ad ad

जीवनशैली


स्थानीय तहले यसरी गर्नुपर्छ महिलामा हुने क्यान्सर रोकथाम

स्थानीय तहले यसरी गर्नुपर्छ महिलामा हुने क्यान्सर रोकथाम

फाइल।


समृद्धा केसी
माघ २१, २०७९ शनिबार ७:४०, काठमाडौँ

नेपालका महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिएको छ। दोस्रो स्थानमा भने स्तन क्यान्सर छ। क्रमशः तेस्रोमा फोक्सोको क्यान्सर र चौथोमा पित्तथैलीको क्यान्सर छ। 

सन् २०२० मात्र नेपालमा दुई हजार २४४ जना पाठेघरको मुखको क्यान्सर र एक हजार ९७३ जना स्तन क्यान्सरका बिरामी थपिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्याङ्कमा उल्लेख छ। 

नेपालमा हालसम्म वर्षेनि कति जनालाई क्यान्सर लाग्छ, कतिको मृत्यु हुन्छ भनेर अध्ययन, अनुसन्धान नभए पनि ग्लोबल क्यान्सर अब्जर्भेटरीले नेपालका महिलाको सबैभन्दा धेरै पाठेघर मुखको क्यान्सरका कारण मृत्यु भइरहेको देखाएको छ। 

नेपालमा ४० देखि ६० वर्षका महिलाहरुमा पाठेघर मुखको क्यान्सर बढी देखिरहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीले बताए। कोसिकाहरु अस्वाभाविक रुपमा वृद्धि हुनुलाई क्यान्सर भनिने र यो रोग जुनसुकै अङ्गमा लाग्नसक्ने डा. शाही बताउँछन्। 

डा. शाहीका अनुसार, ग्रामीण र दुर्गम क्षेत्रका महिलामा पाठेघरको मुखको क्यान्सर र पित्तथैलीको क्यान्सर बढी देखिन्छ भने सहरी क्षेत्रका महिलामा स्तन, डिम्बाशयको क्यान्सर बढी देखिरहेको छ। 

सहरी क्षेत्रका महिलामा क्यान्सरबारे केही चेतना भए पनि गाउँका महिलामा अझै पनि क्यान्सर रोगबारे चेतना नभएको उनी बताउँछन्।

‘क्यान्सर लागेका महिलाहरु निकै ढिलो अस्पताल आउने भएकाले पनि उपचार निकै खर्चिलो र ज्यान बचाउन पनि उत्तिकै चुनौतीपूर्ण हुने गरेको छ,’ उनले भने। 

घरको एक जना व्यक्तिलाई क्यान्सर लाग्यो भने सिंगो परिवारलाई नै असर गर्ने र निकै खर्चालु रोग भएकाले नेपालमा सबैभन्दा पहिला स्थानीय तहबाटै क्यान्सर रोगबारे जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ।

स्थानीय सरकारको भूमिका के? 
क्यान्सर रोग नियन्त्रण र रोकथामका लागि स्थानीय सरकारको निकै ठूलो भूमिका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.चुमनलाल दासले बताए। 

उनी भन्छन्, ‘अरु भन्दा पनि महिलामा देखिने पाठेघरको मुखको र स्तन क्यान्सर रोकथामका लागि स्थानीय सरकारको निकै ठूलो भूमिका रहन्छ। पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा पहिला नै खोप दिएर रोकथाम गर्न सकिने भएकाले सरकारी तहबाट यसमा निकै काम गर्न सकिन्छ।’

क्यान्सर रोकथामका लागि केन्द्रले गाइडलाइन बनाइदिने र प्रशिक्षण दिने, त्यसपछि प्रदेश र स्थानीय सरकार मिलेर अगाडि बढ्नु पर्ने उनले बताए। 

स्थानीय सरकारले क्यान्सरको जोखिम न्यूनीकरण गर्नेदेखि लिएर स्क्रिनिङ गरेर रोग पत्ता लागे प्रदेश र केन्द्रमा रिफर गर्नु पर्नेमा उनले जोड दिए। 

स्थानीय तहका जनप्रतिनिधि बिरामीको प्रत्यक्ष सम्पर्कमा पुग्ने भएकाले उनीहरुले बिरामीको अवस्थालाई नजिकबाट नियालिरहेका हुन्छन्। त्यसैले क्यान्सर नियन्त्रण र रोकथामका स्थानीय सरकारले नै उचित कदम चाल्नु पर्ने महाशाखा प्रमुख डा. दासको भनाइ छ। 

‘मुख्य गरेर स्थानीय सरकारले नेतृत्व लिएर घर–घरमा गएर महिलामा देखिने पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ गर्ने र जनचेतना फैलाउने गर्नुपर्छ,’ उनले भने।

स्थानीय सरकारले क्यान्सर रोकथामका लागि पहल गरेन भने केन्द्रले ठुल्ठूला अस्पताल र मेसिनहरु मात्र ल्याएर क्यान्सर नियन्त्रण गर्न नसकिने उनी बताउँछन्। महाशाखाले क्यान्सर रोग नियन्त्रण र रोकथामका लागि रणनीति बनाएर काम गर्न लागेको समेत उनले जानकारी दिए।

‘रणनीतिमा महिलामा देखिने क्यान्सर नियन्त्रणका लागि स्क्रिनिङलाई प्राथामिकतामा राखिएको छ,’ उनले भने। 

स्थानीय सरकारले सबैभन्दा पहिला रोकथाम गर्न सकिने पाठेघरको मुखको क्यान्सरका लागि खोप अभियान नै चलाउनु पर्ने वीर अस्पतालका अङ्कोलोजी विभाग प्रमुख डा. विवेक आचार्यको सुझाव छ।

‘स्थानीय सरकारले ४० वर्ष नाघिसकेका महिलाहरुमा स्तन र अन्य कुनै क्यान्सर छ वा छैन भनेर हरेक वर्ष निशुल्क स्क्रिनिङ गर्न सक्नु पर्छ,’ उनले भने।

उनका अनुसार सरकारले हरेक विद्यालयमा एक जना नर्स राख्ने कार्यक्रम ल्याएको छ, उनीहरुकै माध्यमबाट पनि क्यान्सर बनाउन सक्ने मुख्य कारक तत्व मानिने धुम्रपान कति हानिकारक छ भनेर विद्यालयमा छलफल गर्नु पर्छ। 

‘पाठेघरको मुखको र स्तन क्यान्सर लागिहाल्यो भने उपचारका लागि सरकारले सातै प्रदेशमा रेडियसन मेसिन, केमोथेरापी र सर्जरी गर्न सक्ने क्षमताको क्यान्सर अस्पताल नै निमार्ण गर्नु पर्यो,’ उनले भने। 

त्यस्तै महिलाले पनि पाठेघर र स्तन क्यान्सरबाट जोगिनका लागि स्वस्थ जीवनशैली अपनाउनु पर्ने कुरामा डा. अरुण शाहीले जोड दिए। 

‘क्यान्सर रोगको जोखिमबाट बच्नका लागि सूर्तिजन्य पर्दाथको सेवन नगर्ने, प्रजनन अङ्गको सरसफाइमा विशेष ध्यान दिने र धेरै जनासँग यौन सम्पर्क नराख्ने जस्ता सावधानी अपनाउनु पर्छ,’ डा. शाहीले भने।

स्थानीय सरकारले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नौ देखि १४ वर्ष पुगेको बालकालिकालाई स्कुल–स्कुलमा गएर पाठेघर मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप अभियान सक्दो चाडो सञ्चालन गर्नु पर्ने डा. शाही बताउँछन्। 

‘क्यान्सर उपचार निकै मंहगो भएकाले सरकारले दिरहेको एक लाख रुपैयाँले पुग्दैन। त्यसैले हरेक स्थानीय तहले सहयोग गर्नुपर्छ,’ उनले भने।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले पनि महिलाहरुमा देखिने क्यान्सर रोकथामका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेकोे बताइन्। 

पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारणमा सानै उमेरमा विवाह र धेरैसँग यौन सम्पर्क भएकाले यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

धुमपान गर्ने महिलामा पनि यसको जोखिम हुने भएकाले स्थानीय सरकारले सूर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउनु पर्नेमा उनले जोड दिइन्। 

‘पाठेघरको मुखको क्यान्सरबाहेक अरु कुनै पनि क्यान्सर लाग्नुभन्दा पहिला रोकथाम गर्न सकिँदैन। त्यसैले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सरकारले बालिकाहरुलाई खोप लगाउनु नै पहिलो उपाय हो,’ उनले भनिन्। 

त्यस्तै स्तन क्यान्सरबाट जोगिनका लागि हरेक महिलाले एक महिनामा एक पटक आफ्नो स्तनमा गाँठागुँठी छन् कि भनेर घरमै जाँच गर्न सकिने उनले बताइन्। 

सरकारले यसवर्ष पनि बजेटमा पाठेघरको मुखको क्यान्सरका लागि खोप कार्यक्रम सुरु गर्ने भनेको छ। त्यो सक्दो चाडो सञ्चालन गर्नुपर्ने डा. शाहीले बताए। 

कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर? 
९५ प्रतिशतभन्दा बढी पाठेघर मुखको क्यान्सर हुनुमा ह्युमन प्यापिलोमा भाइरस कारक रहेको स्त्री क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेले जानकारी दिइन्। 

‘यौन सम्बन्धको माध्यमबाट ह्युमन प्यापिलोमा भाइरस एक अर्कामा सजिलै सर्न सक्छ उनले भनिन्, ‘सानै उमेरबाट यौन सम्बन्धमा गाँसिएका, कलिलै उमेरमा बिहे गरेका र पुरुष पार्टनरले धेरै जनासँग यौन सम्बन्ध राखेमा पनि क्यान्सरको सम्भावना बढ्छ।’

‘पाठेघरको मुखको क्यान्सर मात्र एउटा त्यस्तो क्यान्सर हो, जो लाग्नुभन्दा १०–१५ वर्षपहिला नै परीक्षण गरेर थाहा पाउन सकिन्छ, त्यसैले सरकारले तीव्र गतिमा खोप र स्क्रिनिङ अगाडि बढाउनुपर्छ,’ डा. घिमिरेले भनिन्, ‘एचपीभी खोपले ७० देखि ८० प्रतिशत हृयुमन प्यापिलोमा भाइरसको जोखिम कम गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .