भक्तपुरकी सपना चौधरीलाई एक्कासि चारैतिर सबैथोक घुमिरहेको अनुभव भयो। बसेको, सुतेको स्थानबाट उठ्दा केही समयदेखि रिँगटा लाग्ने समस्या देखिन थालेको थियो।
समस्या बढेपछि उनी टाउकोमा पो व्यथा लाग्यो भन्दै स्नायुरोग विशेषज्ञकोमा पुगिन्। चिकित्सकले रोग पत्ता लगाउन ‘एमआरआई’ गराए। रिपोर्टमा केही देखिएन।
चिकित्सकले मुटुरोग विशेषज्ञकहाँ जान भने। त्यहाँ विभिन्न परीक्षणपछि मुटुमा पनि समस्या देखिएन। चिकित्सकले उनलाई नाक, कान, घाँटी रोग विशेषज्ञकहाँ रिफर गरे।
सपना नाक, कान, घाँटी विशेषज्ञमा पुगिन्। चिकित्सकले विभिन्न परीक्षणपछि भित्री कानको समस्याले गर्दा रिँगटा आएको भन्दै केही औषधि दिए। र, केही व्यायाम गर्न सिकाए।

सिन्धुपाल्चोकका सन्तोष बस्नेतलाई पनि १ वर्षदेखि रिँगटा लाग्ने समस्या देखिइरहेको थियो। कमजोरीका कारण यस्तो भएको होला भन्दै उनी सुरुमा चिकित्सककोमा गएनन्।
बिहान उठ्नेबित्तिकै देखि प्रत्येक पटक बसेर उठ्दा रिँगटा लाग्ने बढ्दै गएपछि भने उनी डराए र अस्पताल गए।
चिकित्सकले रक्तचाप उच्च हुदा पनि रिँगटा लाग्ने भन्दै परीक्षण गराउन लगाए। परीक्षणमा उच्च रक्तचापको समस्या देखिएन। चिकित्सकले स्नायु र मुटुरोग विशेषज्ञको जान भने।
सन्तोषले दुवै चिकित्सकलाई देखाए। विभिन्न परीक्षण भयो, रोग पत्ता लागेन। चिकित्सकले कानको कारण पनि रिँगटा लाग्न सक्छ भन्दै नाक कान घाँटी रोग विशेषज्ञलाई देखाउन भने।
अन्तिममा त्यही ठहर भयो। केही समयको उपचारपछि सन्तोषको रिँगटा लाग्ने समस्या कम हँुदै गयो। रिँगटा अर्थात् ‘भर्टिगो’को समस्या भएकाहरू पहिले अन्य विशेषज्ञहरूबाट उपचार गरेर निको नभएपछि अन्तमा मात्रै नाक, कान, घाँटी विशेषज्ञकहाँ पुग्ने गरेका छन्।
वीर अस्पतालका नाक कान तथा घाँटी रोग विशेषज्ञ डा विजय खरेल रिँगटा लाग्दा धेरैजसो बिरामी मुटु, मस्तिष्क, नसा लगायतका चिकित्सकलाई देखाउने गरेको बताउँछन्।
उनी सबै जाँच भएर केही नदेखिएपछि अन्तमा रिफर भएर आउने सबैभन्दा बढी रिँगटाका बिरामी भएको बताउँछन्। कानको कारणले पनि रिँगटा लाग्छ भन्ने जानकारी नहुँदा बिरामीहरूलाई अनावश्यक जाँच, परीक्षणमा समयसँगै आर्थिक रूपले समेत अप्ठ्यारो हुने गरेको डा खरेल बताउँछन्।

उनका अनुसार सामान्यतः रिँगटाको समस्यालाई गम्भीर रोग मानेर व्यक्ति चिन्तित हुन्छ। तर यो रोग नभएर कुनै समस्याको लक्षण मात्र हो।
कान धेरै संवेदनशील अंग हो। यसले सुन्नुको साथै शरीरलाई सन्तुलित राख्ने कामसमेत गर्छ। रिँगटा आउने करिब ९० प्रतिशत कारण कानको समस्या रहेको डा खरेल बताउँछन्। रिँगटा भनेको आफू घुमेको वा वरिपरि घुमेको अनुभव गर्नु हो। यसमा आफू चारैतिरको वस्तु घुमिरहेको अनुभव हुन्छ। डा खरेलका अनुसार आँखाअगाडि अँध्यारो हुनुलाई समेत रिँगटा भन्ने गरिए पनि त्यो कानको कारणले लागेको रिँगटा होइन।
रिँगाटा विभिन्न कारणले लाग्छ। अन्य कारणले लाग्ने रिँगटा र कानको कारणले लाग्ने छुट्याउन सक्नु पर्छ। कानले गर्दा रिँगटा लागेको हो भने वरिपरिको सबै घुमाउँछ। बसेर उठ्दा, सुतेर उठ्दा पनि घुमाउँछ भने पनि कानको कारणले हुने रिंगटा हो।
कान पाकेर सुनाइ कम हुने, कान ढुम्म हुने समस्या पनि रिंगटासँगै आएको छ भने कानको कारणले रिँगटा लागेको बुझिन्छ। समस्या बढ्दै गई वान्ता हुने र अस्पताल नै भर्ना हुने अवस्था पनि आउने डा खरेल बताउँछन्।
किन लाग्छ रिँगटा?
डा खरेलका अनुसार आँखा, भित्री कान मांसपेशी वा मस्तिष्कमा समस्या भएमा रिँगटा लाग्छ।
सामान्य रूपमा हाम्रो शरीरलाई सन्तुलित राख्न आँखा, भित्री कान, मांसपेशीहरूले सूचनाहरूलाई मस्तिष्कसम्म पु¥याउँछ। उक्त सूचनालाई मस्तिष्कले बुझेर पुनः सूचनाहरूलाई आँखा, भित्री कान, मांसपेशीहरूमा पु¥याएर शरीरलाई सन्तुलित राख्न मद्दत गर्छ।
हामीले बोल्दा वा ध्वनिको तरंगले वायुमा कम्पन उत्पन्न हुन्छ। यो तरंग बाहिरी कानका माध्यमले भित्र प्रवेश गरेर कानको पर्दासँग ठोकिन्छ। र, कानको बीचमा रहेको हाडमा समेत पहिले भएजस्तै कम्पन उत्पन्न हुन्छ। यो कम्पन तीव्रतापूर्वक करिब १० गुणा विस्तार हुन्छ र यसले कानभित्र भएको द्रव्यमा समेत कम्पन उत्पन्न गर्छ। यो कम्पनले ‘कक्लिया’ हँुदै श्रवण स्नायुलाई प्रभावित गर्छ। श्रवण स्नायुले यसको सूचना मस्तिष्कको श्रवण केन्द्रलाई दिन्छ र हामी आवाज र ध्वनि सुन्छौँ।
यस्तै, भित्री कानमा एन्डोलिम्फ भरिएको हुन्छ। यसमा ससाना कणहरू हुने गर्छन्। जसलाई चिकित्कीय भाषामा ‘अटोकोनिया’ भनिन्छ। शरीर असन्तुलित हुँदा यी कणहरूले युट्रिकुलसका संवेदनशील रौँहरूमा हलचल उत्पन्न गर्छन्। श्रवण तन्त्रिकाको तन्तुले यो संवेदनालाई मस्तिष्कमा पठाउँछ। मस्तिष्कले उपयुक्त प्रतिक्रिया गर्ने प्रेरणा मांसपेशी र हाडजोर्नीलाई पठाउँछ। अनि यो मांसपेशीले संकुचित भएर शरीरको सन्तुलन कायम गर्छ।
शरीरलाई सन्तुलन बनाउनका लागि कानभित्र तीन वटा अर्धचन्द्राकार नली हुन्छन्। कतिपय समय यी तिनै सन्तुलन बनाउन सहायक सूक्ष्म तत्त्व अर्को नलीमा जाँदा पनि केही व्यक्तिलाई रिँगटा लाग्छ।
गर्धन हल्लाउँदा वा कोल्टो फेर्दा यसको बारे थाहा पाइन्छ। यो बाहेक कानको आन्तरिक भागमा स्थित युट्रिकल र सेक्युलमा असन्तुलन हुँदासमेत रिँगटा लाग्छ।
डा खरेल भन्छन्, ‘कहिलेकाहीँ कानको भित्री भाग एवं कान र मस्तिष्कलाई जोड्ने नसाहरूमा विभिन्न खाले संक्रमण हुँदा पनि रिँगटा लाग्ने गर्छ। केही विशेष प्रकारको औषधिहरूले समेत भित्री कानमा नकारात्मक असर पारेर रिँगटा लाग्न सक्छ। यस्तै कानको भित्री भाग र मस्तिष्कमा असर पर्ने चोटपटकले पनि कहिलेकाहीँ रिँगटा लाग्न सक्छ।

रिँगटा लाग्यो भने के गर्ने?
रिँगटा लाग्नेबित्तिकै सुरुमा कुनै वस्तुलाई समाएर तुरुन्त बस्नुपर्छ। रिँगटा लाग्दा वाकवाकी वा वान्ता हुन सक्छ। यस्तो भए आत्तिनु हँुदैन। रिँगटा प्राय दस–पन्ध्र सेकेन्डदेखि दुई–चार मिनेटसम्म लाग्ने गर्छ। त्यसपछि आफैँ निको हुन्छ। रिँगटा लगातार लागिरह्यो, वाकवाकी लाग्यो भने तत्काल अस्पताल गइहाल्नुपर्छ।
कानका कारण किन रिँगटा लाग्छ? रिँगटा लाग्ने समस्या बढे कसरी उपचार गर्ने भन्ने विषयमा वीर अस्पतालका नाक, कान घाँटी रोग विशेषज्ञ डा विजय खरेलको भिडिओ ब्रिफिङ :

प्रतिक्रिया