लुम्बिनी


सरुवाडाँडाको ‘भाइरल पुल’, बन्नसक्छ पर्यटकीय गन्तव्य

सरुवाडाँडाको ‘भाइरल पुल’, बन्नसक्छ पर्यटकीय गन्तव्य

दाङका तुलसीपुर उपमहानगरपालिका-११ र दंगीशरण गाउँपालिका-२ सरुवाडाँडा जोड्ने झोलुंगे पुल


रासस
कात्तिक २९, २०८१ बिहिबार ६:४१, दाङ

तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुंगे पुल। चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ। यो दृश्य दाङका तुलसीपुर उपमहानगरपालिका-११ र दंगीशरण गाउँपालिका-२ सरुवाडाँडा जोड्ने झोलुंगे पुल क्षेत्रको हो।

यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ। हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन्। यसपटक दसैँ-तिहारमा यहाँ अवलोकन गर्न आउनेको भीड नै लागेको स्थानीयको भनाइ छ।

यसपटक दसैँ-तिहार मनाउन टाढाटाढाबाट आएकाहरूको प्रमुख गन्तव्य यही पुल बन्यो। त्यति मात्र नभई सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छाया र पुलको आकर्षण थप बढाउने गरेको छ। त्यही दृश्य हेर्नका लागि मानिसहरू आउने र त्यसैमाथि तस्बिर खिचेर आनन्द लिने गरेको देखिन्थ्यो।

पछिल्लो समय यस पुललाई ‘भाइरल’ पुलका रूपमा चिनाउने गरिन्छ। जहाँ स्थानीय मात्रै होइन, सल्यान, रुकुमलगायत जिल्लाबाट समेत फोटो खिच्न तथा दृश्यावलोकन गर्न आउनेको सङ्ख्या बढ्दो छ। सल्यानकी शारदा केसीले सामाजिक सञ्जालका दृश्य तथा विभिन्न व्यक्तिले गरेको चर्चा सुनेर आफू पनि यहाँ आउन बाध्य भएको बताए।

‘सामाजिक सञ्जालमा तस्बिर र भिडिओ देख्यौँ, त्यही देखेर हामी यहाँ आएका हौँ’, केही दिनअघि यहाँ भेटिएकी उनले भनेकी थिइन्, ‘यहाँ आउँदा राम्रो लाग्यो, अब यसलाई अन्य पर्यटकीय पूर्वाधारसहित पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक छ।’

केसीले यहाँ अवलोकन गर्ने आउनेहरूको सहजताका लागि चमेना गृह, शौचालय, विश्रामस्थललगायत संरचना निर्माण गर्नसके स्थानीयहरू समेत लाभान्वित हुने  बताइन्। 

विसं २०७९ मा निर्माण भए पनि यसपटक पुल चर्चा धेरै भएको तुलसीपुर-११ का ५५ वर्षीया मोहनी लामिछाने बताउँछन्। उनी भन्छिन्, ‘यसपटक  लामो खडेरीमा गर्मी छल्नका लागि बजार आसपासका नागरिक  यहाँ आएसँगै  प्रचारप्रसार भयो। सामाजिक सञ्जालमा भाइरल भएपछि पछिल्लो समय पर्यटकीय क्षेत्रका रूमा विकास हुन थालेको छ, धेरैको रोजाइमा पर्न थालेको छ। वैशाख जेठमा त यहाँ दैनिक एक हजार पाँच सयभन्दा बढी पुल अवलोकनका लागि आउने गर्थे।’

रु तीन करोडको लागतमा निर्माण भएको  उक्त पुलको  लम्बाइ  चार सय मिटर छ। पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ। पुलले तुलसीपुर बजार जोडिनका लागि पनि सहज बनाएको स्थानीय करवीर चौधरीले बताए। उनका अनुसार विगतमा बबई नदीमा जोखिम मोलेर वारपार गर्नुपर्थ्यो तर पुल बनेपछि सहज भएको छ। पछिल्लो समय स्थानीय नागरिकलाइर्ए जोड्ने मात्र नभई टाढाका नागरिकको मनोरञ्जन स्थलका रूपमा समेत विकास हुन थालेको र अब यसलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने चौधरीको सुझाव छ।

उपमहानगरपालिका-११का वडाध्यक्ष मानबहादुर रावतले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आफूहरूले पहल सुरु गरिसकेको बताए। त्यसका लागि वडावासीबाट धेरैपटक छलफल गरी सुझावका आधारमा गुरुयोजना बनाउने तयारी गरिएको उनले जानकारी दिए।

‘गत मङ्गलबार पनि  स्थानीय तथा सरोकारवालाहरूसँग छलफल गरी आवश्यक राय सुझाव लिएका छौँ। बबई नदीमा रबरको ड्याम बनाई त्यसमा ढुङ्गा चलाउने योजनाबारे पनि कुरा उठेको छ। यस्तै नजिकै रहेको मोति सामुदायिक वनमा चिल्ड्रेन पार्क बनाउने, त्यहाँ भौतिक पूर्वाधार निर्माणलगातका योजनाबारे सरोकारवालासँग विभिन्न चरणमा छलफल भएका छन्’, वडाध्यक्ष रावतले भने, ‘यसका लागि तुलसीपुर उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार र सङघीय सरकारसँग बजेटका माग गर्ने निर्णय भएको छ । सबैको सहयोग भएमा यसलाई पर्यकटीक हब बनाउन सकिन्छ।’

यो झोलुंगे पुल तुलसीपुर बजारदेखि करिब १२ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad