महिलाहरु किशोरी अवस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ। नियमित महिनावारी चक्र २१ देखि ३५ दिनको हुने गर्छ।
साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ तर अहिले परिवर्तित जीवनशैली र वातावरणमा आएको परिवर्तनका कारण ९/१० वर्षदेखि नै हुन्छ।
महिनावारी एक महिलाको जीवनमा हुने नर्मल साइकल हो।
महिनावारी किन गडबडी हुन्छ?
स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सुशीला वैद्यका अनुसार महिनावारीको सुरुवाती दिनहरुमा गडबडी हुनु एकदमै सामान्य हो।
तर उमेर बढ्दै जाँदा गडबडी धेरै कारणले हुने उनको भनाइ छ।
‘तनाव, अस्वस्थता, रगतको कमी, डिम्बाशयमा कुनै संक्रमण, जथाभावी औषधि सेवन र हर्मोनमा गडबडी हुँदा पनि महिनावारी अनियमित हुन्छ’, डा. वैद्य भन्छिन्।
महिनावारीमा सरसफाइमा कसरी ध्यान दिने?
उनका अनुसार हरेक पटक प्याड अथवा कपडा परिवर्तन गर्दा योनि सफा पानीले धुने गर्नुपर्छ।
त्यस्तै सफा कपडाको मात्र प्रयोग गर्ने, प्याड अथवा कपडाको प्रयोग गर्दा धेरै रगत जम्मा हुने गरी प्रयोग नगर्ने गर्नुपर्छ।
महिनावारी भएको कति दिनमा बच्चा बस्छ?
सामान्यता २८ देखि ४० दिनको फरकमा हुने महिनावारीलाई नियमित महिनावारी मानिने डा. वैद्य बताउँछिन्।
‘नियमित महिनावारी हुने महिलामा भने महिनावारी भएको १४ दिनदेखि २२ दिनसम्म बच्चा बस्ने सम्भावना हुन्छ’, उनले भनिन्।
अण्डा निस्किएको ४८ देखि ७२ घण्टासम्म महिलाको फेलोपिनभित्र शुक्रकीटहरू बाँच्न सक्छन्।
डा. वैद्यका अनुसार डिम्बाशयबाट अण्डा निस्किनु केही दिनअघिको र केही दिनपछिको समयलाई गर्भाधारणको दृष्टिकोणले सुरक्षितकाल मानिन्छ भने गर्भ नचाहिनेको लागि असुरक्षित मानिन्छ।
(स्त्री क्यान्सर रोग विशेषज्ञ डा. वैद्यसँगको कुराकानीमा आधारित)
Shares

प्रतिक्रिया