ad ad

म्यागेजिन


टिसर्टमार्फत् देश चिनाउँदैछन् असन बजारका इन्द्रमान

टिसर्टमार्फत् देश चिनाउँदैछन् असन बजारका इन्द्रमान

सन्तोष न्यौपाने
चैत ४, २०७७ बुधबार १६:२०,

असन चोकदेखि अलिकति उत्तरतिर छ ट्याउडा चोक। चोकनजिकै छ– इन्द्रमान महर्जनको पसल।

पसलको भित्तामा विभिन्न डिजाइनका टिसर्ट सजाइएका छन्। बुद्ध, मण्डल, बाह्रखरी, पाण्डा अंकित ती टिसर्टले नेपालीपनको झल्को दिन्छन्।

माथिल्लो तलामा टिसर्टहरुको गोदाम छ, जहाँ देशका विभिन्न ठाउँबाट आएकाहरुले ओल्टाइपल्टाइ टिसर्टहरु छानिरहेका छन्।

यो ‘टिसर्ट नेपाल’को पसल हो। एक दशकदेखि महर्जन र उनकी पत्नी सिर्जना श्रेष्ठले टिसर्ट नेपाल (टिएन) नाममा नेपाली टिसर्ट उत्पादन गरिरहेका छन्।

जिल्लाजिल्लामा पुग्ने यी टिसर्ट पर्यटकहरुले अझ धेरै मन पराउँछन्।

‘पर्यटक आउँदा यसको माग हिमाली जिल्लादेखि पूर्वपश्चिमसम्म हुन्छ,’ असनको आफ्नै पसलमा महर्जनले भने, ‘अहिले पनि राम्रो माग छ।’

Tshirt Nepal2

लुक्ला होस् वा लुम्बिनी, पोखरा होस् वा महेन्द्रनगर, थुप्रै पर्यटकको रोजाइमा नेपाल टिसर्ट पर्छ। विदेशमा उपहार दिनदेखि स्थानीय बासिन्दासम्मले यो सस्तो र बलियो टिसर्ट मन पराउँछन्।

डेढ दशकअघि २ लाख रुपैयाँ लगानीमा सुरु भएको टिसर्ट उत्पादन अहिले दैनिक ३ हजार गोटामा पुगेको छ।

लकडाउन अघिसम्म सामान्य समयमा दैनिक २ लाख रुपैयाँको व्यापार गरिरहेका महर्जनलको कपडा उत्पादनमा तीनवटा कारखाना सञ्चालन छन् भने ७५ जनाभन्दा धेरैलाई रोजगारी दिएका छन्।

विभिन्न रङ, साइज र डिजाइनमा टिसर्ट उत्पादन गरिरहेका महर्जनले पछिल्ला दिनमा ट्राउजर र विन्डचिटर पनि उत्पादन सुरु गरेका छन्।

Tshirt Nepal3

यसरी सुरु भयो ‘टिसर्ट नेपाल’
२०५२ सालमा पुतलीसडकमा रहेको बालकुमारी बोर्डिङ स्कुलबाट एसएलसी दिएपछि इन्द्रमान महर्जन फुर्सदमा थिए।

त्यसबेला उनका दाइ (ठूलो बुबाको छोरा) ले ठमेलमा टिसर्ट पसल गर्थे। नेपालीपन झल्कने ती टिसर्ट विदेशी पर्यटकहरुले खुब मन पराउँथे।

‘किन लखरलखर हिँडेको? आइज पसलमा काम गर,’ दाइले इन्द्रमानलाई भने।

उनी दाइको पसलमा गए। भर्खरका उनलाई व्यापारबारे कुनै जानकारी थिएन। दाइले उनलाई टिसर्टमा बुट्टा भर्न लगाए।

‘मैले दाइको पसलमा कालिगढको रुपमा काम सुरु गरेको थिएँ,’ महर्जन सम्झन्छन्, ‘अहिले जसरी टिसर्ट व्यवसाय गरेको छु, यो दाइले देखाएको बाटो हो।’

त्यहाँ काम गर्दा उनले व्यवसायको सीपसँगै टिसर्टमा बुट्टा भर्ने तरिका पनि सिके।

एक दशक दाइसँग त्यसरी पसलमा गरेपछि महर्जनलाई लाग्यो, ‘अब आफ्नै गर्नुपर्छ।’

२०६२/६३ सालमा असनमा पसल सुरु गरे। सुरुमा उनले नेपाली टिसर्ट त बनाउँथे तर त्यसलाई ‘ब्यान्ड टिसर्ट’ भनेर बेच्थे। अर्थात्, उनले विश्वका चर्चित सांगीतिक ब्यान्डको लोगो र कलाकारको तस्बिर प्रिन्ट गरेर बेच्थे।

Tshirt Nepal7

प्रिन्ट टिसर्टको माग धेरै थियो। उनले पनि प्रिन्टमा ध्यान केन्द्रित गर्न थाले।

२०७० सालतिर उनका भाइ (काकाको छोरा)ले ‘मैचा व बौचा’ भन्ने टिसर्ट डिजाइन गरे। महर्जनले भाइलाई रोयल्टी दिएर बजारमा ल्याएको सो टिसर्ट धेरैले मन पराए। राम्रो बिक्री पनि भयो।

‘जब नेपालीपनसहितका ‘मैचा व बौचा’ डिजाइनको टिसर्ट बजारमा आयो सबैले मन पराए,’ महर्जन भन्छन्, ‘यसको माग धेरै लामो समयसम्म भयो।’

नेपालीपनसहितको प्रिन्ट गर्ने हो भने धेरैले मन पराउने रहेछन् भन्ने लागेपछि त्यस्तै अरु पनि उत्पादन गर्ने सोच बनाए।

२०७२ भूकम्पपछि भने नेपालीपन झल्कने प्रिन्टमा मात्रै नेपाली टिसर्ट उत्पादन गर्न थाले। ब्यान्ड टिसर्ट उत्पादन बन्द गर्दै मण्डल, बुद्ध, मैचा व बौचा, नेपालको नक्सा, हिमाललगायत दर्जनौँ डिजाइनमा टिसर्ट बनाउन थाले।

पछि फन्ट डिजाइनर आनन्द महर्जनले पनि नेपाल टिसर्टको लागि बाह्रखरी फन्ट डिजाइन गरेका थिए। उक्त टिसर्ट ठूलो मात्रामा बिक्री नभए पनि विदेशी पर्यटकहरुले भने नेपाली चिनो स्वरुप विश्वका धेरै देशमा पुगेको छ।

Tshirt Nepal5

ती डिजाइनका टिसर्टहरु विदेशी पर्यटकहरुको आँखामा परे। माग बढ्यो। उनले पनि पर्यटकको रुचिलाई ध्यानमा राख्दै डिजाइन थप्दै गए।

यी टिसर्ट ठमेल, पाटन, भक्तपुर, चाँगुनारायणतिरका व्यापारीले धेरै लैजान्छन्। उपत्यका बाहिरका धेरै जिल्लाहरुमा पनि उनका टिसर्ट पुगेका छन्।

पर्यटन गतिविधि भएको बेला नाम्चे, लुक्लातिर यस्ता टिसर्टको माग बढ्छ। ट्रेकिङ म्यापका टिसर्ट पनि धेरै खोजिन्छ।

‘त्यहाँका व्यवसायीहरुले तीन चार महिनामा एक पटक आएर ठूलै मात्रामा उठाएर लैजान्छन्,’ महर्जन भन्छन्, ‘त्यस क्षेत्रमा मेरा २५ प्रतिशत ग्राहक छन्।’

कोरोना संकट सुरु भएपछि भने त्यस क्षेत्रमा माग छैन। कोही पनि टिसर्ट खोज्न आएका छैनन्।

पछिल्लो समय पश्चिमका सहरमा माग बढेको छ। बुटबल, भैरहवा, लमजुङदेखि महेन्द्रनगरसम्मका व्यवसायीहरुले उनको टिसर्ट लैजान्छन्। बन्दीपुर जस्ता पर्यटकीय क्षेत्रमा पहिलेदेखि नै माग हँुदै आएको थियो।

अहिले कार्टुन क्यारेक्टरका टिसर्ट धेरै मन पराइन थालेको छ। पाण्डा, मुमिन प्रिन्ट भएका टिसर्टहरु धेरै बिक्री भइरहेको उनले बताए।

‘इन्टरनेटमा खोजेर जे चल्छ, त्यही डिजाइन गर्छौँ,’ उनी भन्छन्।

लकडाउनको समयमा अनलाइन प्लाटर्फबाट उनका टिसर्टहरु बिक्री भए। त्यस अवधिमा करिब २ महिनाबाहेक टिसर्ट उत्पादन रोकेनन्।

‘अनलाइन चलाउने भाइहरुले गरौँ भने, मैले पनि हुन्छ भनेँ। २ महिनाबाहेक अन्य समय कारखाना चलाएँ,’ उनी भन्छन्, ‘अनलाइनले गर्दा टिसर्ट बिक्री गर्न सजिलो भयो।’ अनलाइनमा पनि सादा टिसर्टको माग धेरै छ।’

Tshirt Nepal6

होलसेलमा उनका टिसर्ट २५० रुपैयाँदेखि सुरु हुन्छन्। जुन बच्चादेखि वृद्धसम्मलाई लगाउन मिल्छ।

उनका टिसर्ट उत्पादनको लागि तीनवटा कारखाना सञ्चालनमा छन्। डल्लुमा २ वटा बिजेश्वरीमा रहेको एउटा कारखानामा २५÷२५ जनाले काम गर्छन्। पसलमा उनीसहित ७ जना काम गर्छन्।

पछिल्लो समयमा नेपाली कपडाको माग उच्च रहेको महर्जनले बताए।

नेपालमा प्रयोग हुने धेरै कपडा चीनबाट आउन गरेको छ। चीनबाट सामान नआउँदा स्वदेशी उत्पादनको माग बढेको हो। कोरोना संकट सुरु भएसँगै झन्डै एक वर्षदेखि चीनबाट सहजरुपमा कपडा आउन सकेको छैन।

‘अहिले नेपाली कपडा उत्पादकलाई फाइदा छ,’ उनी भन्छन्, ‘बजारमा कपडाको माग धेरै छ। उत्पादन गर्न सकेका छैनन्।’

रेडिमेड मात्र होइन भनेको समयमा कच्चा कपडा पनि पाइँदैन।

‘आफूले खोजेको कलरको कपडाको थान पाउन लाइन लागेर बस्नु पर्ने अवस्था छ,’ महर्जन भन्छन्, ‘धेरै वर्षदेखि चिनजान भएकाले मेरो लागि समस्या छैन।’

पछिल्लो समय नेपाली सामान प्रयोग गर्नुपर्छ भन्ने आम धारण पनि बढिरहेको उनको अनुभव छ। जसले गर्दा स्वदेशी कपडाको माग बढेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .