कोशी


मोरङ ४ का एमाले उम्मेदवार घिमिरेको प्रतिबद्धता पत्र- विराटनगरमा आईटी हब र रोजगार बैंक

मोरङ ४ का एमाले उम्मेदवार घिमिरेको प्रतिबद्धता पत्र- विराटनगरमा आईटी हब र रोजगार बैंक

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १६:३७, विराटनगर

नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार जीवन घिमिरेले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले स्थानीय मौलिकता, पूर्वाधार विकास र नीति निर्माणका समग्र विषयलाई समेट्दै आफ्नो कार्य योजना प्रस्तुत गरेका हुन्। 

विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। अधुरो रहेको विराटनगर रिङ रोडको निर्माण कार्य सम्पन्न गर्ने र कटहरीमा रेल्वे स्टेसन निर्माण गरी भारतको बथनाहादेखि कटहरीसम्म रेल सेवा सञ्चालन गर्ने योजना सहितको प्रतिबद्धता सार्वजनिक गरे।

यसैगरी नेता चोकदेखि कसेनी र नयाँ बजारदेखि बेलबारीसम्मका रणनीतिक सडकहरूको कालोपत्रे र बेलबारीका वडा जोड्ने झोलुङ्गे पुल निर्माणलाई उहाँले प्राथमिकतामा राखेका छन्।

मोरङको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन उनले कटहरी, ग्रामथान र बेलबारीका ग्रामीण क्षेत्रहरूलाई तरकारी पकेट क्षेत्र घोषणा गर्ने र ग्रामथानको झोराहाटमा शीत भण्डार (कोल्ड स्टोर) स्थापना गर्ने प्रतिबद्धतामा छ।

किसानहरूलाई समयमै मल र बीउ बिजन उपलब्ध गराउनुका साथै सिँचाइका लागि डिप बोरिङ र बहुप्रतिक्षित तमोर–चिस्याङ डाइभर्सन परियोजनालाई अघि बढाउन पहल गर्ने उनको योजना छ।

स्वास्थ्य क्षेत्रमा ठूलो सुधारको खाका कोर्दै घिमिरेले वर्तमान सरकारले कटौती गरेको स्वास्थ्य बिमाको सीमालाई पुनः एक लाख रुपैयाँ नै कायम गर्ने घोषणा गरे। 

साथै, बेलबारी, ग्रामथान र कटहरीमा १०० बेडको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने र कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरी जनतालाई सस्तो र गुणस्तरीय सेवा दिने प्रतिबद्धता पत्रमा उल्लेख छ।

घिमिरेले भूमिहीन र सुकुम्वासी समस्या समाधानका लागि जग्गा धनीपूर्जा वितरण गर्ने तथा जनता आवास कार्यक्रम मार्फत विपन्नलाई घरको व्यवस्था गर्ने योजना सुनाएका छन्।  

युवा स्वरोजगारका लागि विराटनगरमा आइटी हब र रोजगार बैंक स्थापना गर्ने, थारु सङ्ग्रहालय निर्माण गर्ने तथा थारु, सतार, मुसहर र मुस्लिम समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने विषयलाई पनि प्रतिवद्धतामा विशेष जोड दिइएको छ। 

अन्त्यमा, उनले संविधानको मर्म अनुसार समाजवाद उन्मुख ऐन निर्माण र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी नीति बनाउन आफू प्रतिबद्ध रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad