ad ad

मधेस


मधेशमा जहिले मलको दुःख, सांसदको अनुगमनले पाउलान् किसानले राहत?

मधेशमा जहिले मलको दुःख, सांसदको अनुगमनले पाउलान् किसानले राहत?

जयन्त ठाकुर
मंसिर २७, २०७९ मंगलबार १०:३१, जनकपुरधाम

जनकपुरधाम वडा नं २४ बसहियाका ५२ वर्षीय महेश सहनीको करिब ३ बिघा जग्गा छ। उनी त्यहाँ हरेक वर्ष मौसमअनुसारका खेती गर्छन्। खेतबाट उब्जनी भएका त्यही अन्नबाट उनी वर्षभरि घरपरिवारको पेट भर्ने गर्छन्। उनले धानबालीका साथै गहुँ खेती पनि गर्छन्।

अहिले गहुँ फलाउने मौसम भएकाले उनले गहुँखेती गरेका छन्। तर यसपालि उनलाई गहुँ फल्ला किन नफल्ला भन्ने  चिन्ताले सताएको छ।

कुनै पनि अन्नबाली उब्जनीका लागि मल अति महत्त्वपूर्ण तत्वमध्ये एक मानिन्छ। महेशले ३ बिघामा लगाएको गहुँबालीका लागि कमसे कम १० देखि १५ बोरासम्म मल हाल्दा राम्ररी उब्जनी हुन्छ। 

तर महेशले यसपालि अहिलेसम्म जसोतसो ५ बोरासम्म युरिया मल जुटाएका छन्। 

‘हाम्रा लागि प्रत्येक वर्ष मलको अभाव एउटा ठूलो समस्याका रुपमा रहँदै आएको छ’, महेशले नेपाखबरसँग दुखेसो पोखे, ‘कृषि सामग्रीका कर्मचारीहरूले कहिले भोलि आउनुस् भन्छन्, कहिले आज भएन १० दिनपछि आउनुस् भन्छन्, यसरी दौडधुप गर्दागर्दै महिनौं बित्छ।’

गहुँको राम्रो उत्पादनका लागि बीउ छरेको केही सातापछि नै मल छर्किनुपर्ने भए पनि आफूहरूले आजसम्म कहिल्यै समयमै मल नपाएको बसहियाकै अर्का किसान सुरेश महतो गुनासो गर्छन्। 

‘अन्य वर्षहरूमा हामीले जसोतसो मलको व्यवस्था गरिहाल्थ्यौँ यसपालि त झन् समस्या थपिएको छ’, सुरेशले भने, ‘सरकारी मल पाइएन भने सीमापारी गएर पनि दुई रुपैयाँ महँगो नै भए पनि सहजै पाइन्थ्यो। विगत केही वर्षदेखि त्यो पनि सहज छैन।’

३९ वर्षीय किसान रामबाबु सहनीले पनि १० कठ्ठा खेतमा गहुँबाली लगाएका छन्। सो खेतबाट उत्पादन हुने गहुँबाट वर्षभरी उनलाई पीठो किन्नु पर्दैन। बरु बाँकी रहेको गहुँ उनले बेचेर घरखर्च समेत चलाउँछन्। यसपालि भने उनको खेतले घरलाई नै वर्षभरि चलाउन लागि गहुँ उत्पादन हुन्छ कि हुँदैन भन्ने उनलाई पीर छ। 

‘अन्य वर्षहरूमा सरकारी मल जसोतसो पाइहाल्थ्यौँ। नभए भारतबाट भए पनि मल ल्याएर खेतमा छर्किने गर्थ्याैं। तर, केही वर्षयता पारिबाट मल ल्याउन पनि समस्या भइरहेको छ। पारीबाट मल ल्यायो कि प्रहरी लखेट्छ’, उनले गुनासो गरे।

मलका लागि प्रत्येक वर्ष साताको दुईदेखि तीन पटकसम्म उनी कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय र साल्ट ट्रेडिङको कार्यालय पुग्छन्। तर रित्तै हात फर्किन बाध्य हुन्छन्। 

कृषि सामग्रीमै छैन युरिया मल
मल खादको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गरिरहेका छन्। 

आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङको रहे पनि किसानले भने कुनै वर्ष सहज रुपमा मल नपाउने गरेको गुनासो छ।

सरकारले अनुदानमा उपलब्ध गराउने मलको अभाव भएपछि बजारमा कालोबजारी गरी बिक्री गरिने गुणस्तरहीन मल किन्न किसान बाध्य भएका छन्।

मधेश प्रदेशमा गहुँबालीका लागि आवश्यक युरिया मलको चरम अभाव छ। कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका अनुसार धनुषा र महोत्तरीमा मात्रै यतिबेला ५ हजार मेट्रिक टन मलको आवश्यकता छ। तर कृषि सामग्रीसँग एक बोरासम्म युरिया मल नरहेको कार्यालयका प्रमुख रविकुमार केसरीले जानकारी दिए।

एक बोरा युरिया मल खरिद गर्नकै लागि अहिले ८ सय २ रुपैयाँ, डीएपी मलका लागि बोराको २ हजार २ सय ५१ रुपैयाँ खर्चेर सहकारीहरूले लाने गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। तर अहिले मलका लागि टेन्डर मात्रै गरिएको र केही दिनपछि मात्रै मल आउने भएकाले अझै पनि कुर्नुपरिरहेको प्रमुख केसरीले बताए।

धनुषा र महोत्तरी गरी कूल २ सय ५ वटा सहकारी संस्था छ। ती सहकारी संस्थाले नै मल नपाएपछि किसानहरू मर्कामा परेका छन्।

सांसद महतोले गरिन् कृषि सामग्री लिमिटेडको अनुगमन
गहुँबालीको चटारो रहेको समयमा किसानहरूले मल पाउन नसकिरहेको गुनासो बढ्दै जान थालेपछि नवनिर्वाचित सांसद जुलीकुमारी महतोले कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाको अनुगमन गरेकी छन्।

आइतबार कम्पनीको जनकपुर शाखा पुगेर धनुषा–३ का नवनिर्वाचित सांसद महतोले अनुगमन गरेकी हुन्। उनले कार्यालय प्रमुख केसरीसँग मलको समस्या र सोको समाधानको विषयमा समेत छलफल गरेकी थिइन्।

महतोले कार्यालयमा उपलब्ध मल र धनुषा जिल्लाका लागि कति मल आवश्यक रहेको भन्ने विषयमा जानकारी लिएकी थिइन्। अनुगमनको क्रममा सांसद महतोले मलको समस्या समाधानका लागि आफूले छिट्टै पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .