म्यागेजिन


ती नेपाली राजदूत, जसको सम्मानमा माओले नै रात्रिभोज आयोजना गरे

ती नेपाली राजदूत, जसको सम्मानमा माओले नै रात्रिभोज आयोजना गरे

डा. मदनकुमार भट्टराई
माघ २, २०७७ शुक्रबार १३:४४,

सत्ता वा घरानाअनुसारको पारिवारिक दृष्टिबाट बिचार्दा चन्द्रशमशेरका पालामा निकै नजिकका माइला पण्डितका नामले चिनिने र १९०८ को चन्द्रशमशेरको बेलायत यात्रामा सँगै गएका काशीनाथ आचार्य दीक्षित तथा ललितादेवी दीक्षितका छोरा सरदार नरेन्द्रमणि आचार्य दीक्षित थिए। सुदूरपश्चिमको बैतडीस्थित थलाराका राजा र १९५९ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा पराजित राघवनारायण सिंह तथा जनरल शेरशमशेरकी छोरी क्षेत्रराज्यलक्ष्मीका छोरा झरेन्द्रनारायण सिंह थिए। परराष्ट्र सचिव जगदीशशमशेर राणा (पारिवारिक हिसाबले प्राणराजा नामले चिनिने) कमान्डर इन चिफ भएको १६ महिनाभित्र दाजु प्रधानमन्त्री वीरशमशेरबाट धपिएर पछि भारतको मध्यप्रदेशको सागरमा बसोवास गर्ने जनरल खड्गशमशेरका नाति र रौतहट निवासी जनरल तुङ्गशमशेर तथा गुजेश्वरी महारानी भनिने विजया राज्यलक्ष्मी देवीका माइला छोरा पर्थे।

स्मरणीय छ, कोलकातामा अध्ययन गरी अङ्ग्रेजीको ज्ञान भएका जनरल खड्गशमशेरले आफ्नो छोटो मुख्तियार र कमान्डर इन चिफको कार्यकालमा विदेश मामिलामा दाजु वीरशमशेरलाई सघाएका थिए। परराष्ट्र सचिव र राजदूत झरेन्द्रनारायण सिंहको राजदरबारसँग नाता थियो। वलेट महाराज नामले चर्चित युवराज त्रैलोक्यका भाइ नरेन्द्रविक्रम शाह (गोर्खा अधिराजकुमार पनि भनिने)की छोरी (सो समय माइली मैसापको नामले चिनिने)का नाति सिंह भएकाले सुरुदेखि नै राजा त्रिभुवनसमक्ष उनको जानेआउने सम्बन्ध थियो। यो सम्बन्धबाट उनी राजा पृथ्वी वीरविक्रमका भानिज र राजा त्रिभुवनका भाइ नातामा परे। साथै राजपरिवारसँग नाता पर्ने राजदूत सिंहशमशेर (पछि उनकै ससुरा) र राजदूत केशरशमशेर तथा जनरल विजयशमशेरसँग निकट भएकाले उनको बढी पहुँच हुने नै भयो। अर्का राजदूत तथा दरबारका नातेदार जनरल कृष्णशमशेरका छोरा झरेन्द्रशमशेरले उनकी बहिनी मन्जु सिंहलाई बिहे गरेका थिए। झरेन्द्रनारायण सिंह दुई विवाहमार्फत जुद्धशमशेरका नातिनी ज्वाइँ (विक्रमशमशेरकी छोरी नयन राज्यलक्ष्मी) र चन्द्रशमशेरका नातिनी ज्वाइँ (सिंहशमशेरकी छोरी भुवन राज्यलक्ष्मी) बने।

चन्द्रशमशेरका निकट भारदार, १९०८ मा सँगै बेलायत गएका कमान्डिङ कर्णेल डिल्लीशमशेर थापाका नाति, मोरङमा बडाहाकिम अनि शिक्षा विभागको डाइरेक्टर भएका ब्रिगेडियर कर्णेल शिवप्रतापशमशेर थापाका छोरा थिए– परराष्ट्र सचिव नरप्रतापशमशेर थापा। उनकी आमाको नाम वेदराजेश्वरी थापा थियो। परराष्ट्र सचिव जनरल खत्री प्रधानमन्त्री वीरशमशेरका हजुरिया कमान्डिङ कर्णेल फौदसिंह खत्रीका सन्तान र कप्तान पहलमान सिंह खत्री (नारायणवीर खत्री पनि भनिने) र रत्नकुमारी खत्रीका छोरा पर्दथे। नेपालको कूटनीति र प्रशासनमा दुई सिद्धहस्त व्यक्ति जितबहादुर खत्री र केशरबहादुर केसी जनरल खत्रीका नजिकका नातेदार थिए।

परम्परागत भारदार परिवारका परराष्ट्र सचिव भरतराज राजभण्डारी अर्थसचिव भएका नीरराज राजभण्डारी र जीतकुमारी राजभण्डारीका छोरा, बडाकाजी पुष्पराज राजभण्डारीका भतिजा र एकताका भारतमा नेपालका कूटनीतिक प्रतिनिधि कर्णेल कुलानन्द राजभण्डारी (वकिल कुलानन्दका सहोदर दाजु कर्णेल कीर्तिराज राजभण्डारीका नाति)का सन्तान हुन्। परराष्ट्र सचिव भएका भरतराज राजभण्डारीका सहोदर भाइ अमरराज राजभण्डारी करिब एक दशक परराष्ट्र मन्त्रालयको शाखा अधिकृत र टोकियोस्थित नेपाली राजदूतावासमा द्वितीय सचिव थिए। पछि उनी सायद राजदूत प्रकाशचन्द्र ठाकुरको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट हटाइए। तर ठाकुर र राजभण्डारी एकै पटक जस्तो कारबाहीमा परे। र ठाकुर परराष्ट्र मन्त्रालय र सरकारी सेवाबाट बहिर्गमनमा परे।

परराष्ट्र सचिव राजभण्डारी नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा प्रथम सचिव रहँदा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नयाँ दिल्लीका लागि राजदूत दमनशमशेरलाई जनवादी गणतन्त्र चीनका लागि पनि गैरआवासीय राजदूतका रुपमा नियुक्त गरियो। जुन १३, १९५६ मा चिनियाँ नेता माओत्सेतुङसमक्ष दमनशमशेरले आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्दा राजभण्डारी साथमै थिए। सोही साँझ चिनियाँ साम्यवादी दलका सर्वोच्च नेता माओले नेपाली राजदूतको सम्मानमा आयोजना गरेको रात्रिभोजमा चीनका सबै उच्चस्तरीय नेताको उपस्थिति थियो। साथै नेपालसँगको मित्रतालाई चीनले दिएको महत्वबारे सारगर्भित रुपमा अध्यक्ष माओले प्रकाश पारेको विषयमा राजभण्डारी आफ्नो लामो कूटनीतिक जीवनको एक अविस्मरणीय घटनाका रुपमा चर्चा गर्थे।

जुलाई २४, १९५० मा विभिन्न पदाधिकारीहरुको थमौती र खान्की वृद्धि गर्ने निर्णयअनुसार तत्कालीन नेपाली महावाणिज्य दूतावास कोलकातामा कार्यरत कन्सल जनरल तथा शेरशमशेरका छोरा कमान्डिङ कर्णेल दमनशमशेरलाई साविक खान्कीमा मेजर जनरल पदमा स्तरोन्नति गरिएको थियो। उनले प्रजातन्त्र प्राप्तिअघि र पछिको एक दशकसम्म कूटनीतिक क्षेत्रमा धेरै प्रसिद्धि कमाए। र ले.ज. सम्मको सैनिक दर्जा पाए। राजभण्डारीले लन्डनमा प्रथम सचिवका अतिरिक्त कराँचीमा काउन्सिलर र कार्यवाहक राजदूत भई राजदूतावास खोले। पछि उनी जापान र बर्मामा पनि राजदूत भए। अध्यक्ष माओसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेको भोलिपल्ट (जुन १४ का दिन) प्रधानमन्त्री तथा चाउ एन्लाईका तर्फबाट राजदूत दमनशमशेरको सम्मानमा दिउँसो कक्टेल रिसेप्सन र साँझमा स्वारे आयोजना गरियो।

अर्का परराष्ट्र सचिव र पछि परराष्ट्रमन्त्री नरेन्द्रविक्रम शाहका सहोदर दाजु गोवद्र्धनविक्रम शाह भाइभन्दा पहिले परराष्ट्र मन्त्रालयमा प्रवेश गरी १९९२ मा उपसचिव पदमा कार्यरत रहँदा ३० वर्ष पुगेका कर्मचारीलाई दिइएको अनिवार्य अवकाशमा परे। उनी नयाँ दिल्ली र मस्कोमा सेवा गरी ल्हासामा महावाणिज्यदूत र जेनेभामा कार्यवाहक राजदूतसमेत बने। परराष्ट्र सचिव भएकाहरुमा मेजर जनरल शोभागजङ्ग थापाका बाबु कमान्डिङ कर्णेल चन्द्रजङ्ग थापा महावाणिज्य दूतावासमा परिणत हुनुअघिको दिल्लीस्थित नेपालको कूटनीतिक कार्यालयको प्रमुख र सन् १९५९ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा पराजित व्यक्ति थिए। थापाको आमाको नाम पद्मकुमारी थापा थियो।

नरेन्द्रविक्रम शाह र गोवद्र्धनविक्रम शाह चन्द्रशमशेरको पालादेखि अत्यन्त शक्तिशाली भारदारमा गनिने यक्षविक्रम धमलाका नाति र चूडाविक्रम शाहका छोरा हुन्। उनकी आमा ईश्वरी शाह थिइन्। बडामहारानी (पछि मुमा बडामहारानी) रत्नराज्यलक्ष्मीदेवी शाहका मामा पर्ने चूडाविक्रम शाह सुब्बा दर्जामा रहँदा जुद्धशमशेरको शासनकालमा आयोजित तीनमध्ये पछिल्लो औद्योगिक प्रदर्शनीका सहभागी थिए। हाल दुग्ध विकास संस्थान रहेको लैनचौर इलाकामा गरिएको तेस्रो औद्योगिक प्रदर्शनीमा सहभागी एक सय २१ एकाइमा शृङ्गारद्रव्य (साबुन)अन्तर्गत क्रमसङ्ख्या ४१, कवल सङ्ख्या ९४ र क्रमसङ्ख्या ६०, कवल सङ्ख्या १५५ मा उनको हिस्सामा किसिमकिसिमका लुगाधुने साबुन र विभिन्न प्रकारका कागज पर्दथे। चूडाविक्रम शाहलाई १९२५ मा चन्द्रशमशेरकै समयमा १९२५–२६ सालका ‘बालीलाई थमौती’अन्तर्गत पाल्हीमालका सुब्बामा थमौती गरिएको थियो।

परराष्ट्र सचिव र राजदूत नारायणशमशेर थापाका पिता मेजर जनरल गेहेन्द्रशमशेर थापा (१९०१–१९८६) काठमाडौं नगरपालिकाका मनोनीत अध्यक्ष, बडाहाकिम, नयाँ दिल्लीस्थित राजदूतावासमा उपनियोग प्रमुख र कोलकातामा महावाणिज्यदूत रहे। गेहेन्द्रशमशेर थापा दोस्रो विश्वयुद्धमा शेरदल पल्टनको कमान्डिङ अफिसर भई भारतमा ग्यारिजन ड्युटीमा खटिएका थिए। तत्कालीन समयमा ले.क. दर्जाका उनी र अन्य दुई जनालाई इमान्दारीपूर्वक काम गरेबापत परिवारका कसैको अंश दाबी नलाग्ने गरी जनही १२ हजार रmपैयाँका दरले इनाम बक्स दिइएको थियो। त्यस्तै नाताका हिसाबले दुई सचिव नरप्रतापशमशेर थापा र नारायणशमशेर थापा नातेदार (सहोदर दाजुभाइका छोरा) थिए। काजी हेमदल सिंह थापाका सन्तान यी दुवै थापा र मेजर जनरल शोभागजङ्ग थापा तेह्रदिने सगोत्री गोदार थापा भएकाले दाजुभाइ पर्दथे। नारायणशमशेर थापाकी आमाको नाम पूर्णकुमारी थापा थियो।

परराष्ट्र सचिव हुनेहरुमा आपसमा सोझो नाता पर्नेमा प्रा. सरदार यदुनाथ खनाल र कुमारप्रसाद ज्ञवाली ससुरा–ज्वाइँ थिए। वरिष्ठ कूटनीतिज्ञ खनाल नरनाथ खनाल र तारादेवी खनालका पुत्र हुन्। परराष्ट्र सचिव जनरल खत्रीका कान्छा छोरा प्रा. श्रीधरकुमार खत्रीले अमेरिकाबाट अन्तर्राष्ट्रिय मामिलामा मास्टर्स डिग्री गरेका थिए। साथै त्रिभुवन विश्वविद्यालयको प्राध्यापकका रुपमा पनि उनले सेवा गरे। उनी सोझै परराष्ट्र मन्त्रालयमा प्रवेश गरेनन्। तर अन्तर्राष्ट्रिय मामिला, सामरिक सुरक्षासम्बन्धी धारणा, कूटनीति र खासगरी नेपालको विदेश नीतिमा चाख लिने उनले नेपालको परराष्ट्र मामिलासम्बन्धी प्रतिष्ठानको कार्यकारी निर्देशक भएर छोटो समय काम गरे। तीन वर्ष कोलम्बोस्थित सामरिक अध्ययनका लागि क्षेत्रीय केन्द्रको कार्यकारी निर्देशक भई सेवा पनि गरे। २०१७ मा परराष्ट्र नीतिबारे सुझाव पेस गर्न नेपाल सरकारले बनाएको कार्यदलका पनि उनी संयोजक रहे। यो कार्यदलको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।

एकै समय परराष्ट्र सचिव र परराष्ट्रमन्त्री भई नाता हुनेमा गेहेन्द्रबहादुर राजभण्डारी (नोभेम्बर १९२८–अगस्ट २५, १९९४) र भरतराज राजभण्डारी (काका–भतिजा) तथा रवीन्द्रनाथ शर्मा र कुमारप्रसाद ज्ञवाली (दाजुभाइका छोरा) पर्दथे। शर्मा ज्यादै छोटो समयका लागि भए पनि परराष्ट्रमन्त्री नबनेको भए सायद ज्ञवालीको परराष्ट्र सचिव बन्ने आकाङ्क्षा अधुरो रहने थियो। त्यति बेलाका परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले ज्ञवालीलाई त्यत्तिकै अवकाश गराई र ज्ञवालीपछिका सहसचिव पदमा वरिष्ठ व्यक्ति मुरारिराज शर्मालाई पनि पन्छाई साउदी अरेबियामा कार्यरत राजदूत नारायणशमशेर थापालाई परराष्ट्र सचिव बनाउने योजना बनाएको आधिकारिक रुपमा प्रमाणित नभए पनि एक भरपर्दो सूत्रले मलाई बताएको थियो। यसको वास्तविकता पुष्टि गर्न भने सकिएको छैन। डा. लोहनीसँगको लामै सङ्गतका आधारमा उनको सामान्यतः प्रशासनिक प्रक्रियामा हस्तक्षेप गर्ने स्वभाव दृष्टिगोचर हुँदैन।

त्यति बेला भारतको मद्रास (चेन्नई) सहरमा आफ्ना दाजुको मिर्गौलाको प्रत्यारोपण कार्यमा सहभागी हुन थापा ढाका हुँदै काठमाडौं आएका थिए। मकहाँ ढाकामा एक रात बस्दा यस प्रकार वरिष्ठ व्यक्तिलाई हटाई सचिव बन्ने प्रक्रियाले सम्पूर्ण सेवामा नकारात्मक प्रभाव पर्ने र थापा स्वयम्कै साख गिर्ने मेरो भनाइप्रति आफू यस्तो दौडधुपमा सहभागी नभएको उनले बताएका थिए। उनी काठमाडौंं आउँदा रवीन्द्रनाथ शर्मा छोटो समय परराष्ट्रमन्त्री बने। ज्ञवाली भने कायममुकायम परराष्ट्र सचिव बने। लगत्तै डा. लोहनी पुनः परराष्ट्रमन्त्री भए। डा. लोहनीले कायममुकायम सचिवबाट सचिव पदको बढुवामा भने ज्ञवालीको विरुद्ध हस्तक्षेप गरेनन्। र छिट्टै उनी विधिवत् रुपमा परराष्ट्र सचिवमा पदासीन हुन पुगे। यसबाट पनि अघिल्लो अड्कलमा प्रश्नचिह्न देखिन्छ।

अन्य परराष्ट्र सचिवहरुमा लप्टन बलदेव भट्ट र लक्ष्मीदेवी भट्टका छोरा उद्धवदेव भट्ट थिए। विश्व प्रधानका पिता र माता क्रमशः जगतलाल श्रेष्ठ र तुलसीमाया श्रेष्ठ थिए। तेजकान्त सिलवाल र रेणुकादेवी सिलवालका छोरा यादवकान्त सिलवाल थिए। हरिभक्त श्रेष्ठ र भक्तिमाया श्रेष्ठका कान्छा छोरा केदारभक्त श्रेष्ठ हुन्। मधुरमण आचार्य दुर्गाप्रसाद आचार्य र इन्दिरादेवी आचार्यका पुुत्र थिए। ज्ञानचन्द्र आचार्य प्रा. कविराज तीर्थराज आचार्य अग्निहोत्री र राजेश्वरी देवी आचार्यका छोरा हुन्।

मदनकुमार भट्टराईका मातापिताको नाम क्रमशः होमकुमारी भट्टराई (मिश्री) र बलराम भट्टराई हो। कृष्णप्रसाद भट्टराई र कृष्णाकुमारी भट्टराईका छोरा दुर्गाप्रसाद भट्टराई हुन्। डम्बरबहादुर थापा र डम्बरकुमारी थापाका पुत्र अर्जुनबहादुर थापा हुन् भने सचिव शङ्करदास वैरागी रघुवर दास र भद्रकुमारीका छोरा हुन्। कुलनारायण मानन्धर र रत्नमाया मानन्धरका छोरा प्राध्यापक रामप्रसाद मानन्धर हुन्। परराष्ट्र सचिव कुमारप्रसाद ज्ञवालीका मातापिताको नाम धनदिव्येश्वरी ज्ञवाली र पोषणनाथ ज्ञवाली थियो। परराष्ट्र सचिव मुरारिराज शर्मा कविराज दिनराज शर्मा अधिकारी र पदमकुमारी अधिकारीका छोरा थिए।

सचिवपत्नी
हालसम्म महिला परराष्ट्र सचिव हुन बाँकी रहेकाले नेपालको परिप्रेक्ष्यमा सचिवको सहयात्री (स्पाउज) भन्नाले हालसम्म श्रीमती नै बुझिन्छ। भारतमा पनि चोकिला ऐय्यर परराष्ट्र सचिव नहुन्जेल यस्तो अवस्था थियो। यसैबीच भारतीय विदेश सचिव पदमा थप दुई महिला निरुपमा राव र सुजाता सिंह नियुक्त भई अवकाश भइसकेका छन्।

पहिलो महिला सचिव चोकिला छिरिङ ऐय्यर सिक्किमकी नेपाली मूलकी महिला हुन्। उनी दार्जीलिङको लोरेटो कन्भेन्टमा अध्ययन गर्दा उनीसँग ज्यादै मिल्ने निकट मित्रमा नेपालकी अधिराजकुमारी शान्ति राज्यलक्ष्मी शाह (सिंह) (नोभेम्बर २०, १९४१–जुन १, २००१) थिइन्। पछिसम्म धेरै नजिक उनी अधिराजकुमारीको फेब्रुअरी ८, १९६५ मा विवाह हुँदा आमन्त्रित निकट मित्रमा सामेल थिइन्।

कूटनीतिक जीवनमा सहयात्रीको भूमिका महत्वपूर्ण हुन्छ। उनलाई कतिपयले सरकारी तलबसूचीमा नपर्ने कर्मचारी पनि भन्ने गरेको पाइन्छ। तसर्थ, परराष्ट्र सचिवहरुको बयान गर्दा कूटनीतिक जीवनमा अहं भूमिकाका साथ सहयोगीका रुपमा रहने सचिव पत्नीहरुबारे पनि एक पटक छोटो चर्चा गर्नु उपयुक्त हुने देखिन्छ।

२४ जना परराष्ट्र सचिवमा पहिलो परराष्ट्र सचिव नरेन्द्रमणि आचार्य दीक्षितकी पत्नी जयन्तीदेवी आचार्य दीक्षित, प्रा. रामप्रसाद मानन्धरकी पत्नी लक्ष्मीकुमारी मानन्धर, जनरल शोभागजङ्ग थापाकी पत्नी दुर्गादेवी थापा, प्राध्यापक यदुनाथ खनालकी पत्नी कमला खनाल, जनरल पद्मबहादुर खत्री (पछि परराष्ट्रमन्त्री पनि)की पत्नी हरिकुमारी खत्री, भरतराज राजभण्डारीकी पत्नी कल्पना राजभण्डारी, उध्दवदेव भट्टकी पत्नी बिनादेवी भट्ट, मदनकुमार भट्टराईकी पत्नी अम्बिका किशोरी भट्टराई, दुर्गाप्रसाद भट्टराईकी पत्नी मुना भट्टराई, अर्जुनबहादुर थापाकी पत्नी पवित्रा थापा र शङ्करदास बैरागीकी पत्नी हेमादेवी बैरागी लगभग परम्परागत गृहिणी रहे।

यीमध्ये अरु सबै सामान्य परिवारका र दुर्गादेवी थापा एकताका भारतमा कूटनीतिक प्रतिनिधि (वकिल) भएका जनरल बहादुरजङ्ग राणाकी नातिनी (दुर्गाजङ्ग राणाकी छोरी) थिइन्। परराष्ट्र सचिव नरप्रतापशमशेर थापा सचिव रहँदा विवाह (दोस्रो) गर्ने पहिलो र हालसम्म एक मात्र सचिव भए। उनकी पहिली पत्नी श्रीमती कमला थापा घरानियाँ राणा परिवारकी भए पनि साधारण गृहिणी थिइन्। दोस्री पत्नी श्रीमती माधुरी थापा साहेबज्यू परिवारकी आधुनिक शिक्षा प्राप्त, सल्लाहकार सभाकी सदस्य र संयुक्त राष्ट्रसङ्घको महाधिवेशनका लागि पठाइएको नेपाली टोलीकी सदस्य थिइन्। उनका पिता पुरेन्द्रविक्रम शाह विभिन्न सार्वजनिक पद, नेपालको रक्षा र परराष्ट्रमन्त्रीको कार्यभारसमेत ओगट्ने व्यक्ति थिए। उनी शाह परिवारका प्रथम स्नातकमध्ये पर्दथे। नरप्रतापशमशेर थापा राजदूतका रुपमा भारतमा रहँदा पनि माधुरी थापा सक्रिय थिइन्।

आफ्नो समयका धनी व्यक्ति परराष्ट्र सचिव नरप्रतापशमशेर थापाले सेप्टेम्बर १९, १९५८ मा गएको संयुक्त राष्ट्रसङ्घको तेह्रौँ महासभामा नेपाली प्रतिनिधिमण्डलमा आफूलाई सम्मिलित गराउन धेरै प्रयास गरेका थिए। टोलीमा परराष्ट्रमन्त्री पुरेन्द्रविक्रम शाह, परराष्ट्र सचिव नरप्रतापशमशेर थापा, राजदरबारका सहसचिव दयारामभक्त माथेमा र परराष्ट्रमन्त्रीकी छोरी माधुरी शाह सम्मिलित थिए। यसअघि टोलीमा सदस्यका रुपमा सरदार ईश्वरीराज मिश्रलाई छनोट गरिएकोमा परराष्ट्रमन्त्री र थापाका घनिष्ठ मित्र माथेमाले राजा महेन्द्रलाई सिफारिस गरी मिश्रको स्थानमा थापालाई सम्मिलित गराएका थिए। आफूले नरप्रताप साथी भनी सिफारिस गर्दा राजाले ‘तिमीले नरप्रतापलाई चिनेका छौ?’ भनी सोधेको र ‘राम्ररी चिनेको छु’ भन्ने जवाफ दिँदा ‘तिमीले चिनेका छैनौ, अब तिमीहरु सँगै गएपछि चिन्नेछौ’ भनी राजाले भनेको प्रसङ्ग माथेमाले उल्लेख गरेका छन्।

परराष्ट्र सचिवबाट भारतका लागि राजदूतमा नियुक्ति भएपछि झरेन्द्रनारायण सिंहले दोस्रो बिहे गरे। श्रीमती भुवन राज्यलक्ष्मी सिंह सायद सचिव हुनेहरुमध्येका श्रीमतीहरुमा परिष्कृत र निकै इन्टेलिजेन्टमध्येकी थिइन्। आधुनिक शिक्षाका साथै विश्व भ्रमण गरेको र आफ्ना बाबु सिंहशमशेर बेलायत र भारतमा राजदूत भएको प्रसङ्गमा कूटनीतिसँग सुरुदेखि नै उनको लगाव रहन सहयोग भयो। उनी राजा त्रिभुवनकी माइली दिदी अधिराजकुमारी रमा राज्यलक्ष्मीदेवी राणाकी कान्छी छोरीसमेत भएकाले राजदरबारसँग पनि नजिक थिइन्।

स्मरणीय छ, श्री ५ त्रिभुवनकी छोरी अधिराजकुमारी त्रैलोक्य राज्यलक्ष्मी सिंह मूल परेका कारणले जन्मेपछि १३ वर्ष आफ्नी फुपू अधिराजकुमारी रमा राज्यलक्ष्मी राणाको घर सिंहमहलमा बसिन्। अधिराजकुमारी र भुवन राज्यलक्ष्मी सिंह सँगै खेल्ने भएकाले पनि श्रीमती सिंह स्वाभाविक रुपले राजदरबारसँग विशेष रुपमा निकट थिइन्। सिंहलाई उनका पारिवारिक आफन्तले परराष्ट्र सचिव तथा राजदूत झरेन्द्रनारायण सिंहको लामो कूटनीतिक जीवनका वास्तविक निर्माता मान्छन्। शाहज्यादीसँग भुवन राज्यलक्ष्मी सिंहको निकटता र चन्द्रशमशेर जस्ता शक्तिशाली राणा प्रधानमन्त्रीले औपचारिक रुपमा भए पनि नाबालक राजपरिवारका सदस्यलाई समेत गर्ने सम्मान एवम् राख्ने अदबबारे एक पुराना भारदारको देहायबमोजिमको प्रस्तुतिबाट स्पष्ट हुन्छ। यसबाट राजदूत सिंहशमशेर आफ्नो निजी निवास सिंहमहल सर्नुअघि शाहज्यादी सिंहदरबारमै बसेको देखिन्छ।

जन्मिँदा मूल परेकाले सुरुमा सिंहदरबारमा हुर्केकी राजा त्रिभुवनकी छोरी शाहज्यादी त्रैलोक्य एकडेढ वर्षकी हुँदा दिनको तीन बजे हावा खान जाँदा ‘सर्वाङ्ग दुखेर ठसठस गरिरहेका’ अवस्थाका प्रधानमन्त्री चन्द्रशमशेर अदबका साथ उठेर शाहज्यादीको ‘दर्शन’ गर्थे भन्ने प्रसङ्ग उनका अत्यन्त निकट अधिकारी भरतमणि आचार्य दीक्षितले वर्णन गरेका छन्। यो व्यवहारप्रति अझ स्पष्ट गर्दै चन्द्रशमशेरले उनलाई भनेको कुरा अर्थपूर्ण छ— पण्डित! नोकरले मालिकका सन्तान सबैलाई मालिक देख्नुपर्दछ। यिनी पछि ठूला भएपछि भन्नेछन्, हामीलाई यस्तो गरेको थियो। मान्नेलाई मान्नैपर्दछ, त्यो बिर्सन हुन्न।

श्रीमती सिंहको पहिलो विवाह नोभेम्बर २५, १९४८ मा भारतका राजस्थानका एक रजौटा राजा सरदारसिंह बहादुरसँग भएको थियो। त्यति बेला श्रीमती सिंहका बाबु जनरल सिंहशमशेर भारतका लागि राजदूत थिए। सरदारसिंह जयपुर क्षेत्रको खेतरीका राजा अमरसिंहजी साहेव बहादुरका धर्मपुत्र र उत्तराधिकारी थिए। मार्च १६, १९२० मा जन्मिएका उनको फेब्रुअरी २३, १९८७ मा ब्रिच क्यान्डी नर्सिङ होम मुम्बईमा निधन भएको थियो। उनले मायो कलेज, अजमेर र लन्डनबाट एमए र बार–एट–ल गरेका थिए। जयपुर विधायिका सभाका सदस्य (१९४५), भारतका संविधानसभाका सदस्य (१९४७–५०), अन्तरिम संसद् सदस्य (१९५०–५२), राज्यसभा सदस्य (१९५२–५६) र जयपुरका महाराजाका सचिवसमेत रहेका खेतरीका राजालाई अक्टोबर १९५६–मे १९५९ अवधिका लागि लाओसका लागि भारतीय राजदूतका रुपमा नियुक्त गरिएको थियो।

यसैबीच श्रीमती सिंहले आफ्ना विवाहित भारतीय पतिसँग सम्बन्धविच्छेद गरी भारतमा राजदूत रहेका बेला झरेन्द्रनारायण सिंहसँग दोस्रो बिहे गरिन्। तर दुवैबीचको प्रेम प्रसङ्ग पुरानो थियो। श्रीमती सिंह र झरेन्द्रनारायण सिंह प्रथम सचिव भई लन्डन बस्दा केही समय सँगै पनि रहेका थिए। तर सिंह परिवारसँग पारिवारिक एवम् पेसागत हिसाबले नजिक अर्का कूटनीतिज्ञको भनाइमा त्यति बेला सिंहकी पहिली पत्नी नयन राज्यलक्ष्मी साथै बसेकाले यो भनाइमा सत्यता छैन। यद्यपि सिंहका पतिपत्नीबीच राम्रो सम्बन्ध भने थिएन।

तर त्यति बेला लन्डनमा रहेको अर्को स्रोतले श्रीमती सिंह लन्डनमा सिंहसँगै बसेकाले सिंह र तत्कालीन राजदूत प्रा. रामप्रसाद मानन्धरको सम्बन्धमा तनाव आएको कुरा पुष्टि गर्छ। नयन राज्यलक्ष्मी सिंह जनरल विक्रमशमशेर (गोरे नामले प्रचलित) की छोरी र प्रधानमन्त्री जुद्धशमशेरकी नातिनी थिइन्। परराष्ट्र सचिव जगदीशशमशेरकी पहिली पत्नी भारतको रेवा राज्यको जमुनाहा भन्ने स्थानको रजौटाकी छोरी रमा राज्यलक्ष्मी राणा थिइन्। दुवै जुम्ल्याहा सन्तान गरी चार सन्तानलाई जन्म दिएकी उनका दुई सन्तान १९५६ को विमान दुर्घटनामा परे। जगदीशशमशेर र रमाबीचको दाम्पत्य सम्बन्ध धेरै समय टिकेन। उनीहरुबीच औपचारिक पारपाचुके नभए पनि लगभग आजीवन अलगअलग रहने स्थिति बन्यो।

जगदीशशमशेर राणाकी कान्छी पत्नी शान्ति राणा आधुनिक शिक्षाका साथै करिब एक वर्ष परराष्ट्र मन्त्रालयको शाखा अधिकृत पदमा कार्य गरेको अनुभव लिने महिला थिइन्। दुवै राणा भएका कारण उनीहरुको औपचारिक विवाह हुन सकेन। उमेरमै शल्यक्रियाद्वारा पाठेघर हटाइएका कारण चाहेर पनि उनका बच्चा हुने भएनन्। लखनऊमा अध्ययन गरेका मिन्टोजङ्ग राणाकी छोरी उनी मिलनसार एवम् सहयोगी मानिन्थिन्। साथै उनी कोलकातामा वकिल भई काम गरेका जनरल बहादुरजङ्ग राणाकी नातिनी तथा अर्का वकिल प्रतापजङ्ग राणाकी भतिजी पर्दथिन्। यो सम्बन्धले शान्ति राणा र शोभागजङ्ग थापाकी पत्नी दुर्गाकुमारी थापा एकै व्यक्तिका नातिनी र दाजुभाइका सन्तान (कजन्स) पर्दथे।

सामान्यतः छोटो समयको परराष्ट्र मन्त्रालयको सेवापछि गृहिणीमै समय बिताएकी राणाले श्री ५ ऐश्वर्यबारे एक लेख प्रकाशन गरेकी थिइन्। आफ्नो समयकी राम्रो विद्यार्थी शान्ति राणाको शैक्षिक उपलब्धि तत्कालीन समयमा चर्चाको विषय थियो। दार्जीलिङबाट छापिने एक साहित्यिक मासिकले सम्पादकका तर्फबाट शान्ति राणा र उनकी दिदी लक्ष्मी राणाबारे त्यति बेला दुवैको एमए परीक्षा पुरा गरी दीक्षान्त समारोहमा लिइएको फोटोसहित छापेको एक पृष्ठको समाचार यस प्रकार थियो।

इलाम गौंडाका बडाहाकिम कर्णेल मिन्टोजङ्ग राणाका दुई सुपुत्रीहरुले हालैमा इलाहावाद विश्वविद्यालयबाट इतिहासमा एमएको परीक्षा सफलतापूर्वक पास गरी नेपाली जातिको इतिहासमा एउटा ऐतिहासिक अध्याय थपे। यस सफलताका निम्ति हाम्रा यी दुई विदुषी बहिनीहरुलाई बधाई दिन्छौं। यस्ता कर्मशील छोरीहरु जन्माउने योग्य आमालाई पनि हामी उस्तै बधाई दिन्छौं। यो काम हाम्रा नेपाली युवतीहरुका निम्ति अनुकरणीय भएको छ। यो सफलताबाट उनीहरुले प्रशस्त प्रेरणा पाउनेछन्। दुवै बहिनीले इलाम बालिका विद्यालयबाट स्त्रीशिक्षाको प्रचार गर्ने अभिभारा लिएका छन् भन्ने समाचार सुन्दा हामीलाई अत्यन्त आनन्द लागेको छ। उहाँहरुको काम सफल होस्।

सचिव पत्नीहरुमा कुमारप्रसाद ज्ञवालीकी श्रीमती विजया ज्ञवाली शैक्षिक पृष्ठभूमिका हिसाबले निकै तेज मानिन्थिन्। नयाँ दिल्लीको कन्भेन्ट अफ जिसस एन्ड मेरी र लखनऊको लोरेटो कलेज हुँदै दिल्ली विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्ने ज्ञवाली जनसङ्ख्या आयोगमा केही वर्ष वरिष्ठ अधिकृतका रुपमा कार्यरत रहिन्। तर सायद कार्यव्यस्तता र व्यक्तिगत मतभिन्नताका कारण हुन सक्छ, धेरै वर्षदेखि उनले कूटनीतिक जिम्मेवारी सम्हाल्न विदेश सरmवा भएका आफ्ना पति ज्ञवालीलाई साथ दिन छाडेकी थिइन्। सादा जीवनका ज्ञवाली र पत्नीबीच कटु सम्बन्ध हुनुपर्ने वास्तविक कारण थाहा भएन। कुमार ज्ञवालीका एक बालसँगातीको भनाइमा ज्ञवालीको विशेष अनुरोधमा लेखपढमा तेज तर अलि एकोहोरो स्वभावकी विजया ज्ञवालीलाई आयोगकी सचिव (चन्द्रकला किरण) र तत्कालीन प्रधानमन्त्रीको विरोधका बाबजुद प्रथम श्रेणीसरहको पद दिलाइएको हो।

परराष्ट्र सचिव विश्व प्रधानकी श्रीमती दुर्गादेवी प्रधान, सचिव नरेन्द्रविक्रम शाह (पछि परराष्ट्रमन्त्री) की पत्नी उषा शाह, यादवकान्त सिलवालकी पत्नी अम्बिका सिलवाल, केदारभक्त श्रेष्ठकी श्रीमती शान्ता श्रेष्ठ, नारायणशमशेर थापाकी श्रीमती प्रतिमा थापा र ज्ञानचन्द्र आचार्यकी पत्नी सुनिता आचार्य आफ्ना पतिहरुको लामो कूटनीतिक जीवनमा सहभागी भए। त्यसैले अनुभवी एवम् आधुनिक शिक्षा प्राप्त भए पनि उनीहरुको भूमिका गृहिणीसरह नै रह्यो। यसैबीच सायद पति परराष्ट्र मन्त्रालयको उच्च पदमा रहेको फाइदासमेत उठाई केही सचिवपत्नीहरु र परिवार सदस्य अन्तर्राष्ट्रिय सङ्घसंस्थामा सहभागी र कार्यरत पनि रहेको यदाकदा केहीले अपुष्ट आरोप लगाएको पाइन्थ्यो। प्रतिमा थापाले पछि निजी व्यवसाय सञ्चालन गरिन्।

१९५७ को फेब्रुअरी–मार्चमा भारत सरकारले नेपालका सबै कलेजका गरी २० जना विद्यार्थीलाई तीन हप्ता जति भारत भ्रमण गराउन निम्तो दिएको थियो। त्यसमा छ जना महिलासहित २० जना विद्यार्थीको टोली प्रो. साम्बदेव पाण्डेको नेतृत्वमा काठमाडौंबाट पटना प्रस्थान गरेको थियो। गौचर विमानस्थलमा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव एनबी मेनन (पछि नेपालका लागि भारतीय राजदूत)ले बिदाइ गरेका थिए। भ्रमणमा जाने व्यक्तिहरु पछि उच्च ओहदामा पुगे। यीमध्ये सचिव र महालेखापरीक्षक भएका मधुसुदन ढकाल, परराष्ट्र सचिव तथा राजदूत विश्व प्रधान र भ्रमणको केही समयपछि उनले बिहे गर्ने दुर्गादेवी प्रधान सहभागी थिए। भ्रमणका दौरान टोलीले भेटघाट गरेका प्रमुख भारतीयहरुमा भारतका केन्दीय शिक्षामन्त्री अब्दुल कलाम आजाद थिए।

दुर्गादेवी प्रधान काठमाडौं खिचापोखरीका लम्बोदर प्रधानका एक छोरा कृष्णप्रसाद प्रधान (पछि सहसचिव) र तीन छोरीमध्ये कान्छी थिइन्। उनका दिदीहरुको नाम नारायणभक्ति र विष्णुभक्ति भएकोमा उनलाई भक्ति शब्द मन नपरेर दुर्गाभक्तिको सट्टा दुर्गादेवी प्रधान लेखेकी हुन्। दुई भिन्न स्वभाव र प्रकृतिका यी दम्पती मन्त्रालय र नियोगमा लोकप्रिय र आवश्यक अनावश्यक चर्चाका पात्र थिए।

मुरारिराज शर्माकी पत्नी लिना अधिकारी पति सचिव हुँदा कलेज पढ्दै थिइन्। मधुरमण आचार्य पत्नी गीता आचार्य प्राणीशास्त्रमा स्नातकोत्तर गरी कलेजमा काम गर्थिन्। पति ढाकामा राजदूत हुँदा उनले प्राणीशास्त्रमा विद्यावारिधिका लागि ढाका विश्वविद्यालयमा नाम दर्ता पनि गराइन्। उनलार्ई विश्वविद्यालयले सेप्टेम्बर २८, २००६ मा विद्यावारिधि उपाधि दिएको राजदूत मधुरमण आचार्यले इमेलमार्फत मलगायत धेरैलार्ई सोही मितिमा जानकारी गराएका थिए।

परराष्ट्र सचिव नबने पनि सचिव तहमा बढुवा भई केही महिनाभित्रै अवकाश पाएका लीलाप्रसाद शर्माकी पत्नी सीता शर्मा (सांसद हुने र नक्सलवादीहरुबाट झापा आन्दोलनका समयमा काटिने धर्मप्रसाद ढकालकी बहिनी) नेपालको कूटनीतिक सेवाका पत्नीहरुमध्ये निकै तेज मानिन्थिन्। समाजशास्त्रमा स्नातकोत्तर गरी त्रिभुवन विश्वविद्यालयमा अध्यापन र अमेरिकाबाट मेडिकल आन्थ्रोपोलोजीमा उच्च अध्ययन र विद्यावारिधि हासिल गरेकी शर्मा धेरै वर्ष अमेरिकामै कार्यरत रही पतिसँग अवकाश जीवन बिताउन नेपाल फर्किइन्।

पुनश्च २४औं परराष्ट्र सचिवको नियुक्ति प्रक्रिया अघि बढाउने क्रममा अक्टोबर १, २०२० मा परराष्ट्र सचिव शङ्करदास बैरागी मुख्यसचिव भएपछि निमित्त परराष्ट्र सचिवको काम चलाइरहेका भरतराज पौड्याललाई नेपाल सरकारले अक्टोबर ८, २०२० देखि लागू हुने गरी परराष्ट्र सचिवमा बढुवा गरेको छ। नीलकण्ठ उपाध्याय र द्रौपदी उपाध्यायका छोराका रुपमा डिसेम्बर ५, १९६५ मा स्याङ्जामा जन्मेका हुन्, पौड्याल। उनकी श्रीमती तोत्रा आचार्य हुन्। यसअघि परराष्ट्र सचिवका लागि अक्टोबर ७, २०२० मा बसेको लोकसेवा आयोगको बैठकले नियमानुसार वरिष्ठताका आधारमा नेपाल परराष्ट्र सेवाका तीन जना सहसचिव क्रमशः भरतराज पौड्याल, सेवा लम्साल र कालीप्रसाद पोखरेलको नाम नेपाल सरकारसमक्ष सिफारिस गरेको थियो।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र राजनीतिशास्त्रमा एमए र बिएल, नेदरल्यान्ड्सबाट अन्तर्राष्ट्रिय विकासमा एमए तथा अक्सफोर्डबाट कूटनीतिक अध्ययन पुरा गरेका पौड्याल नोभेम्बर ७, १९८७ मा राजपत्रअनङ्कित स्तरमा सरकारी सेवा प्रवेश गरेका हुन्। जुलाई १, १९९२ मा शाखा अधिकृत भई हुलाक सेवा प्रवेश गरेका उनी सेप्टेम्बर २००२ मा परराष्ट्र सेवाको उपसचिव पदमा लोकसेवा आयोगको परीक्षामार्फत सरुवाबढुवा भएका हुन्। २००६–२०१० अवधिमा जेनेभास्थित नेपालको स्थायी नियोगमा उपनियोग प्रमुख भई उनी अप्रिल २०१० मा सहसचिवमा बढुवा भए।

मे २०१२ देखि अप्रिल २०१६ सम्म पौड्याल पाकिस्तानका लागि नेपालका राजदूत रहे। यसैबीच उनलाई राजदूत दुर्गाप्रसाद भट्टराईको सेवावधि पुरा भई केही समयदेखि रिक्त पद संयुक्त राष्ट्रसङ्घ, न्युयोर्कका लागि स्थायी प्रतिनिधिमा पठाइने बलियो गाइँगुइँबीच दक्षिण अफ्रिकामा कार्यरत राजदूत अमृतबहादुर राईलाई अन्तरनियोग सरुवा गर्ने सरकारको निर्णयपछि यो नियुक्ति हुन पाएन। सहसचिव पदमा रहँदा राहदानी विभाग प्रमुखका हैसियतमा मेसिन रिडेबल पासपोर्ट जारी गर्ने क्रममा सुरुका विभिन्न व्यवधान हटाउन उनले सहयोग गरेका थिए।

Madanko Book

पूर्वसचिव डा. मदनकुमार भट्टराईको प्रकाशोन्मुख कृति ‘परराष्ट्रका प्रकाशकः अमिर मुन्सीदेखि परराष्ट्र सेक्रेटरीसम्म’ को अंश। सांग्रिला बुक्सद्वारा प्रकाशित यो पुस्तक माघ ९ बाट बजारमा उपलब्ध हुनेछ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .