म्यागेजिन


उपन्यास लेखेर दुस्साहस नै गरेको हुँ : सरला गौतम

उपन्यास लेखेर दुस्साहस नै गरेको हुँ : सरला गौतम

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १६:२८,

सरला गौतम पत्रकार हुन्, अब उनी किताब लेखकका रुपमा अगाडि आएकी छन्। घुमफिर गर्दै हिंड्ने, खोजी रिपोर्टिङ र ‘ट्राभल राइटिङ’ गर्ने पत्रकार गौतमको पहिलो अख्यान डुमेरो बजारमा पुगेको छ। करिब चार महिनाअघि नै प्रकाशित भएर सार्वजनिक गर्ने तयारी गरिएको किताब कोरोना महामारीको चपेटामा परेको थियो। लकडाउन खुलेपछि भर्खरै सार्वजनिक भएपनि अमेजनबाट यो उपन्यास विश्वभर पुगिसकेको छ। सरला गौतमसँग पुस्तक–वार्ताः

घुमफिर गरिरहेको देख्दा ‘ट्राभल राइटिङ’ को किताब आउँछ कि भन्ने थियो, उपन्यास नै आयो नि?
यो उपन्यास लेखनलाई म आफैंले पनि कसरी गोप्य राख्नसकें, अचम्ममा छु। जब किताब मेरो हातमा पर्यो लकडाउन सुरु भयो। लकडाउनमा आफ्नो किताब आफैं हेर्दै बसें। ननफिक्सनमा लेख्न नसकेको कुरा फिक्सनमा लेख्ने हो भनिन्छ। अन्र्तमनका कुराहरु, भोगाईहरु विशाल क्यानभासमा उतार्नका लागि उपन्यासको फराकिलो क्षितिज प्रयोग गरिन्छ भन्छन्। हुन त मैले ननफिक्सनमा पनि आठ दशवर्षसम्म मनलाई ढाँटेर केहीपनि लेखेको छैन।

उपन्यास लेखनको अनुभव कस्तो रह्यो?  
उपन्यास लेखन एउटा विराट कला, तपस्या रहेछ। म एकदमै अर्कै संसारमा गएँ। ब्रह्माजीले संसार बनायो भन्छन्, उपन्यासकारले पनि आफ्नो संसार बनाउने रहेछ। आफ्ना पात्रहरु खडा गर्दोरहेछ। उपन्यासका पात्रहरु पनि चल्दो रहेछन्, हिँड्दो रहेछन्, खाना खाँदो रहेछन्, जीवन बाँच्दो रहेछन्। उपन्यासकार चाहिँ एउटा श्रृष्टिकर्ता जस्तो हुँदो रहेछ। बाहिर संसार एउटा हिसावले चलिरहेको थियो, भित्र मैले अर्को संसार निर्माण गरिरहेको थिएँ। त्यसले मलाई एकदमै रमाइलो पार्यो।

म एउटा कथा पनि नलेखेको मान्छे हुँ। एककिसिमले भन्ने हो भने उपन्यास लेखेर दुस्साहस नै गरेको हुँ। म ननफिक्सन लेखेपनि फिक्सन पढ्थेँ। आफूले बाँचेको समयको कथाचाहिँ म अरु कथामा खोज्दो रहेछु। आफूलाई भेट्न खोज्दो रहेछु। नेपालको पछिल्लो १५–२० वर्षको सामाजिक आर्थिक संरचना बदलिएको छ। त्यो अनुसार मान्छेको जीवन बदलिएको छ। जीवनसँग जोडिएर आउने सम्बन्धका आयामहरु बदलिएका छन्। मान्छेले निर्धारित गरेको जस्तो जीवन छैन। कुनै पनि कुरा हाम्रो वशमा छैन। त्यो सबैकुरा म कथामा भेट्दिन थिएँ।

घुमफिर गरिरहेको पत्रकारलाई उपन्यास लेखौं भन्ने चाहिँ कति बेला लाग्यो?
मैले काठमाडौंमा एउटा जिन्दगी बाँचेकी छु। घुम्दा अर्को जिन्दगी। कुराहरु धेरै थिए। यतिधेरै कुराहरु आफूसँग छ भने पात्र खडा गरेर उपन्यास लेखौं न भन्ने भयो। मेरो यात्रा र काठमाडौंको जीवनलाई जोडेर लेख्न खोजें। पछि विस्तारै त्यो जीवन र यो जीवन छुट्याएँ। उपन्यासमा पनि यात्रा जोडिएर आउँछ। त्यसैले मेरो उपन्यासको नाम डुमेरो छ। निरन्तर खोज, अन्वेषण गर्ने पात्रलाई डुमेरो लाउन भनेर अर्थ दिएको छु।

Sarala Gautam Book3

डुमेरोले के कुरा उत्खनन गरेको छ त?
किताबमा त्यो पात्र आफूलाई खोज्दै एउटा सानो शहरबाट करिअर निर्माणका लागि ठूलो शहरमा आउँछ। आफ्नो परिचय, आत्मनिर्भरता, अस्तित्व खोज्ने क्रममा एउटा मोडमा पुग्छ ठोकिन्छ, अर्को मोडमा पुग्छ ठोकिन्छ। केही उपलब्धि पनि हासिल गर्छ। जिन्दगी स्थिर हुन्छ। उतारचढाव हुन्छ। हाम्रो जीवनमा पनि हेर्यो भने आज आहा जस्तो हुन्छ। भोलि मेरो जिन्दगीमा के भयो र, केही पनि छैन जस्तो लाग्छ। हेर्दा कोही मान्छे सेटल, कोही असेटल जस्तो लाग्छ। तर, कोहीपनि सेटल छैन। हरेक मान्छेले दिनमै कतिवटा यात्रा गरेको हुन्छ। एउटै दिनलाई पनि यात्राका रुपमा, खोजीको रुपमा अथवा आफैंले आफूलाई उत्खनन गरेको रुपमा पनि हेर्न सकिन्छ।

यो किताबले समाजलाई कुनै सन्देश दिन खोजेको छ?
म कसैलाई सन्देश दिन आएको हैन। कुनै भौतिक संरचनाले बनाएका सीमित नियमभित्र बाँचेर जान म यो धर्तीमा आएको हैन। ब्रह्माण्डमा मेरो आफ्नो अस्तित्व छ। आफूले सकेको बाँचेर, सकेको चीजहरु गरेर जाने हुँ। त्यसोगर्दा कसैलाई सन्देश पुगे त्यो मेरो लागि नाफा भयो। म जसरी बाँचें, मेरो अन्र्तमनले जे अनुभुत गर्यो, तीन चोटी ऐना हेरेर सोध्दा पनि म यसरी नै महशुस गर्छु। मैले जे लेखें, मेरो मनले बोध गरेको सत्य त्यही हो। त्यो सत्य लेख्दा कसैलाई सन्देश हुनसक्छ, कसैलाई ठेस लाग्न सक्छ। मैले कतिपय बाँचेको, कतिपय बाँच्न चाहेको, कतिपय कल्पना र यथार्थ कुराहरु लेखें।

किताबमा दुख, सुख, राप, ताप छ। यी सबै कुराहरु आउँछन् जान्छन्। जति गाढा अँध्यारो हुन्छ, त्यति नै चम्किलो उज्यालो हुन्छ भन्ने खालका कुरा किताबमा भएकाले यसले अहिलेको सन्दर्भमा मान्छेहरुलाई ढाडस दिन्छ भन्ने लाग्छ।

यो किताबले उठाएको प्रश्न के हो?
यो ठूलो राजनैतिक सामाजिक संरचनाभित्र कतिपय पात्रहरु हराइरहेका हुन्छन्। उनीहरू आफूलाई खोजिरहेका हुन्छन्। मान्छेको सम्भावना अनन्त हुन्छ। उसलाई आफ्नै तरिकाले खोज्न देऊ। सम्बन्ध, बिहे, करिअरको पूर्वाग्राह जति छन्, तिनलाई छोडिदिऊँ। सबैलाई आफ्नै तरिकाले जीवन खोज्न दिऊँ। मान्छेले आफ्नै तरिकाले जीवन खोज्छ र यो ठूलो समुद्रमा आफैंलाई समाहित गर्छ भन्ने सन्देश किताबबाट जानसक्छ।

कति समयमा तयार भयो डुमेरो?
लेखें, रिभिजिट गरें। फेरि काटें, थपें। ५–६ वटा ड्राफ्ट तयार पारें होला। यो किताब तयार गर्न मलाई त्यस्तै ३–४ वर्ष समय लाग्यो। गत फागुनभन्दा अघि नै किताब हातमा आइसक्या थियो। अमेजनमार्फत संसारभर पुस्तक पुगिसकेको थियो। मेरो पहिलो पाठकको समिक्षा पढ्नुभयो भने तपाईंलाई रमाइलो लाग्नेछ। लकडाउन भएपछि सही समय हेर्दाहेर्दै अहिले सार्वजनिक गरियो।

एकातिरबाट मेरो पत्रकारिता अर्को किनाराबाट उपन्यास सँगसँगै गइरहेको थियो। उपन्यासको काम गरिरहँदा पनि पत्रकारिताको जीवनबाट आफूलाई अलग्याइनँ। अब पनि अलग्याउन्न होला।

Sarala Gautam Book2

पहिलो किताब बाहिर ल्याउँदा निकै आनन्द महशुस भयो?
सुरुसुरुमा किताब आउँदैछ भनेपछि नर्भस फिल भएको थियो। पछि कभर सार्वजनिक भएपछि मान्छेहरुबाट आएको प्रतिक्रिया हेर्दा आफैंलाई पत्याउनै गाह्रो भयो। ध्यान गर्दा एकचोटी शान्ति भन्ने शब्दको साँच्चिकै मुर्तरुपमा अनुभुति गरिन्छ। किताब आएपछि संसारभरबाट मानिसहरुले माया बर्साइरहेका छन्, त्यसका लागि एकदमै आभारी छु। दशौंवर्षदेखि कहिले भिरमा लडेको, कहिले खोलामा बगेको दुखपनि अहिले बिर्सिरहेको छु। साँच्चिकै माया पाउँदा अभुतपूर्व शान्ति महशुस हुँदो रहेछ। एकदमै दिव्यबोध महशुस भैरहेको छ।

यो किताब लेख्ने क्रममा कसैलाई आफ्नो रोलमोडल मान्नुभयो? 
मैले पत्रकारिता गर्दा र किताब लेख्दा पनि कसैको तस्बिर दिमागमा राखिनँ। मान्छेहरु अरुले के लेख्छन् भन्नेपनि हेर्नुपर्छ भन्छन्। मलाई मेरो हृदयले म कस्तो लेख्छु भन्ने थाहा थियो। समाजसँग म प्रत्यक्ष सम्वादमा हुने भएकाले कसले के लेख्छ भनेर हेर्ने भन्दा पनि मानिसहरू के भन्छन् त्यो कुरा ल्याउने मात्रै धुन भयो मेरो। अबको धुनपनि आफैंलाई हेरेर बाटो तय गर्ने हो।

किताबका पाठकको मायामा परेर पत्रकारिताका पाठक त बिर्सँदै जाने होला अब?
म पत्रकारितालाई जहिले पनि माया गर्छु। अहिले किताब आएपनि म पत्रकारिता छोड्दिन। पत्रकार नै भएर, त्यही झोला बोकेर फेरि गाउँ जान्छु, यता डुल्ने उता डुल्ने गरिरहन्छु। किनभने यही सामाजका धेरै साधारण मान्छेले नै मलाई पत्रकार, लेखक बनाएका हुन्। उनीहरुको मनको कुरा सुन्दासुन्दै म लेखक भएको हुँ। त्यसैले पत्रकारिता छोड्नु भनेकै मैले लेखन छोड्नुजस्तै हो। अब पत्रकारिता र लेखन सँगैसँगै जोडिएर जान्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .