म्यागेजिन


सेन्ट मेरिजकी विद्यार्थी शान्ता, जसले अमेरिकाबाट फर्केर खोलिन् रातो बंगला स्कुल

शान्ता बस्नेत दीक्षित भन्छिन्– म आफूलाई भाग्यमानी ठान्छु, होस्टेल र घर दुवै ठाउँबाट स्कुल जाँदाको अनुभव गर्न पाएँ
सेन्ट मेरिजकी विद्यार्थी शान्ता, जसले अमेरिकाबाट फर्केर खोलिन् रातो बंगला स्कुल

शान्ता बस्नेत दीक्षित भन्छिन्– म आफूलाई भाग्यमानी ठान्छु, होस्टेल र घर दुवै ठाउँबाट स्कुल जाँदाको अनुभव गर्न पाएँ (तस्बिरः विक्रम राई)


मीना खड्का
जेठ ९ , काठमाडौँ

बच्चामा उनलाई गुच्चा खेल्न मन पर्थ्यो। उनीसँग मुठीका मुठी गुच्चा हुन्थे। स्कुल जाँदा पनि खल्तीभरि लिएर जान्थिन्।

सेन्ट मेरिज स्कुल। शिक्षिका थिइन् प्रतिभा राणा। एकदिन राणाले पढाइरहेकै बेलामा उनको खल्ती च्यातियो र कक्षाभरि गुच्चा छरियो। सबैको नजर शान्तामाथि पर्‍यो। शिक्षिकाले रिसाएर आँखा तरिन्।

अर्को दिन त्यही घटना दोहोरियो। शिक्षकले साइन्स पढाइरहेका थिए। गुच्चा छरियो। यसपटक भने उनले सजाय  भाेग्नुपर्याे । रिसले चुर भएर शिक्षकले उनलाई अरुबाट अलग बसाइदिए। उनी चुपचाप शिक्षकले पढाएको सुनेर बसिरहिन्। 

खेल्न खप्पिस उनी आफ्नो कक्षामा अरुभन्दा जान्‍ने थिइन्। शिक्षकले सोधेका कुराहरू उनी अरुभन्दा अगाडि नै जवाफ दिन्थिन्। 

त्यो दिन पनि शिक्षकले सोधेका प्रश्‍नहरूको उत्तर उनैले सबैभन्दा पहिले दिइन्। शिक्षकले रिसाएको जसरी आँखा तरे। तर, शान्ताले महसुस गरिन्, मिसको आँखामा रिस थियो तर मनमा माया र सम्मान।

भोलिपल्ट उनी स्कुल गइनन्। पछि साथीले सुनाइन्, उनी नआएको दिन शिक्षकले भनेका रहेछन्, ‘शान्ता अलिक बदमासी गर्छे, तर पढाइमा ट्यालेन्ट छे। ऊ भइन भने क्लास नै शून्य लाग्छ।’ 

‘साइन्स पढाउने ती शिक्षक भारतका थिए,’ रातो बङ्गला स्कुलकी निर्देशक शान्ता बस्‍नेत दीक्षित आफ्नो स्कुले जीवन सम्झिन्छिन्।

बुबा शिक्षित थिए। स्कुल नगए पनि आमाले घरमै पढ्न र लेख्‍न सिकेकी थिइन्। देब्रे हातले लेख्‍ने आमा भन्थिन्, ‘देब्रे हातले समेत यति राम्रो लेख्छु। दाहिनेले लेख्‍ने हो भने कत्ति राम्रो लेख्छु होला है?’

शान्तालाई उतिबेला साँच्चै हो जस्तो लाग्थ्यो। पछि गएर थाहा भयो, दाहिने हातले लेख्दैमा अक्षर राम्रा नहुने रहेछन्।

उनको परिवार पढाइलाई प्रोत्साहित गर्ने  शिक्षित थियो। छोरा होस् या छोरी, शिक्षामा लगानी गर्नुपर्छ भन्‍ने चेतना थियो। त्यसैले पचास वर्षअघि नै नमुना र उत्कृष्ट मानिने ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज स्कुलमा पढ्ने अवसर उनले पाइन्।

शान्ताले कखरा घरमै सिकिसकेकी थिइन्। स्कुल भर्ना भएपछि होस्टेलमा बस्‍न पाइन्। जान्‍ने विद्यार्थी भएकाले उनलाई कक्षा उकाल्न थालियो। 

कक्षा १ मा भर्ना भएको पाँच महिनापछि कक्षा २ मा लगिएको थियो। अनि ४ कक्षाबाट एकै पटक ६ मा उकालियो।

कक्षा ६ सम्म होस्टेलमा बसेकी उनी त्यसपछि घरबाटै स्कुल जान थालिन्। 

‘म आफूलाई भाग्यमानी ठान्छु,’ उनी भन्छिन्, ‘होस्टेल र घर दुवै ठाउँबाट स्कुल जाँदाको अनुभव गर्न पाएँ।’

घरबाट बस चढेर स्कुल जानुपर्थ्यो। तर, बस सधैँ ढिला हुन्थ्यो। अनि शिक्षकहरू रिसाउँथे। 

कक्षा ४ मा छँदै, टोपी, स्वेटर, मफलर आदि बुझ्ने जस्ता सिप उनले सिकिसकेकी थिइन्। 

‘मैले धेरै कुरा सुनेर सिकेँ,’ उनी भन्छिन्, ‘शिक्षकहरू मन लाएर पढाउँथे, काम सम्झेर होइन। सिकाउन मन लागेर पढाउँथे।’

शान्ता स्कुलमा ध्यान दिएर सुन्थिन् र त्यसबाहेक थप पढाइमा त्यति वास्ता गर्दिनथिन्। स्कुलबाट घर आएपछि छिमेकी साथीहरूसँग खेल्न रमाउँथिन्। प्रायः खेलेरै समय बित्थ्यो। उनीहरूले ब्याडमिन्टन समूह बनाएका थिए। पैसा उठाएर खेल सामग्री किन्थे र खेल्थे। सबैभन्दा रमाइलो दसैँमा हुन्थ्यो। 

‘त्यो बेलाको जोशजाँगर र दसैँको रमाइलो, अनि सयपत्रीको सुगन्ध सम्झिँदा अहिले पनि रमाइलो लाग्छ,’ शान्ता भन्छिन्, ‘दसैँका बेलामा बिहानै ४ बजे उठेर छिमेकका साथीहरूसँग मिलेर पशुपति र गुहेश्वरी जान्थ्यौँ। तीमध्ये एकजना त मेरी भाउजू नै भइन्। त्यसपछि झन् रमाइलो महसुस भयो।’

त्यो सबै अहिले भर्खरै पो हो कि जस्तो लाग्छ।

शान्ताकी सहपाठी थिइन्, शैलिनी मल्होत्रा। विदेशतिरै हुर्केकी। नेपाली भाषा भर्खर सिक्दै गरेकाले उसले फिल्महरू राम्रो बुझ्‍न सक्दैन थिइन्।

त्यसैबेला ‘आप आए, बहार आई’ नामक हिन्दी फिल्म आएको थियो। शैलिनीले यसको नामको हाँसउठ्दो अनुवाद गरेकी थिइन्, ‘यु कम, कम आउट।’

शैलिनीलाई तितौरा र काँक्रोको अचार निकै मनपर्ने। शान्ताले स्कुलमै अचार लगिदिन्थिन्। तर, शैलिनी पिरो खान सक्दैनथिन्। अनि काँक्रोमा लागेको सबै खुर्सानी पानीले पखालेर खान्थिन्। 

दुवैलाई किताब पढ्न निकै मनपर्ने। उनीहरू विभिन्‍न सिरिज साटासाट गरेर पढ्थे। फिल्म हेर्दा आफूलाई पात्रहरूसँग दाँजेर र एकअर्कालाई ती पात्रको नामले पुकारेर रमाइलो गर्थे। शैलिनीको घर पनि नजिक हुनाले मिलेर  कहिलेकाहीँ मौसम मिलेको बेलामा शनिबार पौडी खेल्न सोल्टी कि बालाजु साइकल चलाएर जान्थ्यौँ।

‘अहिले त शैलिनी विदेशतिरै छिन्। म पनि विदेश हुँदा निकै भेट हुन्थ्यो,’ शान्ता भन्छिन्,

यही रमाइलोमा बाल्यकाल कति चाँडो फुत्कियो, पत्तै भएन। त्यसबेला सेन्ट जेभियर्स/सेन्ट मेरिज स्कुलहरूले एसएलसी परीक्षा सञ्‍चालन गर्दैनथे। ‘ओ लेभल’ उत्तीर्ण गर्नुपर्थ्यो।

‘११ मा पढ्नेजस्तो समयमा परीक्षा दिनुपर्थ्यो,’ उनी भन्छिन्, ‘त्यो परीक्षाको नाम सिनियर क्याम्ब्रिज थियो।’ 

१९७४ मा १५ वर्षको उमेरमा​ उनले पनि ‘ओ लेभल’ उत्तीर्ण गरिन्। त्यसपछि उनी अमृत साइन्स कलेजमा भर्ना भइन्।​​​

बुद्धिमान प्रेमी र होसियारीपूर्वक गरिएको प्रेम
आइएससी (I.Sc.) पढ्दापढ्दै शान्ता GAA (Godawari Alumni Association)मा आवद्ध भइन् स्वयम् सेवकका रूपमा। संस्थाको बैठक शनिबार बिहान हुने गर्थ्यो। कानुन पढेर आएका एक तन्नेरीले पनि GAA मा सेवा गर्न थाले र शान्ताको ध्यान खिचे। छलफलमा ती युवाको कुरा शान्तालाई निकै मन पर्न थाल्यो।

‘उनी निकै बुद्धिमान लाग्थ्यो,’ उनी भन्छिन्। 

त्यो संस्थाबाट शान्ताले एसएलसीका विद्यार्थीहरूलाई कोचिङ क्लास पढाउन थालिन्। उनी साइन्स पढाउँथिन्। ती युवाले अङ्ग्रेजी विषय पढाउँथे। उनी शान्ताको दाइको कक्षामा सेन्ट जेभियर्समा पढेका कनकमणि दीक्षित थिए।  

बिस्तारै कुराकानी र भेटघाट बढ्यो। साइन्स पिरियड अन्तिममा थियो। कनक अङ्ग्रेजी पढाइसकेपछि टेनिस खेल्दै शान्तालाई कुर्थे। 

‘साइन्स पुरै नेपालीमा पढाउनुपर्थ्यो। मैले अङ्ग्रेजी माध्यममा पढेकी थिएँ। गाह्रो हुन्थ्यो,’ शान्ता भन्छिन्, ‘निकै मेहेनत गरेर पढाउन जान्थेँ।’

शान्ताको कक्षा सकिएपछि दुवैजना सँगै निस्किन्थे। कनक साइकल डोर्याउँदै हिँड्थे। अनि रत्नपार्क पुगेपछि छुट्थे। उनीहरूबिच बिस्तारै प्रेम गाढा भयो।

तर, शान्तालाई डर थियो। 

‘सम्बन्धबारे घरकाले थाहा पाए भने कि त बिहे गरिदिन्थे, नभए केटालाई छोड भन्थे। तर त्यो अवस्थामा मलाई न त बिहे स्वीकार्य थियो, न त कनकमणिलाई छोड्न नै तयार थिएँ,’ उनी भन्छिन्, ‘उसलाई राम्रोसँग चिनेकै थिइनँ। बुझ्‍ने क्रममा थिएँ।’

त्यसैले परिवार र साथीहरू कसैलाई थाहा नदिन दुवैजना होसियार थिए। बैठकहरूमा भेट हुँदा पनि सचेत रहन्थे। दुवैले चाहेजसरी नै सम्बन्ध गोप्य रह्यो। कसैले पनि उनीहरूको सम्बन्धबारे चाल पाएन। जब पछि बिहेको कार्ड गयो, सबै साथीहरू आश्‍चर्यमा परे। 

विवाहको दुई महिनापछि कनक अमेरिका गए। त्यसको दुई महिनापछि शान्ता पनि गइन्। जहाँ उनले जनस्वास्थ्यमा विद्यावारिधि गरिन्। 

‘सुरुसुरुमा अमेरिकाको शैक्षिक अवस्थासँग घुलमिल हुन केही असहज भयो। किनभने अमृत साइन्स कलेजमा सरले आफ्नो पुरानो नोट सार्न लगाएर मात्र पढाउने गरेका थिए। तर बिस्तारै घुलमिल भएपछि पढ्न सहज भयो,’ उनी भन्छिन्।​

शिक्षा सुधार्न रातो बंगला स्थापना
बच्चामा शान्ताले डाक्टर बन्‍ने सपना देखेकी थिइन्। अमेरिकाको पढाइ र नेपाल फर्केपछिको अवस्थाले त्यो सपना छुट्यो।

‘अमेरिका गएपछि श्रीमानले निकै सपोर्ट गर्थे। प्रोत्साहनसँगै पढ्न उत्साह थप्थे,’ उनी भन्छिन्, ‘उतै बच्चाबच्ची भए।’ 

अमेरिकामा संयुक्त राष्ट्र सङ्घमा काम गरिरहेका श्रीमानले उता बस्‍न रुचाएनन्। आफ्नै देशमा आएर योगदान दिने इच्छा गरे। 

नेपालको प्रसिद्ध मेडिकल इन्स्टिच्युटमा पढाउने योजना बनाएर बालबच्चासहित शान्ता पनि कनकसँगै नेपाल आइन्।

नेपाल आइसकेपछि त्यो काम उसलाई मिलेन र आफ्ना बालबालिकाका लागि गुणस्तरीय शिक्षा दिने संस्थाको खोजमा लागिन्। उसले यहाँको शिक्षा प्रणालीमा ध्यान दिन थालिन्।

उनले डाक्टर हुन नपाएको कुरामा यसरी चित्त बुझाइन्। शिक्षामा सुधार गर्न सक्ने हो भने धेरै डाक्टर उत्पादन गर्न सकिन्छ भन्‍ने लाग्‍न थाल्यो,’ उनले सुनाइन्, ‘डाक्टर बनेर मान्छेको ज्यान जोगाउन त धेरै ठुलो कुरा हो। तर शिक्षा नै राम्रो नभएको अवस्थामा डाक्टर पनि राम्रो हुन सक्दैन।

त्यसताका निजी तथा सार्वजनिक विद्यालयहरू कुनै पनि बालकेन्द्रित शिक्षा दिन सकेका थिएनन्। सबैले घोकाएर मात्र पढाउँथे। विकल्पको रूपमा सन् १९९२ मा ललितपुरको पाटन ढोकामा रातो बङ्गला स्कुलको स्थापना भयो।​

रातो बङ्गला स्कुल देउरानी र जेठानीले स्थापना गरेको एउटा राम्रो उदाहरणमा पर्छ। मिलन दीक्षित, प्रिन्सिपल र शान्ता दीक्षित, निर्देशकको संयुक्त प्रयासमा सञ्‍चालित यो स्कुलले ३० वर्ष पार गरेको छ।

‘रातो बङ्गला स्कुलले विद्यार्थीलाई पठनपाठन मात्रै गराएको छैन। सामाजिक र भावनात्मक विकास गरेर सचेत र जिम्मेवार नागरिक बनाउनमा धेरै मेहेनत गरेको छ। ‘हामीले भन्नुपर्दैन, रातो बङ्गला स्कुलबारे यहाँ छोराछोरी पढाउने अभिभावकहरूले भन्छन्।’ 

तीन दशकअगाडि कतिपय अभिभावकहरूले आफ्ना छोराछोरी विदेशमा लगेर पढाउनुपर्थ्यो। उनीहरूलाई आफ्नै भूमिमा पढ्ने अवसर दिने पनि रातो बङ्गलाको उद्देश्य भएको उनी बताउँछिन्।

‘बच्चालाई नेपालकै माटो पढाउन जरुरी छ। यहाँकै सम्भावना सिकाउनुपर्छ। देशको विकास हरेक ठाउँठाउँ र गाउँगाउँबाट गर्न जरुरी छ। त्यसैले देशभरि गुणस्तरीय र व्यावहारिक शिक्षाको पहुँच हुन जरुरी छ। रटाएर र घोकाएर सिकाएको ज्ञान न दिगो हुन्छ न यसले जीवन उपयोगी सिप दिन्छ,’ उनी भन्छिन्, ‘शिक्षाको अर्थ नेतृत्व वर्गमा भएका मान्छेले पनि बुझेका छैनन् जस्तो लाग्‍न थालेको छ। नत्रभने हाम्रो देशको शिक्षाको अवस्था अर्कै हुन्थ्यो।

रातो बङ्गलाले पठनपाठनमा गरेको अनुसन्धान र सुधारलाई सरकारी स्कुल र अन्य निजी विद्यालयलाई पनि उपयोगी गराउन एउटा गैर-नाफामूलक भगिनी संस्था पनि खोल्यो, जसको नाम हो रातो बङ्गला फाउन्डेसन। यसले गत दुई दशक दैलेख, धादिङ, ललितपुर, मकवानपुर, म्याग्दी र अन्यत्र स्थानीय निकाय, विद्यालय र अविभावकसँग सहकार्य गर्दै आएको छ, जसका लागि संयुक्त राष्ट्र सङ्घको युनेस्कोबाट पुरस्कृत पनि भयो। यसरी आफ्नो विद्यालयको उपलब्धि सरकारसँगको हातेमालोमा अन्यत्र लान सकेकामा शान्ता सन्तुष्ट छिन्।

‘देशभरि नै बालबालिका र युवालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सम्भव छ र यसका लागि संविधानले स्थानीय सरकारलाई दिएको अधिकार र अभिभारा उसले बोक्न सक्नुपर्छ,’ शान्ता भन्छिन्, ‘उज्ज्वल भविष्यको अवसर त्यहीँ छ।’

 

बैशाख २२, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad