कोशी


बेलबारी गोल्डकपको उपाधि झापा-११ ले जित्यो, ८ लाख नगदसहित ट्रफी पायो

बेलबारी गोल्डकपको उपाधि झापा-११ ले जित्यो, ८ लाख नगदसहित ट्रफी पायो

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार ७:२२, बेलबारी (मोरङ)

मोरङको बेलबारीमा सम्पन्न सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा-११ फुटबल क्लबले जितेको छ।

शनिबार बेलारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५-३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो। उपाधिसँगै झापा-११ ले रु आठ लाख नगदसहित ट्रफी पाएको छ। यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले रु चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ।

झापा-११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङ तथा सलहेशका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए। सलहेशका समीर तामाङको प्रहार झापाका गोलरक्षक सन्दीप लिम्बुले गोल हुनबाट बचाएका थिए।

फाइनल खेलमा मध्यान्तरअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा सलहेश फुटबल क्लबका अजयी मार्टिनले गोल गर्दै आफ्नो टोलीलाई १-० को अग्रता दिलाएका थिए। यस्तै खेलको ७१औँं मिनेटमा झापाका प्रदीप बुढाथोकीले जवाफी गोल गर्दै खेल बराबरीमा पुर्‍याए। निर्धारित समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि जित हारको निर्णय टाइब्रेकरबाट गरिएको हो। 

फाइनल खेलको म्यान अफ दी म्याच अभिषेक गुरुङ घोषित भए।  उनले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गरे। झापाका सन्दीप लिम्बु उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए। तामाङले रु १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही रु सात हजार नगद तथा ट्रफी प्राप्त गरे।

यस्तै सलहेश फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे। उनले खेल अवधिभर पाँच गोल गरेका थिए। सलहेशका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै रु सात हजार नगद र ट्रफी प्राप्त गरे।

विजयी खेलाडीलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईलगायतले  ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए। उक्त प्रतियोगिता यही कात्तिक २ गतेदेखि सुरु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad