जीवनशैली


ब्युँझिनेबित्तिकै फोन समातिहाल्नु हुन्छ? गल्ती गर्दै हुनुहुन्छ

ब्युँझिनेबित्तिकै फोन समातिहाल्नु हुन्छ? गल्ती गर्दै हुनुहुन्छ

नेपालखबर
असोज २४, २०८१ बिहिबार ७:७,

‘द ट्राइपड’ नामक पडकास्ट सुनिरहेकी थिएँ। प्रस्तोता ज्याक कर्नफेल्डले आफूले बिहान उठ्नेबित्तिकै फोन समाउनुको सट्टा पिकलबल खेल्न थालेको बताए। यो बदलावले उनको ‘मुड’ ठिक गरेको उनको भनाइ थियो।

यो उनको व्यक्तिगत विचारजस्तो लाग्यो मलाई। तर, त्यसले मलाई भित्रसम्म छोयो। लामो समयदेखि बिहान उठेपछि मलाई डरजस्तो लागिरहेको थियो। के बिहानै फोन स्क्रोल गर्न छाड्दा केही फरक पर्ला त!

भोलिपल्ट म उठेँ र फोनमा आफूलाई कुनै पनि एप चलाउन दिइनँ। त्यतिबेलासम्म, जतिबेलासम्म मैले कुकुर डुलाइसकिनँ।

त्यसले काम गर्‍यो। डरको भावना आएन।

अर्को दिन पनि यसले काम गर्‍यो। त्यसयता उठ्नेबित्तिकै फोन नसमात्दा मेरो मुड पनि ठिक छ। यस्तो हुनु स्वाभाविक भएको बताउँछिन् क्यालिफोर्नियास्थित मिडिया साइकोलोजी रिसर्च सेन्टरकी निर्देशक डा. पामेला रुटलेज।

उनका अनुसार भर्चुअल होइन, वास्तविक दुनियाँको कुनै पनि क्रियाकलापमा सहभागी हुँदा आफ्नो निर्णयमाथि आफ्नो पकड रहेको महसुस हुन्छ, जसका कारण ठूलो फरक पर्छ।

‘त्यसो हुँदा तपाईंले सकारात्मक भावनाका साथ दिनको सुरुवात गर्नुृहुन्छ। जुन दिगोपना, उत्पादनशीलता, नयाँ अनुभव लिने उत्साहमा बदलिन्छ,’ रुटलेज भन्छिन्, ‘यसले आसपासका मान्छेहरूप्रति तपाईंको व्यवहारमा पनि राम्रो परिवर्तन ल्याउँछ।’

सामाजिक सञ्जाल र स्क्रिन टाइम पूरै बन्द गर्न सायद सम्भव छैन। तर, आफ्नो कसरी प्रयोग गर्ने भन्नेबारे अलिकति होसियारी अपनाउँदा मात्र पनि ठूलो फरक पर्ने विज्ञहरू सुझाउँछन्।

दिनको खराब सुरुवात
‘निद्राबाट एकैपटक फोनमा आँखा पुर्‍याउनु ब्युँझिने अप्ठेरो तरिका हो,’ विद्यार्थीहरूलाई स्क्रिन समय सीमित गर्न सिकाउने बेलायती कार्यक्रम ‘बि डिभाइस वाइज’की मनोचिकित्सक डा. सार्लोट आर्मिटेज भन्छिन्।

फोनले ब्लु लाइट फाल्ने र त्यसले मानिसको स्ट्रेस हर्मोन कोर्टिसोल उत्पादन गर्ने उनको भनाइ छ।

‘कोर्टिसोलले मुटुको धड्कन तेज बनाउँछ। त्यसको नतिजा बेचैनीको भाव उत्पन्न हुन्छ,’ उनी थप्छिन्।

बिहानै फोन हेर्दा ब्लु लाइटले मात्रै होइन, फोनमा देखिने सामग्रीले पनि मान्छेलाई बेचैन बनाउन सक्छ,’ आर्मिटेज भन्छिन्।

नराम्रो खबर, अनलाइन झगडा वा सूचनाको बाढीले पनि धेरै उर्जा र मानसिक स्रोत खपत गर्ने उनको भनाइ छ। 

‘सामाजिक सञ्जालको अल्गोरिदम तपाईंको ध्यान खिच्ने तरिकाले डिजाइन गरिएको हुन्छ। तपाईंलाई आकर्षित गर्ने नाकारात्मक सामग्री तपाईंतिर आइरहन्छ,’ उनी भन्छिन्, ‘दिनका लागि तपाईं तयार हुनुभएकै हुन्न। त्यस्तो अवस्थामा त्यस्ता सामग्रीले तपाईंलाई सुस्त र उदासीन बनाउन सक्छ।’

फोन चलाउनुस्, फोनले तपाईंलाई नचलाओस्
कम हानिकारक तरिकाले फोन चलाउन सकिने पनि रुटलेज बताउँछिन्।

‘अलार्मका लागि प्रयोग गर्नुहुन्छ वा मौसमको अवस्था हेर्नुहुन्छ भने राम्रै हुन्छ,’ उनी भन्छिन्, ‘तर, अर्कोतिर, मानसिक रूपमा दिनको योजना समेत नबनाई तपाईं इमेल, सामाजिक सञ्जाल वा समाचारमै डुबिराख्नुहुन्छ भने आफ्नो लक्ष्य र आवश्यक तयारीबारे सोच्नै नपाई तपाईं दबाबमा परिसक्नुहुन्छ।’

त्यस्तै, अनलाइन सामग्रीहरू नसोची उपभोग गर्नुको सट्टा आफूलाई आनन्द महसुस हुने सामग्री खोज्न पनि उनी सुझाउँछिन्।

मानिस सामाजिक प्राणी भएकाले प्रत्येक कल, मेसेज वा नोटिफिकेसनको जवाफ नदिनु कठिन हुन्छ तर त्यसो गर्दा जथाभावी नगर्न र सही विकल्प चुन्न उनको आग्रह छ।

‘हामी प्रायः भुल्छौँ, फोन हामीले चलाउने हो, फोनले हामीलाई होइन,’ उनी भन्छिन्।

गर्न सकिने परिवर्तन
बिहान फोनमा कुनै नोटिफिकेसन वा कल आउँदा छुट्ने डर भयो भने के गर्ने?

फोन एयरप्लेन मोडमा राख्न र दिनको सुरुवात नगरुञ्जेल नहेर्न सुझाउँछिन आर्मिटेज। 

‘बिहानको समय अनलाइन सम्बन्धमा होइन, वास्तविक दुनियाँको सम्बन्धमा ध्यान केन्द्रित गर्दा वास्तवमा आफ्नाहरूसँग जोडिएको महसुस हुनसक्छ,’ उनले भनिन्, ‘यसले तपाईंको शरीर र दिमागलाई दैनिक जीवनसँग जुध्नुअघि शान्त तरिकाले दिनका लागि तयार हुन पनि सघाउँछ।’
 
स्क्रिन खोलिसकेपछि पनि बच्चा, साथी, परिवारजस्ता सामुन्ने रहेका मानिसहरूलाई ध्यान दिन सुझाउँछिन् उनी। 

र, सुत्नुभन्दा एक घण्टापहिल्यै फोन बन्द गर्न उनको सिफारिस छ।

‘तपाईंलाई आकर्षित गर्ने सामग्रीले तपाईं दिमागलाई दिमाग सक्रिय बनाउँछ, जसका कारण निदाउन कठिन हुन्छ,’ उनी भन्छिन्।

फोन प्रयोग गर्दा त्यसका सीमा तय गर्न र त्यसलाई ननाघ्न उनको सुझाव छ।

‘त्यति गरे फोनमाथि तपाईंको नियन्त्रण हुन्छ, नकि तपाईंमाथि फोनको,’ आर्मिटेज भन्छिन्। सीएनएन
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad