ad ad

मधेस


सामुदायिक विद्यालयलाई ‘बृहत्’ बनाउन १० वर्षे रणनीति

सामुदायिक विद्यालयलाई ‘बृहत्’ बनाउन १० वर्षे रणनीति

नेपालखबर
साउन १४, २०८० आइतबार १५:२६, महोत्तरी

महोत्तरीको बर्दिबास नगरपालिका-३, गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयलाई बृहत् विद्यालय (बिग स्कुल) का रूपमा विकास गरिने भएको छ। यसका लागि विद्यालयले तीनदिने शैक्षिक सम्मेलन आयोजना गरी १० वर्षे रणनीति र कार्ययोजना बनाएको छ। 

‘प्रविधि, श्रम, सीपसहितको गुणस्तरीय शिक्षा, समुदायको सहकार्यमा नमुना विद्यालय हाम्रो सदिच्छा’ मूल नारासहित उक्त सम्मेलन बिहीबारदेखि शनिबारसम्म सञ्चालन गरिएको थियो। शनिबार साँझ ३९ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिएको हो।

विद्यालय व्ययवस्थापन समितिका अध्यक्ष राजन ढुंगानाले सम्मेलनले विद्यालयको विकासका निम्ति ऐतिहासिक मार्गचित्र तयार पारेको बताए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेको सम्मेलनको बन्दसत्र दुई दिनसम्म चलेको थियो। 

बन्दसत्रमा शिक्षाविद्, विद्यालयका शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो। 

उनीहरुले जनता माविको विकास र सामुदायिक विद्यालयलको शैक्षिक गुणस्तर अभिवृद्धिका निम्ति बन्दसत्रमा दुई दिनसम्म घनिभूत छलफल गरेका थिए। 

सम्मेलनमा जनता माविका १८ वटा आमा समूहका ५४ जना महिला प्रतिनिधिले पनि सक्रियतापूर्वक सहभागिता जनाएका थिए।

सम्मेलनले जारी गरेको ३९ बुँदे घोषणापत्रमा बृहत् स्कुलको अवधारणा, लक्ष्य र गन्तव्य तय गरिएको छ।

११ जिल्लाका २ हजारभन्दा धेरै विद्यार्थी
कक्षा ९ देखि प्राविधिक धार र ३ वर्षे डिप्लोमा तहसमेत पठनपाठन भइरहेको जनता माविमा कक्षा ११ र १२ मा बाली विज्ञान संकाय पनि छ। 

त्यसैगरी कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य र कानुन संकाय पनि छन्। विद्यालयमा बाल कक्षादेखि कक्षा १२ सम्म पूर्णतया अंग्रेजी माध्यमबाट पढाइ हुने अध्यक्ष ढुंगानाले जानकारी दिए। 

उक्त विद्यालयमा हाल देशका ११ जिल्लाका दुई हजारभन्दा धेरै विद्यार्थी पढिरहेका छन्। अब १० वर्षभित्र विद्यार्थीको संख्या ५ हजार पुर्‍याउनेगरी विद्यालयको विकास गरिने प्रधानाध्यापक दीपक बरालले बताए। 

सम्मेलनले तय गरेको घोषणापत्रमा बालविकासदेखि कक्षा १२ सम्म सबै विषय र कार्यक्रम सञ्चालन गर्ने, शिक्षण सिकाइ प्रक्रियालाई कार्यमूलक अनुसन्धानमा आधारित सिर्जनात्मक र सहभागितामूलक बनाउने, प्रधानाध्यापकले शिक्षण सिकाइको नियमित सुपरीवेक्षण गर्ने, व्यवस्थापन समितिले प्राज्ञिक नेतृत्वलाई सुपरीवेक्षण र जवाफदेही बनाउन सहयोग गर्ने उल्लेख छ।

त्यस्तै समयानुकूल नीति निर्माणमा अभिभावकको सहभागिता सुनिश्चित गर्ने, आमा समूहसँग नियमित परामर्श गरिने, संघीय र स्थानीय पाठ्यक्रमसँगै समुदायसँग सान्दर्भिक थप विषय सिकाइने, पाठ्यक्रमका विषयलाई स्थानीय संस्कृति, अर्थतन्त्र र वातावरणसँग स्थानीयकरण गरिने, तालिम र स्वअध्ययनका माध्यमबाट शिक्षकको सिकाइ र पेसागत दक्षता बढाउँदै लगिने, भौतिक पूर्वाधारलाई अपांगमैत्री, वातावरणमैत्री र भूकम्प प्रतिरोधी बनाइने, विद्यार्थीलाई मातृ भाषासँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय भाषा बोल्न, लेख्न र पढ्नसक्ने बनाइने कुरा पनि घोषणापत्रमा समेटिएका छन्।

त्यसैगरी बाल क्लब गठन गरी बौद्धिक मनोरञ्जनसँगै खेलकुदका कार्यक्रम सञ्चालन गरिने, मावि तहका विद्यार्थीलाई लक्ष्य गरी पढाइसँग सम्बन्धित विषयमा ससाना उद्योग सञ्चालन गरिने, आमा समूहलाई डिजिटल नेटवर्कमा जोडिने, कक्षाकोठामा डिजिटल प्रविधिको प्रयोग गरिने, विद्यालयलाई राष्ट्रिय अन्तर्राष्ट्रिय नेटवर्कमा जोड्दै लैजाने, स्थानीय बजारको आवश्यकताअनुरूपका विषयमा पठनपाठन सुरु गरिने, स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य र पैरवी बढाउँदै लैजाने घोषणा पनि सम्मेलनले गरेको छ।

विद्यालयलले सिकाइ प्रक्रियामा समाजवादी चिन्तनको समेत अनुशरण गरिरहेको प्रधानाध्यापक बरालले बताए। 

‘विद्यार्थीको आर्थिक सामाजिक अवस्थाका आधारमा विद्यालयले बालबालिकाको कक्षा १२ सम्मको शैक्षिक अभिभावकत्व लिने अभ्याससमेत गर्दै आएको छ’, उनले भने, ‘अहिले हाम्रो विद्यालयमा १३ जना दृष्टिविहीन बालबालिका आवासीय रूपमा अध्ययन गरिरहेका छन्।’ 

विद्यालयमा यस वर्ष बालविकासदेखि कक्षा ९ सम्म ४ सय ५३ जना नयाँ विद्यार्थी भर्ना भएका छन्। इन्ट्रान्स परीक्षा उत्तीर्ण हुने विद्यार्थीलाई मात्रै विद्यालयमा भर्ना लिने गरिएको अध्यक्ष ढुंगानाले बताए। ‘नयाँ भर्ना भएका अधिकांश विद्यार्थी निजी विद्यालय छाडेर आएका हुन्’, उनले भने।

कक्षा ९ देखि प्राविधिक धारतर्फ बाली र पशु विज्ञान तथा ३ वर्षे डिप्लोमा तहमा अध्ययनरत विद्यार्थी पढ्दै कमाउँदै कार्यक्रममा पनि सहभागी भइरहेका छन्। 

विज्ञानका विद्यार्थीका लागि विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी खोज र आविष्कार प्रयोगशालासमेत सञ्चालनमा छ।

सम्मेलनको उद्घाटन समारोहमा शिक्षाविद् डा. बलराम तिमल्सिना, शिक्षाविद् तथा नारायण मावि (चितवन) का पूर्वप्रधानाध्यापक पूर्णप्रसाद दवाडी, अर्का शिक्षाविद् विमल फुँयाल, विद्यालयका संस्थापक तुलसीप्रसाद ढुंगाना, राष्ट्रियसभाकी पूर्वउपाध्यक्ष शशिकला दाहाल, प्रदेश सांसद भरत साह र शारदादेवी थापा, बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीलगायतले मन्तव्य राखेका थिए। 

सम्मेलनको बन्दसत्रमा शिक्षाविद्त्रय तिमल्सिना, दवाडी र फुँयालले कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस क्रममा उनीहरुले सामुदायिक विद्यालयको पठनपाठन सुधार गर्न सरकार, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायले गर्नुपर्ने दायित्वका विषयमा प्रकाश पारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .