जीवनशैली


नेपालमा देखिएका ओमिक्रोनका सब-भेरियन्ट कति घातक?

नेपालमा देखिएका ओमिक्रोनका सब-भेरियन्ट कति घातक?

फाइल तस्बिर।


नेपालखबर
चैत २३, २०७९ बिहिबार १२:३१, काठमाडौँ

भारतमा कोरोना संक्रमण दर उकालो लागेसँगै नेपालमा पनि त्यस्तै संकेत देखिन थालेको छ। एकसातायता संक्रमण बढ्न थालेको छ।

नेपालमा सन् २०२२ मा देखिएको ओमिक्रोनको सब–भेरियन्ट अहिले विश्वभर फैलिरहेको छ।

सब–भेरियन्टमध्ये सबैभन्दा बढी देखिएको एक्सबीबी १.१६ अहिले २२ देशमा पुगिसकेको छ। यसबाट भारतमा सबैभन्दा बढी संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतभर विभिन्न ठाउँबाट २४ वटा नमुना संकलन गरेर भाइरसको आनुवंशिक परिवर्तन पहिचानको जाँच गराएको थियो। 

जसमध्ये १५ वटा नमुनामा ओमिक्रोनको म्युटेड भएर सबभेरियन्ट ‘एक्सबिबी’ पुष्टि भयो।  

‘एक्सबिबी’ पुष्टि भएका १५ नमुनाहरुमा एक्सबिबी १.१६ दश जनामा, एक्सबिबी १.५ तीन जना, एक्सबीबी २.६ एकजना र एक्सबीबी १ एकजनामा देखिएको मन्त्रालयले जनाएको छ। 

अहिले नेपालमा देखिएको ओमिक्रोन २०२२ मा देखिइसकेको हो। त्यो बेला पनि मानिसहरु धेरै संक्रामक भए पनि गम्भीर दीर्घ ररोगीबाहेक अरु भएनन्। 

ओमिक्रोन फैलिएको एक वर्षमा यसले आफ्नो स्वरुप परिवर्तन गरेर धेरै किसिमका सब–भेरिन्ट देखिरहेको संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले जानकारी दिए। 

‘नेपालमा अहिलेसम्म यसको ९ वटा सब–भेरियन्ट देखिएको छ’ उनले भने ‘अझ धेरै अध्ययन हुन बाँकी छ।’ अमेरिकामा एक्सबीबी १.५ धेरै देखिइरहेको  बताउँदै उनले भारतमा भने एक्सबिबी १.१६ पाइएको बताए। 

बिरामीलाई यी सब–भेरियन्टहरुले ओमिक्रोनभन्दा गम्भीर बनाइरहेको उनले बताए। तर पहिलो र दोस्रो लहरको जस्तो गम्भीर भने यसले नबनाउने उनको अनुमान छ।

‘बिरामी किन पहिलोको जस्तो गम्भीर हुँदैन भने मानिसहरू पटक–पटक गरेर कोरोना संक्रमित बनिसकेका छन्,’ उनले भने ‘धेरैले खोप पनि लगाइसकेकाले गम्भीर बनाउँदै भन्ने छ। तर खोप नलगाएइका व्यक्तिलाई भने गाह्रो बनाउन सक्छ।’

डा. कोइरालाका अनुसार यी सब–भेरियन्ट फैलिएका अन्य देशहरुमा संक्रमितको अवस्था हेर्दा बिरामीलाई त्यति गाह्रो बनाएको देखिँदैन। 

‘सावधानीको कुरा गर्दा पहिले कोभिडको बेला अपनाइएका उपाय नै अपनाउनुपर्छ’, उनले भने, ‘ओमिक्रोनका लागि फाइजर खोप बढी प्रभावकारी मानिएको छ।’

संक्रमितको संख्या बढी भए पनि धेरैले जाँच नगराई घरमै बसिरहेको हुन सक्ने बताउँदै उनले त्यसो गर्दा संक्रमण भित्रभित्र फैलिरहने भएकाले विशेष सावधानी अपनाउन सुझावसमेत दिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग डा. शेरबहादुर पुनका अनुसार पछिल्लो समय अस्पतालमा कोरोनाका बिरामी बढ्न थालेका छन्। 

एक्सबीबी १.१६ ओमिक्रोन उपप्रजातिको हाइब्रेड रहेकाले खासै संक्रामक नरहेको सरुवा रोग विशेषज्ञ डा. पुनले बताए।  

डेल्टा जस्तो घातक नभए पनि यी सब–भेरियन्टहरू ओमिक्रोनभन्दा घातक रहेको डा. पुनले बताए। 

यद्यपि कोरोना फैलिएका सुरुवाती दिन जस्तो अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनी बताउँछन्।

कोरोना भाइरसको भेरिएन्ट ओमिक्रोन हुँदा बिरामीलाई बढी रुघाखोकी लाग्ने र घाँटी दुख्ने लक्षण देखिन्थ्यो। अहिले स्वाद र गन्ध थाहा नपाउने समस्या बढी देखिएको पुनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .