कोशी


ब्रेक फेल भएर घरमा बस ठोक्किँदा मेडिकल सञ्चालकको समेत मृत्यु, यी हुन् मृतक पाँच र घाइते १२ जना

ब्रेक फेल भएर घरमा बस ठोक्किँदा मेडिकल सञ्चालकको समेत मृत्यु, यी हुन् मृतक पाँच र घाइते १२ जना

नेपालखबर
माघ ४, २०८२ आइतबार २१:५८, विराटनगर

सुनसरीको धरान उप–महानगरपालिका वडा नं. १३ जिरोप्वाइन्टस्थित कोसी राजमार्गमा आइतबार अपराह्न बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको घटनामा मेडिकल सञ्चालकको समेत ज्यान गएको पुष्टि भएको छ। 

५ जना मृतकहरू मध्ये एक जना मेडिकल हल सञ्चालक र मेडिकलमा रहेका २ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो।  

अहिले पनि १२ जना घाइते छन्। भेडेटारबाट धरानतर्फ आउँदै गरेको जनकपुरस्थित टाइम्स इन्टरनेशनल एकेडेमी स्कुलको को १ ख ७११९ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको ‘न्यू सभा मेडिकल’ मा ठोक्किएर पल्टिएको थियो। 

मेडिकलमा रहेका वराहक्षेत्र नगरपालिका–३ का २० वर्षीय ओमेश राई, झापा मेचीनगरका १९ वर्षीय नयन थापा मगर र मेडिकल सञ्चालिका धरान–१३ की २४ वर्षीया सुवेक्षा सुब्बाको घटनास्थलमै ज्यान गएको हो।

बस एक्कासी ब्रेक फेल भएर स्कुटर तथा अन्य सवारीलाई समेत ठक्कर दिँदै मेडिकलमा पुगेर पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए। मृत्यु भएका अन्य २ जनामा बसमा सवार महोत्तरी गैडादेवपुर–८ का १८ महिनाका बालक रिसब कुमार मण्डल र सोही ठाउँका ३१ वर्षीय धैरिया कुमार यादव रहेका छन्। 

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय धरान र नेपाल प्रहरी प्रदेश कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य सुरु गरेको थियो। 

दुर्घटनामा घाइते भएकाहरूको समेत पहिचान खुलेको छ। उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा)मा उपचार भइरहेको छ। घाइतेमध्ये धनुषा जनकपुरकी २५ वर्षीया रिना मण्डल, ३८ वर्षीय जितेन्द्र मण्डल, ४० वर्षीया सुनेनादेवी मण्डल, २० वर्षीय कृष्ण मण्डल र बस चालक महोत्तरीका २५ वर्षीय महमद मुलालको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। 

अन्य घाइतेहरूमा धनुषाकी २३ वर्षीया लक्ष्मी मण्डल, १८ वर्षीय राजा बाबु, ४० वर्षीया मनिता देवी मण्डल, ३० वर्षीया पुनिता मण्डल र मेडिकलमा कार्यरत ४३ वर्षीया यशोदा श्रेष्ठको अवस्था मध्यम रहेको छ भने २४ वर्षीय रोहित मण्डल र रोहन मण्डलको अवस्था सामान्य रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad