जीवनशैली


खुसी हुन तपाईंलाई कति पैसा चाहिन्छ?

खुसी हुन तपाईंलाई कति पैसा चाहिन्छ?

टिम हार्फोर्ड
असोज ९ ,

म विद्यार्थी छँदा मेरो एक जना साथी दिनमा सय पाउन्ड कमाउने सपना देख्थ्यो। त्यतिबेला यो सोच्नै नसकिनेगरी ठूलो पैसा लाग्थ्यो। त्यत्रो धन के गरी खर्च गरिसक्ने, मेरो साथीलाई थाहा थिएन। यो लगभग ३० वर्षअघिको कुरा हो। अहिलेको हिसाबले समायोजन गर्ने हो भने सो रकम दुई सय पाउन्डभन्दा बेसी हुन आउँछ। उतिबेला आफ्ना आमाबुबासँगै बस्ने मेरो साथी एकै पटकमा बुद्धु र बुद्धिमान थियो। उसको सपनाको कमाइ अहिलेको बेलायतको औसत तलबभन्दा दोब्बर हो। त्यस्तै, विश्वको औसत कमाइभन्दा धेरै गुणा र गरिबीको रेखामा रहेकाहरुको कमाइको तुलनामा झण्डै सय गुणा बढी हो। उसोभए, खुसी हुन मानिसलाई साँच्चै कति पैसा आवश्यक छ त?

अर्थशास्त्रीहरुले यसको अनेक जवाफ दिँदै आएका छन्। आफ्नो प्रसिद्ध निबन्ध ‘इकोनोमिक पसिबिलिटिज फर आवर ग्य्रान्डचिल्ड्रेन’ मा जोन मेनार्ड किन्सले तर्क गरेका छन्, ‘१९३० को तहबाट यदि आम्दानी आठ गुणा बढ्यो आर्थिक समस्या सायद समाधान हुनेछ वा कम्ती समाधान देखिने ठाउँमा पुगिनेछ।’ आम्दानी त किन्सले अनुमान गरेजति नै बढ्यो पनि। तर, समाधान अझै पनि कतै देखिँदैन। सायद त्यसको कारण किन्सले भनेझैँ हाम्रो कहिले तृप्त नहुने हन्तकाली चाहना हो, ‘जसले हामीलाई हाम्रा बन्धुबान्धवभन्दा श्रेष्ठ महसुस गराउँछ।’

अर्थशास्त्रमा छुट्टाछुट्टै नोबेल स्मृति पुरस्कार जितेका ड्यानियल कानमन र एंगस डिटनले एक दशकअघि मात्रै दैनिक आवश्यकताहरु पुरा गरेर मानिसलाई खुसी राख्न वार्षिक ७५ हजार डलर (अहिलेको हिसाबले एक लाख डलरभन्दा धेरै) रकम पर्याप्त हुने निष्कर्ष निकालेका थिए। जुन झण्डैझण्डै मेरो साथीको सपनाको कमाइजति नै हो। त्यसभन्दा बढी पैसाले मानिसहरुले चिन्तित, उदास र तनाव महसुस गर्ने समय घटाउन कुनै मद्दत दिएन। 

तर, खुसीको मापन गर्ने अर्को तरिका पनि छ– के मानिसहरु आफ्नो जीवनलाई सन्तोषजनक मान्छन्? यो परिभाषाअन्तर्गत डिटन र कानमनले पैसाको उपभोगको कुनै निश्चित सीमा फेला पारेनन्। अतिरिक्ति आम्दानी जति भए पनि त्यसले आत्मसन्तुष्टिको स्तरलाई फरक नपार्ने देखियो।

पछिल्लो समय मनोवेत्ताहरु पाउल बाँ र रेनाटा बोन्जोर्नोले अलि फरक तरिकाले यस्तो अध्ययन गरेका छन्। कति पैसा भए पुग्छ भनेर सोध्नुको सट्टा सर्वेक्षणमा सहभागीहरुलाई उनीहरुले आफूले चाहेको जस्तो आदर्श जीवनको व्याख्या गर्न आग्रह गरे। त्यसपछि उनीहरुले सोधे, त्यस्तो जीवन बाँच्न कति पैसा चाहिएला? र, त्यो पैसा चिठ्ठामा प्राप्त भएको भएको मान्न आग्रह गरे। यसको जवाफमा १० हजार डलर (तिनका लागि आदर्श जीवन भनेको पर्दा र सोफा फेर्नु मात्र थियो) देखि लिएर एक सय अर्ब डलर (तिनको आदर्श जीवनको मतलब ट्विटर खरिद गर्नु थियो) सम्मका रकम सहभागीहरुले उल्लेख गरे। तर, धेरैजसो मानिसले ठूलो माग राखेनन्। सबैभन्दा धेरैले आदर्श जीवनका लागि एक करोड डलर पैसा चाहिने बताए।

धेरैले यही जवाफ किन दिए त? एउटा सम्भावना के हो भने यो सर्वेक्षणको जवाफ कसरी दिने, कसैलाई पनि थाहा थिएन र एक करोड डलर औसत जवाफ थियो। यो रकम भनेको न्यूनतम रकमभन्दा हजार गुणा ज्यादा र अधिकतमभन्दा हजार गुणा कम हो।

अर्को सम्भावना के छ भने मानिसहरु मेरो साथीजत्तिकै बुद्धु छन्। उनीहरु के थाहा पाउँदैनन् भने गतिलो घर, गतिलो कार किनिसकेपछि, आफ्नो ऋण तिरिसकेपछि र भविष्यलाई पर्याप्त रकम साँचिसकेपछि पनि थप दुईचार करोड डलर खर्च गर्ने ठाउँ रहन्छ। 

लेखक माल्कम ग्लाडवेलको सिद्धान्त अर्कै छ। ‘नो सच थिङ एज ए फिस’ पडकास्टको अतिथि बनेर आएका ग्लाडवेलले तर्क गरे– साथमा सय अर्ब डलर हुँदाको समस्या के हो भने जोकोहीसँग असीमित विकल्प हुन्छ। सरल निर्णयहरु (दिउँसोका लागि खाना घरबाटै बोकेर जाने कि बाहिरै किनेर खाने?) अत्यन्त कठिन बन्न पुग्छन् (पेरिसमा खाना खाने कि कोपेनहेगनमा? कि आफ्नै विमानभित्र निजी भान्सेलाई तयार गर्न लगाउने?)। 

ग्लाडवेलका अनुसार अर्को समस्या भनेको अत्यधिक पैसा हुँदा जीवनबाट सबै चुनौती गायब हुन पुग्छन्। तपाईंलाई हुलाक टिकट वा किरिङ जम्मा गर्ने शौख छ। तर, पैसा हुने हो भने त्यो शौखको के काम! ती सबै तपाईं किन्न सक्नुहुन्छ, त्यो पनि कोपेनहेगन पुगेर खाना खानुअघि नै। मानिसको जीवन संज्ञानात्मक रुपले बोझिलो बन्छ।

मेरो आफ्नै तर्क भने अलिकति फरक छ। मलाई एक सय अर्ब डलर चाहिँदैन। तर, त्यसले पार्ने संज्ञानात्मक बोझका कारण होइन। म केमा ढुक्क छु भने अर्बपतिहरु खाना कहाँ खाने भन्ने अनिर्णयको बोझले थिचिएका हुँदैनन्। र, कुनै परियोजना महत्वपूर्ण हुन्छन् भने तिनको स्तर पनि वृद्धि गर्न सकिन्छ। तपाईंलाई किरिङ संकलन गर्ने शौख छ भने त्यसलाई कलाकृति जम्मा गर्न थाल्नुस्। खर्च गर्न सय अर्ब डलर नै भए पनि विश्वको सबैभन्दा ठूलो निजी म्युजियम स्थापना गर्नु कठिन नै हुनेछ।

खास समस्या चाहिँ के हो भने तपाईं अर्बपति हुँदा अन्य सबै व्यक्तिसँग तपाईंको सम्बन्ध परिवर्तन हुन्छ। किन्सलाई थाहा थियो, हामी प्रायः आफ्ना बन्धुबान्धवभन्दा अलिकति श्रेष्ठ बन्न चाहन्छौँ। तर, त्यो श्रेष्ठता जब चरमोत्कर्षमा पुग्छ, तब तपाईं अपहरणकारी, आतंकवादी, ठग र अनेक किसिमका धुतारहरुको निसाना बन्नुहुन्छ। तपाईंका एकदमै कम मात्र सम्बन्धहरु टिक्ने सम्भावना हुन्छ। जो टिक्छन्, तिनलाई पनि तपाईं विश्वास गर्न सक्नुहुन्छ त?

धेरै मानिसहरु सय अर्ब डलर होइन, एक करोड डलर चाहन्छन् भनेर पत्ता लगाउने अध्येताहरु बाँ र बोन्जोर्नोको तर्क छ– यो नतिजाले दिगो विकासको आशा जगाउँछ। किनभने यसले मानिसहरुको भौतिक आकांक्षा असीमित छैन भन्ने देखाउँछ। सायद।

तर, मेरो निष्कर्ष अलग छ। विगतमा समाजका सबैभन्दा धनी व्यक्तिहरुको थुप्रै उनीहरुले पूर्ति गर्न पाएनन्। तर, त्यो हामी अहिले पूर्ति गर्न सक्छौँ। उदाहरणका लागिः एअर कन्डिसन, हवाई यात्रा र एन्टिबायोटिक्स। अहिले हामीले सोच्न पनि नसक्ने भौतिक सुविधाको चाहना हाम्रा सन्ततिहरुलाई हुनेछः टेलिपोर्टेसनदेखि लिएर सदा जवान रहने चाहनासम्म।

दिगो विकासको सबैभन्दा उत्तम आशा भनेको हामीले अहिले प्राप्त गर्न नसक्ने चिजको चाहना राख्न छाड्नु होइन। बरु, के हो भने हामीले महत्व दिने धेरैजसो कुराहरु पैसाले किन्न सकिँदैन। दैनिक सय पाउन्ड कमाउने सपना देख्ने मेरो साथी हामीसँगै बसेर बियर पिउँदै गीत सुन्नमा मजा लिन्थ्यो। त्यो उत्सवमय जिन्दगी थियो। त्यसविपरीत सय अर्ब पैसासहितको जिन्दगी पक्कै पनि भयानक तरिकाले एक्लो हुन्छ।

(फाइनान्सियल टाइम्सबाट)

असोज ९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad