ad ad

लुम्बिनी


पश्चिमको ‘पशुपतिनाथ’ बोलबमधाममा दर्शनार्थीको घुइँचो

पश्चिमको ‘पशुपतिनाथ’ बोलबमधाममा दर्शनार्थीको घुइँचो

सुदीप भण्डारी
साउन ९, २०७९ सोमबार १६:३८, बुटवल

रुपन्देहीको सैनामैना नगरपालिका १ मा रहेको पर्रोहो परमेश्वर बोलबमधाममा सोमबार विहान ३ बजे नै भक्तजनहरू लामबद्ध थिए। तर मन्दिरको गेट भने साढे ४ बजे खुलेको थियो। विहान ८–९ बजेको समयमा दर्शनार्थीको लाइन मन्दिरदेखि डेढ किलोमिटर परसम्म पुगेको थियो।

पश्चिमको पशुपतिनाथ मानिने पर्रोहा बोलबम धाममा साउन महिनाको सोमबार भक्तजनहरूको निकै घुइँचो हुने गर्दछ। टाढा टाढाबाट पनि यहाँ जल चढाउन भक्तजनहरू आउने गर्दछन्। 

पश्चिम नवलपरासीको सुनवलबाट आएकी आकृती पुनले मन्दिरको दर्शनको लागि २ घण्टादेखि लाइन बसेको सुनाइन्। 

‘दुई घण्टाबाट उभिएका छौं। मन्दिर पुग्न अझै आधा घण्टा लाग्छ कि’ उनले भनिन्, ‘बोलबम जाम भनेर सबै साथीहरुसँग आएको।’ 

तराईको गर्मीमा कतिपय भक्तजन छाता ओढेर लाइनमा बसेका थिए। धेरै बिना छाता घाम सहँदै पूजा गर्ने प्रतिक्षामा थिए। 

बुटवलबाट बोलबमधाम पुगेकी सावित्री खड्काको पनि झण्डै आधा विहान लाइनमै वितेको थियो। 

‘सालैपिच्छे हामी जलार्पण गर्न यहाँ आउँछौं। अघिल्लो वर्ष कोरोनाले गर्दा आउन पाइएन।’ उनले भनिन्, ‘पहिला लक्ष्मणघाटबाट जल ल्याएर चढाउँथ्यौं। अहिले टाढा गइएन। तिनाउ नदीबाट जल ल्याएर चढाउँदै छौं।’ 

बोलबम धाम भन्दा केही पर सैनामैना रानीबगियाका खुमानन्द घिमिरे पनि लाइनमा थिए। 

‘यहाँ शक्ति छ, त्यसैले हामी प्रायः अरु बेलामा पनि आइरहन्छौं। साउनको सोमबार र शिवरात्रीमा यहाँ भिड हुन्छ’ उनले भने, ‘दोस्रो पशुपतिनाथ मानेर यहाँ भक्तजनहरु आउनुहुन्छ।’ 

पर्रोहा बोलबमधाममा रहेको शिवज्योर्तिलिंगमा जलार्पण गर्न आसपासका जिल्लाबाट मात्र होइन भारतबाट समेत भक्तजनहरु आउने गरेका छन्।

अघिल्ला दुई वर्ष कोरोना संक्रमणको कारण बोलबमधाममा चहलपहल हुन पाएन। यो वर्ष साउनमा पुनः भक्तजनहरुको चहलपहल सुरु भएको हो। बोलबमधाम व्यवस्थापन समितिका महासचिव प्रेमलाल भुसालले विहानैदेखि भक्तजनहरुको घुइँचो रहेको बताए। 

‘दुई वर्ष अघिदेखि कोरोनाको चपेटामा रहेको यो धाममा आज उल्लेख्य रुपमा भक्तजन आएका छन्। विहानैदेखि असाध्यै घुइँचो छ। दोहोरो लाइन बनाएका छौं’ उनले भने, ‘व्यवस्थापनको लागि सुरक्षाकर्मी, स्वयंसेवक खटाएका छौं। सकेसम्म सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाउन समितिका तर्फबाट हामी खटिइरहेका छौं।’ 

आज दिनभरमा एक लाख जति भक्तजनले दर्शन गर्ने भुसालले अनुमान गरे। साउनका बाँकी तीन वटा सोमबार भक्तजनहरु अझै बढ्न सक्ने उनको भनाइ थियो। 

पर्रोहा परमेश्वर बोलबम धाममा श्रावणी मेला समेत लागेको छ। असार २९ गते गुरुपूर्णिमादेखि सुरु भएको मेला साउन २७ गते जनैपूर्णिमासम्म चल्ने छ। 

मन्दिरको उत्तर सडकको दायाँबायाँ पूजा सामग्री, मिठाइ, घरेलु सामानहरु बिक्रीको लागि लहरै राखिएको छ। त्यस्तै चर्खे पिङ पनि राखिएको छ। 

श्रावणी मेला सँगै धामले जलार्पण यात्राको कार्यक्रम समेत राखेको छ। जस अनुसार यसअघि कपिलबस्तुको लक्ष्मणघाटबाट जलार्पण कार्यक्रम भइसकेको छ। नवलपरासीको त्रिवेणीबाट अहिले जलार्पण कार्यक्रम हुँदै छ। 

आइतबार जलार्पण यात्राको टोली त्रिवेणी पुगी त्यहाँबाट पैदलयात्रा जल लिएर आउने कार्यक्रम रहेको धाम व्यवस्थापन समितिका महासचिव प्रेमलाल भुसालले बताए। 

त्यस्तै साउन २१ गते गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रिडीबाट र साउन २४ गते देवघाटबाट जलार्पण यात्रा हुुने छ। रिडी र देवघाटबाट सवारी साधनबाटै जलार्पण कार्यक्रम हुने छ। 

त्रिवेणीदेखि बोलबमधामसम्म झण्डै ८० किलोमिटर जति पैदल जलार्पण कार्यक्रम राखिएको छ। विगतमा देवघाटबाट समेत पैदल जलार्पण यात्रा हुने गरेकोमा पछि त्रिवेणीबाट मात्र पैदल कार्यक्रम राखिएको हो।

पर्रोहा बोलबम धाममा रहेको शिव ज्योर्तिलिंगको उत्पत्ति कसले गर्यो, कहिले भयो भन्ने जानकारी कसैसँग छैन। शिव ज्योर्तिलिंग जस्तै यहाँ रहेका पार्वती र गणेशको मूर्ति पनि प्राचिन हुन्। 

करिब डेढसय वर्ष अघि चन्दभान चौधरीका (स्थानीय जो केही वर्ष अघि स्वर्गे भइसके) जिजुहजुरबुवाले जंगल र झाडी भित्र शिवलिंग फेला पारेका थिए। उनले शिवलिंगलाई आफ्नो घरमा लगेर स्थापना गर्ने प्रयास गरेका थिए। 

शिवलिंगलाई खन्दाखन्दै त्यसको फेद फेला पर्न नसकेर निकाल्न असफल हुनुपरेको स्थानीयको भनाइ छ। त्यसै समयमा ति चौधरीले सपनामा मलाई कोही कसैले कहीँ लान पाउँदैन भन्ने सुनेपछि सोही ठाउँमा मन्दिर निर्माण प्रयास गरेका थिए। 

तर मन्दिर निर्माण पुरा नहुँदै उनको मृत्यु भएको थियो। पछि मन्दिरमा राखिएका पुजारीको पनि मृत्यु भएको थियो। त्यसपछि मन्दिर बेवारिसे अवस्थामा रह्यो।

२०३५ सालमा भारतबाट एकजना नागाबाबा आएर अहिलेको बोलबमधाममा बस्न थालेका थिए। ती नागाबाबा सो स्थानको संरक्षण र व्यवस्थापनमा लागेका थिए। नागाबाबाले मन्दिर निर्माणको लागि व्यक्ति तथा सरकारी जग्गा उपलब्ध गराएका थिए। 

नागाबाबा बसेपछि यो स्थानको महत्व बढ्न थालेको धाम समितिका अध्यक्ष रामबली चौधरीको भनाइ छ। २०४५ सालको फागुनमा पर्रोहा बोलबम धाममा शिव पञ्चायन मन्दिर बनाउन जग बसालिएको थियो।

नयाँ मन्दिर निर्माण भएपछि २०४९ सालबाट जलार्पण कार्यक्रम सुरु भएको हो। त्यसयता प्रत्येक वर्ष जसो बोलबमधाममा जलार्पण कार्यक्रम हुने गरको छ। 

बोलबमधाममा शिव ज्योर्तिलिंग र शिवपञ्चायन मन्दिर बाहेक धाम सरोवर मुख्य आकर्षणको रुपमा छ। सरोवर अर्धचन्द्रकार आकारको पोखरी हो। पोखरीको बिचमा शिवजीको चतुर्भज मूर्ती छ। वरिपरी १ सय ८ शिवलिंग छ। 

शिवज्योतिर्लिंग भएको मूल मन्दिर भत्काएर नयाँ बनाइँदै छ। अहिले निर्माणधिन अवस्थामै मन्दिरमा भक्तजनहरुले दर्शन तथा जलार्पण गरेका छन्। 

नयाँ मन्दिर कलात्मक पुरातत्व भल्किने, ठूलो र आकर्षक हुने धाम व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले बताए। ६ करोड ५७ लाखमा ठेक्का सम्झौता भएको हो। सम्झौताको म्याद यही मंसिर मसान्तसम्म छ। 

मन्दिरको निर्माण सकिन थप केही महिना लाग्ने सम्भावना छ। पर्रोहा बोलबम धामको गुरुयोजना पनि बनेको छ। गुरुयोजना अनुसार अनुसार मन्दिर क्षेत्रमा केही पूर्वाधार थप गरी धामलाई आकर्षक बनाइने छ। 

‘नयाँ मन्दिर निर्माण र गुरुयोजना अनुसारका काम सम्पन्न भएमा पर्यटक आगमन अझ बढ्ने छ। धार्मिक पर्यटक मात्र नभई घुम्नका लागि आउनेको सख्या बढ्ने अनुमान गरेका छौं’ बोलबम धाम व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .