजदरवार मामिला मन्त्री डा तुलसी गिरिका साथ त्यस अगाडि नै मेघौली पुगिसकेका थिए। केहीबेरमै उनका कान्छा भाई अधिराजकुमार बसुन्धरा ब्रिटिस राजदम्पतीलाई लिएर मेघौली ओर्ले। राजा महेन्द्रले बेलायती शाही अतिथिहरुलाई मेघौली विमानस्थलमा स्वागत गरे।

त्यसदिनको शिकार कार्यक्रम दुई चरणमा विभाजित थियो। पहिलो, ब्रेकफाष्ट लगत्तै गोलाघाट जंगलमा बाघको शिकार गर्ने। दोस्रो, दिउँसोको खाना (लञ्च) पछि द्योसारघाटको जंगलमा गैँडाको शिकारमा जाने।

पूर्व निर्धारित योजना अनुसार ‘ब्रेकफास्ट’ लगत्तै बाघको शिकार आरम्भ भयो। शिकारका लागि गोलाघाट जंगलका बाघहरुलाई केही दिनअघिदेखि नै घेरामा पारेर राखिएको थियो।

उच्च पदस्थहरुले गर्ने यस्तो शिकारका लागि श्री ३ महाराज जुद्ध शमशेरको पालामा नयाँ तरिका आविस्कार गरिएको थियो। त्यसपहिले दर्जनौँ हात्तीहरुले बाघलाई घेरा हाल्थे। हात्तीमाथि चढेका वा विशेष रुपले रुखमा बनाइएको मचानमा बसेर शिकारीले घेरामा रहेको बाघको शिकार गर्दथ्यो।

तर, श्री ३ जुद्ध शमशेरले बाघ भएको स्थान पहिचान गरी वरिपरि सेतो कपडाको घेरा (पर्खालजस्तै) हाल्ने प्रचलन सुरु गरे। यो उपाय प्रभावकारी देखियो। सेतो कपडा देखेपछि बाघ डराउने र यस्तो कपडाको घेरा नाघ्न हिचकिचाउने पत्ता लागेपछि यो तरिका अबलम्बन गरिएको थियो।

British Queen Prince 2
चितवन शिकारमा राजा महेन्द्रका साथ एलिजाबेथ 

बाघ शिकारको तयारी स्वरुप केही दिन अघि नै गोलाघाट जंगलको एउटा बिन्दूमा एउटा राँगो बाँधेर रातभर छाडियो। गोलाघाट जंगल मेघौली क्याम्पबाट ५ माइल पर थियो। आहाराको खोजीमा रहेका बाघ–बघिनी त्यहाँ आए, राँगाको शिकार गरे। यति भएपछि बाघहरु त्यहीँ वरिपरि छन् भन्ने पत्ता लागिहाल्यो। त्यसपछि बाघ रहेको इलाका वरिपरि सेतो कपडा बेरेर पर्खाली बनाइयो। शिकारको निर्धारित मितिसम्म तिनीहरुलाई त्यहीँ वरिपरि भुलाउने गरी राँगा, बाख्राहरुको ‘सप्लाई’ निरन्तर भइरह्यो। ‘बल्छी’ का रुपमा यसरी राँगा र बाख्रा छाडिएको हो भन्ने कुरा ती निर्दोष जनावरले थाहा पाउने कुरा थिएन।

शाही अतिथिहरु चितवन पुग्नुभन्दा अघिल्लो दिनसम्म सैनिकहरुले कपडाको घेरा साँघुरो पारिसकेका थिए। शाही अथितिहरुले सजिलै बाघको शिकार गर्न सकुन् भन्ने उद्देश्यले यसरी सेतो कपडाको घेरालाई अझ साँघुरो बनाएका थिए।

यो शिकार कार्यक्रम सफल बनाउन सयौँ हात्तीहरु मेघौलीमा केन्द्रित गरिएका थिए। पिसेलले आफ्नो पुस्तक टाइगर फर ब्रेकफाष्टमा ३ सय ७६ हात्ती परिचालन गरिएको दावी गरेका छन्। स्वदेशी–विदेशी पत्रकारहरुमध्ये कसैले ३ सय २५ त, कसैले ३ सय २७ वटा हात्ती रहेको उल्लेख गरेका छन्।

British Queen Prince 8
बाघको शिकारका लागि हात्ती र सेतो कपडाको घेरा (गेट्टी इमेज)

जे होस्, २००७ पछि चितवनको जंगलमा शिकारका लागि यति धेरै हात्तीको केन्द्रिकरण भएको यो पहिलो र अन्तिम घटना थियो।

ब्रेकफाष्टपछि एउटा हात्तीमा महारानी एलिजाबेथ चढिन्, अर्को हात्तीमा प्रिन्स फिलिप चढे। राजा महेन्द्र तेस्रो हात्तीमा चढे। महारानी एलिजाबेथका लागि तयार पारिएको हात्तीमा राखिएको सिट छालाले बनेको थियो, त्यसको वरिपरि हिरासमेत जडित थियो।

त्यसै विहान शिकारस्थलमा राखिएको एउटा राँगो बाघले राति नै मारेर खाएको समाचार क्याम्पमा आइसकेको थियो। बाघहरु निर्धारित घेराभित्रै छन् भन्ने कुराको संकेत थियो यो। वरिपरि रहेका बाघले राँगो खाएको समाचार पाएपछि झिसमिसेमै दर्जनौँ हात्तीहरुलाई दुई समूहमा विभाजित गरियो र बाघ भएको ठाउँको कपडाको घेरालाई अझ कसिलो पार्ने गरी पठाइयो।

एलिजाबेथ राजा महेन्द्र र प्रिन्स फिलिप चढेको हात्तीको बीचमा रहेको हात्तीमा थिइन्। चर्को घामको प्रकाशबाट जोगिन महारानीले छत्रे टोपी र कालो गगल्स लगाएकी थिइन्। खाकी रंगको पोशाक पहिरेकी उनको हातमा सानो आकारको ‘मूभि क्यामरा’ पनि थियो। शिकार अवधिभर उनले शिकारका दृष्य आफ्नो क्यामरामा कैद गरिन्।

British Queen Prince 7
चितवन शिकारका क्रममा भिडियो खिच्दै एलिजाबेथ (गेट्टी इमेज)

छत्रे टोपीले मात्र घाम छेक्न सक्दैन भन्ने ठानेर होला, एलिजाबेथका लागि छाते (छाता ओढाउने सहयोगी) खटाइएको थियो। युवा उमेरको छातेले हात्तीको पुच्छरको फेदमा उभिएर छाता ओढाइरहेको थियो। शिकारमा सामेल तीन सय भन्दा बढी हात्तीलाई चलाउने माहुतेहरुले पनि खाकी रंगकै पोशाक लगाएका थिए।

यो तम्तयारीपछि माहुतेसहितका दर्जनौँ हात्तीहरुका साथ शिकार दल अघि बढ्यो। महारानीको उतिबेला गरेको चितवनको शिकार यात्राको भव्यता अहिले पनि युट्युवमा मज्जासँग देख्न सकिन्छ।

शिकारस्थल नजिकै पुगेपछि महारानी एलिजाबेथले आफू चढेर आएको हात्ती परिवर्तन गरिन्। मेघौलीबाट गोलाघाट जंगलको शिकारस्थलतर्फ प्रस्थान गर्दा उनी छालाको खुल्ला आकारको हौदा कसिएको हात्तीमा चढेकी थिइन्। शिकारस्थल पुगेपछि उनी चढेको हात्तीमा धातुबाट बनेको सुरक्षित (कोठा आकारको) हौदा कसिएको थियो।

एकजना गोरा अधिकारीपनि महारानी चढेकै दोस्रो हात्तीमा चढे। सम्भवतः उनी महारानीका सचिव सर माइकल एडेन थिए। तेस्रो व्यक्तिले तिनै गोरा अधिकारीलाई एउटा राइफल थमाए। महारानीलाई छाता ओढाइरहेको युवाले पनि छाता तिनै व्यक्तिलाई हस्तान्तरण गर्यो।

ब्रिटिस महारानीको नेपाल भ्रमणको सबैभन्दा सनसनीपूर्ण कार्यक्रम अब सुरु भयो।

दर्जनौँ हात्ती र सेतो कपडाको घेराभित्र रहेको झाडीभित्र बाघ लुकेको थियो। शिकार गर्न त्यसलाई झाडीबाट बाहिर निकाल्नु पथ्र्यो। झाडीबाट बाघ बाहिर निकाल्न राजा महेन्द्र आफैं अघि सरे। आफू सवार हात्तीलाई बाघ भएको झाडीतिर अघि बढाए। ५ मिनेटपछि एउटा बाघ रिसाउँदै झाडीबाट निस्कियो। ११ वटा हात्तीको लस्करका साथ राजा महेन्द्रले बाघको ‘पानीखेदो’ सुरु गरे।

‘ड्याम्म् ...’

बाघमाथि कसैले पहिलो गोली चलायो। यो गोली ब्रिटिस विदेश मन्त्री लर्ड ह्युम (पछि प्रधानमन्त्री) ले प्रहार गरेका थिए। तर, उनको गोलीको पहिलो निशाना चुक्यो। बाघ झाडीभित्र पस्यो।

बाघलाई जिस्क्याउँदै फेरि झाडीबाट निकालियो। पाँच पटक यसरी नै झाडीबाट निस्केर भाग्ने प्रयास बाघले गर्यो। तर ह्युमले दोस्रो पटक गोली प्रहार गर्न सकेनन्।

घेरा तोड्न बाघले तीन पटक हात्तीमाथि झम्टियो। नसकेपछि एउटा हात्तीको कानै चिथोरिदियो।

हात्तीलाई झम्टेर घेरा तोड्न खोजेको बाघ घेरा तोड्न नसकेपछि झाडीभित्र लुक्न पुग्थ्यो। यो क्रम पटक पटक दोहोरिरह्यो। नबौँ पटकमा बाघ फेरि झाडीबाट निस्कियो।

यसपटक भने तीनजना शिकारीले सँगसँगै बाघमाथि गोली चलाए। गोली चलाउनेहरुमा प्रिन्स फिलिपका निजी सचिव रियर एडमिरल क्रिष्टोफर डनह्याम कार्टर र महारानीका निजी सचिव माइकेल एडेनका अलावा विदेशमन्त्री ह्युम थिए। गोलीले बाघ ठहरै भयो।

कसको गोलीले बाघ मारियो, उत्सुकताको विषय बन्यो। मारिएको बाघको लम्बाईको नापजाँच र बाघ कसको गोलीले मारिएको हो भन्ने जाँच प्रधानसेनापति नीर शमशेर जबराले गरे।

गोली चलाउने तीनै ब्रिटिस अधिकारीको हातमा फरक–फरक क्यालिबर (आकार) को गोली प्रयोग हुने राइफल थमाइएको थियो। गोली र घाउको आकारको विश्लेषण गरेर कसको गोलीले बाघ मरेको हो, त्यसको पहिचान गरिन्थ्यो। बाघको नापजाँच, गोलीले बनाएको घाउ (प्वाल) पहिचान गरेपछि प्रधानसेनापति राणाले सुनाए, ‘मारिएको जनावर बाघ होइन, बघिनी रहिछ। रियर एडमिरल क्रिष्टोफर डनह्याम कार्टर साबको गोलीले मारिएको यो बघिनीको आकार ८ फिट ८ इञ्च छ।’

घेरामा अन्य बाघ पनि थिए। त्यसमध्ये एउटा बाघ यति ज्याद्रो थियो कि हात्तीका लस्कर र कपडाले बनाइएको पर्खाल नाघेर ज्यान जोगाउन कहिले यता त कहिले उता दौडिरहेको थियो। चौतर्फी घेराबन्दीका कारण हताश र आक्रोसित बाघमाथि विदेशमन्त्री लर्ड ह्युमले गोली दागे।

तर, ह्युमले दोस्रो बाघमाथि चलाएको गोलीपनि खेर गयो। त्यसमाथि दोस्रो गोली प्रहार गरे, त्यो निशाना पनि ‘मिस’ भयो। थप दुई गोली प्रहार गरे। सबै गोली खेर गए। चार वटै निशाना चुकेकाले विदेशमन्त्री ह्युम असिनपसिन भए। घेरामा परेको बाघमाथि चार पटक गोली प्रहार गर्दापनि ढाल्न नसकेपछि ह्युम पछिसम्म बेलायती सञ्चार माध्यमका लागि ‘गसिप’ को विषय बनिरहे। कतिले उनलाई ‘असफल निशानेवाज’ भन्दै जिस्क्याए। पछि उनी प्रधानमन्त्रीको उम्मेदवार बन्दापनि उनले नेपालमा बाघको शिकार गर्न नसकेको घटना ठट्टाको विषय बन्यो।

बाघको शिकार कार्यक्रम सकिएपछि लञ्च सुरु भयो। लञ्च सकिएपछि शाही अतिथिहरु ल्याण्डरोभर गाडी चढेर गैँडा शिकारका लागि द्योसारघाट जंगलतर्फ लागे।

केहीबेरमै एउटा गैँडा देखियो। ब्रिटिस टोलीले त्यसमाथि गोली चलाउन थाल्यो। त्यसमध्ये दुई गोली विदेशमन्त्री ह्युमले बोकेको राइफलबाट छुटे। एलिजाबेथका निजी सचिव माइकल एडेनले पनि एउटा गोली प्रहार गरे।

त्यो पोथी गैँडा रहिछ, गोली लागेपछि १५ फिट अग्लो काँस र खरहरुको ढट्टीमा ढली। हुन त, त्यो पोथी गैँडामाथि ह्युमकै राइफलको गोली लागेको थियो। तर, विदेशमन्त्री ह्युमले तत्काल त्यसको ‘क्रेडिट’ पाउन सकेनन्। केही अघिमात्र बाघमाथि प्रहार गरिएको चारै गोलीको निशाना चुकेका कारण ह्युमकै गोलीले गैँडा ढलेको विश्वास कसैलाई भएन। १९ फागुन (२०१८) को गोरखापत्रले समेत ह्युमप्रति अविश्वास प्रकट गर्दै लेखेको थियो, ‘विदेशमन्त्री ह्युमले त्यस (गैँडा) माथि दुई वटा गोली चलाउनु भयो। सम्भवतः उहाँको दोस्रो गोलीले त्यस गैँडालाई १५ फिट अग्लो ढड्डीमा ढालेको हुँदो हो। तर, त्यसैबेला एकै पटक महारानीका निजी सचिव माइकेल एडेनले पनि त्यसमाथि गोली चलाउनु भएकाले कसको गोलीले त्यो म¥यो, छुट्ट्याउन मुस्किल छ।’

यी दुवै शिकारमा राजा महेन्द्र महारानी एलिजाबेथ र प्रिन्स फिलिपका साथ थिए। जब बाघ झाडीबाट निस्कन्थ्यो, महेन्द्र आफ्नो राइफल बाघतिर तेस्र्याउँथे। तर, उनले एउटा पनि गोली चलाएनन्।

अन्य शाही शिकारमा भने फरक दृष्य देखिन्थ्यो। महेन्द्र नै पहिलो गोली चलाउन अघि सर्थे। शाही नियम अनुसार खासमा उनको अनुमतिविना कसैले गोली चलाउन पाउँदैनथ्यो। विश्वका अन्य शिकारीले भन्दा आफूले ठूलो जंगली जनावरको शिकार गरेको ‘विश्व रेकर्ड’ दर्ज गराउने महेन्द्रको धोको थियो।

शिकारका यति शौकिन राजा महेन्द्रले त्यसदिन किन गोली चलाएनन्? ब्रिटिस शिकार दललाई शिकारको मौका सिर्जना गरिदिएर प्रसन्न पार्ने चाहना नै उनले गोली नचलाउनुको मुख्य कारण हो। उनीजस्ता अचुक निशानेबाजले पहिले नै गोली चलाइदिए भने उनीहरुले कसरी शिकार गर्नु? यसको राजनीतिक कारणको चर्चा भने केहीबेरमै गरिनेछ।

राजा महेन्द्रका लागि त्यो शिकारको महत्व कति थियो भन्ने कुरा ‘दि गार्जियन’ मा प्रकासित रिपोर्टमा माइकेल वालले उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘यदि महारानीले शिकारमा नजाने निर्णय गर्नुभएको भए यस कुरालाई आफ्ना आतिथेयहरुप्रति सबभन्दा ठूलो अशोभनीय व्यवहार ठानिने थियो। किनभने, नेपालमा आगन्तुकहरुलाई दिन सकिने यो सर्वोच्च सम्मान हो।’

राजा महेन्द्रले यतिधेरै महत्व दिएर शिकार कार्यक्रमको आयोजना गरेपनि एलिजाबेथ र फिलिपको हातमा शिकार अवधिभर राइफल देखिएन। उनीहरु शिकारका दर्शकमा सीमित रहे। आफ्नो प्रतिनिधिका रुपमा शिकार खेल्न उनीहरुले तीन जनालाई जिम्मा दिए। तीनै तीन जना ब्रिटिस उच्च अधिकारीले महारानी र प्रिन्सको नाममा बाघ र गैँडामाथि गोली चलाए।

चितवन प्रस्थान गर्नुपूर्व नै राजा महेन्द्रलाई महारानी र प्रिन्स आफैंले शिकार गर्ने गरी बन्दुक समाउने छैनन् भन्ने कुराको जानकारी दिइएको थियो।

माइकेल वालको सो रिपोर्ट अनुसार, प्रिन्स फिलिपको दाहिने हातको चोर औँलामा घाउ भएको थियो। यही कारण उनले गोली नचलाउने जानकारी राजा लगायत नेपाली अधिकारीहरुले पाइसकेका थिए। वालले लेखेका छन्, ‘श्रीमान् ड्युकको दाहिने हातको चोर औँलामा घाउ भएकाले डाक्टरले उहाँलाई शिकार नखेल्न सल्लाह दिए। त्यसैले, उहाँले शिकार नखेल्नु भएको हो।’

ब्रिटिस शाही दम्पत्तिको काठमाडौँ उपत्यकाका विभिन्न पुरातात्विक स्थलहरुको भ्रमणको भिडियो युट्युवमा हे¥यौँ भने दाहिने हातको चोर औँलामा पट्टी बाँधिएको देख्न सकिन्छ। पट्टी बाँधिएको औँलो बेला–बेला कोटभित्र घुसारेर उनी लुकाउन खोजिरहेका छन्। उनले औँला लुकाउन खोजेको दृष्य निकै रोचक छ।

उनको हातमा साँच्चिकै घाउ भएको पनि हुनसक्थ्यो। अथवा शिकारमा सहभागी नहुनका लागि औँलामा घाउ भएको बहानाबाजी गरेका पनि हुनसक्थे।

शाही दम्पत्ति आफैं शिकारमा सहभागी हुँदा बेलायती राजपरिवार अन्तर्राष्ट्रिय रुपमै विवादमा फस्ने सम्भावना थियो। उनीहरु शिकारमा सहभागी हुने भन्ने विषय सार्वजनिक भएदेखि नै बेलायती सञ्चारमाध्यमहरुले आलोचना गर्न थालेका थिए। केही अघिमात्र प्रिन्स फिलिपले विश्व बन्यजन्तु कोष (बेलायत) को अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। वन्यजन्तु संरक्षण गर्ने निकायको जिम्मेवारी सम्हालेका फिलिप बाघ र गैँडाको शिकारमा सहभागी हुँदा सञ्चारमाध्यमहरुको आलोचनाको निशानामा पर्नु स्वभाविक पनि हो।

पिसेलका अनुसार, ब्रिटिस सञ्चारमाध्यमहरुले ‘नेपालजस्तो गरिव देशमा ठूलो रकम खर्च गरेर आयोजना गरिएको शिकार कार्यक्रममा बेलायती राज दम्पत्ति सहभागी हुन लागेको’ भनेर राजदम्पत्तिको आलोचना सुरु गरिसकेका थिए। संसदीय प्रजातन्त्रको जननी मानिने बेलायतका महारानीले भर्खर नेपालमा संसदीय प्रजातन्त्रको हत्या गरेका राजा महेन्द्रको निम्तो मान्न जान लागेको भनेर पनि आलोचना सुरु भएको थियो।

नेपाल आउनुअघि ब्रिटिस राजदम्पत्ति भारतको जयपुर (राजस्थान) राजघरानाले आयोजना गरेको शिकार कार्यक्रममा सहभागी भएको थियो। बेलायती राजपरिवारसँगको निकट सम्बन्धका आधारमा महाराज मान सिंह द्वितीय र उनकी रानी गायत्री देवीले दुई दिने शिकार कार्यक्रम आयोजना गरेका थिए।

पहिलो दिनको शिकारमा फिलिपले कुनै शिकार गर्न सकेनन्। दोस्रो दिन भने एउटा ठूलो पाटेबाघ मार्न सफल भए। यो शिकारमा मिडियाले ‘एक्सेस’ पाएर शिकारको तस्वीर सार्वजनिक भएको भए उनीहरु झनै ठूलो विवादमा पर्ने थिए।

राजा महेन्द्र भने बेलायती राजदम्पत्तिको भ्रमण र शिकार दुबैलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न चाहन्थे। साढे दुई महिनाअघि मात्र उनले बीपी कोइरालाको निर्वाचित सरकारलाई सैन्य बलमा ‘कू’ गरी शासनसत्ता आफैंले लिएका थिए। छिमेकी भारत राजाको कदमको विपक्षमा थियो। महारानीको नेपाल भ्रमणबाट १ पुस (२०१७) को कदमप्रति ‘बेलायतको समर्थन आफूलाई छ’ भन्ने सन्देश प्रवाहित गर्नु थियो। महारानी भारतको भ्रमण सकेर यता आएकीले पनि यसको राजनीतिक महत्व ठूलो थियो। नेपाल भ्रमणबाट महारानी कति खुसी छन्, विश्वलाई यो देखाउनु थियो। प्रतिबन्धित नेपाली कांग्रेसलाई संसदीय प्रजातन्त्रको जननी मानिने बेलायतको महारानीको समर्थन आफूले हासिल गरेको देखाउनु थियो।

प्रतिबन्धित नेपाली कांग्रेस भने बेलायती महारानीको नेपाल भ्रमणको विपक्षमा थियो। २०१७ माघमा सम्पन्न पटना सम्मेलनबाट नेपाली कांग्रेसले ‘निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई कू गरेर प्रजातन्त्रको अपहरण भएको बेला नेपाली जनताले खुला दिलले बेलायती महारानीको स्वागत गर्न नसक्ने’ बताउँदै भ्रमण स्थगित गर्न बेलायती पक्षसँग अनुरोध गरेको थियो। तर, महारानीले नेपालको राजनीतिक पक्षलाई ध्यान दिइनन्, नेपाल–बेलायतबीचको कुटनीतिक सम्बन्धलाई महत्व दिइन् र नेपाल आउने निधो गरिन्।

महारानी एलिजाबेथलाई नेपाल भ्रमणमा ल्याउन राजा महेन्द्र सफल भए। भ्रमणलाई असफल बनाउन कांग्रेसले सुन्दरीजलस्थित जलविद्युत गृहमा बिस्फोट गराउने योजना समेत बनायो। महारानीको भ्रमणका बेला सारा काठमाडौँलाई अन्धकार बनाएर राजा महेन्द्र र महारानी एलिजाबेथ दुबैलाई आफ्नो शक्ति प्रदर्शन गर्ने कांग्रेसको योजना थियो। तर, यो योजनामा पनि कांग्रेस असफल भयो। विस्फोटका लागि खटाइएका कांग्रेस कार्यकर्ताहरु पक्राउ गरिए।

British Queen Prince 5
महेन्द्र मञ्जिलमा राजा महेन्द्र र रानी रत्नका साथ महारानी एलिजाबेथ र प्रिन्स फिलिप 

महारानी आफ्नो कदमको पक्षमा र नेपाल भ्रमणबाट अत्यन्त खुसी छिन् भन्ने सन्देश दिन राजा महेन्द्र हर मूल्य चुकाउन तयार थिए। त्यही भएर महारानीको काठमाडौँदेखि शिकारसम्मको कार्यक्रमको रिपोर्टिङका लागि अन्तर्राष्ट्रिय मिडियाहरुलाई सहज पहुँच दिइयो। चितवन–काठमाडौँ आवतवाजत र बसोबासको बन्दोबस्त समेत सरकारकै तर्फबाट मिलाइयो। महारानीको नेपाल–भारत भ्रमणको रिपोर्टिङका लागि आएका विदेशी पत्रकारहरुपनि निकै खुसी भए। भारतमा भन्दा नेपालमा सहज तरिकाले समाचार संकलन गर्न पाएको प्रतिक्रिया गोरखापत्रलाई दिएर उनीहरु फर्किए। संसदीय प्रजातन्त्र रहेको भारतमा भन्दा नेपालमा बढी स्वतन्त्रता छ भन्ने सन्देश सञ्चारमाध्यमबाट प्रवाहित गर्न राजा महेन्द्र सफल भए।

राजा महेन्द्रको पो ‘राजनीतिक स्वार्थ’ थियो र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई शिकारको रिपोर्टिङका लागि सहज पहुँच दिए। तर, आफैं राइफल बोकेर पाशोमा पारिएका निर्दोष जंगली जनावरहरुको शिकार गरिरहेको फोटो–भिडियो सहितका समाचार सार्वजनिक हुँदा महारानी एलिजाबेथ र प्रिन्स फिलिप थप अप्ठेरोमा पर्थे, उनीहरुको आलोचना चुलिन्थ्यो। शिकारमा सहभागी नहुँदा चाहिँ राजा महेन्द्रको निम्तोको अपमान गरेको अर्थ लाग्थ्यो। त्यही कारण ब्रिटिस राजदम्पत्ति शिकारमा सहभागी हुने–नहुने भन्ने अप्ठेरो दोधारमा थिए।

बेलायती राजदम्पत्तिले मध्यमार्गी बाटो रोजे। उनीहरु शिकारस्थल मेघौली जाने भए। तर, आफैं शिकारमा सहभागी नहुने निर्णय गरे।

बेलायतबाट प्रस्थान गर्दा फिलिपको दाहिने हातको औँलामा चोट थिएन। भारत भ्रमण गरेर काठमाडौँ प्रस्थान गर्दा त्यो चोट कसरी लाग्यो, त्यो कहिल्यै सार्वजनिक भएन। तर, काठमाडौँ आइपुग्दा दाहिने हातको औँलामा बेरेको पट्टी शिकार नखेल्ने निर्णय सुनाउन गजबको बहाना बनिदियो। फिलिप शिकारमा सहभागी ‘हुन नसक्ने’ भएपछि एलिजाबेथलाई पनि ‘भैगो, म पनि शिकार गर्दिनँ, अरुहरुले शिकार गरेको हेर्छुमात्र’ भन्न सजिलो भयो।

महेन्द्रको चित्त नदुखोस् भनेर चितवन जाने निर्णय गरेका एलिजाबेथ र फिलिपले बाघ र गैँडाको शिकारका लागि आ–आफ्ना प्रतिनिधि छनोट गरे। प्रिन्स फिलिपको तर्फबाट रियर एडमिरल क्रिष्टोफर बोनह्याम कार्टरले राइफल समात्ने भए। महारानीको प्रतिनिधिका रुपमा उनका सचिव सर माइकल एडेन र विदेशमन्त्री ह्युम शिकार खेल्न अघि सरे।

घटनाक्रमहरु केलाउँदा के अनुमान लगाउन सकिन्छ भने, ब्रिटिस राजदम्पत्तिले भारतमा छँदै नेपालमा आयोजना गरिएको शिकार कार्यक्रममा अप्रत्यक्ष रुपमा मात्र सहभागिता जनाउने निर्णय गरिसकेका थिए। त्यसै भएर विदेशमन्त्री ह्युमलाई बेलायतबाट झिकाइएको थियो। महारानी भारतका लागि प्रस्थान गर्दा सुरुमा ह्युम भ्रमण दलमा सहभागी थिएनन्। उनी केही दिनपछि मात्र भ्रमण दलमा मिसिन आइपुगेका थिए।

खासमा विदेश मन्त्री ह्युमलाई यस्तो खालको शिकारको अनुभव थिएन। घेरामा परेको बाघलाई चार–चार गोली हान्दासमेत निशाना चुकेबाट पनि यो कुरा पुष्टि भइसकेको थियो। ‘टाइगर फर ब्रेकफाष्ट’ मा पिसेलले उल्लेख गरे अनुसार, सञ्चार माध्यमहरुले चार–चार गोली हान्दासमेत बाघ मार्न नसकेको विषय उठाइ रहेपछि उनले एक पटक भनेका थिए, ‘त्यस (चितवन शिकार कार्यक्रम) अघि म कहिल्यै हात्ती चढेको थिइनँ। अँ, बाघ चाहिँ देखेको थिएँ, तर जु (चिडियाखाना) मा मात्र।’

विदेशमन्त्री ह्युमलाई शिकारमा सामेल गराउने निर्णय ब्रिटिस राजदम्पत्तिका लागि फलदायी नै सावित भयो। राजदम्पत्तिको नेपाल भ्रमणको आलोचना गरिरहेका सञ्चारमाध्यमहरु सब कुरा बिर्सेर ह्युमको ‘असफल शिकार’ तर्फ केन्द्रित हुन थाले।

ब्रिटिस मिडियाहरुका भनाईमा, प्रिन्स फिलिप महारानी एलिजाबेथका पतिमात्र थिएनन्, महारानीको ‘कन्सर्ट’ अर्थात् असल साथी पनि थिए। उनी महारानी एलिजाबेथलाई निर्णय गर्दा सघाउने परिपक्व सल्लाहकार समेत थिए। महारानी एलिजाबेथले गर्ने निर्णयमा स्वर्गीय फिलिपकै प्रमुख भूमिका हुने गथ्र्यो। राजा महेन्द्रले आयोजना गरेको ‘चितवन शिकार’ मा खोजिएको त्यो मध्यमार्गी उपायमा पनि सम्भवतः उनकै भूमिका थियो।

तर, दाहिने हातको चोर औँलाको त्यो चोट वास्तविक नै थियो वा शिकार छल्ने बहाना, त्यो रहस्य उनले कहिल्यै खोलेनन्। यो विषय अब रहस्यकै गर्भमा रहने भयो, किनभने उनी हामीमाझ छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .