जीवनशैली


आमाको हिम्मत र अपरिचितको मिर्गौलाबाट सुस्मिताले पाएको नयाँ जीवन

आमाको हिम्मत र अपरिचितको मिर्गौलाबाट सुस्मिताले पाएको नयाँ जीवन

२४ वर्षिया सुस्मिता थापामगर अहिले हाँसेर थाक्दिनन्


समृद्धा केसी
माघ ९ , काठमाडौँ

पाँच वर्षसम्म मृत्युसँग लडिरहेकी २४ वर्षिया सुस्मिता थापामगर अहिले हाँसेर थाक्दिनन्। उनको मुहार हँसिलो र अनुहार निकै उत्साहित छ। 

११ कक्षामा पढ्ने सुस्मिता सानैदेखि पढाइमा अब्बल थिइन्। एक्कासि उनको हातखुट्टा र अनुहार सुन्निँदै गयो। अत्तालिँदै उनी घर नजिकै रहेको मेडिकलमा जान्छिन्। तर उनको शरीर धेरै सुन्निएको देखेर मेडिकलमा रहेका स्वास्थ्यकर्मीले तुरुन्त टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रगत जाँचका लागि पठाउँछन्। 

रिपोर्टले उनको दुवै मिर्गौलामा समस्या देखायो। उनी आमा सुशीलासँग त्रिवि शिक्षण अस्पताल पुग्छिन् तर त्यहाँ पालो कुर्नु पर्ने भएपछि ग्रान्डी अस्पतालमा गएको उनले बताइन्। 

अस्पातलमा सबै जाँच गरेपछि १९ वर्षको उमेरमै सुस्मिताको दुवै मिर्गौला बिग्रिसकेको प्रमाणित भयो। अस्पतालले उनलाई डायलासिस गर्न भन्यो।

सुस्मिताले भने मिर्गौलामा केही समस्या मात्र देखिएकोे होला एक–दुई डायलासिस गरेपछि निको हुन्छ भन्ने सोचिरहिन्। तर उनले चार वर्ष हप्तामा तीन पटकसम्म डायलासिस गर्नु पर्यो।

डायलासिस गर्दाको पीडा सम्झेर उनी भन्छिन्, ‘चार वर्षसम्म मैले जिन्दगीमा नभोगेको पीडा भोगेँ। सायद अब त्यो दुःख कहिल्यै भोग्नु पर्दैैन होला। मैले जस्तो दुःख कसैले भोग्न पनि नपरोस भन्छु म त।’

डायलासिसको क्रम बढ्दै जाँदा उनी हिँड्नै नसक्ने अवस्थामा पुगिन्। उनलाई बाँच्छु जस्तै लाग्थेन। तर आमा सुशीलाको हिम्मतले उनलाई बचायो। 

‘त बाँच्छेस्। तेरो मम्मी छ, तँ चिन्ता नली भन्नुहुन्थ्यो,’ सुस्मिताले सम्झिइन्, ‘मेरो लागि जे गर्नु पर्थ्यो सबथोक मम्मीलै नै गर्नु भयो। यदि मम्मी हुनुहुन्थेन भने म धेरै पहिला मरिसकेको हुन्थेँ होला।’

सबै खाने कुरा सुख्खा खाँदाखाँदै उनी आजित भइसकेकी थिइन्। 

‘एक जार पानी खान पाए त एकै पटक सक्दिन्थेँ जस्तो लाग्थ्यो,’ उनी भन्छिन् ‘पानीको महत्व त्यति बेला बुझेँ।’

आमाको संघर्ष
यता आमा सुशीलाले पनि सुस्मिताको भन्दा कम पीडा भोग्नु परेन। जब छोरीको दुवै मिर्गौला बिग्रिसकेको कुरा थाहा पाइन्, उनले संसार नै अन्धकार देखिन्। सुस्मिता घरकी जेठी छोरी हुन्। उनीपछि एक जना बहिनी र भाइ छन्। 

उनले भनिन्, ‘मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ। मेरो छोरीको दुवै मिर्गौला बिग्रिएको थाहा पाएपछि दिन आएको जस्तो पनि लाग्थेन, रात गएको जस्तो पनि लाग्थेन।’

यसअघि सुशीलाको परिवार अथवा नातेदार कसैमा पनि यस्तो घटना घटेको थिएन। सुशीलालाई साथ दिने कोही थिएन। श्रीमान जाँड खाएर बसिरहन्थे।

