कोशी


सुन कारोबारको बहानामा अपहरण, मामा-भान्जा मिलेर हत्या

सुन कारोबारको बहानामा अपहरण, मामा-भान्जा मिलेर हत्या

सुमन सुस्केरा
कात्तिक १६, २०८२ आइतबार १८:१७, झापा

झापामा सुन कारोबारको बहानामा स्थानीय एक युवाको अपहरण गरी हत्या गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ भने एक भारतीय नागरिक फरार रहेको जनाएको छ।

मृतक ३३ वर्षीय सरोज शर्मा, झापा जिल्लाको शिवशताक्षी नगरपालिका-१० निवासी हुन्। उनी कात्तिक ९ गते दिउँसो करिब २ बजेदेखि सम्पर्कविहीन भएका थिए। शर्मा सवार रहेको बा.प्र.०१-३० च.७१९४ नम्बरको कार कात्तिक १३ गते बिहान मेचीनगर-१३ निचाझोडा सिमसार क्षेत्रमा जलिरहेको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार, घटनामा संलग्न भएको आरोपमा २७ वर्षीय सुनिल साह र उनका भान्जा २३ वर्षीय राहुल साह पक्राउ परेका छन्। सुनिललाई कात्तिक १४ गते मोरङको रानी सीमा क्षेत्रबाट र राहुललाई सोही दिन शिवशताक्षी-१० स्थित निजकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सुन कारोबारको बहानामा हत्या

मृतक शर्मा र अभियुक्त सुनिल साहबीच केही समयदेखि सुन खरिदबिक्रीसम्बन्धी कुरा चलिरहेको थियो। शर्माले सस्तोमा सुन पाइने बताउँदै साहलाई व्यापारमा सहभागी हुन आग्रह गरेका थिए। 

तर साहले उल्टै शर्माको पैसा लुट्ने र उनलाई अपहरण गरी परिवारसँग ठूलो रकम असुल्ने योजना बनाएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरका अनुसार, कात्तिक ९ गते साँझ करिब ५ः३० बजे, सुन देखाउने बहानामा सुनिल र उनका भान्जा राहुलले शर्मालाई अर्जुनधारा नगरपालिका-४ स्थित दहिझोडा सामुदायिक वनमा लगे। त्यहाँ पुग्ने बित्तिकै दुवैले ह्याम्मर (हथौडा) प्रयोग गरी टाउकोमा प्रहार गर्दै हत्या गरेका थिए।

हत्या पछि शवलाई मृतककै गाडीमा हालेर, भारतीय सहयोगीसहित ३ जनाले झापा गाउँपालिका-५ बिरीङ खोलाको पुलमुनि गाडी गाडेको प्रहरीको भनाइ छ।

शव कात्तिक १५ गते बिहान सोही स्थानमा जमिनमुनि गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शवलाई निकालेर कानुनी प्रक्रिया पूरा गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोस्टमार्टमका लागि पठाइएको थियो।

गाडी र चप्पलबाट पत्ता लाग्यो अभियुक्त
गाडी जलिरहेको अवस्थामा फेला पर्नुका साथै घटनास्थल नजिकै सुनिल साहको चप्पल भेटिएपछि प्रहरीले प्राविधिक विश्लेषणमार्फत उनीहरूको खोजी सुरु गरेको थियो।

कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको निर्देशनमा खटिएको विशेष टोली, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझलेको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

घटनामा प्रयोग भएको टाटा कम्पनीको बा.९ च.२६९ नं.को गाडी समेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार, घटनामा संलग्न एक भारतीय नागरिक हाल फरार छन्। 

उनको पहिचान भइसकेको र पक्राउका लागि नेपाल-भारत सीमा क्षेत्रमा खोजी कार्य तीव्र रूपमा भइरहेको डिएसपी खड्काले बताए। पक्राउ परेका दुवै जनामाथि अपहरण, शरीर बन्धक, ज्यान हत्यासम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिई

अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खड्काले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad