ad ad

जीवनशैली


‘मासु सँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

‘मासु सँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १८:४१, चितवन

दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन्। उनीहरुले मासु सँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन्। रातो मासुको प्रयोग भने सकभर नगर्न भनेका छन्। 

कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको खाना र स्वास्थ्य’ विषयक चिकित्सक पत्रकार अन्तरक्रिया कार्यक्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा गुरुशरण साहले रातो मासु प्रयोग नगर्न सुझाव दिए। 

पोलेको मासुले आन्द्रा, आमाशय, प्रोष्टेटको क्यान्सरको जोखिम बढी हुने डा साहको भनाइ छ। दसैँमा मासु पोल्ने, बार्बेक्यु गर्ने र खाने प्रचलनले गर्दा क्यान्सरको जोखिम बढी भएको उनी बताउँछन्। उनले भने, ‘मासुलाई उच्च तापक्रममा पोल्दा नराम्रो पदार्थ उत्पन्न हुन्छ, जसले क्यान्सर बनाउन मद्दत गर्छ।’सबै खालका मासु तीन सय डिग्री फरेनहाइट तापक्रममा पोल्दै गर्दा दुई खालका केमिकल निस्कने उनी बताउँछन्। 

उनले सेतो मासु, माछा पनि पोलेर नखान सुझाव दिए। भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरिले चाडपर्वमा बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरणशक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताए। यससँगै तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उनी बताउँछन्। मासु बोसो नभएको सन्तुलित प्रयोग गर्न सुझाव दिँदै उनले भने, ‘सागपात, सलाद, बोक्रा भएको फलफूल थोरै खाने तर बारम्बार खाने गर्नुपर्छ।” 

डा अग्रहरिले भने, ‘बढी मासु प्रयोग गर्दा मुटुमा हर्मनको गडबड हुन्छ। जसले मुटुको चाल र चाप बढाउँछ।”

धेरै मासु खाएकै कारण दीर्घकालीन रोग बढाउन सक्नेतर्फ उनले सचेत गराए। मधुमेहका बिरामीलाई कोलस्टोर बढ्न सक्ने भएकाले मासु कम खान सुझाव दिए। मासुले मोटोपन, तौल बढाउने बताउँदै उनले भने, ‘एकैपटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो।”

उनले भने, ‘यो बेला धेरै फाइबर, फलफूल, सागपातको मात्रा बढाउनुपर्छ”, उनले भने, ‘चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ।’एकैपटक धेरै मासु तयार गरेर फ्रिजमा राखेर लामो समयसम्म खानु हानिकारक भएको भन्दै उनले त्यस्तो मासु खाँदै नखान सुझाव दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .