महिनावारी सुरु हुनुभन्दा पहिला नै हामीले बालिकाहरूलाई यसबारे पर्याप्त जानकारी दिन आवश्यक हुन्छ। यसका लागि विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ। विशेषतः विद्यालयमा नै शिक्षक–शिक्षिकाले उनीहरूलाई शिक्षित गर्नुपर्ने हुन्छ। त्यससँगै घरमा आमा, दिदी वा हजुरआमाले पनि उनीहरूलाई यसबारेमा राम्रोसँग सिकाउनुपर्छ। बुवा वा दाइसँग उनीहरू कम खुल्ने भएकाले घरका महिलाले नै यसबारे सजिलोसँग बुझाउन सक्छन्।
पहिलोपटक महिनावारी हुने बेला बालिकाहरू आत्तिन सक्छन्। किनकि, शरीरबाट रगत बग्ने कुरा उनीहरूका लागि नयाँ हुन्छ। शरीरबाट रगत बग्ने प्रक्रिया नियमित हो, यो सबै महिलालाई हुन्छ, यस्तो बेलामा आत्तिनुहुँदैन, लुकाउनुहुँदैन, सरसफाइमा ध्यान दिनुपर्छ भनेर हामीले सम्झाउनुपर्ने हुन्छ।
किन अनियमित हुन्छ महिनावारी?
१२/१३ वर्षमा जब महिनावारी सुरु हुन्छ, त्यसलाई हामी मेनार्क भन्छौँ। सुरुको केही वर्ष महिनावारी अनियमित हुन सक्छ। त्यसलाई हामीले सामान्य रूपमा नै लिन सक्छौँ। यो प्राकृतिक नै हो। १६ वर्षसम्म महिनावारी अनियमित हुनुलाई हामी समस्या मान्दैनौँ। त्यसपछि पनि महिनावारी अनियमित भयो भने चाहिँ उसमा अरू समस्या छ कि, किन यसरी महिनावारी गडबडी भयो भनेर हामीले सोच्नुपर्छ। यस्तो समस्या छ भने डाक्टरसँग सरसल्लाह लिनुपर्छ।
१९/२० वर्ष भइसकेको महिलाहरूमा अथवा वयस्कहरूमा महिनावारी नियमित भएन, ३५/४० दिन कट्दै गयो। डेढ महिना वा दुई महिनाको चक्र बन्न थाल्यो भने चाहिँ उहाँहरूले एकपटक चिकित्सकलाई देखाएको राम्रो हुन्छ। त्यसमा विभिन्न समस्या हुनसक्छन्। जस्तैः थाइराइडको समस्या हुनसक्छ। हर्मोनहरूको कारणले पनि यस्तो हुनसक्छ।
महिनावारी कस्तोखाले प्रक्रिया हो भने प्रत्येक महिना महिलाहरूको एउटा अण्डा परिपक्व हुँदै जान्छ र त्यो कम्तीमा १८/२० एमएमको भएपछि फुट्छ (जसलाई ओभुलेसन भनिन्छ) र रगत बग्छ, जसलाई हामी महिनावारी भन्छौँ। ओभुलेसन भइसकेपछि २८ वा ३० दिनमा महिनावारी हुन्छ। तर, जब ओभुलसन हुँदैन, त्यस्तो समयमा महिनावारी गडबडी हुन्छ, अनियमित हुन्छ। यस्तो बेलामा समयमै उपचार गर्यौँ भने त्यो ठीक हुन्छ।
रगत धेरै बग्नुको कारण

कतिपय महिलामा रगत धेरै जाने समस्या हुन्छ भने कतिपय महिलामा रगत कम जाने समस्या हुन्छ। कतिपयलाई चाहिँ नर्मल ब्लिडिङ हुन्छ। रगत कम जाने समस्या धेरै जोखिमपूर्ण होइन। तर, अत्यधिक रक्तश्राव हुनु जोखिमपूर्ण हुन्छ। प्रत्येक महिना ज्यादा बग्दै जाँदा यसले उसको शरीरमा रगतको कमी गराउँछ।
प्राकृतिक रूपमा हेर्ने हो भने, ८० एमएलभन्दा बढी ब्लड लस भयो भने त्यसले शरीरमा रगतको मात्रा घटाउँदै लैजान्छ भन्ने हुन्छ। कतिपय महिलामा ४/५ दिनसम्म मात्रै रगत बग्छ। तर, कतिपयमा ७/८ दिनसम्म पनि रगत बगिरहन्छ।
४ दिनसम्म ब्लिडिङ हुनु सामान्य हो। यदि तपाईंलाई ८/९ दिनसम्म पनि रगत बगिराख्यो भने त ५ दिन बढी रगत गयो तपाईंको शरीरबाट। अनि हरेक महिना यसरी बढीबढी रगत बग्दै जाँदा यसले तपाईंको शरीरमा रगतको मात्रा त घटाउने भयो। यसले हेमोग्लोबिनको मात्रा घटाउँदै जान्छ। हेमोग्लोबिनको मात्रा घट्दै जाँदा शरीरमा थकान हुने, नियमित कामहरू गर्न नसक्ने, शरीर गल्ने, निन्द्रा चाँडोे लाग्ने, पढ्न नसक्ने, एकाग्र भएर कुनै पनि काम गर्न नसक्ने, इरिटेसन हुने जस्ता समस्याहरू आउँछन्। यसकारण यस्ता समस्याहरू नआओस् भन्नका लागि समयमा नै हामीले ध्यान दिनुपर्ने हुन्छ। ज्यादा रक्तश्रावको समस्या छ भने डाक्टरलाई देखाइहाल्नुपर्छ।
किन धेरै रगत बग्यो त भन्ने कुरा हामीले खोज्नुपर्छ। कम उमेरका व्यक्तिहरूमा चाहिँ अण्डा समयमा नबनेर त्यसको कारणले धेरै रगत जान्छ। त्यस्तो अवस्थामा हामीले कहिलेकाही हर्मोनल टेस्टहरू गरेर हेर्छौँ। हर्मोनल टेस्टहरू सबै ठिक छ भने सामान्यतया औषधिहरूले पनि त्यसलाई ठिक गर्छ र विस्तारै ओभुलेसन हुन थालेपछि ठीक हुन्छ।

उमेर पुगेका (३०/३५ कटेका) महिलाहरूमा चाहिँ ब्लड धेरै जाने समस्या विभिन्न कारणले हुनसक्छन्। पाठेघरमा समस्या छ भने त्यो कारणले पनि हुन्छ। पाठेघरमा ट्युमरहरू पलाएको हुनसक्छ। औषधिले मात्रै नभएको खण्डमा चाहिँ हामीले हर्मोनल ट्रिटमेन्ट नै गर्नुपर्ने हुन्छ र कतिपय अवस्थामा चाहिँ अप्रेसन पनि गर्नुपर्ने हुनसक्छ।
महिनावारीका बेला किन हुन्छ पीडा?
व्यक्तिको दुखाइ खप्न सक्ने क्षमता कति छ, त्यसले पनि फरक पार्छ। सामान्यतयाः ‘माइल्ड डिस्मेनोरिया’ चाहिँ सबैमा आउँछ। पेट क्र्याम्प हुने र दुख्ने हुन्छ। यस्तो पीडा हुँदा आराम गर्ने, हट वाटर ब्यागले सेक्ने, तातो खानेकुराहरू खाने गर्न सकिन्छ।
‘सिभिअर डिस्मेनोरिया’ भनेको चाहिँ अलि गम्भीर खालको हो। यसलाई हामीले एक हिसाबले रोगकै रूपमा पनि लिन सक्छौँ। अर्थात् यसमा पीडा धेरै हुन्छ। अहिले धेरै महिलाहरूमा ज्यादा देखिएको एन्डोमेट्रिओसिस भन्ने समस्या छ। जसले गर्दा निसन्तानपनको समस्या पनि बढाइराखेको छ। ज्यादा दुख्ने बिरामीहरूलाई चाहिँ हामीले हर्मोनहरू पनि दिनुपर्ने हुन्छ। इन्जेक्सनहरू पनि दिनुपर्ने हुन्छ।
पीडा कम गर्न कतिपयले औषधि पनि लिने गर्नुहुन्छ। सामान्यतया पेट दुख्दामा धेरै पेनकिलर खानु राम्रो होइन। किनभने पेनकिलरका आफ्नै साइडइफेक्टहरू छन्। जँचाएर धेरै पीडा हुँदा कहिलेकाहीँ मात्रै खाने गर्न सकिन्छ। हट वाटर ब्यागले सेक्ने, तातो पानी खाने, आराम गर्ने गर्दा त्यो पीडा विस्तारै कम हुँदै जान्छ।
सरसफाइमा ध्यान दिनुपर्ने कुरा
महिनावारीका बेलामा सरसफाइमा धेरै ख्याल गर्न जरुरी छ। नेपाली समाजमा त यो कुरा हामीले अलि जोड दिएर नै भन्नुपर्ने हुन्छ। किनभने हाम्रो समाज कस्तो छ भन्दा महिनावारी लुकाएर राख्नुपर्छ, अरूलाई भन्नुहुँदैन भन्ने खालको छ। कतिपय ठाउँमा त अहिले पनि तपाईंहरूले सुन्नु नै भएको होला, गोठमा राख्ने चलन छ। महिनावारी भएपछि उसलाई गोठमा राखिदिने, एक्लै राखिदिने, पुराना कपडा लगाउन दिने, उसलाई पोषिलो खानेकुराहरू पनि खान नदिने। यो कुरीतिहरूले महिनावारी उमेरका महिला र किशोरीहरूमा एकदमै जोखिम निम्त्याउँछ। सरसफाइ र हेरचाह नहुँदा संक्रमणको डर हुन्छ।

महिनावारी भएको बेलामा महिलाहरूले आफ्नो सरसफाइमा एकदमै ख्याल गर्नुपर्ने हुन्छ। नियमित नुहाउने, कपडा चेन्ज गर्ने। बेलाबेलामा प्याडहरू फेर्ने। प्याडको उपलब्धता छैन भने नरम सूतीका कपडाहरू प्रयोग गर्न सकिन्छ। तर, त्यसलाई साबुन पानीले धोएर घाममा मज्जाले सुकाउनु पर्छ। धोएर घाममा सुकाएको कपडाहरू मात्रै प्रयोग गर्नुपर्छ। नत्र संक्रमण हुने जोखिम रहन्छ। दूध, गेडागुडी, माछामासु, फलफूल लगायतका पोषिला खानेकुराहरू खानुपर्छ।
महिनावारीसँग जोडिएका रुढीवादी परम्परा र अन्धविश्वासहरूलाई हटाउन गाउँका अगुवा, शिक्षक शिक्षिका, जनप्रतिनिधिहरूले काम गर्न सक्छन्। हामीकहाँ सरकारी कार्यालय, अस्पतालहरू, विद्यालय तथा अन्य विभिन्न कार्यालयहरूमा सफा शौचालय, पर्याप्त पानी तथा महिनावारी सरसफाइसँग सम्बन्धित अन्य चिजहरूको सहज उपलब्धता छैन। यसले महिलाहरूलाई धेरै समस्या हुन्छ। सार्वजनिक शौचालयहरूको सहज उपलब्धता छैन।
यी कुराहरूमा सरकार र अन्य जिम्मेवार निकायले ध्यान दिनुपर्छ। एउटी महिला स्वस्थ हुनु भनेको भोलि उसले जन्माउने बच्चा स्वस्थ हुनु हो, सिंगो परिवार र समाज स्वस्थ हुनु हो। त्यसकारण महिनावारी स्वास्थ्यको विषय महत्त्वपूर्ण छ।
(डा. श्रीप्रसाद अधिकारी परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक हुन्)
भिडिओ
Shares

प्रतिक्रिया