छोरीको उपचार गर्दागर्दै सुशीला कंलकीमा रहेको घर बेचेर नयाँ बसपार्कमा बस्न थालिन्। दुःखमा साथ दिनको साटो आफन्त पनि उल्टै ‘श्रीमान पनि गतिलो छैन, रोगी छोरीका लागि भएको घर पनि बेची’ भनेर उनको कुरा काट्थे। त्यसैले कसैले नचिन्ने ठाउँमा बस्न थालेको उनी बताउँछिन्। 

सुरुमा ठूलो अस्पतालमा उपचार गरेपछि निको हुन्छ भन्ने आशाले छोरीलाई ग्रान्डी अस्पतालमा उपचार गर्न लग्दा दिनमै एक लाखसम्म उपचार खर्च लागेको उनले सुनाइन्।

‘छोरी बिरामी परेको दुई वर्ष भएको थियो उसको बा पनि बित्नुभयो,’ उनले भनिन्, ‘त्यो बेलाको दुःख सम्झँदा अहिले पनि भक्कानो फुटेर आउँछ।’

नेपाल सरकारले निशुल्क डायलासिस सेवा दिए पनि सुस्मितालाई हप्तामा तीन पटकसम्म डायलासिस गर्दा भने धेरै दुःख पाएको उनले सुनाइन्। 

छोरीलाई बचाउन सुशीला आफ्नो मिर्गौला दिन तयार थिइन्। तर, मिलेन। आफन्त कसैको दिन मिल्छ कि भनेर सबैसँग हारगुहार गर्दा कसैले पनि दिन मानेनन्।

छोरीसँग हिम्मतिलो कुरा गरे पनि उनी भित्रभित्रै टुट्दै थिइन। उनी भन्छिन्, ‘जन्म दिए पनि कर्म दिन सकिनँ जस्तो लाग्थ्यो।’

सुशीलालाई भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्छ भन्ने थाहा भयो। उनी छोरीलाई बचाउने झिनो आशा लिएर त्यहाँ पुग्छिन्। पाँच सय जना पछि मात्र सुस्मिताको पालो रह्यो।

नाम टिपाएको दुई वर्षपछि ब्रेन डेथ भएका एक जना अपरिचितको मिर्गौला म्याच भएको सुशीलाले खबर पाइन्।  

पहिलेको दुःख र मिर्गौला फेरिएपछि छोरीले पाएको नयाँ जीवनलाई सुशीला अहिले व्याख्या नै गर्न सक्दिनन्। 

‘छोरीको मिर्गौला प्रत्यारोपण भएको ६ महिना भयो,’ उनले भनिन्, ‘अहिले त कहाँ हो कहाँ पहाड जिते जस्तो लाग्छ। तर छोरीलाई लागेको रोग शत्रुलाई पनि नलागोस् भन्ने कामना गर्छु।’

११ कक्षामा पढ्दापढ्दै बिरामी परेकी सुस्मिताको पाँच वर्ष रोकिएको पढाइलाई वैशाख देखि निरन्तरता दिने सुशीलाले बताइन्। 

सुस्मिताले जस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट एक हजार जनाले नयाँ जीवन पाएका छन्। 

केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठका अनुसार १० वर्षमा एक हजार जनाको सफल मिर्गौला प्रत्यारोपण भएको छ। 

सबैभन्दा बढी बागमती प्रदेशमा तीन सय १८ जना, प्रदेश १ मा दुई सय २३, गण्डकीमा एक सय ६२, लुम्बिनीमा एक सय १६, सुदूरपश्चिममा ३१ जना, कर्णालीमा २६ र १५ जना विदेशीको सफल मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा. श्रेष्ठले जानकारी दिए।  

केन्द्रमा दैनिक मस्तिष्क मृत्यु भएका व्यक्ति र आफन्तहरुबाट गरेर ६ देखि आठ जनासम्मकोे मिर्गौला प्रत्यारोपण भइरहेको उनी बताउँछन्। 

‘स्वास्थ्य क्षेत्रको कुनै पनि विधामा प्रत्यारोपण सेवालाई सबैभन्दा कठिन, मंहगो र चुनौतीपूर्ण मानिन्छ,’ उनले भने ‘केन्द्रले यस्तो जटिल सेवा सहज रुपमा दिरहेको छ।’

ब्रेन डेथ भएको मानिसको अंगदान गर्दा लिने व्यक्तिलाई त्यसको सम्पूर्ण जानकारी गोप्य राखिने गरेको समेत उनले बताए। 

अंग प्रत्यारोपणका लागि सरकारले पाँच लाख ६० हजार रुपैयाँ उपलब्ध गराउँदै आइरहेको छ। 
 

माघ ९, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.