ad ad

लुम्बिनी


लुम्बिनी प्रदेशमा सवारी दुर्घटना : एक वर्षमा साढे ५ सय जनाले ज्यान गुमाए

कुन कुन हुन् जोखिमयुक्त क्षेत्र ?
लुम्बिनी प्रदेशमा सवारी दुर्घटना : एक वर्षमा साढे ५ सय जनाले ज्यान गुमाए

फाइल फोटाे


सुदीप भण्डारी
साउन १२, २०७९ बिहिबार ७:३२, बुटवल

आइतबार मात्र पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बस दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भयो। १७ जना घाइते भए। यसअघि पुसमा पनि यही ठाउँ आसपासमा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो। तानसेन–रिडी सडकखण्ड अन्तर्गत पर्ने यो ठाउँ दुर्घटनाको जोखिम क्षेत्र हो। 

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले यो क्षेत्रले ठूलो दुर्घटना बेहोरिरहेको बताए। 

‘एक वर्ष यता मात्र दुईवटा ठूला दुर्घटना भएका छन्। अघिल्ला वर्ष पनि यस्तै दुर्घटना भइरहन्थे’ उनले भने, ‘अलि बढि उकालो र ओरालो बाटो छ। टाढासम्म नदेखिने खालको घुमाउरो खालको बाटो छ।’ 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सइ दामोदर मल्लका अनुसार जोर्ते, लघुवा रिब्दीकोटको लघुवा, जोर्ते क्षेत्रमा नयाँ चालकहरुलाई सवारी चलाउन अफ्ठयारो हुन्छ।

‘झर्दाखेरी पुरै ओरालो छ। ब्रेकको भरमा जानुपर्छ। बाहिरबाट आएका गाडीहरुलाई बाटोको जानकारी नहुँदा गाह्रो हुन्छ। त्यस्तोमा लघुवामा गएर ब्रेक सेलाएर जानुपर्छ’ उनले भने  ‘तर कतिपय अटेर गरेर लापर्वाही गरेर जान्छन्। ब्रेकको भरमा जानुपर्ने हुँदा दुर्घटना हुने गरेको छ।’ 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार जोर्ते र सिद्धबाबा क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हुन्। बुटवलको सिद्धबाबा क्षेत्रमा बर्खा याममा ढुंगा र पहिरो खस्ने गर्दछ । पहिरोले सडक पनि साँघुरो र अस्तव्यस्त हुँदा दुर्घटनाको जोखिम बढाएको हो। 

यस्तै, प्रदेशका अन्य पहाडी जिल्लामा पनि सडकको अवस्थाले दुर्घटना हुने गरेको छ। तराई क्षेत्रमा बाटोको अवस्था सहज भएपनि सवारी चापको कारण दुर्घटना बढेको छ। 

यी हुन् बढी दुर्घटना हुने जोखिमयुक्त क्षेत्र 
पाल्पाको जोर्ते र सिद्धबाबासहित लुम्बिनी प्रदेशमा दुई दर्जन ठाउँलाई दुर्घटनाको जोखिम क्षेत्र मानिएको छ।

विगतमा भएका दुर्घटनाको विश्लेषण गरेर जोखिमयुक्त क्षेत्र तोकिएको यी क्षेत्रमा सवारी साधन चलाउँदा सावधानी अपनाउन प्रदेश ट्राफिक प्रहरी कार्यालयले आग्रह गरको छ।

दुर्घटनाको जोखिमयुक्त क्षेत्र तोकिएका ठाउँहरुमा रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१ सितलापुर, देवदह नगरपालिका– ४ भलुही, तिलोत्तमा नगरपालिका– ५ नयाँमिल र मायदेवी गाउँपालिका– ४ घाँघरा पुल रहेका छन्। 

कपिलबस्तु जिल्लामा बाणगंगा नगरपालिकाको बैरिया, सिवराज नगरपालिका– ५ सुपादेउराली मोड, सिवराज नगरपालिका १ धानखोलालाई पनि दुर्घटनाको जोखिम क्षेत्र मानिएको छ। 

नवलपरासी पश्चिममा बर्दघाट नगरपालिका– ४ दाउन्ने, सरावल गाउँपालिका– १ बासालाई तोकिएको छ। 

अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका– ६ दहखोला, सितगंगा नगरपालिका– ४ फोत्सीबास जोखिम क्षेत्र हुन्। 

दाङ जिल्लाको जोखिम क्षेत्रहरुमा लमही नगरपालिका– ५ कर्मामोड, घोराही नगरपालिका– १६ कपासी, घोराहीकै मानपुरचोक रहेका छन्। 

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका– २० को राँझाचोक, नेपालगञ्ज– १८ को लग्दहवा, जानकी गाउँपालिका– ६ ओथारपुर दुर्घटनाको जोखिम स्थान मानिएको छ। 

बर्दिया जिल्लाको गुलरीया नगरपालिका– ११ महोम्मदपुर, राजपुर नगरपालिका–६ मानपुर, प्युठान जिल्लामा सरुमरानी गाउँपालिका– ६ को अँधेरीखोला, रोल्पा जिल्लाको रोल्पा नगरपालिका– १ भदौरेलाई दुर्घटनाको जोखिमयुक्त क्षेत्र मानिएको छ। 

जोखिम क्षेत्र र अन्य ठाउँमा चालकहरुले सवधानी नअपनाउँदा दुर्घटनाले धनजनको क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाई छ। 

लुम्बिनी प्रदेशमा दुर्घटनाबाट मृत्यु हुनेको संख्या अघिल्ला वर्षको तुलनामा गत वर्ष बढेको छ। अघिल्ला वर्ष भन्दा गत आर्थिक वर्ष २०७८/७९ मा दुर्घटनाको संख्या केही घटेको भएपनि मृत्युदर बढेको हो। 

गत आर्थिक वर्ष २०७८/७९ मा सवारी दुर्घटनाबाट ५५१ जनाले ज्यान गुमाएका छन्। अघिल्लो आर्थिक वर्ष भन्दा यो २४ ले बढि हो।

एकवर्ष यता प्रदेश भर १ हजार १६४ वटा सवारी दुर्घटना भएको छ। जसमा १ हजार १२३ जना गम्भिर घाइते र ५९७ जना सामान्य घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कुल १ हजार २१२ सवारी दुर्घटना भएकोमा ५२७ जनाको मृत्यु भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा १ हजार १२२ सवारी दुर्घटना भएकोमा ४८४ जनाले ज्यान गुमाएका थिए। 

रुपन्देहीमा बढी, रुकुम पूर्वमा कम दुर्घटना
लुम्बिनी प्रदेशमा सबै भन्दा बढी दुर्घटना र मृत्यु हुने जिल्ला रुपन्देही हो। रुपन्देहीमा गत आर्थिक वर्षमा २३१ वटा सवारी दुर्घटना हुँदा १२२ जनाको मृत्यु भएको थियो। 

रुपन्देहीपछि दाङमा बढी दुर्घटना भएको देखिएको छ। दाङमा गत वर्ष २०३ वटा सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन्।

सबै भन्दा कम रुकुमपूर्वमा १६ वटा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खाँणले बढी जनसंख्या र सवारी हुँदा रुपन्देही र दाङमा बढि दुर्घटना हुने गरेको बताए। 

‘जहाँ जनघनत्व हुन्छ त्यहाँ सवारी साधनको संख्या पनि बढी हुन्छ’ उनले भने, ‘पूर्वदेखि पश्चिम जाने मुख्य राजमार्ग अनि सहरी क्षेत्र सवारी साधनको चाप भएकाले दुर्घटना बढी हुने भयो।’ 

त्यसै गरि गत आर्थिक वर्षमा बाँकेमा सवारी दुर्घटनाबाट ८२, कपिलवस्तुमा ६८, बर्दियामा ४६, नवलपरासी पश्चिममा ३४ जनाको मृत्यु भएको छ। पाल्पामा २५, प्युठानमा २४, रोल्पामा २१, गुल्मीमा १७, अर्घाखाँचीमा ९ र रुकुम पूर्वमा ८ जनाले सवारी दुर्घटनामा एक वर्षको अवधिमा ज्यान गुमाएका छन्। 

सवारी दुर्घटनाको कारण पहाडी क्षेत्रमा सडकको अवस्था भएपनि तराई क्षेत्रमा अरु कारण पनि रहेको छ। 

‘तराईमा मादकपदार्थ सेवन, बढी खाल्डाखुल्डी, चालकको लापर्वाही, पैदलयात्रीले जहाँ पायो त्यहीँबाट बाटो काट्ने जस्ता कारणबाट दुर्घटना हुने गरेको छ’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खाँणले भने। 

पहाडी क्षेत्रमा बाटो पनि साँघुरो, घुमाउरो, उकालो ओरालो सडक दुर्घटनाको मुख्य कारण भएको उनको भनाइ छ। त्यसबाहेक पानी परेको बेला चिप्लो सडक, ओभर स्पीड, लगायतका कारण पनि दुर्घटना हुने गरेको छ। 

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको अवस्था जहाँको तहीँ र सवारी चाप बढ्नु पनि दुर्घटनाको कारण रहेको उल्लेख गरे। 

‘रुपन्देही जस्ता तराई क्षेत्रमा भएको दुर्घटनामा केही मात्रामा चालकको लापर्वाही देखिन्छ’ उनले भने, ‘अन्य ठाउँमा कहीँ न कहीँ चालकको लापर्वाही पनि होला। त्यस बाहेक सडकको अवस्था, ट्राफिक व्यवस्थापन लगायत पनि कारण छन्।’ 

खरेलले सिन्डिकेट हटाएको नाममा यातायात व्यवसायीलाई प्रालिमा लगेपछि पनि अस्वस्थ प्रतिस्पर्धा बढेको र त्यसले पनि दुर्घटनाको जोखिम बढेको उल्लेख गरे। 

प्रालिका अध्यक्ष खरेलले दुर्घटना जोखिम न्यूनीकरणको लागि आफ्नो संस्थाबाट पनि विभिन्न पहलहरू भएको बताए। 

‘सवारी चलाउँदा लापर्वाही गर्ने चालकलाई सजायदेखि लिएर उनीहरुलाई जिम्मेवार बनाउने काममा हामी लागेका छौं’ उनले भने। 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहन खाँणले सवारी दुर्घटना न्यूनीकरणको लागि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको बताए। 

‘प्रदेशको आन्तरिक मामिला मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयसँग पनि समन्वय गरेर सरकारी तथा गैरसरकारी कार्यालयका चालक, सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि सडक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्यौं’ उनले भने ‘ओभरस्पीड, ओभरलोडलाई कन्ट्रोल गर्ने, मापसेलाई निरुत्साहित गर्ने, विद्यालयमा गएर शिक्षा दिने, कामहरु गरेका छौं।’ 

त्यसबाहेक सडकहरुमा संकेत राख्ने, चेकजाँचलाई निरन्तरता दिने कार्य भएको खाँणले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .